१० वर्ष अगाडि माओवादी जनयुद्धका कारण सरकारद्वारा घोषित संकटकाललाई नजिकबाट छामेर आफैं जलीरहेछ देश लिएर साहित्यीक आकाशमा झुल्किएका केदार सङ्केतको सातौं कृति ताँ गो तेकेरे नुङ र ताँबे डाँडा विमोचन भएको छ । लामा छोटा गरी जम्मा चौविस वटा कविता समेटिएको ताँ गो तेकेरे नुङ कविता सङ्ग्रह वास्तावमा पहिचानको खोजी, माटोको खोजी हो ।
गो तेकेरे नुङ
ओत्थिएरि कोनाकोन नुङ
ङा फुँरेलु थिन्ने चाब्नुङ
ङा निल्गिरि थिने चाब्नुङ
एको हाअÞशो चोअÞचिलखिँ
ताँ गो थामा तेकेरे नुङ ।
(म कहाँनेर छु ?
एता उता हेर्दै छु
न हिमाल भेट्न सक्छु
न निलगिरी छुन सक्छु
यो खुल्ला कैदीखाना !
खैः म साच्चै कहाँनेर छु !) पृष्ठ ४२ ।
कवि खुल्लाम् खुल्ला हिड्ने डुल्ने त गर्छन्, स्वतन्त्र त छन् तर उन्मुक्ति पाएको महशूस गर्दैनन् । शायद कविले महशूस गर्छन् फिनल्याण्ड, डेनमार्कमा छाडा पालिएका जरायो जस्तो स्वतन्त्र । यहाँ कविले सम्भवतः आफैं जलीरहेको देशभित्रको विभेदित अवस्थालाई बडो सटिकरुपमा प्रस्तुत् गरेका छन् । आफैंले भोगेको यथार्थलाई विना कन्जुस्याइँ पस्केका छन् ।
किकि वृषबहादुर र पिपि रत्नमाया सुनुवारलाई समर्पित गरेको कविता सङ्ग्रहको रचनागर्भको वारेमा लेख्छन्, “सानैदेखि हजुरआमाको काखमा हुर्केको म, बाजेले मुखमा चपाएको मकैको नाइ चपाइ नसक्दै मागेर रुन्थेँ रे । बाबा परदेश, आमा साना दुई बहिनीहरु सम्हाल्दै मेलापात गर्दामै ठिक्क, दाइ पल्टने । घरमा बोलिने भाषा खस्–पर्वते किनकी हजुरआमा लामिछाने गुरुङको छोरी । त्यसैले मेरो मातृभाषा गर्भबाट अगाडि बढ्न सकेन । सबै कोइँच दाजुभाईहरुले गीतहरु (कुम्सो), कविताहरु (शारिरेँशो) र मुक्दुम लेख्दा आफुलाई पनि जोस नचलेको कहाँ हो र ! तरपनि, एक प्रकारको नैराश्यताले मनको एक कुनामा अड्डा जमाएर बसिरहेको थियो । “जे–जति जानेको छ त्यो लेख्दै जानुस्, पछि जाने बुझेकाले खोजीनीति गर्ने छन्”, भनेर बडो गर्विलो आश्वासन दिन्थे आत्मीय मित्रहरुले । जाँगर चल्दै गयो । समय बग्दै अनि उमेर ढल्दै गयो । अनेक विचार र दर्शनले मन ढपक्क ढाकिन थाल्यो । लेख्दै गए । केही किताबहरु पनि छापिए । मेरो खुशीको भकारीमा एउटा ठूलो खुशी त त्यो बेला थपियो जब ‘यात्रास्पर्श’ बिएड कोर्समा समावेश भयो ।
परदेशमा बसेर पनि उब्रेको समय नेपाली साहित्यमा समर्पित गर्न पाउँदा आफुलाई स्वदेशमै पाउने गर्छु । कोइँच मातृभाषा साहित्यमा निरन्तर काम गरिरहेका चुप्लु समाजका मित्रहरुले मेरा छरपष्ट मातृभाषाका कविताहरुलाई कविता सङ्ग्रहको रुप दिन लागेको खबर सुन्न पाउँदा हर्षका छालहरु उर्लेर मनका किनारमा पोखिएका छन् । कनीकुथी मातृभाषामा आफ्नो भावनाहरुलाई एकमुष्ट हजुरहरुलाई पस्किन पाउँदा म आफुलाई एकदमै भाग्यमानी ठानीरहेको छु ।”
“धेरै ब्रिटिश लाहुरेहरु आउँछन् जान्छन् तर केदार नेपाल आउँदा प्रत्येक पटक केही न केही कोशेली लिएर आउँछन् । यस पटक पनि कोइँच मातृभाषाको कविता सङ्ग्रह लिएर आए । उनी यस मानेमा भाग्यमानी छन् कि उनले विदेशमा बसेर पनि सबैले नेपाली साहित्यानुरागीको माया पाएका छन् ।”– कवि तथा कलाकार रमेश पौडेलले प्रमुख अतिथिको सम्बोधनमा बताए ।
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान अध्यक्ष गोपिकृष्ण प्रसाइँले केदारको कविताले मातृभूमिलाई भर्पूर सम्झेको र माटोमा माया छताछुल्ला पोखिएको प्रकाश पारे ।
द्रुतगति जर्मिन ट्रेन जस्तै बेलायतबाट हुइँकिएर आएका कवि केदारले आफ्ना कविता र गीति एल्बम मात्र विमोचन गरेनन्, उनले नेपाली भाषा साहित्यमा योगदान दिने कवि तथा अनुसन्धातालाई पनि सम्मान गरे ।
केही वर्षदेखि निरन्तररुपमा नेपाली साहित्यको विकासको लागि साहित्य सँगालो डट कम वेभसाइड चलाउँदै आएका उनले साहित्य सँगालो स्रष्टा साहित्य चौतारी प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएका छन् । यस वर्षका लागि कवि शोभा सुनुवार जुलियट, कवि तथा अनुसन्धाता देबेन्द्र खापुङ सुर्केली, कवि राधिका गुरागाइँ र सन्तोष अम्गाइँलाई पुरस्कार प्रदान गरिएको छ । लामो समाय नेपाली गीत संगीतमा योगदान पुराएबापत गायक तथा संगीतकार शिव मुखियालाई साहित्य सँगालो सम्मान गरियो ।
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले सङ्केतका कोइँच भाषाको कविता वाचन गरेर सुनाएका थिए ।
पुस्कर सुनुवारले हाँसेर बोलको ताँबेडाँडा गीति एल्बमा समेटिएका गीत गाएर सुनाए भने सोही एल्बमको म्यूजिक भिडियो छायाँकार तथा निर्देशक दिपेश सुनुवारले भिडियो प्रदर्शन गरेर देखाएका थिए । कार्यक्रममा पुरस्कृत श्रष्टाहरुले आ–आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए ।