स सानो हुरी चल्दैमा
मान्छे एकाएक नर्गिस बनिदिन्छ
स सानो कम्पन आउँदैमा
मान्छे प्रलयकारी बनिदिन्छ
यो मनको परिभाषा
मान्छे मान्छेमा
अतिसार रोगजस्तै सर्वत्र फैलिएको छ
मथिंगल घुमाउने विद्रुप पाटो खोजेर
नर्गिस भएर उड्ने अभियान
घर र गाउँ उडाउने बलियो प्रण
कोमल फूलहरू कुल्चने मन
आफैं हरदम ठगिने यन्त्र बोकेर
प्रकृतिभन्दा बाठो बनेको भ्रममा छ मान्छे
प्रकृतिको चरम दोहन गर्दा पनि नडराउने मान्छे
अहंभावका पुर्जा छर्दै
हर मान्छेमा गाडिएको छ
विचलितलाई अंगाल्ने मन्त्र
मीठो भाषामा काँडा नियतिले बोल्दा पनि
मान्छे कोपको पहाड बनिदिने
वास्तविक मान्छेको सोचाई
नयाँ हावामा रम्ने रहरमा
उडान बन्ने रहरमा
स्वयं बेचिने रहरमा
हृदयमा ईर्ष्या र ग्लानी बोकेर
मान्छे नर्गिस बनिदिन्छ ।
प्रत्येक मान्छेमा लाग्ने
कालगतिभन्दा विनाशक योग
मानसिक थकाई नमेटिने
तृष्णाको आँगनमा
उडेको उडेई गर्ने
सारथी विहीन युवा मन
मान्छे नर्गिस बनि दिने
व्यवहारको पाटोमा उभिन नसक्ने दर्शन
विपक्षीय बागडोर गलामा उनिने
दलालीका लिलिपुट उचाइले अग्लो हिमाल छुन थाल्यो
देशले भोगेको विपत्तिको अनवरत शृंखलामा
विकाशका बाटाहरू खोज्दा खोज्दै
विनाशको मार्गमा अग्रसर
जाति भाषा सँस्कृति विच्छेद बनाउन
मान्छे नर्गिस बनिदिन्छ
एकोहोरो छ मान्छे
गाँस र बास जुटाउने भाषामा
एउटै रगतलाई अनेक नाम दिएर
मानवतामा अमानवीय भाईरस बोकेर
मान्छे नर्गिस बनिदिन्छ ।
साँच्ची मान्छे नर्गिस नबनी
कहिले मान्छे बन्छ
Please follow and like us: