खगेन्द्र संग्रौला
पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । सुखानीका जंगलको वीरतापूर्ण कथालाई कि त एक तिलस्मी गाथाका रूपमा चित्रण गरियो कि त त्यसको उदात्त पक्षलाई समेत उपेक्षा गरेर टाउको कटाइको दुष्परिणाम भनी पन्छाइयो । यसरी यस्तो अपूरो मूल्यांकनको घेरा परिपरी सुखानीमा ढालिएका वीरहरूको गाथा बरालियो । वीरहरूको बलिदानलाई कालको सापेक्षताामा इतिहासमा उचित स्थानमा राख्ने काम कवि साहित्यकारहरूको हो । ऋतुको यो संगालो कतै प्रत्यक्ष र कतै परोक्ष रूपमा सोही दिशातर्फको एक संकेत हो भन्ने मलाई लाग्छ ।
मान्छे हराउन थालेका छन् यो कवि आसीकको एउटा कविताको शीर्षक हो । को, किन, कसका हातबाट हराउन थालेका छन्, कविता संगालोभरी यो भावना र चिन्ता व्याप्त छ । अर्को शब्दमा, यो कविता संगालो उनै हराएकाहरूको वीरगाथाको खोजी र मान्छे नहराउने समाजव्यवस्थाको स्थापना गर्ने उत्कृष्ट कामनाको अभिव्यक्ति हो । सुखानीका जंगलको घटनाकै पृष्ठभूमिमा कवि ऋतु आसिकको काव्य चेतको जन्म भएको छ । उहाँ स्वयं सो पृष्ठभूमि निर्माण गर्ने एक योद्धा हुनुहुन्छ । कवि सुखानीका जंगलको क्रुर हत्याको साक्षी पनि हुनुहुन्छ । इतिहासले जनवीरका हत्याको साक्षी बक्ने अभिभारा कविलाई सुम्पेको छ । यो संगालो सोही साक्षी बकाइको एक काव्यात्मक अभिव्यक्ति हो । व्यापक जनजीवनमा व्याप्त चुसाई र थिचाइमुनिको घना अन्धकार र अन्धकारविरूद्ध शिर उठाउन खोज्नेहरूमाथि अन्धकारका पोषकहरूले गर्ने गरेको कठोर दमन र सो मदन विरूद्धको बलवान आक्रोश –आसिकका कविताहरूको मूल भावभूमि यही हो ।
चलनचल्तीका सैद्धान्तिक शब्दावलीका प्रयोगले कविताको भाव ज्यास्ती बोझिलो हुन्छ । जिउँदा भावना र गहन संवेदनाका सहाराले पाठकको विचार र तर्कलाई उत्तेजित गर्न सक्नु उत्तम कविताको लक्षण हो । कवितामा विचार र आदर्शको ठाडो चाप भएमा कविता निम्छरो हुन्छ । कविको आक्रोश र आदर्श सामाजिक जीवनको गतिमय स्पन्दनमार्फत प्रकट भएमा पाठकमा पर्ने त्यसको छाप गहिरो र दिगो हुने कुरामा आसिकजीको भिन्न मत नहोला भन्ने म आशा गर्छु ।
वस्तुवस्ती र अटुट समीक्षाप्रणाली आज हाम्रो साहित्यको खट्कँदो खाँचो हो । यस्तो समीक्षाप्रणालीको अभावमा समीक्षाका नाउँमा नितान्त व्यक्तिगत रूचिअरूचिका आधारमा साहित्यकारहरूलाई उचाल्ने र थचार्ने लहडी चलन चलेको छ । दल, समूह वा समान प्रवृत्तिको सेरोफेरोभित्र स–साना टोली बनाएर तारिफ गराएको जुहारी खेल्ने साँगुरो मानसिकता पनि हाम्रोमा छ । यस्तो अवस्थामा स–वसाना काँटका साहित्यकारहरू वा असाहित्यकारहरूसमेत पनि हनुमान रूपमा देखिनु र इमान्दार र प्रतिभाशाली साहित्यकारहरूले उचित प्रोत्साहन र संरक्षणको अभावमा सार्वजनिक चिनारीको तहसम्म उठ्नै नपाई अन्धकार बिलाउनु अनौठो कुरा होइन । तैपनि, नाम र चर्चाको पर्वाह नगरी संघर्षरत र साधनारत रहने ऋतु आसिकको प्रबल आदर्शनिष्ठाको म सह्राना गर्दछु । हेपिएकाहरूप्रतिको कवि आसिकको सहानुभूति क्षणिक आवेग नभई सचेत प्रतिबद्धता हो र सो कुवराको दसी कविको डेढ दशकको अटुट कविता साधना हो । हिजोका कतिपय कमलवीरहरू आज उदारताको नाउँमा सत्यनिष्ठालाई बिर्संदै ओराली लाग्न लागेका बखतमा पनि आफ्नो प्रतिबद्धतामा अडिग रहनु कविको वैचारिक स्पष्टता र इमानको संकेत हो । ऋतु आसिकको यस संगालोमा उत्तम कविताका बीउहरू मनग्गे छन् । यी बीउहरू मलिलो माटोमा रोपेर मलजल गर्दा आसिकबाट उत्तम कविता रचिनेछन् भन्ने कुरामा म आशावादी छु ।
(प्रलेस पूर्णांक ९ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३१ – २०६८ असार ८ गते, बुधबार)