-लाल–श्याँकारेलु रापचा

कोलम्वस र मार्कोपोलोलाई साम्राज्यवादको पितामह भन्दिदा अन्याय हुँदैन । तर उनीहरुको समय अगावै सन् १०६६ को नर्मन कङ्क्वेस्ट साम्राज्यवादी कदमको ज्वलन्त नमूना हो । बेलायतले यो भन्दा पनि पहिले धेरै साम्राज्यहरुद्वारा शासित हुनु परेको थियो । फलस्वरुप अङ्ग्रेजी भाषाको कलेवरमा विभिन्न परिवर्तनहरु आए । त्यसो हुनाले सन् १८५० को दशकसम्म पनि जर्ज इलियटको सिर्जना द मिल अन द फ्लस मा वर्तमानको नेपालमा जस्तै छोरो नीजि ग्रीक–ल्याटिन शिक्षालय र छोरी सार्वजनिक शिक्षालयमा जानु पर्ने वाध्यताको तिलस्मी वयान पाइन्छ । परापूर्वकालका रामायण, महाभारत, र ट्रोजन वारलाई पौराणिक सीमामा राखेर नर्मन कङ्क्वेस्टसित नमिसाउँदा हुन्छ । तर यी सबै विगतलाई आजको एक ध्रुवीय अमेरिकी ताण्डपनृत्यले बिर्साइ दिन्छ ।

बेलायतमाथिको नर्मन कङ्क्वेस्ट जस्तै नेपालमा पनि गोर्खा कङ्क्वेस्टले यो देशका कैंयन भाषिक तथा सांस्कृतिक सम्प्रदायका आदिवासी÷जनजाति समूहहरुलाई थिल्थिलो मात्रै पारेन कि उनीहरुको भाषिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक तथा मानवशास्त्रीय चिनारीलाई समेत सन् १९९० सम्म साइको–अफेजिक÷अवचेतन ‘इथेराइज’ अवस्थामा राख्यो । भूमिपुत्र आदिवासी÷जनजातिका यी विभिन्न पक्षहरुमध्ये यो लेखमा भाषा–साहित्य पक्षलाई कोट्टयाइने छ । त्यसमा पनि किराँती–कोँइच (इग्जोनिम ‘सुनुवार’ हाइड्रोनिमबाट विकसित र साम्राज्यवादी पद ‘मुखिया’ अनि कतिपयले ‘राई’ भनेर पनि चिनाउने गरेको) भाषा–साहित्यमा स्रष्टा उत्तम कातिचा–सुनुवारको पद्य सिर्जना देनेन् एइ सेरेम फु(ङ) लाई लिएको छु ।

महाकिराँती–नेवार, किराँती–बान्तवा (अटोइथ्नोनिम किरावा), तामाङ, मैथिली, भोजपुरी र अवधी बाहेक अन्य मातृभाषामा सिर्जनात्मक लेखन तथा प्रकाशन प्रायः शून्य थियो र अझै पनि त्यस्तै छ । मर्नु न बाँच्नुको दोसाँधे इथेराइज घिटघिटोमा अड्किएको यो किराँती–कोँइच मातृभाषालाई ९० को दशकले पनि खासै फरक पारेन । पूरा १५ वर्षको अवधिपछि स्रष्टा कातिचा सन् २००५ मा जम्मा ६१ पनाको २६ वटा पद्य संग्रह …सेरेम फु(ङ) का साथ उदाए सबल्टर्न फिलिङ्गाहरु बोकेर हर्कुलस जस्तै । गोर्खा कङ्क्वेस्टको परिवेशमा किराँती–कोँइच भाषा र जाति लगायत अरु सम्पूर्ण पछारिएकाहरु मूलधार ‘मेनस्ट्रीम’ मा नपर्ने हुनाले सबल्र्टन हुन् । उनीहरु यही देशका हुन् । यहीँ छन् र पनि उनीहरुको उपस्थिती कहीँ छैन । व्यवस्थापिकामा पनि शून्य । कार्यपालिकामा पनि शून्य । न्यायपालिकामा पनि शून्य र संचारमा पनि । उनीहरुलाई न गोर्खा कङ्क्वेस्ट चस्माले न आर्य चस्माले नै देख्छ । अहँ उनीहरुलाई यी कुनै चस्माले पनि देख्दै देख्दैन ।

उनीहरुले झण्डै २ सय वर्ष यतादेखि गोर्खा मर्सिनरी गनर भएर यो देशको सर्वभौम बचाइ राखे । मालिकका खातिर आफ्नो भन्ने सबै सबै तिलान्जली दिए । र साहित्यमा कुमार यात्रुले भने झैं “धेरै विष्णु राईहरुले यहाँ आफ्नोपनको उज्यालो आकाशलाई नेपाली साहित्यको खसमूल प्रवाहमा विर्सन गरेका छन् । मातृभाषालाई वली चढाएर, आफ्नो संकृतिलाई क्युरिओ पसलमा विक्री गरेर त्याग र समर्पणलाई सिद्ध गरेका छन् ।” यस्तै क्रममा कोही डा. प्रपन्नाचार्यमा परे । कोही हुकुमीतिर छिरे । अनि आफ्नै दाजु–भाइहरुलाई गिंडे । भाषा फ्याँके । संस्कृति फ्याँके र म त क्षेत्रिय सिवाय केही होइन भन्ने हुँकार गर्दै ६ र ९ को ठाउँमा तीन डोरे मात्रै जनै भीरे । उनीहरुमध्येमा उत्तम कातिचा–सुुनुवार कतै पर्दैनन् । शायद तीन नम्बरको गल्लाले वा समयले धोका नदिएको भए उनी पनि पर्थे होलान् मर्सिनरी गनरतिर । ती मध्येमा नपर्ने हुनाले नै उनी सबल्टर्न फिलिङ्गाहरु लिएर उदाउन पाएका हुन् । यहाँका सबै अदृश्य भूमिपुत्रहरुलाई यो खुशीको खबर हो ।

स्रष्टा औ कवि कातिचा होहल्लामा भने आदिवासी पत्रकारिता विद्वतवृत्ति–२०६२ ले सम्मानित भएपश्चात् आएका हुन् । लाग्छ यही होहल्लामा रौसिएर आफ्नो मातृभाषामा पनि संग्रहित सिर्जना बोकेर आएका हुन सक्छन् । गद्य कविता बाहेक शौखले उनी कार्टुनिष्ट पनि हुन् । सम्बत् ५० को दशकदेखि सहरमा रुमल्लिएर स्रष्टा …सेरेम फु(ङ) मा धुरुधरु रुँदै पाठकवर्गलाई सबल्टर्न फिलिङ्गाहरु देखाउँछन् । उनको …सेरेम फु(ङ) मा सबल्टर्न फिलिङ्गाहरु चियाएर धुरुधरु रुनु अघि उनको सबल्टर्न भाषाको बारेमा मैले पाठकहरुलाई संक्षिप्त जानकारी नगराए अन्याय ठहर्छ ।

उनको मातृभाषा किराँती–कोँइच (इग्जोनिम ‘सुनुवार’, ‘साम्रज्यावादी पद्वी चाहिँ मुखिया’ र धेरैले ‘राइर्’ पनि भनेर चिनाउने गरेको) हो । यो भाषा पूर्व ३ र २ नम्बरको मोलुङ, सोलुङ, योलोङ, लिखु, खिम्ती, सुरी र तामाकाशी क्षेत्रतिर बोलिन्छ भने सिक्किम, भारतको एघारमध्ये एक क्षेत्रीय राज्य भाषा हो । त्यहाँ यो भाषामा प्राथमिक शिक्षाको व्यवस्था र सिक्किम हेराल्ड अनुवाद गर्न पाउने प्रावधान समेत छ । भाषावैज्ञानिक वर्गीकरण अनुसार यो भाषा चिनिया–तिब्बती महा–परिवारको तिब्बती–बर्मेली परिवारमा पर्ने हिमाली शाखा अन्तर्गत किरा“ती समूहमा पर्दछ । किराँती भाषाहरुको पनि वर्गीकरणमा किरा“ती–को“इच तीन किराँती भाषाक्षेत्रहरुको पनि पश्चिमी किरा“ती समूहमा पर्दछ भने यसका भगिनी अरु किराँती भाषाहरुमा बाअ्युङ, वाम्बुले, जेरोङ र हायु नै मुख्य हुन् । राष्ट्रिय जनगणना (सन् २००१) अनुसार किरा“ती–कोँइच भाषा बोल्नेहरुको वक्तासंख्या २६,६११ (२७ प्रतिशत) मात्रै छ भने भाषालोप ७३ प्रतिशत देखिन्छ । कार्यगत क्षेत्रका आधारमा यो एक लोपोन्मुख भाषा हो । भाषावैज्ञानिक अध्ययन क्रममा ब्रियन हज्सनको शब्दसंकलनदेखि मार्लिन शुल्ज, डोरा बेरी, दोर्ते बरचर्स, लोकप्रिय मुलिचा–सुनुवार र लाल रापचा आदिसम्म आइपुग्दा दर्जनौं अनुसन्धनात्मक लेख, शब्दसंकलन सहित दुई वटा पीएचडी (विद्यावारिधि) शोध–पत्रसम्म आइ पुगेको छ ।

नाटक (सम्वत् २०५२), शब्दसंकलन, आधारभूत व्याकरण बाहेक यो पद्यसंग्रह भने किरा“ती–को“इच साहित्यको प्रथम शुरुआत हो भने मततिक फुङके कुम्शोपिक्य ‘सङज् अफ् दि इन्भिजिवल फ्लावर’ (रापचा, कवितासंग्रह प्रकाशोन्मुख) पनि तयारीमा छ । तर फुटकर गीत, कविता प्रकाशनमा भने उनी नै चाहिँ पहिला भने होइनन् । टी. परगाचा (सम्वत् २०४२), देवीबहादुर सुनुवार (सम्वत् २०४७ र २०५२), महेश कोर्मोचा (सम्वत् २०४७), अनुमाया सुनुवार (सम्वत् २०५२), कान्छाराम सिकारी–सुनुवार (सम्वत् २०५२ र २०५५), लाल रापचा (सम्वत् २०५३ र २०५४), डिकमान लिनुचा विरही (सम्वत् २०५४), चेतन सुनुवार (सम्वत् २०५३), कर्ण जेँतिचा (सन् १९९८), मोहनमिलन सुनुवार (सम्वत् २०६०), सूर्यप्रकाश सुनुवार (सम्वत् २०६०) हरुका फुटकर रचनाहरु यत्रतत्र छरिएर रहेका छन् ।

यो शुरुआतमा नयाँ पुस्ताका स्रष्टा कातिचा एकताका “आ… बाल्लिल एइ… ! गो ला मार बेथ्री पचा” (अर्थात् भो है होस् ! म मात्रै के मरी मेट्नु) भन्दै निराश र हतास देखिन्थे । मैले अधि नै भने झैं आपवि–२०६२ ले उनको जाँगरमा एक प्रकारको भियाग्रा उर्जा नै थपी दिएको भान हुन्छ र उदाए …सेरेम फु(ङ) (अर्थात् ‘सुनाखरी’) टाउकैभरि सिहुरिएर । यो कृतिबारे रनवीर क्युइँतिचा–सुनुवार र अतीत क्युइँतिचा–मुखिया समीक्षा गर्दै मनोभावहरु ओकेल्नु हुन्छ–

“सुनाखरी हेर्नमा साँच्चै अति नै मनमोहक सुन्दर हुन्छ । यो हाम्रो सेरोफेरोमा प्रकृतिको सौन्दर्य सज्जाको सामग्री बनेर फुल्ने एका थरी वनफूल मात्रै होइन किराँती मुन्दुममा उल्लेखित अति आवश्यक तथा महत्वपूर्ण फूल पनि हो; जसको गोडमेल स्याहारसुसार गर्ने कुनै मालिक हुँदैन । यसरी बिना स्याहारसुसारको बावजूद पनि जसरी सेरेम फु(ङ) भीर, पहरा र कन्दराहरुमा आफैं आफ्नो सौन्दर्य छरेर फुलेको हुन्छ त्यसरी नै किराँत मूलको एक आदिवासी मातृभाषा कोँइच ‘सुनुवार’ भाषा पनि आजसम्म राष्ट्रिय गोडमेल स्याहारसुसारको अभावमै कोँइच वस्तीका गाउँ, पाखा, कन्दराहरुमा ‘सेरेम फु(ङ)’ झैं फुलेकै छ । लोपोन्मुख अवस्थामा पुगेको उपेक्षित कोँइच भाषालाई नितान्त नीजि प्रयासबाटै संरक्षरणको एउटा खुट्किलो थप्न कम्बर कसेका किरात कोँइच पठ्ठोको आँट देखेर हामी खल्पा उमेरमा पाइला हाल्दै गरेका क्युइँतिचाद्वय रनवीर सुनुवार र अतीत मुखियाको अनायासै छातीको पहरो रसायो । हामी आफैंले कोँइचबु काऽतिच (उत्तम) जस्तै आफ्नो मातृभाषामा सिर्जनाको कुनै साहसिक कार्य गर्न नसके पनि काऽतिच भाइको यो ‘सेरेम फु(ङ)’ लाई सबैका सामु पस्केरै भए पनि कोँइच साहित्यको जानपहिचान गराउने तल्तल मेटाउने कोशिससम्म गरेका छौं । चेँ(छेँ)गु त गने बाँकी नै छ एक जोर सगुन राखेर ठाडो चिन्तासम्म गर्ने जमर्को गरेका छौं ।”

हो अब म …सेरेम फु(ङ) को केस्रा केलाएर सुगन्ध लिने जमर्को समीक्षक क्युइँतिचाद्वयबाटै श्रीगणेश गर्छु । समीक्षकद्वयको सुनाखरी उपमा र सुनुवार भाषा–साहित्यको वर्तमान स्थिति हेर्दा केही आशा र बढी निराशा देखिन्छ । “बिना गोडमेलको सुनाखरी” र “राष्ट्रिय स्याहारसुसार” बिनाको किराँती–कोँइच भाषा वातावरणीय र भूमण्डलीय परिवर्तन साथ–साथै विस्मृतिप्रायः हुन लागेको छ । कुरा त्यति मात्र नभएर सेरेम फु(ङ) को किराँती–कोँइच मुन्दुममा उल्लेख हुनु र महत्व रहनु नै हो । तर गर्नु पनि के र सबल्टर्न भाषाले कतै राष्ट्रिय गोडमेल स्याहारसुसार पाउनु असम्भव छ । कति भने प्रतिवन्ध नलागे अहो भाग्य सम्झनु पर्छ । यो मासिनै लागेको मातृभाषामा इथ्नोबोटनी र जैविक–विविधताको आदिवासी ज्ञान ‘इथ्नो–इण्डिजिनियस नलेज’ लुकी छिपी रहेको हुनु पर्छ । महाकिराँती–थाङ्मीमा जस्तै वातावरणलाई प्रतिबिम्वित गर्ने एउटै ‘आउनु’ क्रिया अर्थवैज्ञानिक रुपमै इण्डो–आर्यन खस–नेपाली जस्तो एकल नभएर चार वटा ‘कुचा, पिचा, जाअ्चा, इ(हि)चा’ हुन्छन् किराँती–कोँइचमा पनि ।
यो भाषाको लोपसँगै यो बहुल अर्थगुण, संरचना आदिका साथै इथ्नो–इण्डिजिनियस नलेज पनि लोप भएर जाने छ । प्रश्न उठ्छ, “मेनस्ट्रिमबाट यस्तो बेवास्ता किन भइरहेछ ?” किनकि यहाँका अल्पसंख्यक यो जाति, भाषा, संस्कृति आदि इत्यादि सबल्टर्न हुन् । सबल्टर्नहरुको कहाँ छ भाषा ? कहाँ छ संस्कृति ? कहाँ छ इतिहास ? कहाँ छ धर्म ? को छ उनीहरुको आवाज सुन्ने यो देशमा ? को छ उनीहरुको चिनारीप्रति संवेदनशील यहाँ ? सबल्टर्न आफैंहरुले आफ्नो तमाम स्व भुली रहेको बखत कोही कङकरर ‘विजेता’ निस्केला त उनीहरुको वकालत र बचावको लागि यहाँ ? कार्टुनिष्ट र कवि कातिचा …सेरेम फु(ङ) मा यी सबै अनुत्तरित प्रश्नहरुका डङ्गुरबाट विद्रोहका सबल्टर्न फिलिङ्गाहरु ओकेल्छन् ।

यो संग्रहित कृतिमा परेका २६ वटा शीर्षकहरुमध्ये ८ वटा रचनाहरु विभिन्न साहित्य कार्यक्रममा वाचन गरिएका छन् भने २ वटा रचनाहरु पूर्व–प्रकाशित छन् । किराँती–कोँइच मातृभाषामा रचना भएकोले यो भाषाको सामान्य भाषावैज्ञानिक पक्षहरुलाई नियाल्नु अघि यहाँ प्रयोग भएका विभिन्न पक्षहरुलाई कोट्टयाउने प्रयास गर्छु । सर्वप्रथम त सांस्कृतिक विम्बहरु जस्तैः पोँइब–ग्याम(ी), इँगी होपो, सुरो होपो, सलाकु, नाअ्सो, सेलेमी–मासेमी, पारु होपो, सुम्निमा, सुलिली, सेरीरेरी, मुसोथलो, रिमारु, हिमारु, रिनारु, दुमामुली, जत्नामुली, सरिङमुली, श्याँदर, ङाबुचो र माङपा आदिले बेवास्तामा परेका बेसाहारा सबल्टर्नहरुको पनि केही त्यस्तो उल्लेख्य रहस्य रहेछ धर्म तथा संस्कृतिको फाँटमा लुकेर रहेको भन्ने तथ्यको पेश गर्छन् ।

अघि कुरा उप्काइ सकिएको कुमार यात्रुले देखेका, भोगेका र लेखेका विष्णु चाम्लिङ–राई गम्छन्, “नेपाली साहित्य परम्परावादी विद्वानहरुको दिमागमा बहुलवादको चेतना नघुसेसम्म यहाँ नश्लीय विचारको अन्त्य पनि हुँदैन । गैर नेपाली मातृभाषीहरु अतिवादको चपेटामा फस्नु हुँदैन । यसका लागि हिन्दूवादी विम्बहरु बहिष्कार गरेर मौलिक र साँकृतिक विम्बहरु ग्रहण गर्नु पर्छ । विश्व–साहित्यमा नै देखिएको स्रष्टा बाँचेको संस्कृतिले साहित्यलाई प्रभाव पार्छ ।” हो उनले गमेझैं उल्लेखित किराँती–कोँइच साँस्कृतिक विम्बहरु स्रष्टा कातिचाको यो बहुलावादी सांस्कृतिक चेतना हुन् । यहाँ धर्मेन्द्र नेम्बाङसँग पनि लोली मिल्छ । ओझेलमा परेका यी सांस्कृतिक नीधि बाहेक समकालीन राजनैतिक परिवेशलाई ‘तेलङा लोलीलिङ्खा’ (२०६२ः ५६–६१) शीर्षकले चित्रण गर्नुका साथै वातावरणीय चुनौतीले आजको विश्वमानव दलदलमा फसी रहेको तथ्यलाई संबोधन गरेको छ । संस्कृति, धर्म, विद्रोह, मानवीय मानोदशा, र आधुनिकतालाई संबोधन गर्ने किराँती–कोँइच भाषाको भाषिक पक्षलाई सर्सर्ती हेर्नु पनि पाठकदीर्घ र भावी स्रष्टाहरुकालागि उपयोगी नै हुनेछ ।

मेनस्ट्रीमले सोच्छ, “यो देशमा एउटै भाषा र जातले एकछत्र शासन गरी रहनु पर्छ नेपालको सर्वभौमिकताका खातिर ।” तर अघि नै भनी सकियो यो देशको सर्वभौमिकता आफ्नो अस्तित्व जाकटी राख्ने सबल्टर्न आदिवासीहरुले बचाएका हुन् । तर मेनस्ट्रीमले कलेवर लगाइ दिन्छ, “यो देश बहु–जातीय, बह–ुभाषिक, बह–ुसांस्कृतिक र बहु–धार्मिक छ ।” र यही कलेवरीय नारामा यी सबल्टर्नहरुको नाममा विश्वभरि भीख मागेर जङ्गबहादुरीय जुँघा मुसार्दै सबल्टर्नहरुको टाउको दबाउँछ, घाँटी ङयाक्छ, “तिमेरु नाथेहरुको पनि भाषा हुन्छ र ? साहित्य हुन्छ र ? विज्ञान र प्रविधिको जमानालाई प्रतिनिधित्व गर्न सक्छ र ?” आदि इत्यादि ।

त्यसको सामना गर्नका लागि यो कृतिमा प्रशस्तै नवीन–शब्द–निर्माण ‘कोइनेज’ को प्रयोग भएको छ; जसले भावीस्रष्टाहरुलाई दिशा निर्देश गर्ने छ । तर यस्ता कोइनेजहरु प्राथमिकताका आधारमा प्रयोग गर्नु पर्ने छ र सापटी लिदा पनि मूलतः अन्य किराँती भाषा परिवारबाट नै लिदा आफ्नो स्व बच्नेछ । स्रष्टाले आफ्ना अग्रजहरुले गरेका र छोडेर गएका धरोहरहरुलाई पनि स्वीकारेर र सकारेर यात्रा गर्नु पर्ने देखिन्छ । मलाई मातृभाषी र पाठकको रुपमा औधी खड्केको कुरा के हो भने शब्दचयनमा बेमेलपन ‘इन्कन्सिस्टेन्सी’ छ । जस्तैः दल¥वल ‘सहर’, दल ‘सहर’, तेल्देल ‘गाउँघर’, तेल्खीँदु ‘गाउँघर’, छोरीदिल्री ‘साइनो’ चिँरीरिरी ‘साइनो’, ब, बः र बा ‘छ’ आदि । अनुसन्धानको क्रममा म आफैंले नम्ता÷नाम्स ‘साइनो ÷नातेदारी’ पनि भेटेको छु र यसैको प्रयोग गरेको छु । तर एउटै कृतिमा दुई खाले शब्दचयनले समस्या उत्पन्न गराउँछ । यसलाई मनन गर्नु पर्ने छ । यति मात्रै होइन स्रष्टा कातिचाको प्रायशः लेख–रचनाहरु मैले संकलन गरेको छु र ती सबैमा सोही इन्कन्सिस्टेन्सी कमजोरी देखिन्छ ।

उनको यो कृति …सेरेम फु(ङ) मा मैले किराँती–कोँइच लेख्य परम्परातिर उन्मुख भएको भाषा हुनाले यसको वर्णविन्यास÷हिज्जे ‘अर्थोग्रफी’ मा ध्यान नदिई नहुने अर्को पक्ष देखेको छु । आजसम्मको भाषावैज्ञानिक अध्ययनमा किराँती–कोँइचको वर्णव्यवस्थामा ‘घ, झ, ढ, ध, भ, छ औ ड’ ध्वनि÷वर्णको व्यतिरेकी लघुतम युग्म ‘मिनिमल पेअर’ पाइएको छैन र त्यति सारो प्रत्युत्पादक ‘प्रोडक्टिभ’ पनि देखिदैनन् । यसरी नै ‘ञ, क्ष तथा ष’ ध्वनि÷वर्ण प्रयोग नगर्दा पनि भाषाको लेख्य रुप पूर्ण नै हुन्छ । कुनै कुनै शब्दमा आर्यकरणको प्रभावले खस–नेपालीबाट प्रवेश गरेका छन् । यसको उपयुक्त समाधानको उपाय किराँती–चोङ (याक्थुङबा÷लिम्बू) बाट सिक्न सकिन्छ । यहाँ किराँती–चोङ भाषाको उदाहरण लिदा हुन्छ । जस्तै यो भाषामा खस–नेपालीमा पाइने ध्वनि वर्णहरु ‘ठ’ औ ‘ड’ पाइदैन । तर स्वदेशीकरण ‘नेटिभाइजेसन’ प्रक्रियाद्वारा आपूर्ति गर्न उपयुक्त हुन्छ । खस–नेपालीको देवनागरी लिपिमा लेखिने ‘काडमाडौं’ शब्दलाई किराँती–चोङमा ‘काथमान्दू’ लेखिन्छ र अर्थ हराउँदैन । सिरिजङगा लिपि किराँती–चोङ भाषाको ध्वनि वर्ण अनुरुप लेख्न अपूर्ण छ भन्ने अर्थ लाग्दैन र लगाउने चेष्टा गर्नु मनासिव हुँदैन ।

किराँती–कोँइचमा पनि ‘काठमान्दु’ लेख्न सकिन्छ । यहाँ किराँती–चोङमा ‘ठ’ ध्वनि वर्ण उपलव्ध छैन तापनि किराँती–कोँइचमा भने छ । तर दुवै भाषामा ध्वनि वर्ण ‘ड’ नभएकोले नेटिभाइजेसन गरेर ‘द’ बनाइएको हो । अघि उल्लेख भएझैं अन्य ध्वनि वर्णहरु जस्तै ‘ञ, ण, ष, त्र, क्ष औ ज्ञ’ हरुको प्रयोग नगरेरै पनि किराँती–कोँइच भाषाको वर्णविन्यास पूर्ण र विज्ञानसम्मत हुन्छ । यो पङ्तिकारको भाषावैज्ञानिक अर्थोग्रफी प्रस्ताव पत्यार लाग्दैन भने अन्य नामूद भाषा÷वर्णवैज्ञानिकहरु डा. तेजरत्न कंसाकार, डा. माधवप्रसाद पोखरेल, डा. नोवेलकिशोर राई, डा. रामावतार यादव, डा. शान्ति बस्न्यात आदिलाई समेत राखेर वर्ण परीक्षण गर्दा उचित र दीर्घकालीन भाषा विकासमा टेवा मिल्छ । ‘ड’ ध्वनि वर्णको बारेमा मैले अरु धेरै वक्ताहरुसँग परीक्षण गर्दा ‘ल’ औ ‘र’ को सम्वर्ण ‘यालफोन’ भएको पाएको छु । र अर्को तथ्य के पनि हो भने भूभाषिका ‘जिओलेक्ट’ र व्यक्तिभाषिका ‘इडियोलेक्ट’ को पनि बढी प्रभाव छ । परिवेश अनुरुप यो समस्याको समाधान ‘ल÷र’ ध्वनि वर्णहरुद्वारा हुन्छ । यहाँ त्यसको सम्भावनालाई प्रस्तुत गरिएको छ–

ब्डोष्यो → ब्लोश्यो÷ब्रोःशो ‘मीठो’
प्डाप्सला → प्लाप्सला ‘भुट्भुटी, छट्पटी’
ग्डुष्यो → ग्लुश्यो÷ग्रुःशो ‘निस्केको’
ख्डाःष्या → ख्लाःश्या÷ख्राःशा ‘खुम्चिएर’
ब्डेष्ष्या → ब्लेस्श्या÷ब्रेस्शा ‘बोलाएर’
ख्डोप्ष्या → ख्लोप्श्या÷ख्रोप्शा ‘घोप्टाएर’
ग्डाष्यो → ग्लाश्यो÷ग्राःशो ‘जितेको’
ख्डेष्ष्यो → ख्लेस्श्यो÷ख्रेस्शो ‘सारेको’
ब्डोञिचा → ब्लोइँचा÷ब्रोइँचा ‘बाँच्नु’

यस बाहेक किराँती–कोँइच भाषा किराँती–खालिङ जस्तै तानल भएकोले त्यसको प्रतिनिधित्व अर्थोग्रफीमा हुनु जरुरी छ । उनले प्रयोग गरेका दुई चिन्हहरु (ऽ र ः) लेवल तानका लागि प्रयोग भएको हुन सक्ने सम्भावना छ र उचो र निचो तानको प्रयोग कतै भएको छैन । यस्तै प्रिग्लोटलाइज्ड स्टप र ऐतिहासिक इम्प्लोसिभ ध्वनि वर्णहरुको पनि प्रतिनिधत्व भएको छैन । यसलाई पनि विचार पुरयाउनु पर्ने छ । भाषाबारे यहाँ अर्को तथ्य बुझ्नु पर्ने कुरा के छ भने मैले लेखेको शब्द ‘फु(ङ)’ जसमा ध्वनि वर्ण ‘ङ’ लाई सानो कोष्ठमा राख्नुको अर्थ भाषा परिवर्तनलाई इङ्गित गर्नु हो । किराँती–चोङमा यो शब्द स्पष्टै ‘फुङ’ छ र अन्य किराँती भाषाहरुमा बुङ ‘फूल’ हो । तर किराँती–कोँइचमा भने ‘ङ’ ध्वनि वर्ण लोप ‘ड्रप’ भएको छ । यहाँ पल्लो किराँत र वल्लो किराँतको ‘फ’ माझ किराँतमा ‘ब’ मा परिवर्तन भएको छ ।

यी त भए संस्कृति औ जैविकज्ञान आदिको संवाहक भाषाको केही परिवर्तन तथा समस्यामूलक झिल्काहरु । ध्वनि परिवर्तन र भाषिका समस्यालाई यहीं थाँती राख्दै डा. मोरिन लीसँग किराँती–कोँइच र किराँती–बाअ्युङ भाषामा भएको द्वयओष्ठ्य नासिकय ‘बाइलेबियल नेजल’ ‘म’ र ‘न’ लोप ‘ड्रप’ को रहस्यलाई प्रस्तुत गर्दै स्रष्टाको भाषा प्रयोगलाई विट मार्न चाहन्छु । लीद्वारा भएको हालैको किराँती–बाअ्युङको अध्ययनले बाअ्युङ लगायत अन्य किराँती भाषाहरुमा भएको शब्द अन्त्य ‘वर्ड फाइनल’ ‘म’ किराँती–कोँइचमा ड्रप हुन्छ । तर मेरो अध्ययनमा जस्तै चाम ‘केश’ र वाम ‘भालु’ को ‘म’ ड्रप हुँदा किराँती–कोँइचमा पूर्ण त ड्रप नभएर चाँ र वाँ हुन्छ । र ‘–चा र चाँ औ वा र वाँ’ मा व्यतिरेकी अर्थहरु हुन्छन् ।
तर उनको सूचक स्यामुअल सुनुवार (मार्लिना शल्जको विगत तथा वर्तमानमा भाषा सूचक ज्ञानसिंह सुनुवारको छोरा, रामेछाप) ले त्यस्तो नेजल ध्वनिको फरक नै देखाएनन् । यसले पनि किराँती–कोँइचको भाषा ध्वनि परिवर्तनको विभिन्न छनकहरुको महत्व राख्दछ र अबदेखि सिर्जनात्मक लेखनमा यी तथ्यहरुको प्रतिनिधित्व र मानकीकरण ‘स्टयाण्डर्डाइजेसन’ को सवाललाई गम्भीर भएर अगाडि बढाउनु पर्छ । साँच्चै किराँती–कोँइच भाषाको माया भएको जो कोही बक्ता र स्रष्टाहरुले पनि कथ्य र लेख्य (जस्तै रापच् र रापचा र यो स्रष्टाको थर काऽतिच् र कातिचा आदि) भाषालाई साथ साथै अघि बढाएर बचाउँदै औ सम्वद्र्धन गर्दै लानु जरुरी देखिन्छ ।

भाषा प्रयोगको थुप्रैमध्ये केही पक्षहरुलाई नियाली सकेपछि फेरि …सेरेम फु(ङ) को वासनातिर फर्कौं र हामी पनि स्रष्टा कातिचासँग आफ्नो सबल्टर्न भाषा र रवैया हराउँदै गएकोमा धुरुधरु रुन थालौं सीमापारी हाम्रा पुर्खाहरुले कमाएको बहादुरीको तक्मा खोज्दै–

“नेरीखेत्रीके गुम्नम्पङापङानुन्
(आफ्नो बहादुरीको फूर्ति गर्दागर्दै)
जिक्रिःष्यो न्हाःदो चिष्ष्या ङम्ला सेँसीङानु दा
(अन्धकार रात चिरेर सपनाबाट व्युँझदा त)
आँ जिम्ङा राग्यम् मार–मार ल्वो–दीक्योपुकि फाइसिमा
(मेरो विपनाको देशमा के के दुर्घटना घटी सकेछ)
मीच् काःष्या क्वोता, क्यारी पा क्वोता, मिम्ष्या क्वोता
(आँखा उघारेर हेरें, विचार गरेर, सोचेर हेरें)
सिनात्केङा मुलात् न्हाःम्हुँः साप्पा दोर्मात काब्न्हाःदोमिन् ।
(हिजो भन्दा आज समयले कति चाँडो फड्को मारेछ एकै रातमा)
गिष्य ष्यूष् फ्डाँदा फ्डाचा फ्डास् दुम्मे
(कति फरक भए छ)
गिच्चाका मिम्ता ओष्यो दाम्पा रिप्पा जाःष्यो फाञीस्
(एक्लै साचें–यति चाँडै आएको परिवर्तन)
दिशा ओँदेन लीबा मलीबा आम्कलिन् हिल्लो पाःता
(भोलि यसरी नै रहन्छ रहँदैन आफैंलाई सोधें)
सिनात्सबेर्केङा मुल्सुनी थमापान् हरेवोन् फ्डाँदा दुम्मात् मार्देङना
(हिजो अस्ति भन्दा आज विहान साँच्चै बेग्लो भए छ)
हुइष्खाइष्वोलुपुकिमि वाल्दीऽष्या गो आम्केन तयाताँखी माल्ष्या बाःती
(रगताम्मे गराहरुमा मैले मेरै अस्तित्व खोजी रहें) (२०६२ः ८–९)

हो म यी हरफहरु उतार्दै गर्दा आँसुका सहस्र धारहरु बगाइ रहेछु तर लेख्न रोकेको छुइन । यो आँसु बगाउने बेला मात्रै होइन । स्रष्टा कातिचाले जस्तै केही गरी हाल्ने र दिई हाल्ने बेला हो । तसर्थ, शीतनिद्रबाट ब्युँझेर आउ किराँती कोँइचप्रियहरु हो तिमी र म पनि एकै साथ प्रण गर्दै स्रष्टा कोँइचबु कातिचासँग शरीर र छाँया जस्तै सँगैसँगै हिडौं ।

यहाँ देख्नु भयो हाम्रो सबल्टर्न मातृभाषासँग पुच्छर लाग्दै खस–नेपाली पनि आएको छ । हामी दोभाषे भयौं । तर हाम्रो दुई किलो ग्राम गिदीले दोभाषा मात्रै होइन बहु वा १५–२० भाषा पनि सिक्न र वहन गर्न सक्छ । हिम्मत हार्नु हुँदैन । मैले यहाँ कवि कातिचासँग प्रत्यक्ष कुराकानीमा आधारित अनुवादको प्रसङ्गलाई कोट्याउन खोजेको हुँ । यसको बारेमा म उम्वर्टो एकोलाई अघि सार्छुःThere are many, many philosophical essays that say translation is impossible. But all those essays are translated in various languages and many people learn through these translated essays that translation is impossible (अर्थात् धेरै, धेरै दार्शनिक निवन्धहरुले अनुवाद असम्भव छ भनेको पाइन्छ । तर यी निवन्धहरु विभिन्न भाषामा अनुवाद गरिएका छन् र पाठकहरुले यी निवन्धहरुबाटै अनुवाद असम्भव छ भनेर थाहा पाउँछन् ।)”

बौद्धिक साधु एकोको सारगर्भित भनाइले मलाई कवि कातिचासँग सम्वादमा भन्न मन लाग्छ– “किराँती–कोँइच भाषा विभिन्न कठिनाइका वावजूद खस–नेपालीमा अनुवाद गर्न नसकिने होइन राखेर राम्रै पनि भयो ।” तैपनि धेरै स्थानहरु र सन्दर्भहरुमा अनुवादको पनि ख्याल राख्नु पर्ने छ …सेरेम फु(ङ) र अरु आगामी प्रकाशनहरुमा ।
पुःनश्च एकचोटी हामी सबै पाठकहरु पनि एकै पटक दोहोरयाउँ स्रष्टा कातिचासँगै सबल्टर्न भाषा किराँती–कोँइचमा “देनेन् एइ सेरेम फु(ङ)” । मुल बोअ्किने । फुइलुबुदी साप्पा मइपिने । आम ममालोकलि यो पोअ्किने । तेक जाम्नी एइ… कोँइच मुरुपिकी ? कोँइचबु काऽतिचा इन्कलि चारनाइलुमि रिम्श्या रिम्श्या ब्लेस्श्या सेस्श्या बाअ्शो बाअ्तेमे । मतनी ? इन्के नोफाकलि मार दुम्मे ? नुफ्त । लो मुल ब्लाइ ।

––––––––––––––––––––––––––––––––––––––––––
कृतिः देन् ए सेरेम फु(ङ)
विधाः पद्य÷कविता
स्रष्टाः कोँइचबु काऽतिच (उत्तम कातिचा–सुनुवार)
प्रकाशकः चुप्लु समाज, काठमाडौं
प्रथम प्रकाशनः सम्वत् २०६२ (सन् २००५)
मूल्यः १०५.
––––––––––––––––––––––––––––––––––––
ले. भाषाविज्ञान तथा अङ्ग्रेजी केन्द्र, जवाहरलाल नेहरु विश्वविद्यालयबाट भाषाविज्ञान अन्तरगत किराती–कोँइचको वर्णात्मक व्याकरण (डिसेम्बर २००५) मा विद्यावारिधि (पीएचडी) पूरा गरेका छन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *