By: Arjun Thapa
सधैँ सधैँ स्वीकार गर्नुपर्ने एउटा बिहानी र एउटा ब्युँझनुको पराधीन उद्दाम मैदानमा लम्पसार सुतिदिएको यस जीवनलाई सधैँ समयको सुइरोले एउटा आघात दिन्छ । सोच्छु, यो एउटा बिहानी हो जहाँ समयको नांगोपनलाई शरीरभरि लिएर बाँच्नुको एउटा स्वीकारोक्ति दिन्छ । कति आनन्दले सुतिराखेको छ कमल । हिजोबाट त झन् खुसी भएको छ ऊ । खुसी पनि किन नहोस् त हुनेवाला सिइओ जो प¥यो । चार वर्ष अगाडि हाम्रो लभ म्यारिज भएको थियो । हामी कलेजदेखि साथी हुँदै आज लोग्नेस्वास्नीसम्म हुन पुग्यौँ । चार वर्ष अगाडि र आजको कमलमा आकाश जमिनको फरक भइसकेको थियो । समयले हरेक कुराहरूलाई कति चाँडो चेन्ज गरिदिँदो रहेछ भन्ने बल्ल थाहा पाउँदैछु । यो घरमा प्रेमिकाबाट दुलही भएर आउँदा म आफूलाई कति भाग्यमानी सम्झेको थिएँ । त्यो हाम्रो पहिलो रात र हाम्रो कोठा अनि कोठामा हरेक वस्तुहरू मेरो चाहना अनुसार सजिएका थिए । कति ससाना कुराहरूको विचार गथ्र्यो कमल मेरो ।
‘सन्जु आज तिमीले मेरो बाँच्नुको अर्थ पुरा गरिदियौ । तिमीले मेरो जीवनमा आएर नयाँ बिहानीको सुरूवात गरेका छौ । र आज म तिमीलाई एउटा बयान दिन्छु कि तिम्रो हरेक कदमहरूमा म सधैँ तिम्रो साथ हुनेछु’ मेरो हात समातेर रूँदै भनेको मान्छे ऊ ।
उफ् के भाको होला म पनि एकाबिहानै ती पुराना कुराहरू सम्झेर अब केही फाइदा छ र के ? उठेर झ्याल खोलेँ । झरीले निथ्रुक्क भिजेको बैरागलाग्दो बिहानी । चराका नीप्स बोलीहरू सुनेर पनि झन्झन् मन रूँरूँझैँ लाग्न थाल्छ । बादलको अटेमसटेसभित्र लुकेको क्षितिज जो एउटा भ्रामक धर्सो पनि हो, लाई सम्झँदा मात्र आफ्नो अन्तरमा अनन्त तिर्खाको छटपटि, मानौँ एउटा मर्न नसकेको अस्तित्व आफूभित्र छ ।
दिनप्रतिदिन चेन्ज हुँदै गएको थियो कमल । उसको लागि मात्र ऊ र उसको फ्युचर बाहेक बाँकी सब शून्य थिए । म हुनु नहुनु उसको लागि केही महत्व राख्दैन थियो । म बोर हुँदै गइराखेको थिएँ ऊ र उसको घरदेखि । कैयौँ दिन ऊ घर नै अउँदैन थियो, मात्र काम, अफिस र उसको धनी बन्ने सपना ।
‘सन्जु तिम्रो लागि म कति इन्पोर्टटेन्ट छु ?’ उसले हाम्रो एनिभर्सरीको रात सोधेको थियो ।
‘कमल तिमी यदि मेरो लागि केही नहुने हो भने, सबै छोडेर तिमीसँग पक्कै पनि विवाह गर्ने थिइनँ होला’, मेरो उत्तर सुनेर ऊ नजिक आउँछ र मेरो काखमा बच्चाले जस्तै टाउको राख्छ ।
‘मलाई थाहा छ तिमी मसँग दुखी छौँ । मलाई यो पनि थाहा छ कि मैले तिम्रो लागि टाइम दिन सकिराखेको छैन । तर सन्जु मैले जे गरिराखेको छु मात्र हाम्रो सुन्दर भविष्यको लागि हो । बिस्तारै अब हाम्रो बच्चा होलान् हो ती सबका लागि यो सब दुख गर्नुपरेको हो’, उसको बोलीमा म बढी सहजता भेट्टाउँछु ।
उसको आँसुका थोपाहरूले मेरो काखमा चिसो अनुभव हुन्छ र साथै कमलको मुखबाट पहिलो पटक ‘हाम्रो बच्चा’ भन्ने शब्दले मनमा कताकता शीतल पैदा गर्छ ।
‘सन्जु आज हाम्रो फस्र्ट एनिभर्सरी हो । आजसम्म मैले तिमीसँग केही मागेको छैन । आज म तिमीसँग हाम्रो फ्युचरको लागि केही माग्न चाहन्छु, के दिन सक्छौ ?’ ऊ दुई हात जोडेर मेरो अगाडि घुँडा टेक्छ ।
‘के गरेको तिमीले ? म तिम्रो छु र तिमी मेरो । अब पनि हामीबीच केही लुकेको छ र नि । निर्धक्कले भन कमल, म पूर्ण रूपमा तिम्रो छु’ म खुसीले उसलाई माया गर्छु ।
‘थाहा छैन तिमीले मलाई के सोच्ने छौ जब मेरो कुरा सुनेपछि तर सन्जु मलाई गलत नसम्झनु । मात्र हाम्रो फ्युचरको लागि हो र बस् एक पटकको लागि हो । त्यसपछि यो कुरा कहिल्यै दोहोरिने छैन र हाम्रो सम्बन्ध झन् प्रगाढ हुनेछ’ अझैँ त्यही हात जोडिरहेको अवस्था हुन्छ ।
‘अब धेरै भूमिका नबाँध । जे छ खुलस्त भन’ मनमा एक प्रकारको डर उत्पन्न हुन थालिसकेको थियो मलाई ।
‘मेरो अफिसको बोस अर्को महिना जर्मनबाट आउँदैछ । यस पटक जसरी हुन्छ प्रमोसन हात पार्नुपर्छ, जसको लागि बोसलाई खुसी पार्नु छ र त्यसको लागि एक रातको लागि तिमीले हाम्रो फ्युचरको लागि सम्झौता गर्नुपर्छ ।’
आधा रातको समाप्ति भइसकेको छ । बत्ती धक फुकाएर बलिरहेको छ । बाँकी सबै मुर्दाजस्तै चकमन्न र निर्जीव । हाम्रो पहिलो एनिभर्सरी थियो आज । कति सपनाहरू बुनेर आजैको दिन आएको थिएँ यो घरमा । जे भयो भयो तर आफ्नो स्पेसल रातलाई झन् रोमान्टिक बनाउँछु भनेर बिहानदेखि घरको सरसफाई गरी कमललाई मन पर्ने परिकार र साथमा रेड वाइन ल्याएको थिएँ । तर क्षणभरमा नीरस रात भइदियो ।
कमल आफ्नो सिंगो शरीरलाई मूर्ति जस्तै पारी एकटकले मलाई नै हेरिराखेको थियो । अब मलाई उसको घिनलाग्दो आकृति आँखाभरि आएर बाधा गरिराख्यो । उसको एउटा निसंकोच हेराईमा कहीँ कतै आत्मग्लानी थिएन । लाग्थ्यो कोठाभरि कमलको डरलाग्दो आकृति डुलिरहेको छ, अनायास आफ्ना लामालामा हातहरूले ऊ मलाई अँठ्याउन खोजिरहेको छ । एउटा घृणित स्वार्थको लागि मलाई बली चढाउन सुन्दर फ्युचरको लोभ देखाइराखेको छ । कति फोस्रो रहेछ हाम्रो सम्बन्ध । झ्यालको चिसो हावा थापेर सोच्दा हाम्रा भोलिका फ्युचर देखेर आफँैलाई हाँसो उठ्यो । प्रश्न गरेँ, के ममा अझै पनि मेरो आफ्नोपन शेष छ ? के हुन्छ यो भएर पनि अब ?
यो स्थितिको भाग्ने ठाउँ छ कतै ? निरूत्तर थिएँ । कोठाको सन्त्रास क्रमशः शिथिल हुँदै गयो ।
महिनौँ दिनसम्म विभिन्न प्रलोभन देखाउँदै ऊ मलाई फकाइरह्यो । अन्ततः म हारेँ वा अझ भने भनूँ मलाई बाध्य बनाइयो । सम्झौताको लागि । दिनहरू त्यसरी बित्छन् । म त्यसरी नै दिन काट्छु अथवा आफूलाई समय काटिरहेको पाउँछु । अँध्यारोलाई अब म साबिक बमोजिम निलिदिन्छु । कमलको त्यो ‘एक रातको सम्झौता’ क्रम बढ्दै गइराखेको थियो । होटलको कोठा र स्थितिहरूलाई अब म परिभाषा दिने गर्दिनँ । मलाई अब अपराधबोध पनि त हुँदैन । प्रेम, कमल र म अनि हाँसो उठ्छ, जुन हाँसोमा अब अर्थहीनता पनि हुँदैन ।
‘ढुक्क हुनुस् अब तपाईंको श्रीमान्लाई सिइओ बन्न कसैले रोक्दैन । यसरी नै खुसी पार्दै जानु भएमा तपाईंको श्रीमान् धेरैमाथि पुग्नु हुनेछ ।’ यस्ता कुराहरू धेरै बोलिन्थ्यो र प्रत्येकपल्ट म आफूलाई यस्ता शब्दसँग अल्झिरहेको पाउँथे ।
‘तपाईं आज किन यसरी क्रेजी हुनुभएको ? अब त घरमा भन्दा होटलको कोठामा नै बढी रमाइलो लाग्न थाल्यो जस्तो छ नि ।’ चुरोटको धुँवाका गोलगोल चक्रहरू सामुन्नेमा आउँदै फिँजिँदै थिए । म अकारण ती चक्काहरू गन्न लागे । गालाको पाटामा चोटभन्दा अपमान बढी दुखेको थियो ।
‘सन्जु आज म धेरै खुसी छु । दुई दुईटा खुसी एकैसाथ हाम्रो जीवनमा आयो । तिम्रो कमल आजबाट सिइओ भयो र अबको नौ महिनापछि हाम्रो बडी हुँदै छ । यो सब तिम्रो कारणले भएको हो सन्जु ।’ ऊ मेरो काखमा फैलिन्छ ।
छातीभरि म कमल तातो र दुर्गन्ध अनुभव गरिरहेको थिएँ । मेरो छातीमा हात राख्दै मेरो ओठ चुम्न खोज्छ । अब शरीरभरि लोग्नेमान्छे थाप्नुको अनुभवबाट अभ्यस्त भइसकेको म कमलको गह्रुँगो थिचाइले सक्सकाउन लागेको थियो । म पनि आफूलाई एउटा खुला बजार मान्न थालिसकेको थिएँ र पसलजस्तै खुलस्त बसेकी थिई । मलाई आफ्नो हुनु धेरै तल्लो तहको घृणास्पद लाग्यो । मैले फेरि पनि आफ्नो जीउभरि चिप्लेकीरा टाँसिएको महसुस गर्छु ।
‘सन्जु अब हुनेवाला बच्चाको नाम हामी के राख्ने ? छोरा वा छोरीको’ ऊ बोलिरहन्छ ।
‘यो मेरो पेटमा भएको बच्चा तिम्रो होइन । यो बच्चा तिम्रो नभएर होटलका रूममा हरेक हप्ता बिताएका सम्झौताका हुन् ।’ मलाई कोठाको भित्ता चर्किने गरी कराएर भन्न मन लाग्छ । तर चुप लागिदिन्छु ।
कमललाई पहिलो पटक भेट भएदेखिको कुराहरू खोतलेर मनमनै सोच्न थाल्छु– एउटा सत्ताहीन मानिससँग बीच हुनुको के माने छ ? प्रत्येक दीनहीन मनस्थितिहरू अब ममा चिप्लेटी खेलेर जान्छन् ।