By: Ramesh Dahal, Kathmandu
आज फागुन २८ गते मंगलबार एक समारोहमा नेपाली लोकसाहित्यमा अनवरत योगदान गरेका संस्कृतिविद् सत्यमोहन जोशी नगद रु. १०१,०००।— पुरस्कार राशीसहित सम्मानित भएका छन् ।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारका संस्थापक स्रष्टा महेश्वर पन्त हुन् भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले गरेका थिए ।
विदेशमा बसेर पनि नेपाली लोक साहित्यमा योगदान गर्ने व्यक्तिलाई १००१ युएस डलर र नेपालमा बसेर योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष रु. १०१००० पुरस्कारसहित सम्मान गरिने कुरा पुरस्कारका संस्थापक महेश्वर पन्तले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टा कालीभक्त पन्त नेपाली लोकसाहित्यका इतिहासमा नक्षेत्र रहेका कुरा बताएका थिए ।
पुरस्कृत तथा सम्मानित सत्यमोहन जोशीले कालीभक्त पन्तको प्रेरणाले नै आफू यस क्षेत्रमा लागि परेको कुरा बताउँदै सह प्राज्ञ भएका वेला ज्यानको जोखिम मोलेर नेपाली लोक साहित्यको खोज अनुसन्धानका लागि विकट विकट जिल्लामा गएको अनुभव सुनाउँदै त्यहाँका स्थानीय बनपाखाका गीतबाट प्रभावित भएको कुरा बताए ।
सत्यमोहन जोशीले ती नै बनपाखाका स्थानीय गीतसम्बन्धी अनुसन्धानात्मक कृतिले मदन पुरस्कार पाएको र सो पुरस्कारको श्रेय उनीहरूनै रहेको कुरा बताउँदै त्यसवेलाका गीतसमेत गाउँदै कार्यक्रमलाई रोचक बनाएका थिए ।
स्रष्टा कालीभक्त पन्तका बारेमा चर्चा गर्दै साहित्यकार प्रेम छोटाले कालीभक्त पन्त त्यसवेला राणा सरकार विरुद्धको आन्दोलनमा लागेका सेनानी भएको र प्रजातन्त्रको उदयपश्चात तात्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाई प्रजातन्त्रका सेनानीलाई पेन्सन दिनुपर्ने माग राख्दा सुनुवाइ नभएका कारण नेपाली लोकसाहित्यको उत्थानमा लागेको कुरा बताए । त्यसबखत पनि जातभातको छुवाछूत र रजस्वलाका विषयमा हुने विभेदका विरुद्धमा कालीभक्त पन्त खरो रूपमा उत्रिएका कुरा बताएका थिए ।
त्यसैगरी साहित्यकार गोपीकृष्णले स्रष्टा कालीभक्त पन्तको नेपाली लोकसाहित्यका क्षेत्रमा रहेको योगदानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा स्रष्टा महेश्वर पन्तको दोस्रो कथा कृति ‘नबोल्नेहरू’ पनि लोकार्पित भएको थियो । ‘नबोल्नेहरू’ कथाकृतिमाथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार किशोर पहाडीले कथाभित्रका हरेक कथाले नेपाली जनजीवन र माटो बोलेको कुरा बताएका थिए भने अर्का समीक्षक राजकुमार बानियाले कृतिभित्रको कथाहरू उत्तिकै सशक्त रहेको र त्यसमा पनि न्यूयोर्कको गन्धर्व शिर्षकको कथा आफूलाई अत्यन्त मन परेको कुरा बताएका थिए ।
कथाकार महेश्वर पन्तले आफू अमेरिका बसेतापनि मन मुटु सबै तिनै गाउँ वेशी र तिनै झुपडीहरूमा रहेको कुरा बताए । उक्त कृतिको सम्पादक हरि अधिकारी हुन् भने सह सम्पादक रमेश दाहाल हुन् ।

राजधानीको सी डब्लु रेष्टुरेन्टमा भएको उक्त कार्यक्रमको अवसर पारेर ब्ल्ड डोनर्स अफ अमेरिकाले आयोजना गरेको कविता महोत्सवमा प्रथम हुने रमेश सागरले भानु पुरस्कार द्वितीय हुने गीता पुडासैनीले मोती पुरस्कार र तृतीय हुने रामगोपाल आशुतोषलाई लक्ष्मी पुरस्कार क्रमशः ४००००, २०००० र १०००० नगदसहित प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले वितरण गरेका थिए । कार्यक्रमलाई गीतकार, संगीतकार नरहरि प्रेमीले सञ्चालन गरेका थिए ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *