नेपाली लोकजीवनमा रामायण संस्कृति विषयमा डा. भक्त राईको कार्यपत्र र भानुभक्तीय रचनाको सामाजिक प्रभाव विषयमा डा. तुलसी भट्टराईको कार्यपत्र प्रस्तुतिसँगै २०६ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठान संस्कृति विभाग तथा साहित्य (बालसाहित्य र लोकवार्ता) विभागले देवकोटा सभाकक्षमा आयोजना गरेको भानु सम्बन्धि विचार गोष्ठीसँगै भानुजयन्ती सप्ताह प्रारम्भ भएको छ।

भानुजयन्ती सप्तहको आज पहिलो दिन, परम्परागत रुपमा भानुभक्तलाई सम्झिने चलनभन्दा अलि फरक विभिन्न विद्वानहरु वीच विचार, विमर्श, बहस र मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो कार्यपत्रमा डा. भक्त राईले रामायण भनेको के हो ? लोक रामायण भनेको के हो ? रामायण कहिले लेखिए ? रामायण कति प्रकारका छन् ? राम वास्तवमा कस्को छोरा हुन् ? सीता वास्तवमा कस्की छोरी हुन् ? भानुभक्तीय रामायण कहिले लेखिए ? भानुभक्तीय रामायको मूल विशेषता केके हुन् ? भानुभक्तीय रामायण कति भाषामा प्रकाशित छन् ? रामायणले नेपाली समाजमा कस्तो प्रभाव पार्न सफल भए ? नेपालमा कति प्रकारको रामायण प्रचलित छन् ? आदि विषयमा प्रकाश पार्नु भएको थियो । त्यसैगरी दोश्रो कार्यपत्रमा डा. तुलसीप्रसाद भट्टाराईले भानुभक्तीय रचनाको सामाजिक पक्षका वारेमा चर्चा गर्नुभएको थियो ।

संस्कृति विभाग प्रमुख समेत रहनु भएका उपकुलपति जगमान गुरुङले रामायण भनेकै रमाउनु हो भन्नुहुँदै विचारगोष्ठीमा राई र भट्टराई दुई जनालाई गोष्ठीपत्र प्रस्तुत गर्न दिएर समावेशिताको उदाहरणीय कार्यको थालनी भानु जन्मजयन्तीमा भएको, आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताउदै उहाँले भन्नुभयो, “रामायण र अन्य कृतिका माध्यमबाट भानुभक्त विश्वसामु आफू परिचित हुन सफल हुनुभयो । निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्ने उहाँको जिकिर थियो ।

“हाम्रो आमन्त्रणलाई स्वीकार गरी मुसलधारे पानी परिरहेका बेलामा पनि कार्यक्रममा उपस्थित भएर यहाँ प्रस्तुत विचारपत्रमा विभिन्न सान्दर्भिक सल्लाह सुझाव दिनुहुने तथा नबोल्नेहरुले पनि मौन समर्थनसहित हललाई खचाखच बनाइदिनुका साथै अन्तिम समयसम्म पनि हलचल नगरी बसिदिनुहुने बौद्धिक वर्गलाई सदैव यस्तै साथ र सहयोगको अपेक्षासहित प्रज्ञा प्रतिष्ठानको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” कार्यक्रमको अन्तिममा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले आभारप्रकट गर्दै भानुक्तीय रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउनुभयो । उहाँले रामायणले नेपाली समाजको चित्रण गर्दै भाषा–साहित्यको जग बसाल्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो । सदस्य सचिव प्रा. उपाध्यायले भन्नुभयो, “मानिसलाई सत्कर्ममा लाग्न र जीवन जिउने कला पनि रामायणले नै सिकाएको छ । यसकारण भानुभक्तको चिन्तनलाई हाम्रो चरित्रमा उतार्नु नै भानु जयन्तीको मूल सन्देश हो ।”

अत्यन्त महत्त्वपूर्ण, अत्यन्त समसामयिक गरिमामय कार्यक्रमको स्वागत मन्तव्यको क्रममा प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली समाजका विभिन्न समुदाय र संस्कृतिमा भानुभक्तीय रामायणको अत्यन्त गहिरो प्रभाव रहेको बताउनुभयो । उहाँले भानुभक्तीय रामायणका माध्यमबाट विश्वमा नेपाली संस्कृति र सम्पन्नताको प्रचार गर्न सकिने बताउनुभयो ।

भारतीय राजदूतावासका प्रथम सचिव प्रा.डा. केदारनाथ शर्माले रामायण आर्य संस्कृतिको मणि भएको बताउँदै यसले सबैको भावनालाई समेटेको दाबी गर्नुभयो ।
भानु प्रतिष्ठानले आयोजना गरेको भानुजयन्तीका सप्ताहव्यापी प्रमुख कार्यक्रमका वारेमा जानकारी गराउँदै कार्यक्रमका सभाध्यक्ष भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले प्रतिष्ठानले भानुभक्त र भानुभक्तीय रामायणलाई केन्द्रमा राखेर नेपाली भाषा र साहित्यको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भानुभक्त नेपाली जातिको प्रतीक भएको विचार व्यक्त गर्नुुभयो ।
दुवै गोष्ठीपत्रमाथि सहभागीले परिपूरक समीक्षा गरेका थिए । कार्यक्रम भानु प्रतिष्ठानका महासचिव डी.पी. अर्यालले सञ्चालन गर्नुभएको थियो ।

सप्ताहप्यापी प्रमुख कार्यक्रमहरु :-

असार २५ गते (आज) : भानुभक्तीय रचनाको सामाजिक पक्ष र नेपाली लोकजीवनमा रामायण संस्कृति विषयमा कार्यशाला गोष्ठी ।

असार २६ गते : वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम, एपेक्स लाईफ स्कुल सरस्वतीनगर, विहान १० बजे ।

असार २७ गते : अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता, रिभेरा इन्टरनेशनल स्कुल चुच्चेपाटी, विहान १० बजे ।

असार २८ गते : अन्तर राष्ट्रिय नेपाली साहित्यीक तथा साँस्कृतिक व्यक्तित्वहरुको सम्मान ।

असार २९ गते : प्रभातफेरीसहित नगरपरिक्रमाका साथ श्रद्धाञ्जली सभा र अन्तरराष्ट्रिय नेपाली साहित्यिक तथा साँस्कृतिक संस्थाहरुको सहभागितामा राष्ट्रकवि माधव घिमिरेको रथारोहण र समाभिनन्दन सभा, प्रतिष्ठान प्राङ्गण विहान ७ बजे ।

असार ३० गते : व्यास नगरपालिका दमौलीको सहकार्यमा भानु काव्यसन्ध्या ।

असार ३१ गते : भानुसङ्गीत लहरी, साँस्कृतिक संस्थान जमलमा अपरान्ह ४ बजे ।

श्रावण ३ गते : अन्तरविद्यालय भानुभक्तीय रचना वाचन प्रतियोगिता गुह्येश्वरी माध्यामिक विद्यालय, सिनामंगल दिउँसो १ बजे ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *