-रोसन अधिकारी
पुरानो पुस्तकभित्रको एउटा सुकेको गुलाब नियाल्दै गर्दा ऊ त्यसभित्रको आफ्नो पुरानो कथा सम्झिन्छ।दस वर्ष अघिको फ्ल्यासब्याक मा ऊ नयाँ दिल्लीस्थित मयुर विहार फेज-दुईको एक्सिस बैंकको ढोकाछेउमा एउटा कनोपीभित्र फाइनान्स स्किम सञ्चालन गर्ने ट्रेनीको रूपमा हरेक दिन आफ्नो स्किम दोकान खोल्छ। यही सिलसिलामा घट्छ, सुकेको गुलाबको कथा बोकेको घटना।
सदाझैं त्यसदिन पनि बिहान साढे नौ बजे उसले आफ्नो दोकान खोल्यो अनि सेवाग्राही नआउन्जेल चहार्न थाल्यो आफ्ना आँखाहरूलाई क्षितिजभरिका दृश्यहरूमा। यसै क्रममा बैंककै अगाडि सडक किनाराको रङ्गीबिरङ्गी फूलहरूको पसलमा तीन चारजना युवतीको समूह बैंकतिर हेर्दै हाँसिरहेको देख्दा उसले आफूलाई बैंकको सिसावाला ढोकामा नियाल्यो।
‘सबै ठीकै छ त किन हाँसिरहेछन् यिनीहरू?’ आफैंलाई प्रश्न गर्यो। सेवाग्राहीको चहलपहल सुरू नभइसकेकाले एकछिन बैंकको बरण्डामा टहलियो अनि पुनः टेबुल कुर्सीमै फर्कियो। अघिका युवतीहरूलाई नजर अन्दाज गर्न खोजे पनि उसको कौतुहलता मेटिएको थिएन। झुलुक्क नजानिँदो पाराले फूल पसलतिर नजर लगायो। युवतीहरू अझै त्यहीँ थिए। उसैगरी कानेखुशी गर्दै थिए।
‘कसलाई हेरेर हाँसेका हुन्? किन हाँसेका हुन् ?’ आदि प्रश्नहरूले घेरिएर अन्यौल हुँदा पनि ऊ ‘मेन विल बि मेन’ वाला कथनभित्र खुम्चिएर तीन वटीमध्ये कुन राम्री कुन नराम्री भनेर जजमेण्टल बन्न थाल्यो अनि ग्रेडिङ गर्यो; ए, बि र सि भनेर। उसको ग्रेड रिपोर्ट तयार हुँदै गर्दा उसको टेबुलमा एउटा गुलाब आएर थपक्क बस्यो अनि कानैमा एउटा बालस्वर गुञ्जियो, ‘भैया, आपको वो दिदी ने ये रोज भेजा है’। अकमक्क भयो अनि ‘दिलमे लड्डु फुटा’ वाला भावभङ्गीमा गजक्क परेर ‘थ्याङ्क यू बोल देना’ भन्दै फूल लियो। अब उसलाई हेर्नु थियो त्यो फूल पसलेको बच्चाले ‘वो दिदी’ भनेर ईशारा गरेकी युवती कुन हो भनेर। उनीहरूले उसलाई नै हेरिरहेका थिए। अघि उसले तयार पारेको रिपोर्ट अनुसार ‘सि’ वाली युवतीको गुलाब पाएको कुरा थाहा पायो।
भगवानको प्रसाद स्वरूप गुलाब स्वीकार गर्यो, अनि मनमनै ‘नहुनु मामाभन्दा कानो मामा ठीक’ सम्झियो। मनमनै रोज रोज किसीको रोज नहीँ मिलता भन्यो अनि आफ्नो नसिब चम्केको भन्ठान्यो। फूल पसलेको बच्चा फर्कियो। युवतीहरू फेरि कानेखुशी गर्न थाले। गुलाबवाली लजाउँदै आफैंतिर आइरहेको देख्यो। यसपटक ‘मनमे लड्डु फुटा’ होइन पूरै लड्डु पसलभरिका लड्डु गुटुङटुङ गुड्किरहेको देख्यो। युवती छेउमै आइन् अनि संवाद सुरू भो ।
‘रोजसे आपको बुरा तो नहीं लगा?’
‘नहीं तो।’
‘फ्रेण्ड समझके रख लिजिये। अगर बुरा लगा है तो वापिस कर दिजिये।’
‘कोई नहीं, रख लेता हुँ।’
‘अच्छा, बुरा नहीं मानेङ्गे तो आपका नम्बर मिल सकता है ?’
‘हाँ 99……….’
‘ठीक है, कल करुङ्गी। बाई ।’
‘बाई।’
संवाद सकियो, उसका साथीहरूसँगै उनी पर क्षितिजमा कमिला बनेर अन्तर्ध्यान भई। युवक दिनभरि जसो गुलाब हेरेर मुस्कुराइरह्यो। साँझ घर पुगेर उसको फोनको प्रतीक्षा गरिरह्यो। करिब आठ बजे फोन बज्यो। चार्जमा राखेको फोन हतारहतार उठायो। बोसको कल रहेछ, अर्को ब्रान्चमा पोस्टिङ भएको जानकारी पायो। पुनः ती युवतीलाई भेट्ने सम्भावना उसलाई न्यून लाग्यो। ‘फोन नं त छँदै छ नि’ भनेर मन बुझायो। फेरि ‘मैले चैं किन उसको फोन नं मागिनँ ?’ स्वयमलाई प्रश्न गर्यो।
अन्तर्द्वन्द्व राति अबेरसम्म चलिरह्यो। भोलिपल्ट ऊ स्वास्थ्य विहार ब्रान्चतिर जान ब्लु लाइन बस चढ्यो। बस निकै भीड थियो। ओर्लिने बेला चार पाँच जना केटाहरूले आफूलाई पनि ओर्लिनुपर्ने भएकाले छिटो छिटो ओर्लिनु भन्दै धकेल्न थाले। बसबाट ओर्लिसके पछि उसले आफूमात्रै ओर्लेको थाहा पायो। गोजी छाम्यो, मोबाइलसँगै कैयौं प्रश्नका उत्तर अनि सम्भावना बोकेको एउटा प्रेमको बिज हराएको महशुस गर्यो। पुरानो नम्बर लिन दिल्ली पुलिसको दफ्तर चहार्नुपर्ने भएकाले उसले त्यसतर्फ जाँगर लगाएन।
‘ओ दाजु, त्यो किताब नबेच्ने ?’
कवाडीवालाको चर्को आवाजले ऊ झसङ्ग हुन्छ। क्षणभरमै ऊ आफ्नो फ्ल्यासब्याकबाट बाहिरिएर थोत्रा किताबहरूको चाङ अगाडि आइपुग्छ। अनि तौलिन्छ दस रुपैयाँ किलोमा आफ्नो अधूरो प्रेम।
सौजन्य : सेतोपटी को वेबसाइट मा प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६, ११:४४:००