– शेखर बिकल्प
पात्रहरु – हरिमान(बा), रमा(आमा), दिया(छोरी), निमेष(कलेज पढ्ने केटो), रामेश(चिकित्सक), मनिष(शिक्षक) र अरु केहि अघोषितहरु
दृश्य – १
(बरण्डा सितको दुइ तले पक्की घर , आगनको छेउँमा सानो पर्खालको माथि गमलामा बिभिन्न थरी फूल । बरन्डाका भित्तामा लस्करै भगवानका तस्बिर , दुई मेच एक पलङ्ग । आँगनको दाहिने तिर मूल द्वारको भित्री कुनामा तुलसीको मठ ।)
हरिमान – ए सुन त , ( रमा तिर हेर्दै ) कहाँ गई छोरी ? त्यो अचेल अल्ली हिड्न थालेकी छ है फुत्तफुत्त बाहिर फेरो । धेरै टाउकोमा नटेका ।
रमा – हजुर.. साथीहरु गुम्न जाने भनेका रहेछन , त्यसैको बारेमा सल्लाह गर्नु छ भन्दै थिई । दार्जिलिङ जाने हो भन्दै थिई , टाढाको बाटो कति दिन लाग्छ पठाउन पनि के गर्ने हो खै ?
हरिमान – ठीकै छ नि त , कलेज पढ्न थाले देखि बाहिर घुम्न गाकी पनि छैन । राम्रै हो, दार्जिलिङ पुग्नै पर्ने ठाउँ पनि हो । तर के गर्ने हामी जान सकिएन क्यारे खै , मनिष पनि जान्छ होला क्यारे छोरी नै भए नि जाओस न ।
(छोरीको आगमन)
रमा – ल छोरी पनि आइपुगी । (हातमा हेर्दै) के ल्याइछस नानी हातमा ?
दिया – ए यो , अस्तिको त्यो कपडा आइरन गरेर ल्याको । लोडसेडिङले गर्दा घरमा गर्न पाइने हैन ।
हरिमान – दिया, (हेर्दै) तिमी घुम्न जाने भनेकी रैछौ खोइ आफ्नै बाउलाई पत्तो छैन ।
दिया – नाइ , नाइ बुवा भर्खर कुरा मात्रै उठेको छ पुरै कुरा नभइकन हजुरलाई के सुनाउने भनेर नि ।
हरिमान – कहाँ कहाँ जाने भनेका छौ , दार्जिलिङ पनि हो ?
दिया – यो पटकलाइ इलाम हुँदै दार्जिलिङ पु्ने कुरा छ बुवा ।
हरिमान – दार्जिलिङ बारे कत्तिको पढेकी छौ ? पुरानो नेपालकै भूमी हो त्यो, अहिले पनि नेपाली भाषी छन, पुरै नेपाली संस्कार, रितिरिवाज संस्कृति छ त्यहाँ । के गर्ने पुर्खाले लड्दा लड्दै पनि गुमाउनु पर्यो अंग्रेजहरु संग । पछि भारतमा स्वतन्त्रता संग्राम भो र अंग्रेजहरुले छाडेर गए भारतीय भूमी तर भारतीयले फर्काउन चाहेनन नेपाली भूमि, त्यतिबेला नेपालले धेरै भूमी गुमाएको छ । भारतीयलाई अंग्रजहरुले चामत्कारिक परिवर्तन ल्याइदिएर छोडे तर नेपालीलाई सधैको लागि रुवाएर ।
दिया – अब हामीले नेपालमै फर्काउँन मिल्दैन र बुवा दार्जिलिङलाई ?
हरिमान – (रमालाई ईशारा गरेर चिया पकाउन भन्दै) हामी सामान्य नागरिकले चाहेर हुने कुरा हैन यो छोरी । दार्जिलिङ जस्तै धेरै भुभाग गुमेका छन । पुरानो नेपालको झण्डै आधा भाग नै भारतमा पर्छ अहिले । त्यतिबेला धेरै सन्धिहरु भएका छन युध्द रोक्नका लागि । सबै संझौताहरु नेपालको हित प्रतिकुल भएका छन तर नेपाली शाषकले नचाहेरै पनि हस्ताक्षर गर्नु पर्ने स्थिति आयो त्यतिबेला । भारतमा भन्दा पछि मात्रै नेपालमा प्रजातन्त्र आयो । तर नेपाली शाषकहरु सत्ता मुखी राजनीति गरिरहे पुराना समस्या त के भईरहेका समस्या पनि हेर्न भ्याएनन ।
दिया – नेपाली नागरिकले आफै झण्डा बोकेर चर्का नारा लगाउँदै गए त भारतीय शाषकका कानमा पुग्थ्यो होला नि ।
हरिमान – नागरिक तवरबाट त्यस्ता अभियान धेरै चोटि भएका र भइरहेका छन । भारत संगको सीमा झनपछि झन यतै सर्दैछ र उसले सीमामा ससस्त्र दस्ता तैनाथ गरेको छ तर नेपाली तर्फ पुरै खुल्ला छ । यस बिषयमा कुटनीतिक तवरले पहल हुनुपर्छ तर सबै नेताले चुनाव ताका खुव चर्का भाषण गर्छन राष्ट्रियताका र पछि सत्तामा पुगेपछि सबै बिर्सन्छन ।
( रमाले चिया ल्याउछिन , सबैले संगै चिया पिउछन र उठ्छन एका एका तिर लाग्छन )
दृश्य २
(पलंग , मेच, दराज र टेबिल सहित प्राकृतिक तवरले सजाइएको छ कोठा , आकाशी निलो रंग पोतेको भित्तामा छन दिया, बा आमा र अरु कलात्मक पेन्टिङ तस्विरहरु । दिया तस्बिर फिँजारेर बसेकी छ आमाको प्रवेश)
रमा – के गर्दैछस छोरी , ला खाजा खा ।
दिया – (तस्बिर हातमा लिँदै) फोटा धुलाएछन साथीहरुले त्यहि हेर्दै नि आमा , ल हेर्नुस हजुरले नि ।
दिया – कति राम्रा ठाउँ रहेछन नि (सबै फोटा हेर्न थाल्छिन) सबै ठाउँ घुमिस तैँले । (यौटै केटा संग खिचेका तस्बिर पनि चार पाँच वटा देख्छिन) को साथी हो नानी यो ?
दिया – कक्षामा दोस्रो हुने साथी यहि हो आमा, म प्रथम भए पनि बाहिरी कुरा मैले भन्दा धेरै जानेको छ । नाम निमेष हो यसको, एकदम मिलनसार छ । अनुशासित र सभ्य छ ।
रमा – नानी तेरा यी फोटा देख्नु भो भने बाले मार्नुहुन्छ, आजभोलि राम्रा मान्छे संगतमा भेटिनु मुस्किलको कुरा हो । त्यस्तो केहि संबन्ध भए आजै छोड है हेर तेरो अहिले खुरु खुरु पढ्ने बेला हो ।
( के हुदैछ भित्र…. बाहिर बाट कोहि कराउँछ, दिया हतार हतार तस्विर थन्काउन लाग्छे, आमा बाहिरिन्छिन)
रमा – ए मनिस सर पो आउनु भा रैछ, बाबु नमस्कार !
नानी , मनिस सर आउनु भाछ ,( मनिस भित्रिन्छ र दियाको कोठा तिरै लाग्छ)
मनिष – दिया.. सुतिराको हो क्या दिउसोमा पनि ? के गर्दैछौ भित्र एक्लै ?
दिया – (भित्रै बाट बोल्छे) म यत्तिकै यताउता, सर भित्रै आउनु ढोका खुल्लै छ ।
मनिष – (ढोका धकेल्दै) के को सर हो घरमा पनि, अंकल भन ।
दिया – नमस्ते ( दुई हात जोड्छे), सर भन्ने बानी लागेर सर नै भन्न आउँछ ।
मनिष – बुवा खोई त, (टेविलको बोतलको पानी पिउँदै) अनि दार्जिलिङको यात्रा कस्तो मान्यौ ?
दिया – दार्जिलिङको यात्रा रमाइलो भो, तर हजुरले एकचोटी पनि घुमाउनु भएन रिस उठेछ मलाई ।
मनिष – अब तिमीहरु हुर्के बढेकालाई कहाँ हाम्ले घुमाउने हो त नि, आ-आफै साथी बनाउने घुम्ने ।
( आमाको प्रबेश, चिया लिनुस बाबु, ला छोरी तलाई नि आफु पनि त्यहि बस्छिन)
रमा – (चिया पिउँछन सबैले) घर तिर सबैलाई आराम होला केर बाबुले कत्तको पढेको छ ? सुचिता पनि धेरै भो आएकी छैनन !
मनिष – हिजो आमा छोरा भएर मामाघर गएका छन, बुवा बिरामी पर्नु भाछ रे । बाबुले पढाई राम्रै गरेछ, अहिले आठ बाट नौ मा जाँदा बयानब्बे प्रतिसत ल्याएर जिल्ला प्रथम भएछ…(बिचमा कुरा काट्दै दिया उफ्रदै चिच्याउँछे दिया, रमा पनि मुख उज्यालो पार्छिन , सबै खुशी देखिन्छन )
दिया – वाह.. भाइ कसको… बधाई छ फुच्चेलाई, (रमा पनि सुस्तरी भन्छिन- बधाई छ छोरा) अंकल हिँजै किन नभन्नु भाको, यो खुशी ?
मनिष – मैले पनि हिँजै समाचार बाट थाहा पाएको । उज्वल पनि हिजै हो गाको , उनिहरु उता गए पछि मात्रै थाहा भो।
( हरिमानको आगमन )
हरिमान – हैन को काँ गएपछि के थाहा भो ?
मनिष – दाइ प्रणाम गरेँ (शिर झुकाएर दाइको खुट्टामा निधार छुवाउँछ),
बाबु जिल्ला प्रथम भएछ अहिले नौ मा जाँदा ।
हरिमान – ल बधाई छ छोरालाई, हाम्रो कुलको इज्जत राखोस । के छ मनिस घर तिर, धेरैमा आइस त ?
अस्ति दिया दार्जिलिङ घुम्न जाँदा तँ पनि यतैबाट आउँछस कि भनेको पनि आइनस ।
मनिष – अचेल केटाकेटीहरु घरमै जम्मा हुन्छन पढ्न । यताउता घरको काम पनि भइहाल्यो, स्कुल नि हेर्नै पर्यो ।
हरिमान – तँ बरु दार्जिलिङ घुमेर आइस , मेरो धोको पूरा नहोला जस्तो छ । म पनि हेर स्कुल छाडेदेखि झन यता भन्यो उता भन्यो ब्यस्तको ब्यस्त, कुकुरको न काम छ न फुर्सद ।
( दिया , रमा दुबै बाहिरिन्छन)
मनिष – अँ दाइ समाजमा बसेपछि, के गर्ने यता उता हेर्नै पर्यो । दार्जिलिङ राम्रो ठाउँ रहेछ । अहिलेको दशैँ बिदामा दुई परिवार भएर घुम्न जाने सोँचेको छु मैले ।
हरिमान – हुन्छ नि त, अनि अचेल दियाले कत्तिको पढेकी छे ? मेरा आँखा छल्न पाए सम्म फुत्त फुत्त बाहिर निस्कन्छे । आज बाटोमा आउँदा त्यसका साथीहरुले को त्यो केटा संग खुब घुमी भन्दै खुसुखुसु कुरा गरेको सुन्थेँ । तैँले ख्याल राखिनस र ?
मनिष – मेरो बिषय पर्दैन अहिले दियाको क्लासमा । अचेलको जमाना, हुर्केका केटाकेटीको पछिपछि हिड्न पनि के सोँच्लान भनेर अलिक अफ्ठ्यारो मान्नु पर्ने । नजीक त त्यो कक्षामा दोस्रो हुने निमेष संग घुमेकी थिइ क्यारे । त्यस्तो नराम्रो त केहि नहोला नि ।
हरिमान – तर कुरो केहि गरि तलमाथी भो भने त बर्बाद हुन्छ नि भाइ । के कस्तो केटो हो, घरपरिवार ?
मनिष – केटो त आठमा पढ्न आको हो हाम्रो बिद्यालयमा, पढ्न टाठो छ, सधै दोस्रो हुन्छ, स्वभाव आनिबानी राम्रो छ, यिनीहरु आठ देखि नै संगै पढ्दै आएका छन त्यस्तो सोँच्न पनि नमिल्ने ।
निमेषका बाउ ब्यापारी हुन् , पसलै छ यहि बजारमा ठूलो ।
(रमाको प्रवेश – खाजा ल्याएँ मैले त , तीनै जना चुपचाप खाजा खान्छन )
मनिष – दाइ म आजलाई निस्कन्छु !
रमा – घरमा पनि एक्लै हुनुहुँदो रहेछ, यतै बसम न बाबु ।
मनिष – होइन भाउजू, बस्न हुन्थ्यो बित्दो त केहि थिएन, केटाकेटी जम्मा हुने बेला पनि भो । अहिले रक्तचाप एकदम बढेको छ मेरो, औषधी एक छिन बिराउन नहुने छ । औषधी पनि ल्याछैन, फेरि बसम्ला नि ।
(उठेर हिँड्न खोज्छ) दिया … कहाँ गइछ…?
रमा – छत तिर होली…
हरिमान – बाबु, त्यो कुरा ख्याल गर है….(मनिष बाहिरिन्छन)
रमा – के कुरा नि हजुर ?
हरिमान – दियाको नराम्रो कुरा सुन्छु, अहिले दार्जिलिङ जाँदा कुन चैँ केटा संग बेसरी घुमिछ..
( रमाको मनमा चिसो पस्छ मुख अँधेरो पार्छिन दिउसो देखेको तस्बिर झलझली संझन्छिन)
अंकल जानु भो ?
( दिया बाहिरै बाट बोल्दै भित्रिन्छे, हरिमान दियाको मुखै नहेरी आँखा राता पारेर बाहिरिन्छ)
रमा – छोरी कुरा के हो भन त खुलेर ..
दिया – (आत्तिन्छे) के भो र आमा, के कुरा ?
रमा – तँ दार्जिलिङ जाँदा संगै घुम्ने केटा को हो, के हो तिमीहरुको संबन्ध ?
दिया – ह्या.. त्यस्तो केहि होइन के, छाडिदिनुस् यो कुरा ।
रमा – (संझाउन खोज्दै) त्यस्तो होइन छोरी, छिमेकी भनेका रमिते हुन जस्ता मान्छे पनि छन, सानो कुरालाई पनि तिलको पहाड बनाइदिन्छन । बुवाले पनि थाहा पाउनु भएछ तेरो कुरा, के हो मलाई खुलेर भन ..
दिया – (बुवाले थाहा पाएको कुराले झसंग हुन्छे) कसरी थाहा पाउनु भो आमा – बुवाले ?
(एकदम आत्तिन्छे) आमा..
रमा – (बिचमा कुरो काट्दै) बुवाले थाहा पाएर केहि हुन्न कुरा खुलेर भन के भाको हो ?
दिया – आमा ! निमेष र म एक अर्कालाइ मन पराउँछौ, माया गर्छौँ ।
रमा – (आत्तिँदै) कहिले देखि छोरी ? (ढोका ढप्काएको मात्रै छ हरिमान ढोका बाहिर आमा छोरीका कुरा सुन्दै ओहोरदोहोर गरिरहेछन)
दिया – हामी आठ कक्षा देखि संगै पढ्दै बस्दै आएका छौँ तर कहिले बाट के भो थाहा भएन । आठको बार्षिक परिक्षा दिएर निमेष एक महिना गाउँ गयो त्यो बेलाबाट मलाइ थाहा भो कि निमेष मेरो एकदम मन मिल्ने साथी भएछ र उ नहुँदा मलाइ एक्लो महसुस हुन थालेछ ।
रमा – (अझै पनि नबुझे झैँ) मनमिल्ने साथी मात्रै हो नि छोरी, अरु त्यस्तो त सम्बन्ध केहि छैन नि ?
दिया – ( इलामको चिया बगानमा संगै बाँच्ने कसम खाएका अनि दार्जिलिङको रेलको लिकमा बसेर छुट्नु परे बरु संगै मर्ने भनेर गरेका बाचा संझन्छे, अनि संझन्छे निमेषले भनेको कुरा – दिया तिम्रो मरो सम्बन्ध तिम्रो बुवा आमाले स्विकार्नुहुन्न, किनकी तिमी बाहुनकी छोरी तर म दलितको छोरा। तर उ आफेले निमेषको मुख थुनिदिँदै भनेकी थिई बरु म मर्न तयार छु तर तिमी बिना बाँच्न सक्दिन) आमा ! उ र म एक अर्कामा छुट्टिन नसक्ने भएका छौँ ।
रमा – (चिच्याउँदै) – दिया तँ के भन्दैछेस यो… (हरिमान ढोका धकेल्न खोज्छन तर सक्दैनन, झन छट्पटिन्छन ।)
दिया – (आँखाभरी आँशु पार्दै, थरथर काँपेको स्वरमा अली टाठो गरेर भन्छे – हो आमा म के भनुँ ?
के कसैलाइ मन पराउनु माया गर्नु मेरो गल्ति हो ? के संसारमा प्रेम पाप हो ?
(दिया अवाक हुन्छिन , हरिमान जोडले ढोका धकेल्दै चिच्याउछन)
हरिमान – दिया के बोल्दैछेस तँ आमा संग ? कति भो तेरो उमेर याद छ तँलाई ? को हुन तेरा बा आमा थाहा छ तँलाई ? को हो त्यो निमेष ? के तँलाई हाम्ले कहिल्यै माया गरेनौ ? कस्ले पढायो तँलाई ? कस्ले पूरा गरिदियो तेरा रहर ?
दिया – (होस गुमाउँछे बोल्नुको ) हो बुवा म निमेषलाई मन पराउँछु, माया गर्छु । मेरा हरेक रहर यहि घरबाट र मेरै बा आमा बाट पूरा भए भने निमेषलाई मैले पाउँन के ले छेक्छ ? के म अठार बर्षकी हुँदा पनि सानै हुन्छु ?
आमालाई पन्ध्र बर्षमा बिहे गर्दा तपाईँलाई ठूली लाग्यो …
रमा – (बिचमा काट्दै) दिया तँ मुखमुखै लाग्छेस बा संग ? चुप लाग..
दिया – (झन ठूलो स्वरमा कराउँछे) बा आमाको खुशीको लागि भनेर खुब मेहनत गरेर पढेँ कहिल्यै प्रथम बाहेक भइन । जुन बिषय भन्यो त्यहि पढेँ जे गर भन्यो त्यहि गरेँ, कहिँ इज्जतमा दाग लाउने काम गरिन । तर आज मेरो यौटा खुशीको लागि ..
हरिमान – त्यो केटा संग घुमेर पनि इज्जत राखिस, के कुरा पूरा गर्दिन मेले तेरा भन आजसम्म ?
दिया – आज सम्म पूरा भएका रहर लाई अब केल्ले छेक्यो ? के निमेष दलित भयो भनेर हो ?
(हरिमान निमेष छाँगाबाट खसे झैँ हुन्छन)
रमा – तेरो सम्बन्ध अब एक सेकेन्डपनि अघि बढ्दैन दिया,, कूल मै दाग लाउने तेरो तेत्रो हिम्मत ?
दिया – म निमेष बिना एकपल बाँच्न सक्दिन, बरु मर्न तयार छु उ रुदै बाहिरिन्छे..
हरिमान – यस्ता कुलंगार जन्मनु भन्दा नजन्मेकै बेस, बरु बाँझै भएको भए जाती । जा जा जहाँ जाने जा तेरा बा आमा मरे तेरा लागि । तँ पनि मरिस हाम्रा लागि । यस्ता बिषालु साँप बाँच्न भन्दा मरेकै बेश ।
(दिया परै पुग्छे, हराउँछे । रमा झन आत्तन्छिन)
रमा – केहि गरी मरी हाली भने हजुर, एकचोटीलाई बोलाउनु न संझाएर मान्छे कि ?
हरिमान – (बेहोसी झैँ चिच्याउँछन ) त्यस्ता कुलंगारलाई मर्न दे, त्यस्को थुतुनो नि देख्ने मन छैन मलाई, बरु रहर लागे भोलि कसैलाइ कसैलाइ धर्म पुत्र बनाएर पालौँला.. ( यत्तिकैमा ढल्छन र बेहोस हुन्छन , रमा हतार हतार पानी छम्कन्छे र एम्बुलेन्स बोलाएर अस्पताल लैजान्छिन)
दृश्य ३
( ठूलो कोठा, सेतो रंग पोतिएको भित्ता, एप्रोन भिरेका डक्टर नर्स यता उता गरिरहेछन । अक्सिजन र स्लाइन पानी एकनास चलिरहेछ हरिमान अचेत भै अस्पतालको बेडमा ढलिरहेछन, छेवैमा मेचमा करुवा छिन रमा)
रमा – (जाँच्दै गरेको चिकित्सकलाइ सोध्दै) डाक्टर साब.. कस्तो छ वहाँलाई अहिले ? होस कतिबेला खुल्छ ?
(मनिषको आगमन)
रामेश – अहिले अक्सिजन तानेको छ स्लाइन पनि राम्ररी चलिराछ, धड्कन पनि मध्यम छ हतारिनु पर्दैन । पुरानै रोग उच्च रक्तचाप रहेछ अधिक तनावले हो यस्तो भाको बिस्तारै होस खुल्छ ।
मनिष – के भो र भाउजू दाइलाई ? (रामेश बाहिरिन्छन)
रमा – दाइले हजुर संग के कुरा गर्नु भो खै , हिजो दियाको बारेमा नराम्रो कुरा थाहा पाउनु भएछ,
सांझ दियालाई सोद्दा मुखमुखै लागि त्यो केटा दलित रहेछ हेर्नु न हाम्रो कुलमा दाग लाउने भई । हिजै निस्केर जा भन्नु भो कहाँ गई अत्तो पत्तो छैन । त्यसपछि वहाँ बेहोस हुनु भो म यतै दौडिएँ ।
मनिष – एकछिन है भाउजू म यता उता सोधपुछ गर्छु । (बाहिरिएर एता उता फोन गर्छन साथी कहाँ भएको पत्ता लगाउँछन र बा बेहोस भई अस्पतालमा रहेको खबर दिन्छन)
मनिष – (भित्र पुगेर) साथी कहाँ रहिछे, ठिकै छे । माया भए आउली क्यारे, भन्दिएँ बा बिरामी भएको ।
रामेश – (जाँच्छन र बोलाउँदै मनिषलाइ) यता आउनुस त । (मनिष पछि लाग्छन)
रामेश- वहाँ को तपाईको ?
मनिष – मेरो सहोदर दाइ । भन्नु के छ, कस्तो छ, के गर्न पर्यो ?( अल्ली आत्तिए झैँ )
रामेश – बिरामी अर्धचेत भए पनि अवस्था एकदमै नाजुक छ, शरिरमा पानी संगै रगतको मात्रा कमि भएछ नसा र धमनी गति शून्य जस्तै भाछन । ब्लड बैंकमा पनि ब्लड सकिएछ । आज सार्वजनिक बिदा सबै बन्दै हुन्छन प्राय; । आफन्तहरुबाट संकलन गर्नुपर्ने भो “बि पोजेटिभ ब्लड” ।
मनिष – (रमा नजिक पुगेर) भाउजू रगत खोज्नपर्ने भएछ,
( दियाको आगमन)
दिया – के भो आमा ?(आत्तिएझैँ) कस्तो छ बुवालाई ? (बुवाको नजिकै पुग्छे तर उनी अचेत लडिरहेछन, रमा- दिया तिर हेर्दै नहेरि शिर झुकाएर चुपचाप भुईँतिर हेर्छिन)
मनिष – (आँखाभरी आँशु पारेर निस्कन खोजेकी दियालाई बोलाउँदै) दिया… बुवालाई केहि भएको छैन, अनि सुन त.. (दिया रोकिन्छे)
मनिष – के गरेकी दिया तैँले यस्तो ? (दियाका गाला हुँदै आँशु बग्छन ) हेर हाम्रो इज्जत, प्रतिष्ठा ? तैले आज सम्म पढेको कुरा यहि हो ? हेर तँलाई कैले चर्को गरेर बोल्नु भएन बा आमाले, तैले जहिले पनि मेरा बा आमा भनेर शिर ठाडो पारेर हिड्न पाइस । तैँले आफैले पनि देखेकी छस कति तेरा साथीका बा छैनन कतिका आमा छैनन कतिका दुबै छैनन त कति भएर पनि सौतेती ब्यबहार खेपेका छन । एक चोटी तैँले सबैका ठाउँमा आफूलाई राखेर हेर त तेरो जिन्दगी कस्तो सम्म हुन्थ्यो ? अब तँ यस्तो गरेपछि तेरो भाई उज्वल कुन बाटो हिँड्ला ? हेर त आमा हिँजोको आजै कस्ती भै सक्नु भो ।
एक्ली छोरी तँ, बा आमाले एक-आखर गाली नगरेर तलाई यहाँ सम्म ल्याउनु भो ।
तर वहाँहरुको प्रेमको बदला… हेर तेरो कारणले आज बा जीवन मरणको दोषाधमा हुनुहुन्छ । केहि गरी बालाई तल माथी भयो भने आमाको हालत के होला ?
दिया – (चिच्याउँदै रुँदै मनिषको छातिमा टाँसिन पुग्छे) मलाई माफ गर्नुस अंकल ! मैले नजानेर गल्ती गरेँ, मैले आजै छाड्छु निमेषलाई । तर जसरी पनि बुवालाई बचाउनु पर्यो ।
(दुबै बेड नजिक पुग्छन)
दिया – (रूदै रमालाई झम्टिन्छे) आमा मलाई माफ गर्नुस, मैले नजानेर गल्ती गरेँ, अब यस्तो गल्ति कहिल्यै गर्नेछैन र आजै छाड्छु उसलाई ।
रमा – नरो छोरी, (आँखा भरी आँशु पार्दै) अब यस्तो गल्ती कहिल्यै नगर्नु । (आँशु पुछ्दिदै) हेर त, बा को हालत ।
मनिष – दिया, बि पोजेटिभ रगत खोज्नु पर्ने भो मैले यता उता खोजेँ कहिँ भेटिन । यसो यता उता साथीहरु संग बुझ त ।
(सबै साथीहरु संग बुझ्छे तर कसै संग ग्रुप मिल्दैन । कसो गर्ने के गर्ने निकै छट्पटाई उ, निमेषलाई फोन गरौँ कि नगरौँ भो तै पनि साथी बिरामी रैछ भनेर बुझ्छु भन्ने सोँची । निमेषको ब्लड ग्रुप पनि बि पोजेटिभ नै हुन्छ र भन्छ को साथी हो नजिकको भए म दिउँला)
दिया – केहि गरी पत्तो लागेन, कसै संग पनि ग्रुप मिलेन के गर्ने होला ? (तर निमेष संग ब्लड ग्रुप मिलेको कुरा गर्न सकिन)
मनिष – खै एकचोटि डक्टर संग बुझौँ है ! (रामेश देखा पर्छन) केहि गरी पाउँन सकिएन के गर्ने होला ?
रामेश – एक दुई पोइन्ट भए नि खोज्नु, भोलिलाई आवश्यक भए बरु हामीले पनि जम्मा गर्न सकौंला । (बाहिरिन्छन)
दिया – अंकल (मनिष तिर हेर्दै) विकल्प यौटै छ तर के गरौं ..
मनिष – के दिया.. भन त ..
दिया – (अक्कमकिँदै) नि..निमेषको ग्रुप मिल्दो रहेछ, तर…(आँखाको ईशाराले रमाले नसुन्ने गरी अलि पर पुगेर कुरा गर्न थाल्छन)
मनिष – तर , दिया तिम्ले एकचोटी मनिषलाई सुनाउँनै पर्छ, बरु सबै कुरा खुलेर भन र यो पनि भन कि बुवा जीवन मरणको दोषाधमा छट्पटिनु भाछ तिमी संग ब्लड ग्रुप मिल्दो रहेछ ।
( एक छेउँमा उभिएर फोन गरी र सबै जसो कुरा पनि सुनाई उ आउँछु पनि भन्यो तर अंकल र आमा संग गरेको बाचा सुनाउन सकिन)
( एकछिन पछि निमेषको आगमन)
निमेष – कस्तो छ अहिले सरलाई ? (हरिमान नजिकै पुगेर सोध्छ र मनिष, दिया र रमाको मुखमा पालैपालो हेर्छ तर रमा – एकटक हरिमान कै मुखमा हेर्छिन)
मनिष – अवस्था सामान्य छ १८ घण्टा भो होस खुलेको छैन, ब्लडको कमि भएछ भाइको ग्रुप मिल्ने भए अलिकती झिक्नु पर्ने भो ।
निमेष – उत्साह देखाउँदै भईहाल्छ नि, वहाँ जसरि हुन्छ निको हुनुपर्यो ।
( रामेश र अरु एक दुई नर्श देखा पर्छन छेवैको अर्को खालि बेडमा , निमेषलाइ सुताएर दुई पोका रगत झिक्छन, एकछिनको आराम पछि निमेष बाहिर निस्कन खोज्छ)
मनिष – धन्यबाद है निमेष भाई, यो सहयोगको लागि ।
निमेष – हस सर, धन्यबाद भन्नु पर्दैन । यस्तो अलि अलि त भैहाल्छ नि । ( रमाले टोलाएरै हेर्छिन निमेषलाई, उ बाहिरिन ढोकैमा पुग्छ )
दिया – निमेष.. ( आँखा भरी आँशु पारेर बोलाउँछे, डक्टरहरु यता हरिमानलाई रगत दिन थाल्छन, निमेष ढोकैमा अडिन्छ र त्यहि पुग्छे दिया )
निमेष – के भो दिया, किन आँखा भरी आँशु पारेकी ?
दिया – निमेष, तिम्रो मेरो कुरा थाहा पाए देखि बुवा यो अवस्थामा हुनुहुन्छ , आमा अहिले सम्म बोल्नु भाको छैन , अंकल पनि गाली गरेको गर्यै हुनुहुन्छ, भन त यो हालतमा म के गरुँ ?
निमेष – हेर दिया , जीवनमा कहिल्यै आत्तिन र मात्तिन हुँदैन, बुवाको उपचार भईराछ निको हुन्छ हतारिनु हुँदैन । संसारमा बुवा आमा भन्दा अर्को ठुलो कोहि हुदैन । अझै केहि बिग्रेको छैन । अंकल र आमा पनि कुरा बुझिहाल्नु हुन्छ तिमी नआत्तिएर संझाउनु ।
दिया – (झन रुँदै) तर निमेष…
निमेष – तर, (आत्तिए झैँ) के दिया ..?
दिया – मलाई माफ गर निमेष , मैले तिमी संगको बाचा कुल्चिएर आमा र अंकल संग अर्को बाचा गरेँ .।
निमेष – के बाचा – दिया ,(एकदम आत्तिए झैँ) के भो ?
दिया – (झंटेर रुँदै निमेषको अगालोमा बाँधिएर ) मलाई माफ गर निमेष, यो जुनीलाइ म तिम्रो हुन सकिन ।
निमेष – ठिकै छ दिया – तिम्रो खुशीको लागि म हर चिज त्याग्न तयार छु तर जिन्दगीमा कहिल्यै दुखि नहुनु है ।
( एकछिन अँगालोमै बाधिएर, पछि दियाका आँखाका आँशु पुछ्दिदै, आफू पनि आँशु खसाल्दै बाहिरिन्छ ।
दिया – (आफ्ना आँशु आफै पुछ्दै ,सुस्तरी ) मलाई माफ गर है … निमेष मलाइ माफ गर है …
मनिष – दिया.. (खुशीले बोलाउँदै) नरो छोरी बुवाको होस खुल्यो । ( दुवै जना हतारिँदै हरिमान तिरै लाग्छन)
दिया – बुवा…(नजिकै पुगेर, बोलाउँछे) तर, हरिमान उता फर्कन्छन, रमा अवाक हुन्छिन)
मनिष – दाई, यता हेर्नुस त, दियाले आजबाट त्यो केटालाई छोड्ने बाचा गरी ।
दिया – (रूँदै) मलाइ माफ गर्नुस बुवा ! मैले नजानेर गल्ति गरेँ र हजुरको आज यो हालत भो ।
हरिमान – (सकिनसकी उठ्न खोज्दै सिरानीमा आड लिएर ), नरो छोरी ! तर अब देखि कहिल्यै गल्ती नगर्नु ।
रामेश – (हरिमान तिर हेर्दै) तपाई आराम गर्नुस है , बिहान सम्म हामी पनि के हो के हो भन्नेमा थियौँ तर बेलैमा निमेष भाइले रक्तदान गर्नु भो र तपाईको ब्लड सर्कुलेसन मिल्यो । निमेष भाइ तपाईकै रिलेटिभ हो कि क्या हो ? मान्छे निकै असल रहेछन यो समयमा पनि ।
मनिष – नाई होइन, मरो कलेजको स्टुडेन्ट हो । राम्रा छन मेहनती र इमान्दार कक्षामा सधै दोस्रो हुन्छन अहिले प्लस टु टुभेलमा पढ्छन । (हरिमान अक्कनबक्क मनिषको मुखमा हेरिरहन्छन, रमा र दिया चुपचाप सुनिरहन्छन,)
रामेश – केहि खानुहुन्छ कि जुस अथवा केहि ?( हरिमान पानी पिउँन खोज्छन)
मनिष – (हरिमानले अघि नै बाट केहि नबुझेर केहि जवाफ मागे झैँ मानेर भन्छन) जसको कारणले तपाईको यो हालत भो उसकै रगतले तपाईले पुनर्जीवन पाउनु भो । (हरिमान झसंग हुन्छन)
रामेश – भन्नाले यहाँलाई त्यो निमेष भन्नेले त केहि गरेका होइनन ?
मनिष – रामेश सर , खास चैँ दिया र (दिया तिर देखाउँदै) निमेषको प्रेम सम्बन्ध रहेछ, एकदिन बिस्तारै कुरा खुल्यो र दियालाई तेरो पढ्ने समय हो अहिले यस्तो गर्नु राम्रो होइन भन्दा कुरोले ठूलो रुप लियो । तर हामी बाहुन उ चैँ दलित सम्बन्ध स्विकार्न सकिने स्थिति पनि छैन ।
रामेश – कुरो ठीकै हो दिया, पहिला खुरु खुरू पढेर आफ्नो भविष्य सुन्दर बनाउनु पर्छ, फेरि पनि त सानै छ तिम्रो बुवा आमाले भनेको मान खुरू खुरु राम्रो संग पढ। तर जातकै आधारमा हो भने तपाईहरुले यिनीहरुको सम्बन्ध छुटाएर ठुलै गल्ति गर्दै हुनुहुन्छ । मानसिक र मनोबैज्ञानिक तवरले एक-अर्कामा प्रभावित भइसकेका सम्बन्धहरु छुटे पनि त्यसले दीर्घकाल सम्म असर पार्छ र त्यसैले बिकृत रुप लिँदा मान्छे मानसिक रोगी पनि हुन सक्छ । मान्छे जातले सानो ठूलो भन्ने हुँदैन । आज निमेषकै ब्लडले वहाँले जीवन पाउनु भो फेरि वहाँको उच्चरक्तचाँप पुरानोरोग हो जसलाई हिजोको तनाबले मद्दत गर्यो र वहाँ अचेत हुनु भो । मान्छे छुत- अछुत भन्ने हुदैन ।
जातको आधारमा सम्बन्ध छुटाएर मान्छे राम्रो होइन खराब हुन्छ । ( यौटी नर्स देखा पर्छे) ती उनी पनि दलित नै हुन तर मैले कहिले त्यस्तो सोँचिन र आज हामी यौटै अस्पतालमा काम गर्छौँ । छोरो पनि तीन कक्षामा पढ्छ जहिले प्रथम नै भाको छ । त्यसैले यो जातको कुरा गरेर मानबीय संबेदना र प्रेमलाई खलल पुर्याउनु सबै भन्दा ठुलो पाप हो ।
हरिमान – मलाइ माफ गर छोरी ! (दिया तिर हेर्दै) अब म तेरो कुनै रहरमा पनि बाधा बन्दिन । सन्तानको खुशी नै हरेक आमाबाबुको खुशी हो ।
( पर्दा खस्छ )
समाप्त ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)