– ध्रुब रिजाल

‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’

“लौ तेरो रिजल्ट आएछ । अब पास भैहाल्लास क्यार कुन डिभिजनमा हो त्यै थाहा पाउने त होला नि । अहिले थाहा पाउने केही उपाय छैन, भोलि बिहान दुध लिएर तँ बजार जा, म चाहि गोरु लिएर खेतमा जाउँला । अँ साँची छिट्टै आउनु नि फेरी, भोलिनै ठूलो रोपार्इ छ, हली वाउसे अरु कोही छैन, तेरो रिजल्ट आउने थाहा भएको भए त अर्को दिन गर्न हुन्थ्यो नी, अब रोप्नेरी (रोपार) लगाइहालियो फेरि भन्या बेला रोप्नेरी पनि पाइदैन । अहिले सुत बरु ।” २०४७ सालमा किनेको फिलिप्स रेडियो बोकेरे बा सुत्न गए ।

सुते पनि निद्रा किन लाग्थ्यो र । २०६४ साल आसार २१ गते राती थियो त्यो । अरु दिन लोरीको काम गर्ने झ्याँउकिरीको ध्वनिमुद्रा त्यस दिन निद्रा बिच्क्याउने क्रन्धन झै लाग्दै थियो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवाहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ । भोलि बिहान मेरो रिजल्टको समाचारले बाको मुहारमा कान्ति छाओस बस त्यही आशाले मन अनि शरीर छट्पटिरयो आधि रातसम्म ।

चौतारा बजार बिहानै एस.एल.सी मय भैसकेछ । दैलेख जिल्लाकै दोश्रो ठूलो स्कुलः विजया मा.वि. र त्यो स्कुलको प्रथम विद्यार्थी म । म गए पछि झन माहोल तातियो । त्यो भेग भरिको एउटामात्र फोन दुर्गा प्रसादको पसलमा थियोः सि.डि.एम.ए. फोन । कहिले पानी परेको आवाज मात्र सुनिन्थ्यो कहिले हावा चलेको, उताबाट फोन आउँदा तङग्रङ तुङग्रुङ तार हल्लेको आवाज सुनिन्थ्यो हेलो हेलोभन्दाभन्दा घोक्रो सुक्थ्यो तर बोलेको सुनिदैनथ्यो । फोन लागेर राम्ररी कुरो गरेपछि ठुलै युद्ध जितेझै हुन्थ्यो । सञ्चारको नाममा त्यै एउटा टेलिफोन थियो त्यहाँ । खाए खा नखाए घिच भनेझै हुन्थ्यो फोन गर्नेलाई । इमेल इन्टरनेटको त नाम पनि विरलै मानिसले मात्र सुनेका थिए होलान ।

भीड थामिनसक्नु थियो । विहानैदेखि १६००मा फोन लगाइरा रैछन दुर्गा साहुले । फोन भने एक पटक पनि नलागेको । शहरतिर आफन्त हुनेले उनीहरूसँग सर्म्पर्क गरेर बुझ्न खोज्दै थिए ।

“पास हुनेको नम्बर हेर्दा पो लाग्ला त, ल सिम्पल नम्बर(सिम्बोल नम्बर)भन् त तेरो ।” दुर्गा साहु गम्किए ।

“छ लाख पचास हजार तीन सय पन्ध्र, डि” वर्षैदेखि घोकेको सुत्र झै फर्रर भने मैले मेरो सिम्बोल नम्बर ।

साहुले १६०० थिचे, टुँट, टुँट गर्दै असफलताको संकेत दियो फोनले ।

दाइ नेपालगञ्जमा बस्नुहुन्थ्यो । साताैँ प्रसासमा उहाँलाई फोन लाग्यो । आधा धण्टा पछि गोरखापत्र आउछ होला अनि हेर्दिन्छु भन्दै सिम्बोल नम्बर टिपेर फोन राख्नुभयो ।

प्रतिक्षाको पल सधै अधैर्यवान नै हुन्छ होला । मेरो रातभरिको प्रतिक्षा अँझ आधा घण्टा लम्बियो । सारै अत्यास लागेर आयो त्यो आधा घण्टा कुर्न

“तैँले सिम्बोल नम्बर सही त टिपाएको होस ?” आधा घण्टा पछि दाइको फोन आयो । मेरो मुटुको धड्कन एक्कासि बढ्यो । कुनै अस्वभाविक नतिजाको संकेत थियो त्यो । मैले जांगे (हाफपाइन्ट) को पछाडिको गोजीवाट प्रवेसपत्र निकाले ।

“छ लाख पचास हजार तीनसय पन्ध्र डि, त्यहीनै हो ।”

“कुनै विषयमा हाजिर गर्न भुल्या त थिइनस ?”

“सबैमा गरेकै जस्तो लाग्छ” मेरो मन खङ्गङ्ग्र भैसकेको थियो त्यतिबेलासम्म ।

“हैन, रिजल्ट के भयो र ?” मैले आत्तिदै सोधेँ ।

“कुन्नि, विथहेल्डमा राखेको छ, तँ नआत्ति के भाको रैछ म बुझ्छु ।”

जम्मैले सोध्न थाले रिजल्ट के भयो भनेर । मैलाई थाहा नभाको रिजल्ट उनीहरूलाई कसरी बताउँ ?
भन्दिएँ विथहेल्डमा परेको रैछ ।

“यो विथहेल्ड भन्ने कुन डिभिजन हो कान्छा ?” कुवाघरे काकाले प्वाक्कै सोधिहाले । उपस्थित सबैको जिज्ञासाको विषय बन्यो त्यो ।

तीन जना फ्रर्स्ट डिभिजनमा, छ जना सेकेण्ड डिभिजनमा पास भएछन् फ्रर्स्ट हुने केटोको रिजल्ट चै विथहेल्डमा परेको छ रे । चौतारा, कृतिखम्ब, शान्तिबजार, साहुबाडा जताततै समाचार सम्प्रेषण भैसकेछ ।

म ठूलो तनावमा परे । घराँ बाह्र जनी खेतको रोपाइ छ । खेत त भोलि रोपेनी हुन्छ हृयाँ जीवनको सवाल छ । मेरो मन भुटभुटीइ रयो ।

केहीछीन पछि कसैले जुक्ती निकाल्योः काठमाण्डौमा भरतसर (हामीलाई पढाउने सर) गएका छन् उनैलाई फोन गरेर बुझ् ।

भरतसरलाई फोन लगाँए, “स्कुलको चिठी, प्रवेशपत्र र रजिष्ट्रेसन कार्ड लिएर काठमाण्डौ आइजा, परिक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएपछि बन्न सक्छ । बरु छिटो आइस भने म पनि यतै हुन्छु ।” उपाय बताइदिनुभयो । मन अलिकति तंग्रियो ।
विरक्तिएको मन लिएर आधा दिउसो घर गएँ । दुधको भाँडो त्यसै मिल्काएर खेततिर लागे । माथ्लाघरे काकाले बाउसे गर्दै थिए । खेत लतार्ने (हिल्याउने) काम चै बा आफैले गर्दै थिए ।

“रिजल्ट के भयो ?” गोरु रोकेर बाले सोधिहाले । घर आउन अबेर भएपछि केही गडबड भएको अनुमान बाले लगाइसकेछन् ।

“विथहेल्डमा परेछ, प.नि.का.मै केही विग्रिएर त्यस्तो भाको हो रे, स्कुलको चिठी, प्रवेशपत्र र रजिष्ट्रेशन कार्ड लिएर काठमाण्डौ जानुर्पछ अनिमात्र बन्छ रे भरतसरले ती सबै कागजात लिएर आइज म सहयोग गरुँला भनेका छन् ।” एकै सासमा भएजति सबै अर्थ्याएँ बालाई ।

अनौ छोडेर बा काँन्लामा अढेस लागे अनि स्वीssssss… सुस्केरा हाले । विरक्तताको सुस्केरा थ्यो त्यो, मलाई बुझ्न गाह्रो भएन । मेरो रिजल्ट सुनेको दिन बाले मलिन अनुहार लगाएको पहिलो पटक थियो त्यो । उदास मन अनि खस्न नसकेका आँसुले भरिएका आँखा लिएर महिको अनौ सम्हाले मैले, खेत हिल्याउनलाई । मन नलगाई गरेको काम थियो त्यो । उता रोप्नेरीहरू कराउँदै थिए हिलो भएन रोप्न गारो भो भनेर । तिनीहरूलाई के थाहा मेरो मन हिलिएर जम्मै जाँगरलाई छोपेको कुरा ।

स्थुल शरीरको आँत सुकेको बेला खेतका डल्ला भिजाउने अनि हिल्याउने प्रयास साँझसम्म नै जारिरहृयो । जे भयो सब मौनतामा भयो । मौनताको विम्बमा कसैले समर्थन देख्छन्, कसैले सन्तुष्टि देख्छन् अनि कसैले दम्भ, फरक फरक दृष्टिकोणले एउटै भोगाईको फरक फरक विम्ब देख्छन् । मेरो मौनताको आवरण भित्र ती सबभन्दा पृथक एउटा मनोवेग थियो । जस्ले सौम्य सपनालाई उछिट्याउदै हुरिकेन पैदा गरिरहेको थियोः वायूको एउटा चक्रव्युह र म त्यही चक्रव्युहबाट आशा अनि संभावनाहरूलाई उतार्ने प्रयन्त गर्दै थिएः ‘फेलै भाको त हैननी’ ।

साँझ खाना खाइसकेपछि बाले भने “भोलि स्कुल गएर चिठी बना अनि पर्सी हिडिहाल, नेपालगंज भएर जा, तैले शहर टेकेकै छैनस्, दाइलाई लगेर जा काठमाण्डौ”

मलाई नेपालगंज जानुपनी महाभारत थियो, काठमाण्डौको त कुरै नगरौ । भोलिपल्ट चिठी बनाउदा उपेन्द्र सर भन्दै हुनुहुन्थ्यो “तँलाई त काठमाण्डौ जाने डि. भि. पो परेछ ।”

रिजल्ट आएको चौथो दिन निदारमा आमाले लगाइदिएको टीका अनि मनमा बाले दिएका अर्ती सम्हालेर नाउलेकटुवाल हुँदै तल्लो डुङ्गेश्वर लम्किएः नेपालगञ्को बस चढ्नलाई । तल कर्णाली सुसाउँदै थियो, शरीरमा अनेकौँ जेड बोकेर । मेरो यात्रा तिनै जेड जस्तै थियो । निश्चित गन्तव्य पछि किनारा लाग्ने हो या बग्दै बग्दै समुद्रमै पुग्ने हो । न बगाउने कर्णालीलाई थाहा थियो न त ती बग्ने जेडलाई नै । लाएको अर्ती र बोकेको सामल कति दिनलाई नै पो पुग्छ र ?

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *