– चूडामणि खनाल
म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन ।
आज नियमित बुद्धवन्दना गरिसकेपछि आजको भान्सा दरो बनाउनुपर्यो भन्ने इच्छा मेरो मनमा उब्जियो । त्यसै विचारले म दयावीर बगरेको ‘दयालु पसल’ नाम गरेको मासुपसलमा मासु लिन गएको त त्यो पसल बन्द पो रहेछ । म तातै खुट्टा फर्किएँ । मलाई घरतिर फर्किन लागेको देखेर बगरे दयावीरले भन्यो- ‘आज त औंसी हो नि, बाज्या थाहा पाउनुभएन <‘ अस्ति नै ठूली एकादशीका दिनमा पनि बाज्या यसरी नै रित्तो हात फर्कनुभाथ्यो, ‘होइन त बाज्या’ ! घरमा एउटा पात्रो त राखिराख्नुपर्छ नि ‘बाज्या’, यसरी नै झुन्ड्याउनुपर्छ बाज्या’ भनेर दयावीर बगरेले आफ्नो घरको पालीमा झुन्ड्याइएको भित्तेपात्रो देखाएर भन्यो- ‘कानो गोरुलाई औंसी न पुर्ने’ भन्याको त बाहुनबाज्याको बानी पनि त्यस्तै हुँदोरहेछ । जनै लगाएर अनि टुपी राखेर मात्र बाहुन हुन्याभया त यो दयावीरे पनि उहिल्यै बाहुनबाज्या भइसक्थ्यो, होइन त ‘बाज्या <‘
दयावीरको मासुपसलबाट रित्तै हात फर्किएपछि मैले यसो भान्साकोठातिर चिहाएँ, त्यहाँ त मेरी विधवा भाउजू रातो पोशाकमा फर्याकफुरुक फर्याकफुरुक गर्नुहुँदोरहेछ । म आश्चर्यमा परेँ, मलाई साँच्चै नै अचम्म लाग्यो । आज बिहान गङ्गाजीमा स्नान गर्न जाँदासम्म भाउजूका सबै वस्त्रहरू विधवा महिलाहरूले लगाउने परम्परागत रङ्गकै थिए, अहिलेचाहिँ अचानक बेग्लै देख्दा म त तीन छक परेँ । मलाई दङ्ग र वाल्ल परेको देखेर भाउजूले भन्नुभयो- “यो रङ्गक्रान्ति हो बाबु, रातो रङ्गको कपडा लगाउँदैमा सधवा र अन्य रङ्गको कपडा लगाउँदैमा विधवा भन्न मिल्छ र < त्यसो हो भने सधवा नारीहरूको आधिकारिक रङ्ग के हो त < विधवाले राता रङ्गका यावत् वस्तुहरूको प्रयोग गर्ननहुने अनि सेतो पहिरिँदैमा सधवा/अधवा नारीह¿लाई अलच्छिना भन्न मिल्छ र < हाम्रो यो क्रान्ति रङ्गमुक्ति क्रान्ति हो, बुझनुभो बाबु । जनमुक्ति आन्दोलनको इतिहासको गणनामा हाम्रो पालो नै पहिलो आउँछ । किनभने महान् आन्दोलनको पूर्वसन्ध्यामा नै हाम्रो आन्दोलनले गति लिइसकेको छ । यतिसम्म मात्र भए पनि हामीले क्रान्तिमा योगदान दियौं नि बाबु होइन र < भाउजूका तार्किक कुरा सुनेपछि मैले भनेँ- ‘विधवाहरूको सेतो पहिरन भनेको त मृतक लोग्नेप्रति देखाइएको मायाप्रेमको प्रतीक हो । चुरा, पोते र सिँदुर लोग्नेको हातबाट नै पहिलोपटक स्वास्नीमान्छेले पाउने धार्मिक प्रावधान छ । त्यसैले बुझनु भो भाउजू हाम्रो सन्दर्भमा सेतो पहिरनमा मनोविज्ञानको ठूलो प्रभाव छ । जसले सौभाग्यचिन्ह हो भनेर सिँदुर, पोते दिएथ्यो उही व्यक्ति नै नभएपछि यी सधवा चिन्हहरूको के महत्व रह्यो र < मेरा तर्कहरू सुन्नेबित्तिकै प्रत्युत्पन्न मतिको परिचय दिँदै भाउजूले थप्नुभयो – “त्यसो भए लोग्नेमान्छेको विधुरताको प्रतीक के त <” भाउजूको यो तर्क अकाट्य थियो । म त यस तर्कले सोह्रै आना नाजवाफ भएको थिएँ । अनि मलाई ‘लोग्नेमान्छेको चेहरामा देखिने ओजस्वी विलक्षण ब्रह्मतेज नै विधुरताको लक्षण हो, बुझनुभो त भाउजू’ भनूँ भनूँ झैं लागेको थियो, तर किन किन त्यसो भन्ने आँटचाहिँ ममा आएन । भाउजूको प्रश्न र मेरो उत्तरमा के कति मेल खान्थ्यो, त्यस विषयमा परीक्षण नै भएन । तैपनि भाउजूको हृदयमा भने म देवरले दिएको जवाफमा प्रतिकूल प्रतिक्रिया नआउँदो होला भन्ने मैले सोचेको थिएँ ।
हामी देवरभाउजूका बीचमा यस्तै यस्तै तर्कवितर्क भइरहेको वेलामा हाम्रा कान्छा भान्जा कुन्नि कतातिरबाट हो फुत्त आए र भने- “खै, खै, गोडा ल्याउनुहोस् त मामा साष्टाङ्ग दण्डवत् प्रणाम गरूँ ।” अनि मेरो मुखबाट पनि अनायासै निस्कियो- ‘फुस्कियौ कि कसो, भान्जा !’ “होइन मामा मैले त साँस्कृतिक क्रान्ति पो गरेको हुँ, मामा । भान्जाभान्जीका लागि मामा-माइजूहरू बाबुआमासरहकै आदरणीय पात्रहरू हुन्छन् । यस्ता आदरका व्यक्तित्वहरूलाई नुगाउनु र ढोगाउनु सरासर अन्यायपूर्ण कार्य हो । यस्तै दुलहीपट्टिका बाबुआमाले दुलाहापट्टिका दुलाहासहितका उसका बाबुआमालाई पनि ढोग दिने चलनचल्ती अन्यायपूर्ण नै छ । एकातिर उनीह¿लाई सासूससुरा नाता लगाउनुको सट्टामा निकै नजिकिएर बा-आमा भनेर चेपारो पार्ने, अनि अर्कोतिर उनीहरूबाट नै दामदक्षिणाका नाममा उनीहरूलाई नै टकटक्याउने कामसमेत गर्ने । यसो त अलि हजम भएन नि मामा । यस विषयमा पनि मैले नै अग्रगमनको कदम चालेको छु” भनेर भान्जा त बेतोडसित उनको ससुरालीतिर दौडिए ।
आज बिहानैदेखि अनौठाअनौठाका घटनाहरू घटेको देखेर म अचम्म मान्दै थिएँ । घडीको सुइले मेरो कार्यालयतिर जाने वेला भएको सङ्केत गरिसकेको रहेछ । हतारहतार गरी कर्यालयतिर पुगी सरासर आफ्नो कार्यकक्षमा पसेको त मेरो कार्यालयको जेठो पिउन मेरो (हाकिमको) आसनमा विराजमान भएर टेबुलमा गोडा ठड्याएर चुरोट तान्दै धुवाँ उडाउँदै रहेछन् । यति वेला न त मलाई उनीसँग रीस उठ्यो, न त उनको क्रियाकलाप नै अचम्मको लाग्यो । यति वेला मैले मनमनै सोचेँ- ‘मान्छेको जीवनमा दुःखले एक्लै आउन नजानेको जस्तै राष्ट्रको जीवनमा पनि क्रान्तिले एक्लै आउन जानेको हुँदो रहेनछ । मलाई टोलाएर बसेको देखेर जेठा पिउनले भने- ‘हाकिमसाहेब, म यस कार्यालयको पुरानो र उमेरले पनि तपाईंभन्दा जेठो पिउन दर्जाको कर्मचारी हुँ । त्यसैले, आजदेखि पहिले नमस्कार गर्ने पालो हाकिमसाहेवको, अनि नमस्कार फर्काउने दोस्रो पालो म पिउनको, बुझियो कि Û सबैले योग्यता र क्षमताअनुसारको काम गर्नुपर्दछ अनि आवश्यकताअनुसारको दाम पनि दामासाहीले बाँड्नुपर्छ । हाकिमको रकम ठूलो र पिउनको रकम हलुङ्गो गर्ने चलनचल्ती प्रतिगामी काम हो । यस किसिमको अदलाबदलीलाई कार्यालयीय क्रान्ति भनिन्छ । ब्यूरोक्रेसीमा आमूल परिवर्तन भयो भने देशको कायापलट भइसक्छ, बुझनुभो हाकिमसाहेब ।’ यति भनेर मलाई आज पिउनसाहेबले राम्ररी ठीक पारे ।
आफ्ना मातहतका कर्मचारीहरूले जे जे भन्छन्, सोही सोही काम गरी घरमा फर्किएर म टोपी र कोटसम्मन् थन्क्याएर जुत्तामोजा फुकाल्दै थिएँ, चारकक्षामा पढ्ने कान्छो छोरो स्कूलबाट कोकोहोलो हाल्दै घरमा आयो र झोला फ्यात्त फालेर मतिर हेर्दै भन्यो- “बाबा, आजदेखि हामीहरूले हाम्रा गुरुहरूलाई ठीक पार्यौं नि । बाबा, विद्यार्थीले उनीहरूलाई मान्छे बनाए । ‘सानाले ठूलालाई कदर गर्नुपर्छ’ भन्ने भनाइलाई व्यवहारमा नै उतार्न लगाए नि ।” ‘के लामो भूमिका बाँधेको – सरासर भन्न, के भो, के कुरा हो <‘ मैले पनि दिनभरिको झोक कान्छो छोरामाथि पोखें । कान्छो छोराले भन्यो- “गुरुहरूभन्दा चेलाहरू धेरै हुन्छन् । त्यसैले भोलिदेखि प्रारर्थनासभामा पहिले गुरुहरूले अभिवादन गर्ने अनिमात्र विद्यार्थीहरूले अभिवादनको प्रत्युत्तर गर्ने रे । कक्षाकोठामा प्रवेश गर्दा पनि गुरुजीले हात जोड्दै नमस्कार नमस्कार भन्नुपर्ने अनिमात्र विद्यार्थीहरूले अभिवादनको प्रत्युत्तर फर्काउने अरे । अनि नि बा भोलिदेखि हाम्रो विद्यालयमा बाह्रवटा भाषाहरूमा विद्याकी अधिष्ठात्री देवीको प्रारर्थना गर्ने रे । किनभने बाह्रथरी मातृभाषा भएका विद्यार्थीहरू हाम्रो विद्यालयमा पढ्ने गर्छन् रे ।”
सधैंभरि म अड्डाबाट आउनासाथ खाजा खुवाएर सत्कार गर्ने मेरी गृहिणीको आज भने साइँसुइँको केही छैन । अनि मैले आफ्नो आगमनसूचक प्रतिक्रिया दिँदै भनेँ- ‘ओ गृहलक्ष्मी, म गृहविष्णु आएको त धेरै नै वेला भयो नि चाल पाइनौ कि कसो <‘ कोपागारमा बसेकी कैकेयीले दशरथलाई धम्क्याएको शैलीमा उनले मलाई भनिन्- “अब त के को विष्णु-सिष्णु, म त झम्काइदिन्छु पानी सिस्नु । मान्छे जाबो पूरै जन्मिएर पनि सधैँ सधैँ अपूरो छ, कुरो बुझया हो । दुइ अपूरो अपूरो मिलेर एक पूरो प्राणी बन्ने हाम्रो सृष्टिको परम्परा छ । एक हातले कहिल्यै पनि ताली बज्दैन, हाम्रो जीवनमा पनि यही कुरा लागू हुन्छ । त्यसैले आजैदेखि हरेक विषयमा हामी दुइको बीचमा पनि सहकार्य हुनुपर्छ, कुरो बुझया हो । त्यसैले, ‘ए लोग्ने ! आजैदेखि म ढिकी कुट्छु, तिमी भुस निफन, म चामल भिजाउँछु तिमी ओइरिने काम गर । म थालमा भात पस्किन्छु, तिमी कचौरामा तरकारी राख । म जुठेल्नामा भाँडा माझछु तिमी ती भाँडाकुँडा भान्साकोठामा ओसारपसार गर । म दौरासुरुवाल सिलाउँछु, तिमी गुन्यूचोलो लाऊ । के भन्छौ त, ए मेरो लोग्ने -” मेरी स्वास्नीले चेपारे शैलीमा लेग्रो तानिन् ।
म व्यावहारिक साम्यवादी हुँ । दुइ विरुद्ध पक्ष वा व्यक्तिका बीच ल्याइने सम्झौता वा मेललाई वा सामञ्जस्यलाई साम्य भनिन्छ र वाद भनेको हामीजस्तै व्यक्तिले निर्धारण गरेको मत हो भन्ने अर्थ साम्यवादको हो भन्ने कुरालाई हामी दम्पतीले व्यवहारमा नै देखाउने विचार गर्यौं । आज मेरी सहकर्मिणीले नै साम्यवादलाई व्यवहारमा उतार्न प्रेरणा गरेपछि मैले नाइँनास्ति गर्ने कुरै आएन । बरु म आज खुशीले गद्गद् भएको छु । व्यवहारमा नउतारिएको सिद्धान्त प्राध्यापकहरूले गरेको भाषणजस्तै नमीठो हुन्छ भने व्यवहारमा घोलिएको सिद्धान्त चियामा फेटिएको चिनीजस्तै स्वादिलो हुन्छ भन्ने कुरा आज हामी दम्पतिकै चरित्रबाट चरितार्थ भएझैं लाग्यो र मैले भनेँ-
‘ए सुवासिनीज्यू मुलुकको जनजीवनमा आमूल परिवर्तन भएको छ । हाम्रो कोठामा पनि झुत्रो शतरन्जा फालेर नयाँ कार्पेट बिच्छ्याइएको छ । अझ भनुँ हिजोआज परिवर्तनले नछोएको केही विषय नै छैन भने पनि हुन्छ । त्यसैले म तिमीले राखेका सबै प्रस्ताव स्वीकार गर्छु मेरा लागि गुन्यूसारी, चोलोमजेत्रो आजै किन्छु, तर म तिमीसमक्ष एउटा प्रस्ताव गर्दछु मान्छ्यौ र < आजसम्ममा तिम्रा गर्भबाट दुइ भाइ छोराहरू जन्मिएका छन् । त्यसैले तिमी महती माता भइसकेकी छौ । अब जन्मिने कान्छी छोरीचाहिँ मेरै गर्भबाट जन्मिओस् भन्ने मेरो चाहना छ । मलाई पनि आमा बन्ने महान् इच्छा छ, तिमी के प्रतिक्रिया दिन्छ्र्यौ कुन्नि । यदि मेरो यो चाहना पूरा भयो भने यस महान् कार्यबाट हामीहरू नै जैविक क्रान्तिका महान् सूत्रधार पो हुन्छौं कि भन्ने लागेको छ मलाई, यस संसारमा असम्भव भन्ने कुरा पो के छ र < हकि !’
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)