– युवराज नयाँघरे
लौ हेर, ढलेका वरपीपल ।
सबै थोक भत्केछ । बिग्रेपछि सँभाल्नै गाह्रो । जताततै हेरी नसक्नुको गाजेमाजे । टालूँ, टाली नसक्नु । छोडूँ, छोडी नसक्नु । हाम्रा घर–आँगन विरहलाग्दा । घर भनेको सिङ्गो जीवनको सुरक्षा । जीवनसँग वर्तमान हुन्छ, भविष्य हुन्छ । पहिरोमा परेका देउराली हेर्छु, चौतारी हेर्छु ।
आँसु रित्तिएका शून्य आँखाले हेरिरहेछु– वर्षौ छोडेको घरदैलो ।
बनाउनलाई पसिना चाहिने, बिगार्नलाई केको बल न तागत । हाम्रा पिँढी–पँधेरा त कति बिराना ! नचिनेजस्तो, नदेखेजस्तो । आफैँले टेकेको आँगन पनि परचक्रीजस्तो । आफैँले हिँडेको गोरेटो नि भर्खरै भेटेजस्तो ।
लौ हेर, चौतारीमा खसेछ पहिरो !
आफ्नो भनेपछि सबै थोक आफ्नै हुने । मायालु हुने, हार्दिक हुने । माटो–माटोमा मन खन्याऊँजस्तो । ढुङ्गा–ढुङ्गामा हृदय खन्याऊँजस्तो । पात–पातमा माया रोपूँजस्तो । त्यस्तो सपनाको इन्द्रेनीमा हामीले करेसाका कुराकानीमा आँखा डुलाएथ्यौँ । त्यस्तो सन्तोषको घाम–पानीमा जीवनको यौवनलाई गति दिएथ्यौँ ।
धेरै पछि शान्तिको भुइँकुइरो छरिएको छ र आफ्ना आँगनमा फर्केका छौं हामी । हाम्रा पैतालाको धूलोले छोइएका बोटबुट्यान हेर्न धेरै पछि खेतका कान्लाकुन्लीमा आएका छौं हामी । कठै, मान्छेको स्याहार नपाएपछि त खेतमा नि रोगै मात्र पस्तो रै’छ, घाउ–खटिरा मात्रै लहलहाउँदो रै’छ र व्यथैव्यथा मात्र फस्टाउँदो रै’छ ।
हामीले घर छोड्दा आफूलाई बिर्सेर हिँड्नुपरेथ्यो । विज्ञानले पटक–पटक बन्दुक र एसएलआरका आवाजमा मूच्र्छा परेर आँगन छोड्नुपरेथ्यो । एम्बुस, बम र राइफलका लहरे पड्काइमा आत्तिँदै आफ्ना करेसाका कलिला जाई र भुइँचम्पाका कोपिला टेक्दै घर छोड्नुपरेथ्यो ।
गोठमा गाईका बाच्छाबाच्छीले आँसुले हेरे आधारातमा घर छोड्दा । खोरका पाठापाठीले टोलाएर हेरे झिसमिसेमा हामीले आँगन छोड्दा । गुँडबाट मुन्टो निकालेर परेवाका जोडीले नियाले हामीले सँघार छोड्दा । हामी मुटुलाई दबाएर आँगन छोडिरहेथ्यौं । हामी छातीलाई छियाँछियाँ बनाएर बुइँगल छोडिरहेथ्यौं । कहिल्यै नदेखेका हतियारका बीचमा उनिएर हामी आफ्ना गाउँघर छोडिरहेथ्यौं । कहिल्यै नभोगेका भक्कानिँदा पीडा र वेदनामा सेरिएर हामी आफ्ना बस्तीहरु छोडिरहेथ्यौं ।
लौ हेर, घाँसैघाँसमा जेलिएको आँगन ।
घर छोडेको रगतपच्छे अनुहार सबैभन्दा ठूलो चोट नेपालभरि देखियो । आँगन नाघेको भयाकुल चेतनामा चुर्लुम्म डुबेको समाजले नेपाल भरिभराउ भेटियो ।
नेपाल भनेको त सधैँ तरबार र घाउको दोहोरो कथा भन्ने देउराली पो हो कि भन्ने नलागेको होइन ।
आलो रगतका फाल्सा टेकेर रगतकै बखान गरिरहने मानिसहरुलाई हाम्रा बार्दलीबाट बिदा मिलोस् । यही आफलताफल इच्छा बोकेर आएका छौं हामी घर–आँगनमा ।
लौ हेर, खडेरीले फुटेका खेतबारी !
कुनै सम्झौता भएन हाम्रो कर्मशीलतामा । झरी–बादल खेप्न पनि छोडिएन । आँधी–चट्याङ झेल्न पनि छोडिएन । धरतीको पूज ागर्न कुनै कसर छोडिएन । असार, मङ्सिर बराबरी, मङ्सिर, असार बराबरी । श्रम, सीप र जीवनको एकनिष्ठामा कुनै भुलचूक भएन । देशले हाम्रो पसिनालाई निर्धक्क ‘कर’ लगाउँथ्यो र बदलामा ताता गोलीका पर्रा छुटाउँथ्यो ।
प्रतिक्रियाविहीन वर्तमान थियो हामीसँग, अनुत्तरित भविष्य पनि ।
सबै रङको बैंसे साम्राज्य हाम्रा खेतका गरा–गरामा सुन्न पाइन्थ्यो । हरियोपरियो र अन्नपातले खित्काएर हाम्रा दुःखहरु अलप हुन्थे । झकिझकाउ खेतबालीमा हाम्रो आँसुको हलचल बेपत्ता हुन्थ्यो । जीवनको मूल्य उज्यालो, सम्मानित र विशिष्ट लाग्थ्यो । घरको चैन चातीभरि वसन्त भएर सुवासित लाग्थ्यो ।
घर फर्केपछि पत्यार भइरहेको छैन– मानिस नहुँदा यो आँगन पनि कति धेरै निर्जीव भइरहेको छ । गति नभएजस्तो, रङ उडेजस्तो, रस सुकेजस्तो । जताततै घृणा, जुगुप्सा, कपट र दुच्छरका माकुराजाले दृश्य । अपराध, हेपाहा र निरङ्कुशताका लामा लामा हातहरु ।
हाम्रा घरहरु कति धेरै चर्केका । हाम्रा घरका दलिनमा कसले यति धेरै रगत पोत्यो ? हाम्रा आँगनमा कसले गाड्यो यी मुर्दाहरु ? हाम्रा करेसालाई कसले बनायो चिहानघारी ? म देशसँग आँखा जुधाएर प्रश्न गर्न सकिरहेको छैन ।
लौ हेर, बार भत्केको ।
बलियो र साह्रै अडिलो बार बारेका थियौं हामीले । कला, मग्न र हुनसम्मको जाँगर खर्चेर कसिलो पर्खाल लाएथ्यौं हामीले । जस्तो हुरी–बतासको क्यै तागत नचल्ने । जस्तै हमलाको नि क्यै बुता नचल्ने । साह्रै सुगठित बार लाएर घर बनाएथ्यौं हामीले । बार बाँधबुँध गर्दा किन र कस्तो मिसावट भएछ– थाहा छैन, त्यसकै प्रतिफल पर्खालको जुइनो खुकुलिएछ । पर्खालको जडानमा नक्कली सामानको रसायनले हाम्रा घरका पर्खालहरु क्षतविक्षत भएको अनुमान गरिरहेछौं हामी । ती घातक मिसावटलाई प्रवेश गराउने कोरी हातहरु हाम्रा बस्तीमा साबुत र मजबुत देखिरहेछु म ।
जस्तै परे नि साँझ–बिहानमा चुलो बल्न छोडेन हाम्रो घरमा । अगेनामा बूढा र खारिएका नीति–नियमले अनुशासन र मानमनितो बलियैसँग उभिन्थ्यो । आखिर घर भनेको घरै हो– घाउ भए मलम खोजिन्थ्यो, अबला भए सहारा पाइन्थ्यो । यस्तै विशेषताले सुस्थापित हाम्रा घरका धुरी कति नमज्जाले चुहिएका । कमेरो उडिसकेको, दैलाका खापा उप्किइसकेका, बलेसी मक्किइसकेको ।
हामी घर फर्केका छौं ।
सङ्क्रान्ति र मसान्त मडारिन्थ्यो आँगनमा । धपक्क बल्न–बल्न खोज्थ्यो गरिबी । जेसुकै होस्, जीवनजस्तो सम्झौतालाई डोर्याएर यात्रारत थियौं हामी । ठूलो भेल तर्ने परिश्रम नि गरेकै हो, बाँकटे हान्दा कहिलेकाहीँ थोरै परसम्म पुगिएकै हो । तर धेरै सिकियो, जानियो र जीवनलाई फेरि गति दिइयो । घरलाई बगाएर पोखरी बनाउने अनि पौडी खेल्ने आकाङ्क्षाको जालीरुमाल बुन्न कहिल्यै लगिएन ठ्याम्मै । घरले जीवनको टेको पायो– जीवनले घरको टेको पाएथ्यो ।
लौ हेर, ढिकीमा ढुसी ।
जति थियो खेत– सबैमा अन्न फल्दैनथ्यो । फलेको जति भँडारा राख्न लायक पनि त थिएन । भनौं, थन्क्याउन पुग्ने फल्दैनथ्यो भने पनि हुन्छ । ओल्लो घर पल्लो घर सरसापट ऐँचोपैँचो दिँदा र खाँदाखाँदै सकिन्थ्यो । पिँध्ने, पिस्ने र कुटकाट गर्ने ढिकीजाँतो थियो । समाज, संस्कृति र जीवनसँग गाँसिएर ढिकीको महत्ता थियो एकदमै । घर छोडेपछि सबै थोक बिरानिने । ढिकीमा ढुसी उम्रेर कति नमज्जा देखिएको । जस्तै अनिकालमा नि ढिकीमा ढुसी सप्लाएको यी आँखाले देखेका थिएनन् ।
फुतुफुतु खसेछ भित्ताको लिउन । लिउनसँगै खसेको हाम्रो आत्मीयता र भावना देखेर भित्र कहाँ हो कहाँ गाँठो परिरह्यो । फेरि शून्यबाट घर थालनी गर्नुपर्ने भयो । फेरि विनदुबाट जीवनको प्रारम्भ गर्नुपर्ने भयो । रेखामा पुगिसकेको यात्राबाट उठ्न ठूलै युद्धमा जुट्नुपर्ने खण्ड देखिँदो रै’छ । हाम्रो इतिहास एक पटक पुनः थल्लिएको छ– घरको खण्डहरमा । हारेको त होइन, असाध्यै दुःखले थला परेको । आँखामा ऐठनको बादल मात्र छ, अरु सब थोक बिलायो । मन त लाट्टिएको लाट्टिएकै छ ।
खेतबारीमा वनमारा मौलाएछ । अब फेरि धरापमा हामी हिँड्नु छ । सधैँ हार्न नजान्ने पगरी शिरमा गुथाएर हिँडिरहनुपरेको छ । आखिर आफ्नै घरमा हामी आएका छौं– बनाउनु, सपार्नु र टालटुल गर्नु हाम्रो जीवनको परिचय मात्र हो भन्ने दिउल चेतना उहिल्यैदेखि टुसाएको छ धुकधुकीमा । खनजोत गर्नु र खेतमा फसल लहलहाउँदो भएपछि सरक्क आँखा चिम्लनु पर्ने राज्यको खेलमा निरन्तर सहभागिता रह्यो हाम्रो । यसले अझ पूर्णता पाओस्, यो उर्दी थियो । हामीले घर छोड्नुअघि पनि र पछि पनि यसलाई सुन्नै पर्यो ।
लौ हेर, आँगनमा भल ।
आखिर प्रकृतिलाई अँगालेर बाँचेका हामी । त्यसरी अँगालिन नपाउने हो भने एक पाइला सार्न समेत नसक्ने हुन्थ्यो हामी त । हो, रात–बिरात बर्सिने मुसलधारे आँधीलाई आँगनबाटै जान सजिलो पर्दो हो । त्यो भल नतर्काउने हो भने हाम्रा घरका जग कमजोर हुन्थे । कुलो–कुलेसो बनाउन हामी लागिपथ्र्यौ र आँगनमा गोदावरी फुल्ने ठाउँ जोगिन्थ्यो सधैँ । अनि जीवनलाई त्यहीँनिर परीक्षामा बसेको कलिलो विद्यार्थीको सतर्क आँखा बनाएर बाच्थ्यौं हामी । वास्तवमा जीवनको मुस्कान थियो यहीँनिर पो । घर छानेडेपछि गोदावरी फुल्ने आँगनमा पसेछ बर्खाको भल ।
रुखपात थिए, वसन्त–पतझड थियो, मौसम थियो । मनखुसी जीवनको सुसेला माथ्र्यो । कल्पनाहरु तल ओर्लिएर कानेखुसी गर्थे र सपनाका तुइन तरेर हाम्रा आँखामा विश्वास छर्थे । घरका कोठा–चोटामा देशको सन्चो–बिसन्चो सोधपुछ गथ्र्यौ हामी । वास बस्न आउनेहरुको खान–तलासी गरेनौं, ओढार खोज्नेलाई झरीमा त्यसै धकेलेनौं, टन्टलापुर घाम नथेग्ने तालुलाई छाता दिएरै पठायौं । मीठो–मसिनु एक छाक खुवाएरै पठाउने संस्कार चटक्कै बिर्सेनौं हामीले । घरको धर्म हामीसँग थियो, हाम्रो धर्म घरसँग थियो । आँगनको कसिँगर बढारेर घरभित्र हुल्ने बाइफाले चेतनामा जुटेनौं हामी । जित यहीँनिर थियो हाम्रो ।
अब घर फर्केका छौं ।
धेरै बाटाहरुका दोछायाँमा आफ्ना अनुहार हेरेर आएका छौं । थुप्रै काँडाघारी र चिहानघारी नाघेर आएका छौं । अक्करे भीर र तीखा सुइरा पन्छाउँदै आएका छौं । गेग्रयान, जँघार र बाढी छिचोलेर आएका छौं । चेप, सुरुङ र अँध्यारा गल्ली नाघ्दै आएका छौं कालीभीर र अत्यासिँदा गल्छी फाल हाल्दै आएका छौं । तातो तेलका सिर्का र तातो पानीका उकुसमुकुसिँदा खेपेर आएका छौं । गाडे घाउ र चरचरी चिरिएको चोट लिएर आएका छौं । छाला काढेर, नुनचुक दलिमागेर काँडामा टेक्दै–टेक्दै आएका छौं यो आँगनमा ।
हाम्रो घरमा भोटे ताल्चा मार्ने अनुहार चिन्न खोज्दै छु म ।