– इन्द्रबहादुर राई

त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः
हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु । तर कालिम्पोङ-गान्तोक जाँदा-आउँदाको हतारमा गाडीदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तृष्णा र भोक अतृप्त नै रहेको थियो । महान् भन्न मन लाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावटमाथिका सुप्तझैँ बालुवाहरूमा अनेकौँ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पङ्खा लागेर वरपरका जम्मै झार-जङ्गलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर – भित्र कतै छुट्टै छललल- को आवाज, कतै भिन्दै भुरुरुरु-हरू पनि भएको र बजेको याद आउँथ्यो… ।
गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले वास पारेको थिएँ ।
डाकबङ्गलाको मरम्मत गरिँदै रहेछ र मलाई दिइएको पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो असजिलो थियो । छेवैको सटेको जम्मै डाकबङ्गला मरमत गर्ने बढाई, राज, रङवाला र कुल्लीहरूले डरा बनाएका रहेछन् । तिनीहरू नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरू भरि थुप्रेका थिए, उछिनी-उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरूले खीर पकाइरहेका थिए ।
खानेकुरोको कुरा गरेको मन पर्दैन मलाई । तरै पनि केही नलागेर सुनिरहेँ। दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलङमाथि बेडिङ फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको अर्कै रङको उज्यालो रूखका पात र हाँगाका अभेक उँहरूलाई पनि छोइराख्न पुगेको थियो ।
“खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ”, ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा सोरले किटान गरी-गरी भनिरहेको थियो- ‘यति हाम्रो चामललाई दस सेर दूध चाहिन्छ । कति सेर हाल्यो ?’
‘कति सेर हाल्यो र ? चार सेर त हाल्यो ।’
‘टिस्टाजस्तो जग्गामा चार सेर नाथू दूधको खीर खाएको, थुक्क -‘ त्यही अघिको सोरले भन्यो ।
‘चार सेर दूध हालेको खीर !’ पनि भन्योः यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइरहेछ ।
‘खीर खानु नै हो भने, धेरै चीज चाहियो,’ एउटा बूढो-बूढो सोर माथि चढ्यो- ‘पहिले त तिमीहरूको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको….. ।’
‘अलुवा नै किनिसक्नु छैन रै’छ यहाँ ।’ गम्म परेको मान्छेको जस्तो सोर बोल्यो- ‘रङ्गुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।’
‘िक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।’ अर्कोले सघायो तत्कालै ।
‘चीज पाइयो र खीर खाने नै हो भनेदेखि भनेको,’ उसले नहारी भन्दै गयो- ‘नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मगमग बासना आउँछ, दसबाह्र सेर खाँट्टी दूधमा पकाउनू । पानी-दूध त पन्द्रह सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर अब लिटो भइसक्छ, खोले । मुठठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लोसग्लै बसेको खीर हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरै जम्मै डढेको गह्नाउँछ, मुनिको पर्नेलाई…….’
दाँत माझेको जस्तो हुन्छ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।
एक छिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो- ‘दूध मात्रै ओइराएर हुन्छ – पेस्ता चाहिन्छ, किसमिस, हाडे बदाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिस पनि छोड्नुपर्छ । अघाडि छोड्दा फुट्छ ।’
‘त्यो सब हालेर के हुन्छ -‘ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।
‘स्वादको लागि ।’- ‘बास्नाको लागि ।’- ‘तागतको लागि ।’- झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए ।
‘पल्केलास् ।’ अझै त्यही भत्सर्नाको रहलपहलजस्तो कसैले भन्दै थियो- ‘सपनातिर खीर खोजिहिँड्लास् । त्यसरी मन बुझाउलास् ।’
‘त्यसरी यहाँ खीर पकाएको छ भने बास्ना उः पर बाटोमा हिँड्नेको नाकमा लाग्छ,’ अर्कोले भन्यो ।
याद गरेर यति बेला मैले तिनीहरूको खीरको बास्ना सुँघ्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।
‘तेरो खीर, यहीँ बसेको हामीलाई त बास्ना आउँदैन ।’ बूढाले भनि पनि हाल्यो ।
‘क्यै नहेरी, गज्जबकै खीर खाऊँ भन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ,’ प्रतिवादमा आयो उत्तर- ‘चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सक्नुपर्छ ।’
सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङिरहेको रहेछु । विरोधमा उत्रेर म आहट दिँदै यता कोठामा टहल्नु थालेँ । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुङ्गा लडेर आएकाले झैँ उनीहरूको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।
‘सब चीज जुक्ताएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ’ एउटाले थाल्यो, सेतो बाफजस्तो ।
‘जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानुपर्यो,’ अर्कोले थप्यो ।
‘उसो भए मुस्किल रै’छ खीर खानु !’ तेस्रोले तीतो करायो- ‘असम्भव रै’छ ।’
हाँसो अलि-अलि रोक्न नसकी मैले बाहिर हेरेँ । सब सामान्यजस्तै थियो । साँझका काला रूखहरू नहल्लिई उभिरहेका थिए ।
‘चलाऊ-चलाऊ ऐले डढ्छ यै पनि !’
‘पाक्यो होला, अब त,’
‘पाक्यो, पाक्यो !!’
‘त्यतिको पाकेकै हो,’
‘पाकेछ-पाकेछ,’ भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एकदुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो ।
खाँदाखाँदै एकजनाले सोध्यो-
‘के-के गन्हाएको जस्तो लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
‘दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दै छु ।’ कुन्नि कसले भन्यो । शङ्का मर्दै बौरँदै गरिरह्यो ।
‘चिनी लागेनछ ।’ भनेर एकजनाले एक-दुइ कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्यो ।
‘खीरमा खानु नै हो भने,’ फेरि त्यही सुरुमा कुरा पकाउने मान्छे खाँदै बोल्दै थियो- ‘चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ । रङ निस्किन्छ ।’
‘गुँड पनि कालो गुँड होइन, खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।’ दोस्रोले लगत्तै सुधार्यो- ‘कालो गुँड हालेको त कसरी खानु, छ्या ।’
‘छ्याः है, कति खानुको कुरा गरेको – कति दिनमा के खीर खाएको हो होइन, बडे-बडे कुरा हाँकेर….. मलाई त कुरीकुरी लागिसक्यो ।’ यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्नखोजेको थियो मैले बुझेँ।
एक-दुई गाँसमा तिनीहरू व्यस्त भए ।
‘चिनी हालेको गुलियो दूध-भातजस्तो मात्रै भएछ ।’ मोटो सोरले भन्दा जम्मै तिनीहरू एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु सोर सबभन्दा लामो हाँसिरह्यो । उसले रोकिँदै हाँस्दै गर्दा सँगै अरूहरू फेरि हाँसे ।
आज चार वर्षछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो ‘जीवन’जस्तो रहेछः जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्यजस्तो मात्र थियो ।
जीवन के टिस्टाजस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *