-हेमन्त परदेशी
भन्नैपर्दा मित्र केदार ‘सङ्केत’ संगको मेरो चिनाजानी पुग नपुग एक बर्षकोहोला र त्यो पनि डिजिटल प्रबिधि मार्फत । त्यसो त चिनाजानी भए यता पनि एक अर्काकासिर्जनाहरु पढ्ने र त्यसमाथि पाठकीय प्रतिकृयाहरु लेख्ने बाहेक पुरै अवधीमाहामीबीच एकपल्ट मात्रै ध्वनीवार्ता भएकोछ । त्यो पनि यौटा फरक प्रसङ्गमा ।
हो, बेलायतमा बसोबास गर्नु हुने उनै मित्र केदार ‘सङ्केत’जीले साहित्यिक कोशेली स्वरूप पठाइदिनु भएको उहाँको पछिल्लो कृति ‘एथेन्सको झरी’ पढिसकेपछि सङ्ग्रहका बारेमा केही न केही नलेखी बस्न पटक्कै मन
मानेन । उसो र मैले कृति भित्र सङ्ग्रह गरिएका ९ ओटा नियात्राहरु पढ्दै जाँदा मनमा उठेका तरङ्गहरुलाई यो छोटो लेख मार्फत पस्किने धृष्टता गरेकोछु ।
त्यसो त साहित्यिक रुपमा सन् २०११ मेरा लागि अति नै उत्साहपूर्बक बनेर सुरुआत भएको छ । यस अर्थमा कि, नयाँ वर्षा सुरुआतको एक महिना नबित्दै मेरो हातमा ३ जना समकालीन श्रष्टाहरुको कृति आइपुगेको छ र यी तीन ओटै कृति डायस्पोराबाट जन्मिनु-ले पनि बेसी गौरावाम्वित भैरहेकोछु म यतिबेला ।मेरो हातमा परेको पहिलो कृति बहिनी उमा सुबेदीको गजल सङ्ग्रह ‘तप्किएर अन्जुलीमा’ हरेक कोणबाट उच्चकोटिको गजल सङ्ग्रह हुँदा हुँदै पनि त्यस उपर केही लेख्न चाहिँन । कारण गजलको यौटा असल पाठक मात्रै हुनु-ले सङ्ग्रहका बारेमा केही लेख्न मेरा हात कलम नै अघि बढ्न मानेनन् । दोश्रो चर्चित कृति अर्का मेरा काव्यिक सहयात्री दीप्स शाहको कविता सङ्ग्रह ‘आगो’ थियो । त्यसमाथि पनि मैले आफ्ना पाठकीय दृष्टिकोण पस्किने हिम्मत गरिन । कारण म कविता लेखनमा बामे मात्तै सर्दैछु -ले त्यसो गर्नबाट रोक्यो मलाई । अब बाँकी रह्यो मित्र केदारजीको नियात्रा सङ्ग्रह ‘एथेन्सको झरी’ को कुरा । मेरो यो लेखनीको आशय पनि कृतिमाथिको साङ्गो पाङ्गो समिक्षात्मक टिप्पणी भने होइन । अर्थात यो आलेख केवल कृतिमाथिको मेरो पाठकीय अनुभूती बाहेक अरु केही हुँदै होइन । जुन सङ्ग्रहभित्र समेटिएका नियात्राहरु पढ्दै जाँदा मैले अनुभूत गरेँ / गरिरहेकोछु ।

मेरो स्वाभाविक बानी अनुसार मैले यो सङ्ग्रहको थालनी पनि आवरण देखि नै सुरु गरें । जहाँ रमेश पौडेल दाइको सुन्दर आवरणको माथिल्लो भागमा नियात्राकारको नाम केदार सुनवार ‘सङ्केत’ र तल्लो भागमा कृतिको नाम ‘एथेन्सको झरी’ लेखिएको थियो । अनि छेवैमा सज्जाकारको चिटिक्कै परेको अङ्ग्रेजीमा सानो हस्ताक्षर पनि ।

अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समितिका तत्कालिन अध्यक्ष डा. कुमार बस्नेतज्यूको प्रकाशकीय भूमिकाबाट सुरु भएको ‘एथेन्सको झरी’मा अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टी एवं साहित्यकार होमनाथ सुबेदीज्यूको दश पेज लामो समीक्षात्मक मन्तब्य, बरिष्ठ समालोचक एवं साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईज्यूको १३ पेज लामो समालोचनात्मक भूमिका, डा. कुमारप्रसाद कोइरालाज्यूको छोटो मन्तब्य र नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका महासचिब एवं साहित्यकार दयाकृष्ण राईज्यूको कृति र कृतिकारमाथिको ८ पेज लामो विवेचनात्मक मन्तब्य हुँदै लेखक स्वयंको भन्नै पर्ने केही कुरा पढिसकेपछि मात्रै विधिवत रुपमा सङ्ग्रहभित्र प्रवेश गरेँ मैले ।

परिवर्तित समयसंगै पुस्तक पढ्न पाउँदा भोक तिर्खै बिर्सने मेरो बानीमा पनि ठूलो परिवर्तन आएकोछ आजकल । उसो र त कुनै पनि पुस्तक पढ्न मलाई कम्तिमा केही दिन लाग्ने गर्छ । तर आश्चर्यको कुरा ‘एथेन्सको झरी’ मैले एकै बसाईमा पढि सिध्याएँ । लामो समयपछिको यो नै मेरो पहिलो किर्तिमान हो । आफै अचम्मित पनि बनेँ म ।

हो, नियात्राकार केदार ‘सङ्केत’ले ‘पाठकहरुलाई ‘एथेन्सको झरी’मा यसरी रुझाउँछन् कि, आनन्दमयी रुझाईका कारण आफू निथ्रुक्कै भिजेको पत्तो सम्म हुँदैन कसैलाई । काठमाडौंदेखि रस्नालु (रामेछाप)सम्मको यात्रा बृतान्तमा होस् या अफ्गानी पहाड मजारासरिफदेखि टारखोजसम्मको जोखिमपूर्ण यात्राको बर्णनमा अथवा बेलिज र इटालीका पहाडहरुको रोमाञ्चक यात्रा संस्मरणहरुमा नै किन नहुन् नियात्राकारले आफू संग संगै पाठकहरुलाई पनि घुमाउँछन् फन्फनी ।

नियात्राकारले इराकको बाज्रा सहरमा बिताएका त्रासदीपूर्ण रातहरुको कल्पना मात्रै गर्दा पनि मन झसङ्ग बनेर आउँछ भने इराककै ‘ग्रिनजोनभित्रको ग्रिनविन क्याफे’मा आफ्नै नेपाली चेलीहरुबाट पाएको उपेक्षाको कहानी सुन्दा त झनै भत्भति मुटु पोल्न थाल्छ । यद्यपि बेलायतकै कर्नवालाको सेरोफेरो र विश्वप्रसिद्ध प्रकाशनगृह अक्स्फोर्ड र क्याम्ब्रिज पुग्दा भने मनै शितल बनेर आउँछ मरुभूमिको उष्णतामा चिसो सर्बत पिए जस्तै ।

माथि उल्लेखित सप्पै स्थानको अलिअलि मात्रै चर्चा गर्ने हो भने पनि यो आलेख निक्कै नै लामो हुन सक्छ । त्यसैले यहाँ उल्लेख गर्नै पर्ने कतिपय महत्वपूर्ण सन्दर्भहरुलाई समेत मनले नमान्दा नमान्दै पनि कृतिभित्रै सीमित राख्नु पर्ने बाधयताको शिकार बनिरहेको छु म ।

अत्यन्तै सरल र सरस भाषामा लेखिएका ९ ओटै नियात्राहरुमा नियात्राकारले प्रयोग गरेका बिम्ब, प्रतीक, मिथक, उखान टुक्का र भाषाको ग्राम्यता कम लोभलाग्दो छैन । ९ ओटा नियात्राभित्र के छन् त ? छोटकरीमा त्यसको पनि अलिकति चर्चा गरिहलौं न त ।

१,पहाड घरतिर लाग्दा

यो नियात्राकारले आफ्नो सङ्रहमा श्रीगणेश गरेका पहिलो शिर्षक हो । डा. गोविन्दराज भट्टराईको नियात्रा सङ्ग्रह ‘सँगै बसौँ यो रातबाट’को यौटा मिठो वाक्यंशको उद्ध्रित गर्दै सुरु गरिएको काठमाडौंदेखि रस्नालुसम्मको रोमान्चक यात्राभरि उनले आफू जन्मिए हुर्किएको माटो र त्यस वरिपरिका परिवेशहरुलाई सुन्दर शब्दचित्रमा उतारेकाछन् । आफ्नै देशको राजधानी सहरमा रहँदा पनि गाउँ-घरको नोष्टाल्जियाले नराम्ररी पिरोल्न थालेपछि एकदिन बिहानै रस्नालुतिर हुइँकिन्छन् उनी दाइ रामकृष्ण आँकालासित । काठमाडौंको रत्नपार्कदेखि जिरीसम्मको ११० कि०मी० बसयात्रा र त्यसपछिको २ घन्टे पैदलयात्राका क्रममा उनले संगालेका अनेक रोचक अनुभव र अनुभूतिहरु छरपस्टै पोखिएकाछन् यस भित्र ।

बाटाका छेउछाउका बारीहरुमा राताम्मे फूलिरहेका आरुका फूलहरुको बर्णन देखि लिएर धुलिखेकलो रातमाटे बाटो र दुधकोसीको तीरै तीर बेगिएको मिठो बृतान्तभरि प्रकृतिको सुन्दर छटा पाठकको आँखा वरिपरि नाँच्छन् भने बस यात्राका क्रममा अनायसै आँखा जुझेको सुन्दर युवतीको प्रसङ्गले केहीबेर रोमान्चक पनि बनाइदिन्छ ।

उता बेलुकी मुडेको शेर्पेनी दिदीको होटलमा लोकल खसीको मासुसंग लोकल चामलकै भात टन्न खाएको प्रसङ्ग जति रमाइलो छ त्यहाँको आलु र खरी ढुंगाको बिशेषताको चर्चा अझ त्यो भन्दा बेसी महत्वपूर्ण बनेर मष्तिष्कभरि सल्बलाउन थाल्छन् । अझ देश बनाउने नाममा राज्यसत्ताले अवलम्बन गर्दै आइरहेको घातक नीतिको बिरुद्धमा त उनी झनै खरो उत्रिन्छन्, यसरी- ‘पहिराको चपेटामा बर्षेनी बग्ने यी पहाडका बस्तीहरुलाई मन्त्री महोदयहरुले घैंटोमा घाम तापेर आँखामा कालो पट्टी बाँधेर नबसेको हो भने के भन्ने यसलाई ? हाम्रो मन पहाडले थिचेको छ यस बखत । आँकाला दाइसँग मनको बह निरन्तर पोख्दै थिएँ म ।’ पेज-३

समग्रमा ‘पहाड घरतिर लाग्दा’मा मनोरम प्राकृतिक छटाहरुको बर्णन, आफ्नै जीवनका माइलेजहरुको थोरै खानतलासी, राष्ट्रिय सम्पदा र श्रोतहरुको सम्भाव्यता र उपयोगिताको चर्चा देखि लिएर सिङ्गो राष्ट्रप्रतिको सचेत नागरीक चिन्तनले मनग्ये चलखेल गरेको छ भने नियात्रामा प्रयोग भएका ग्राम्य भाषा संस्कारले नियात्राकारको भाषाप्रतिको स्वकीय प्रयोग शैलीलाई मज्जैले पक्षपोषण गरेको छ ।

२, बेलिज:कतै घाम कतै छायाँ

रस्नालु देखि एकैचोटि बेलिज हान्निएका नियात्राकारले यस नियात्रामा बिशेषत युद्ध-साहित्यको बडो रोचक सिर्जना पस्किएकाछन् । डायस्पोरिक साहित्यकार विश्वाशदीप तिगेलाको नियात्रा सङ्ग्रह ‘देश बोक्नुको पीडा’का केही अंशहरु उदृत गर्दै सुरु गरिएको यो नियात्रामा बेलायती सेनाको यौटा गोर्खाली सैनिकको दिनचर्या कस्तो हुन्छ भन्ने कुरालाई समेत सुन्दर बयान गरिएको छ । प्रसङ्ग मिलाएर यौटा कविता समेत पस्कन सफल उनी आवेशमा आएर यसो भन्न पनि पछि पर्दैनन्-‘साँच्चै हामी बेचिएका मान्छे। लिलामी भन्दा पनि हुन्छ । दशौं हजारमा छनिएका दसैंमा कलङ्कीमा राखेका बिक्रीका भेडा बाख्रा झैं ।

-सरकारले बेचेका !

राष्ट्रले बेचेका !’-पेज-११

यू०के०बाट क्यानडा हुँदै बेलिज पुगेका नियात्राकारसंगै आफू समेत बेलिज पुगेको अनुभूति दिलाउने यस नियात्रामा बर्णन गरिएका बेलिजका नेपालसंग मिल्दा-जुल्दा प्राकृतिक एवं भौगोलिक सुरम्यता र छालाको रङ्ग मात्रै थोरै फरक रहेका चरिनङ्ग्रे नतमस्तक बैंशालु युवतीहरुको चर्चा कम चित्ताकार्षक छैनन् ।

विन्ड सर्भिङ्ग, वाटर स्कि डाइभिङ्ग, स्कुबा डाइभिङ्ग जस्ता जोखिमपूर्ण एड्भेन्चर ट्रेनिङ्ग र पट्यारलाग्दो लामो हवाई यात्राको कुरा सुन्दा भने आङ्ग नै सिरिङ्ग हुन्छ बेला बेलामा ।

समग्रमा बेलिजको नियात्रा अत्यन्तै रोचक एवं अबिष्मरणीय लाग्छन् । बिशेषत संसार घुम्ने रहर मनभरि पालेर रगत र पसिनाको कमाईले पेट पालिरहेका हामी जस्ता गरीब नेपालीहरुका लागि यो नियात्रा बेलिज पुगे बराबरकैले आफू स्वयंलाई बेलिज पुगेको अनुभूति दिलाउँ । यो नै नियात्राकारको सफलता पनि हो ।

३, इटालीका पहाडहरु

आफू सहित जम्मा २० जना जवान इटालीको उत्तरी क्षेत्रमा पर्ने डोलीमिटी पहाडमा एडभेन्चर ट्रेनिंगका लागि निस्किएका बेला देखे भोगेका रोचक प्रसंगहरु समेटिएको यो नियात्रामा नियात्राकारले बेलायत देखि फ्रान्स र स्विट्जरल्याण्ड हुँदै डोलीमिटी पहाडको फेदीमा जोओमानी बजारसम्मको १४ घण्टा लामो बसयात्राको बर्णनदेखि भोलिपल्टको यात्राको बृतान्तहरु अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत गरेकाछन् ।

‘बिहानको ६ बजे उठेर हुस्सुको पर्दा च्यात्छौँ । चियापान पछि पदयात्रा सुरु गर्न फाल्जारिगोतिर बस गुड्छ । हामी प्राकृतिक रसास्वादन गर्न मग्न हुन्छौं । जति हेरे पनि हेरौं हेरौं लाग्ने इटालीका लिरा जस्तै यहाँको प्राकृतिक दृश्य पनि कम सुन्दर देखिन्न । ‘पेज-२०’

त्यस बाहेक नियात्रा अवधिभर आँखामा ठोक्किन आइपुगेका हरेक दृश्यहरुलाई मनको क्यानभासमा पोतेर मनोहर शब्दहरुमा उतारेकाछन् उनले यो नियात्रामा । बाटामा परेका सनबाजियो, मुस्सेटिन, मिजुरिना, कावोनिन र कोर्टिना देखि लिएर फाल्जारियो र गणतन्त्र सनमारियो सम्मका दृश्यचित्रहरू कैद गर्न सफल नियात्राकारले रिमिनी गोर्खा स्मारकको यौटा ऐतिहासिक प्रसंगलाई पनि शसक्त रुपमा उठाउन पुगेकाछन् -‘करिब १० रोपनी जग्गामा संरक्षित उक्त स्मारकको वरिपरि काँडेतारको बार लगाइेको छ । कम्पाउन्डमा छिर्नु अगावै आगन्तुक पुस्तिकामा आ-आफ्नो नाम लेखेर भित्र पस्छौं । उक्त हाताभित्र बिभिन्न रङ्गका गुलाबका फूलहरु रोपिएका थिए । प्रत्येक मृतक ब्यक्तिको नाम सेता ढुंगामा प्रस्ट लेखिएको छ । जमा ६१८ जना मध्ये १७ जनाको नाम भने शिलालेखमा लेखिएको छैन । त्यसमा बिभिन्न कारण विभिन्न कारण हुनसक्छन् तर यस्ता बीरहरुको नामावली खोजिनीति गर्नका लागि नेपाल सरकार, इतिहाँसकार र विद्वानहरुको ध्यान जानु नितान्त आवश्यक देखिन्छ । ‘पेज-२५’

यौटै नियात्रामा अनेक देशको अनुभव गर्ने सौभाग्य पाएका नियात्राकारले अन्य नियात्राहरुमा झै यसमा पनि साहित्यकार मोदनाथ प्रश्रितको ‘सुन्दरी रारा र सुस्केराका अनुहार’ को यौटा अंशबाट आफ्नो नियात्राको थालनी गरेकाछन् । यो नियात्रा पढिरहँदा प्राप्त हुने आनन्द त छँदैछ थपमा राष्ट्रप्रतिको चिन्तन र जातिप्रतिको मायाँले केही बेर भावुक पनि बन्न पुगिन्छ । यो नै लेखकले प्राप्त गरेको सफलता पनि हो भन्ने मलाई लागेको छ ।

४, एथेन्सको झरी

बरिष्ठ आख्यानकार ध्रुबचन्द्र गौतमको नियात्रा सङ्ग्रह ‘जर्मनी: नयाँ आँगनमा पाइला टेक्ता’को यौटा अंशबाट शुभारम्भ भएको यो सङ्ग्रहकै शिर्ष नियात्रा बृतान्त हो । जुन नियात्रामा नियात्राकारले एक्रोपोलिस र सिन्ताग्मा लगायत एथेन्सका बिभिन्न भागहरुको सबिस्तार उल्लेख गरेकाछन् ।

इराकमा आफ्नो कार्यकाल पुरा गरिसकेर पनि उच्च पदको बिल्ला भिर्ने आफ्नै गोर्खाली दाजु-भाइको गोब्रेपन र फिरिङ्गीहरुको हेपाह प्रबृतिका कारण आफ्नो पसिनाको कमाईबाट ३५० डलर खर्च गरेर बेलायत फर्किने क्रममा एथेन्सका प्राचीन सहर एक्रोपोलिस र सिन्ताग्मा हेर्ने बर्षौंदेखिको आफ्नो रहरलाई पुरा गरेरै छाड्छन् उनी ।

एथेन्सको बर्णानात्मक नियात्रामा उनले थुप्रै ऐतिहाँसिक महत्वका बिषयहरुको पनि चर्चा गर्न भ्याएकाछन् । जापिया प्यालेस, बोटानिक गार्डेन, पार्लियामेन्ट हाउस लगायत अनेक ऐतिहासिक स्थानहरुको शब्दचित्र नियाल्दा पाठक स्वयं एथेन्सको झरीमा रुझिरहेको अनुभूतिमा डुब्न पुग्छ । यहाँ सम्म कि, जेउस पोलिओस र आयोनिक रिदमको मन्दिर देखि लिएर ४०५ ई०पू०मा निर्मित इरेक्थियोन सम्म पैदल यात्राकै भरमा निसंकोच डुल्छन् उनी ।

समग्रमा भन्ने हो भने यो नियात्राभरि नै नियात्राकारले एथेन्सको प्राग ऐतिहासिक एवं पुरातात्विक बिषयबस्तुहरुको खुलेर चर्चा गरेकाछन् र त्यो पनि बिभिन्न प्रमाणिक दृष्टान्तहरुको उल्लेख सहित ।

-कवितामा छोटा हुने भए बर्णन ।

-कथा बेपात्रका हुने भए मेरा पाताला अक्षरहरु र शब्दहरुमा ।

बरु नियात्रामा नै टम्म बाँधू झैं लाग्यो ।बुनूँ झैं लाग्यो, देखेका सबै दृश्यहरु तर, छोडेर बाटो लाग्दैछु थुप्रै अरु यहाँ घुम्न नपाएका ठाउँहरु आज म ।’ नियात्राको अन्त्यतिर आइपुग्दा यसरी भावुकिन्छन् उनी र टुङ्ग्याउछन् आफ्नो एथेन्सको यात्रा बृतान्तलाई ।

५, मजारासरिफदेखि टारखोजसम्म

युबराज नयाँघरेको नियात्रा सङ्ग्रह ‘अनाम पहाडमा फनफनीबाट’ उदृत गरिएका सुन्दर वाक्यांशहरुसंगै सुरु भएको मजारासरिफदेखि टारखोजसम्मको नियात्रामा नियात्राकारले भोगेका जीवनका तिता पलहरुसंगै युद्धले थोत्रिएका अफगानी जनजीवनको सविस्तार बर्णन गरेकाछन् । बेलायती सैनिकको संचार बिभाग सम्हालेर दशदिने खुफिया कार्यका लागि हत्केलामा ज्यान राखेर त्यस क्षेत्रमा पुगेका नियात्राकार कहिँ चोरको ठूलो स्वरले आतंकित बन्न पुग्छन् त कहिँ पाखाका ओढारमा ओत लागेर बसेका गोठालाहरुलाई आफ्नै रासन भित्रका बिस्कुट र चकलेट बाँड्दै हुन्छन् । यात्राकै क्रममा भेटिएको खोंच देखेर पोखराको महेन्द्रगुफा सम्झिन पुगेका उनी कहिले ओठ तालु सुकाएर भोकभोकै हिडिरहेका हुन्छन् त कहिले स्थानीय मेयर अब्दुल अरलको घरमा ठूलो थाल वरिपरि सजाएर राखिएका अनेकौं परिकारहरुको मेजमानीमा पर्छन् । समग्रमा यो नियात्रा जति रोमान्चक छ उत्ति नै कर्तब्य, बाध्यता र जीवनरथका पहाडै पहाडले भरिएको छ । र त नियात्राको बिसौनीमा आइपुग्दा उनी भन्छन् -‘हाम्रा अगाडि पहाडै पहाड तेर्सिएका थिए l कर्तब्य, बाध्यता र जीवनरथका अनगिन्ति अनिश्चित पहाडै पहाड ।

६, ओयुपी सीयुपी र डा० लाल

यस नियात्रामा बिषेशत बिश्वबिख्यात दुई प्रकाशनगृह अक्सफोर्ड र क्याम्ब्रिजको चर्चा गरिएको छ साथमा छन् किराँती भाषाका अनुसन्धाता डा० लाल-स्याँकारेलु राप्चा । जर्मनीको अव लाइप्चिस युनिभर्सिटीमा किराँती-बायुङ भाषाको शोध गरिरहनु भएको डा० राप्चा बेलायतमा आयोजित सुनुवार समुदायको यौटा अन्तरसम्बाद कार्यक्रममा भाग लिन आउनु भएको बेलामा यो यात्रा गर्ने अवसर जुरेको रहेछ उहाँहरुलाई । एक त नियात्राकार स्वयं नै यस्ता खोजमूलक कार्यहरुमा रमाउने मान्छे अझ त्यसमा पनि साथमा शोधकर्ता समेत रहेपछि त्यो यात्रा कस्तो रह्यो होला ? सजिलै अनुमान गर्न सकिन्छ ।

आफ्नो वासस्थान क्रिप्ली रोडबाट सुरु भएको यात्रा अक्सफोर्ड र क्याम्ब्रिजसम्म पुग्दा अनेक घुम्ती र मोडहरुसंग टक्राउन्छन् । यद्यपि यात्राका क्रममा डा० सा’प संग भएको महत्वपूर्ण एवं जानकारीमूलक भलाकुसारी कम अर्थपूर्ण रहेको छैन । यसमा उल्लेख गरिएका कतिपय प्रसंगहरुले पाठकहरुलाई ऐतिहासिक तथ्यहरुका बारेमा धेरै कुराको ज्ञान समेत दिएको छ ।

‘सन् १४५० मा जोहान गटेनवर्गको प्रिन्टिङ्ग प्रेसको आविष्कारलाई पछ्याउदै विलियम क्याक्स्टनले बेलायतमा सन् १४७६ मा प्रिन्टिंग प्रेसको स्थापना गरेको दुई बर्ष पछि सन् १७४८ मै अक्सफोर्डबाट पहिलो किताब प्रकाशन भयो ।’ नियात्राको बर्णनकै यौटा प्रसङ्गमा क्रममा लेख्छन् उनी । रोमान्चक एवं उपलब्धिमूलक नतिजामा टुंगिएको यो नियात्राको थालनी भने अमर नेम्वाङ्ग लिम्बूको नियात्रा ‘सम्झनाका तरेली’ का सुन्दर वाक्यांशहरुबाट गरेकाछन् उनले ।

७, इराकका रातहरु

‘इराकका रातहरु’ शिर्षकले नै सन्त्रासपूर्ण र भयावह लाग्छन् । अझ नियात्राकारले आफै भोगेका र अनुभूत गरेका घटनाहरुलाई जस्ताको त्यस्तै पाठकसामु राखि दिंदा पढ्ने / सुन्नेहरुलाई कस्तो महसुस होला ? अनुमान गर्न गाह्रो छैन । आतंककारीहरुबाट दिनहुँ जसो भइरहने रकेट प्रहार, आत्मरक्षाका लागि चिप्ले किरा जसरी भुइँमा टाँसिनु पर्ने बाध्यता देखि लिएर मरुभूमिको उष्णताले सिङ्गो शरीर नै खोले जस्तो भएको प्रसङ्गसम्मलाई सरल र सरस तरिकाले बर्णन गरिएको यो नियात्रामा उनले घर छाडेको दिनको प्रसंगलाई भने अत्यन्तै मार्मिक भावमा पोखेकाछन् -‘जिन्दगीको हरेक बिदाईमा मन कुँडिन्छ सबैको । आज मेरो पनि घरबाट बिदाई हुँदा एक्कासी मन भकानिएर आयो । दुवै छोरीलाई अँगालामा बाँधे । सम्भव थियो त चाहन्थेँ म, सधैं यसरी नै अँगालामा बाँधिरहूँ, बसिरहूँ ।

बेलायतको ब्राइज नर्टन विमानस्थलबाट कुवेत हुँदै इराक पुगेका नियात्राकारले दाल-भात-डुकुको जोहोकै क्रममा इराकी सहर बाज्रामा बिताएका सन्त्रासपूर्ण क्षणहरुलाई सिलसिलेवार रुपमा प्रस्तुत गरेकाछन् । डायस्पोरिक लेखक एवं साहित्यकार दयाकृष्ण राईको ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’का केही वाक्यांशहरुलाई समेत स्मरण गर्दै सुरु गरिएको यो नियात्रा बाज्रामा बिताइएका तीन महिने अविष्मरणीय क्षणहरुको सुन्दर शब्दचित्र उतार्दै यौटा अनिश्चित भविष्य बोकेर बगदादतर्फ उडेको प्रसङ्गसंगै अन्त्य भएको छ ।

८, कर्नवालको सेरोफेरो

श्रष्टा जय छाङ्छाको ‘बिब्ल्याँटो आकाशको धरातलतिर’का वाक्यांशहरु सापटी लिएर सुरु गरिएको यस नियात्राभरि बेलायती राजधानी लन्डनदेखि लगभग २९७ माइल्स दक्षिणमा रहेको ल्याण्ड एन्ड्ससम्मको यात्रा वृतान्त समेटिएको छ । बरिष्ठ नियात्राकार ताना शर्माको समेत स्मरण गरिएको नियात्रामा उनले एक ठाउँ त कवि गोपालप्रसाद रिमालको यौटा कविता नै बोल्न भ्याएकाछन् –

आमा, त्यो आउँछ र ?

हो बा, त्यो आउँछ …….

त्यो बिहानको सूर्य जस्तै उज्यालो छर्दै आउँछ ।

‘घामका खेतहरु नभए पनि बेलायतमा तोरी भने मनग्यै फूल्दो रहेछ । तोरी फाँटका तरेलीले मनको कुइनेटालाई बुन्न थाले डोको बुने झैं । हल्का कुहिराका दगुराइले हाइवे ढपक्क छोप्छ । बेलायतको के पाखा के भित्ता भन्नु ? यहाँ नेपालको जस्तो पहाड हेरेर तिर्सना मेट्न कि त वेल्स् कि स्कटल्याण्ड पुग्नु पर्छ । ‘पेज ६६’

नियात्राकै क्रममा यौटा रमाइलो प्रसङ्ग के पनि उल्लेख गरिएको छ भने बेलायतमा मान्छे बराबरको सेवा र सुबिधा प्राप्त गर्ने कुकुर बिराला समेत हुँदा रहेछन् । थाहा पाएर एकछिन अचम्मित बनेँ म । जे होस् सिङ्गो पारिवारिक वातावरणमा सम्पन्न भएको ४ दिने यात्राको वृतान्तले हामी जस्ता डायस्पोरिक पाठकहरुलाई पटक पटक नोष्टाल्जिक बनाउने गर्छ ।

९, ग्रिनजोनदेखि ग्रिनविन क्याफेसम्म

बरिष्ठ साहित्यकार ताना शर्माको ‘बेलायततिर बरालिंदा’ का लोभलाग्दा वाक्यांशहरुबाट सुरु भएको यो नियात्रा सङ्ग्रहकै अन्तिम नियात्रा हो र यसमा नियात्राकाराले इराकी सहर बाज्राको तीन महिने बसाईपछि बगदादमा सरुवा भएपछिका आफना जीवनका अविष्मरणीय क्षणहरुलाई सुन्दर शब्द भण्डारमा थान्को लगाएकाछन् ।

‘चारैतिर टिवाल (कंक्रिटले बनेको १२ फिटे पर्खाल) जसको हाताभित्र विश्वका कुटनीतिज्ञ, गुप्तचर बिभागदेखि लिएर इराकी प्रधानमन्त्री उरी अल मलिकी र उनका नौजवान सैनिकहरु बस्छन् । स्मरण रहोस सन् १९२१-१९५८ सम्म इराकमा फैजल बंशका राजाहरुले राज्य संचालन गरेका थिए भने सन् १९५८-२००५ सम्म राष्ट्रपति र त्यसपछि मलिकी २१ अप्रिल २००६ म प्रधानमन्त्री पदमा छनोट भएक हुन् । -पेज ७३

यसरी ऐतिहासिक घटनका आरोह अवरोहहरु समेतको चर्चा परिचर्चागर्न पछि नपर्ने नियात्राकार बगदादको बसाई अवधिभर ६० बर्षे बुढा देखि लिएर १६ बर्षे तन्नेरीहरुसम्मको सङ्गत गर्न सफल हुन्छन् । यद्यपि ग्रिनविन क्याफेमा आफ्नै नेपाली चेलीहरुबाट भएको उपेक्षापूर्ण ब्यबहारले भने साह्रै नमिठोगरि दुख्छन् उनी ।

प्राकृतिक सुन्दरताको मायाँ पिरतीमा छिट्टै बाँधिने नियात्राकार ग्रिन जोन बाहिरको टिग्रिस नदीको चिसो पानीसंग रमाउने रहरले कम्तै छ्ट्पटिदैनन् । तर, मानिसको जीवनमा सबै कुरा भने जस्तो कहाँ हुन्छ र ? र त उनी टिग्रिस नदीको सुन्दर बहाईलाई टाढैबाट नियाल्दै बगदादतिर बाटो लाग्छन् ।

युद्धले ध्वस्त बनाएका बगदाद सहरको बर्णन गर्दै नेपाली जनयुद्धकोआफ्नै देशको दशबर्षे जनयुद्ध र त्यसबाट सिर्जना भएको बिकराल परिस्थितिप्रति चिन्ता समेत पोखेकाछन् उनले । खासगरि गणतन्त्रको स्थापना पछि अस्वाभाविक रुपमा सुरु भएका जातीय र क्षेत्रीय राजनीतिबाट राष्ट्रको अखण्डतामा खतरा हुनसक्ने उनको घुमाउरो अभिब्यक्ति बुझ्न पाठकले पापड बेलिरहनै पर्दैन भन्ने मेरो बुझाई रहेको छ । र अहिलेको मूख्य चिन्ता पनि यही नै हो । जो हाम्रा आँखासामु प्रस्टै छन् ।

यसरी बेग्लाबेग्लै ९ ओटा नियात्राका फरक फरक रसास्वादन गर्दै सङ्ग्रहको अन्तिम पातोतिर आइपुग्दा प्रकाशक अन्तर्‍ाष्ट्रिय नेपाली साहित्य समाजको आफ्नै प्रकाशकीय इतिहासको लामो सूची, लगायत शोधकर्ता डा० लाल राप्चा र बेलायतमा रहेर नेपाली भाषा र साहित्यमा योगदान दिइरहनु भएका साहित्यकार द्वय जया राई र गोपी कृष्ण प्रसाईका छोटा छोटा शुभकामना मन्तब्यहरु समेत समेटिएकाछन् भने आवरणको पछिल्लो भागमा नियात्राकारको परिचय राखिएको छ ।

बिदेशमा ५ डलर र नेपाली मूल्य (सार्क राष्ट्रहरुमा समेत) भने संस्थागत रु ३०० र ब्यक्तिगत रु १०० मात्र रहेको यो नियात्रा सङ्ग्रह समग्रमा डायस्पोरियन नेपाली साहित्यको अमूल्य निधिको रुपमा पाठकहरुसमक्ष आइपुगेकोछ र, आशा एवं विश्वास छ यसले नेपाली वाङ्मयको इतिहाँसमा यौटा छुट्टै अस्तित्व कायम गर्दै मूलधारको समकालीन साहित्यिक कृतिहरुसित एकै लहरमा उभिने समान अवसर र अधिकार प्राप्त गर्ने नै छ । नियात्राकार मित्र केदार ‘सङ्केत’जीलाई हार्दिक बधाई दिँदै ‘एथेन्सको झरी’को सफलताको अनेक शुभकामना समेत दिन्छु ।

फेब्रुवरी २०११
दोहा, कतार ।
-समालोचक हेमन्त परदेशी ज्यु, प्रवासमा रहेरपनि नेपाली भाषा, साहित्य र सङ्गीतलाई हृदयदेखि नै मायाँ गर्ने कुशल सर्जक हुनुहुन्छ । दोहा, कतारको साहित्य माहोलमा उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *