सिर्जना शिविरको घोषणा सभा सम्पन्न
पोखरा, माघ १
सीमान्तकृत विचार, साहित्य, कला र संस्कृतिलाई बहसमा लैजाने र संस्थापन पक्षको वैधतामाथि प्रश्नाङ्कन गर्ने आशयको घोषणापत्र सार्वजिक गर्दै मझेरीपाटन स्थित नवगठिन सिर्जना शिविरको ऐतिहासिक घोषणा सभा शनिबार पोखरामा सम्पन्न भयो ।
सोही घोषणा कार्यक्रममा कुसुण्डा जातिका अन्तिम पुरुष राजामामालाई समग्र सीमान्तकृत विचार, कला, साहित्य र संस्कृतिको प्रतिक मान्दै बिम्ब पुरुषको रुपमा सम्मानित गरिएको थियो ।
शिविरको घोषणा पत्रले समग्र पोखराको कला, साहित्य र संस्कृतिको क्षेत्रमा सेती नदीको दक्षिण पूर्वी भेगलाई सिमान्तकृत गरिएको आरोप लगाउँदै आउँदो सात बर्ष यस क्षेत्रलाई कर्मथलो बनाउन र यसका इतिहासको उत्खननमा लाग्न स्रष्टाहरूलाई आव्हन पनि गरेको छ ।
सोही घोषणापत्र मार्फत स्व. भीम बहादुर बिष्ट, स्व. तरकबहादुर कार्की, स्व. विष्णुहरी पौडेल, स्व. कृष्णबहादुर भण्डारी जस्ता साहित्य, कला र संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याएका सर्जकहरूलाई ओझेलमा पारिएको र संस्थापन पक्षले मूल्याङ्कनमा मनपरी चलाएको आरोप लगाउँदै विज्ञापन र नातावादका भरमा स्थापित पोखरेली समिक्षकहरूले समग्र आधा पोखराप्रति अन्याय गरेको अरोप पनि लगाइयो ।
पर्यटनका नाममा फेवाताल मात्रै सम्झने र दक्षिणी भेगमा रहेका पर्यावरणीय, जैविक विविधता, कृषि, नदी कटानको सौन्दर्य, वात्सायन घाटको गरिमा, ओखलढुंगा र गौखर्क जस्ता प्राकृतिक सम्पदा र प्राचीन सभ्यताको उपेक्षा गरिएको बताउँदै कार्यक्रमका दौरान यस क्षेत्रको परिचय, उत्थान र उत्खननमा भिन्न बहसका साथ अगाडि बढ्ने उद्घोष समेत गरियो ।
दक्षिण पोखराका वडा नम्बर १०, १३, १४, १५ र १८ वडा निवासी जनमानस तथा समग्र पोखरेली सर्जक तथा समालोचकहरूको एक भेलाबीच सम्पन्न उक्त घोषणा कार्यक्रममा बोल्दै अलिमिया लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले ४०० बर्ष अघि पहिलो पटक पोखरामा बसोबासका लागि आएका बहादुर अलिहरूको इतिहासलाई बिर्सिएको आरोप लागाउनुभयो ।
त्यस्तै आफूलाई विचारको कैदी बताउँदै समालोचक रघुनाथ अधिकारीले संस्थाको घोषणापत्र एउटा भिन्न विचार भएको र त्यो विचारका केही पक्षसँग असहमति जनाउनु भयो । त्यस्तै शुभकामना मन्तव्य राख्दै साहित्यकार माधव वियोगीले संस्थाको अवधारणा र यस क्षेत्रका सर्जकहरूको प्रयास नवीन र प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्तले यो क्षेत्रको इतिहाससँग परिचित हुने अवसर पाएको बताउँदै घोषणापत्रमा उल्लेखित अहमवाद विरोधी मान्यतामाथि दुःखेसो पोख्नुभयो ।
कार्यक्रममा टिप्पणी गर्दै समाजसेवी लक्ष्मण कार्कीले संस्थाको प्रयासले यस क्षेत्रको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभापति रहनुभएका संस्थाका अध्यक्ष सरुविन्दले ‘घोषणापत्र एक प्रश्न हो र इतिहासले दिएका कतिपय उत्तरहरू समयक्रममा गलत सावित भएका छन्’ भन्दै ‘यसको सही उत्तर खुट्याउने जिम्मेदारी समग्र सर्जक र समालोचकको भएको बताउनुभयो ।
संस्थाका महासचिव छन्दमणिले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका सदस्य राजुकुमार थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने उपाध्यक्ष गनेस पौडेलले घोषणपत्र वाचन गर्नु भएको थियो । सोही क्रममा वालकविहरू छन्दभुषण रेग्मी, विवेक बि.क. लागायतका स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो ।