– ईन्द्र अधिकारी

आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ ।

बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब गएर लाप्पा खेलौं? जति भने पनि तेरा छोराको घैटोमा घाम लाग्ने हैन क्यार । मजाले बाबुको सम्पत्तिमा खान, लाउन पाका छन्, के चाहियो ।

आमा: चार चार जना छोराहरु भएर पनि गतिलो चै एउटा पनि नभा किन हो कुन्नि? जतिखेर हेर्योन, करा’छन् करा’छन् । फेरी त्यो पैसा मागे उधुमै मच्चाउछन्  भन्या ।

कवि (छोरो): किन यसरी बाजा बाज गर्छौ मेरा माता अनि पिता । जिन्दगी त दुइ दिनको घाम छाया हो । धारोमा पानी छैन, चीममा बिजुली । मानिसकि चोला हो जीवन, जीउन जान्नु पर्छ अन्तै कतै फुकालेर ।

आमा: देख्नु भो त ! काम न काजको कविता भनेर मेरो दिमागै विगार्ने भो यसले । कतै नबुझिने पनि कविता हुन्छ ।

कवि: माताश्री यो आधुनिक कविता हो । उच्च चिन्तनको कविता । यसलाई त समालोचकले समेत बुझ्न सक्तैन । मेरो कविता त बुझ्न नसकेने अमुर्त कला हो ।

बाबु: तेरो अमुर्त कविता तैसंग राख । बरु मिल्छ भने त चै मुर्त रुपमा आएर घर गृहस्थि गरेर बस ।

कवि: नबाध मलाई गृहस्थिको डोरीले, दु:ख पाउली फेरी पराइकी छोरीले ।

आमा: थुक्क मोरा ! यस्ता पनि कवि हुन्छन् ?

कवि: म कवि यस देशको, कहिल्यै भाग्यमा घाम लागेन, पेटमा मुसा कुद्न थाल्यो, खै आमा भात पाकेन ?

आमा: हेर हेर, लाज पचेको । तैले कति कमाएर राख्न द्‌या’छस् र भनेको बेलामा भात पाक्नु ? यो घरको जेठो बाठो त यस्तो छस् भने अरुको के कुरा गर्नु । उ तिम्रो लायक छोरो पनि आइपुग्यो (गायक छोरोको प्रवेश) ।

गायक: म मौरी हु राधा, तिमी मेरी मन्जरी हौ..। या……हा….. टीङ् ………टुङ……….

बाबु: जतिखे पनि राम्रा राम्रा गीतको हात खुट्टा भाँचेर गाएर खुब गायक बन्ने भा’को ।

गायक: हैन यो बाउलाई त केही आउदैन भनेको नि हौ, क्या बोर । यो त रिमिक्स गीत हो क्या बाउ….पप । अब अरको गीत छ नी…..देशले रगत मागे… ट्याउ…. ट्याउ…टुङ….टुङ….. मलाई बली चडाउनु टीङ…टीङ…टीङ…टीङ… नेभर क्राइ मेरी आमा ट्याउ… ट्याउ… ट्याउ…. सी इज डटर अफ नेपाली…..।

आमा: यस्को यो उट्पट्याङ गीतले त मेरो टाउको खाइसक्यो । हैन तलाई राम्रो गीत आउदैन र कनी कनी कराउनु पर्छ ?

बाबु: तेरो गीतले त हाम्रो मन कदापी छुदैन मुर्ख ।

कवि: वाह वाह वाह! पिताजी पनि साहित्कार । कति मीठो भाषा, कति मीठो शैली । आकाशको तारा झार्न हानेको साहित्यिक अस्त्र जस्तो छ । (खेलाडी छोराको प्रवेश)

खेलाडी: या…हुस् हुस् ….. आमा भात पाकेन । भोक लाग्यो मलाइ त । या हुस् ।

बाबु: के हो, नारी जाती भनेर हो कि, आमासित के को हास हास र हुस हुस? चुप लागेर बस्न टन्न अघाइ हाल्छस नि ।

खेलाडी: ओ बाउ आमा! म अरु कुरा जान्दिन, मलाई भोक लागेको छ । या हुस् ……

बाबु: अब भोक लाग्यो भने के गर्ने त । बुढा बुढीको मासु पनि चुसेर खाइ सक्यौ । कमाएर राख्न देको हुनु पर्छ भनेको बेला खानलाई ।

गायक: ओ मम ! क्या बोर गर्नु हुन्छ भन्या । धेर भोकै बसेर मेरो स्वर नै विग्रिसक्यो । सा रे ग म ।

आमा: भयो भयो बढी नकरा । अब सरकारी जागिर खोज्नु । बसेर खान पल्केकाहरु । अं अर्को कता गयो, खुब नेता हु भन्छ नि । त्यसले सक्तैन तिमीहरुलाई जागिर खुवाउन?

कवि: आमा, के खानु जागिर तरकारी, जसले खान पुग्दैन गतिलो तरकारी

खेलाडी: यस हुस…… हुस….. (घरको भित्तामा लातले हिर्काउछ)

बाबु: हैन के गरेको यसले । अब हुदा हुदा घर पनि भत्काउने लाग्यो भन्या । घर भत्काएर ईटा चपाउने विचार छ कि क्या हो?

खेलाडी: पर्सी मेरो कम्पीटिसन छ क्या बाउ । त्यसले प्र्याकटीस गरेको ।

कवि: उ हाम्रो नेता दाइको नि सवारी भो । (नेताको प्रवेश)

नेता: आदरणीय जनसमुदायहरु, माता पिता तथा भाइ बहिनी । सबैको अनुहार मलिन मलिन देख्दा लाग्छ हामी सबै मिलरे समयका विरुद्ध क्रान्ति गर्ने बेला आएको छ ।

आमा: हैन के भयो यो घर ? चार चार जना छोरा भएर पनि एउटाको पनि बुद्धि पलाएन । यो जेठोको त अलि बुद्धि छ कि भनेको त घर भित्र पस्दा पनि भाषण छाट्छ । के खान आएका तिमीहरु यहाँ ? यत्रा भएर बाबु आमाको हाड घोट्न लाज लाग्दैन ।

नेता: धाधली ! ठूलो धाधली । म अब यो धाधली छानविनका लागि आयोग गठनको माग गर्छु । चक्का जाम गराउछु, बुझ्नुभो?

आमा: भो भो नेताजी, हामीलाई हड्तालको हैन, खानाको आवश्यकता छ ।

कवि: हो आज भोली जताततै भाषणको जगजगी छ, तर रासनको समस्याले सबैको मन रोएको छ । आमा मेरो महाकाव्य छापिन्छ जहिले, सबै कुरा यहाँ ठीक हुन्छ तहिले । अनि त्यो अभाव आफै दिक्क हुन्छ ।

गायक: सा रे ग म । राम्रो, धेरै राम्रो । जब मेरो नयाँ क्यासेट बजारमा आउँछ, तब सम्पूर्ण श्रोता मेरो स्वरमा झुम्न थाल्छन । अनि पैसा जाबो त…. बरु कुन बैंकमा राख्ने हो, ठिक पार्दै गर्नुस ।

आमा: जुन गोरुको सिङ छैन, उसको नाम तिखे । यिनीहरुका कुरा सुन्दा सुन्दा म त पागल नै हुन लागे ।

बाबु: दे दे मरुञ्जेल कराउन दे । यिनीहरुको अरु के छ काम, कराउँछन बस्छन । बुढेसकालमा छोराले सुख देलान भन्ने आशा छैन अब । नाकमा कालो लाइदिए ।

आमा: तिमीले नै गर्दा हो नी । सानो छउञ्जेल, हिङ नभए नि हिङ बाधेको टालो छ नि भनेर पुल्पुल्यायौ । अब पछुताएर के गर्ने ।

नेता: चिन्ता नगर्नुहोस आमा । जब म चुनाव जितेर सांसद बन्छु, अनि त सबै समस्या हल हुन्छन । मञ्चमा तपाइहरुलाई राखेर यी मेरा माता पिता भन्दा पररररर ताली बज्छ । अनि बा, कस्तो मज्जा हुन्छ, आफै सोच्नुहोस त ।

खेलाडी: त्यती मात्र हो र, जब म यो उसु-हुसुको प्रतियोगिता जितेर उचाल्न नसक्ने पुरस्कार ल्याउछु, अनि त हाम्रो कति इज्जत हुन्छ । अनि कसैले फुर्ती देखाउछ भने म त्यसको दात खोज्नु पर्ने बनाइदिन्छु । यस हुस….

बाबु: तिमीहरुको भाषण, गीत, कविता र पुरस्कारको हैन, हामीलाई रासनको समस्या छ । भुस तिघ्रेहरु हो ।

जुन, १९९६

(स्रोत : IPAJournal.com)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20