डा. गोविन्दराज भट्टराई – आदिकविसँग बेलायतमा
(कान्तिपुर)
आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु ।
क्यान्टरबरी कथिड्रलको दर्शन गर्ने उद्देश्य लिएर हामी बेलायतको दक्षिणपूर्वी किनारतिर लाग्यौँ । यो क्रिस्चियन चर्चको सबैभन्दा ठूलो संरचना जसको प्रमुखमा आर्चविशप नियुक्त हुने ठाउँ । अतीतका १५ सय वर्षदेखि निर्माण र पुनर्निर्माण भोगिरहेको बेलायतकै एक महानतम कथिड्रल, दर्शनका लागि कहलिएको स्थान क्यान्टरबरी । यस सहरका प्राचीन सडकमा पाइला टेक्दा हामी मध्ययुगीन विश्वमा हरायौँ । ढुंगा र इँटाका फराक सडक, सुन्दर बगैँचा छेउछाउका वृक्षहरू, चिटिक्क परेका पुराना घर, इँटा र टायलका, सफा झ्यालढोका र बार्दलीबाट झुन्डिएका रंगीबिरंगी फूलहरू । ती भक्तपुरे सडकमा दोहोरीलत्ता मान्छे नै मान्छे, क्यामेरा झिलिक्क पार्दै, ट्रली घिसार्दै, भिडियो खिच्दै, कागजका पेलामा कफी पिउँदै, रोटीहरू खाँदै, अनेक वस्त्रमा, बालबालिका, केटाकेटी, बूढाबूढी-स्वदेशी विदेशी छयाप्पै सडक ढाकेर यता र उता गरिरहेका । सरर, सरर सागर बगेको छ, सहरबीचको कथिड्रल ताकेर ।
हामी पनि टिकट काटेर भित्र पस्यौँ । परैबाट चर्च भवनका स्पायरहरू आकाश छुने गजुरहरू देखिए । विशाल चारपाटेजस्तो भवनमा अग्ला झ्याल, अनेक बुट्टाले भरिएको प्राचीनता जनाउने पुरानो कला । युरोपभरिकै ठूलो भवनमा गनिने, विश्वभरिकै एङ्लिकन समुदायको मातृभवन । आज होइन इश्वी ५९७ मा रोमबाट आएका सन्त अगस्टिनले निर्माण आरम्भ गराएको ठाउँ । त्यसको पाँच सय वर्षपछि त्यो कथिड्रलका आर्चर्विशप टमस बेकेटको हत्या भयो । बेलायती राजा हेन्री द्वितीयले चारजना मान्छे लगाएर महान् सन्त बेकेटको कथिड्रलभित्रै हत्या गराएका थिए । यो डरलाग्दो अपराधको कथा थियो, महत्त्वाकांक्षाको र क्रूरताको । मन्दिरभित्र एक प्रमुख धर्मवेत्ता ज्ञानीको सहादतको कुरा थियो ।
त्यहाँदेखि क्यान्टरबरी झन् ठूलो महत्त्वको तीर्थस्थल भयो । त्यो पाप पखाल्न प्रत्येकले त्यहाँ आउनैपर्ने भयो । लन्डनको साउथवार्कदेखि हिँडेकोहिँडयै, घोडामा, पैदल, बाटामा वास बस्तै, धर्मशाला पाटीपौवामा, गफ गर्दै, खाँदै पिउँदै । हाम्रो देशमा पशुपति पुगेर पुण्य कमाएजस्तै । अब संसार त्यहाँ खनिन थाल्यो । हत्याका आदेशक स्वयम् राजा पनि प्रायश्चित्त गर्न पैदल हिँडेर त्यो कथिड्रलमा आए । जीवनमा एकपल्ट नपुगी नहुने त्यो मक्कामदिना भयो । त्यसको हजार वर्षपछि तिनै टमस बेकेटको हत्याको क्रूरतामा आधारित एउटा नाटक लेखियो- मर्डर इन द कथिड्रल . कथिड्रलमा हत्या । टी एस एलिअटको यो नाटयकृति विश्वसाहित्यकै एक अमर रचना हो । हत्याको हजार वर्षपछि पनि त्यो अपराधको कथा लेखियो । भनेपछि साहित्यकारले सत्यको र न्यायका लागि कहिलेसम्म लडिरहन्छन्, यो हेर्दा थाहा हुन्छ । शक्तिको उन्मादमा अन्यत्र पनि यसरी मानिस मार्ने र पुर्ने थुप्रै काम भएका छन् तर यो प्रस्ट छ, त्यो क्रूरताको कथा जतिपछि भए पनि लेखिने रहेछ । एलियटको यस कृतिमा दैवी र मानवीय शक्तिको बीचमा द्वन्द्व देखाइन्छ । १९३५ को क्यान्टरबरी महोत्सवका लागि रचित यो नाटकमा उनले पद्यशैलीको प्रयोग गरे । तीन सय वर्षदेखि प्रचलनमा रहेको पद्यशैली प्रयोग र अतीतको घटनालाई वर्तमान समस्यासँग जोडेर गरिएको पुनर्निर्माण कलाको विश्वले प्रशंसा गर्यो । मलाई लाग्यो- सबै साहित्यको अर्थ धर्ममा आधारित हुन्छ । ठूलाठूला कृति धर्मकै व्याख्या हुन् । धर्मबाट फुकालेर साहित्य लेखिँदैन, त्यसको कल्पना गर्न पनि सकिँदैन ।
त्यो शान्त कथिड्रलभित्र पसेपछि देख्यौँ- टमस बेकेेट चिहानमा सुतिरहेका थिए, उनको शरीर सुनचाँदीले मोरिएको थियो । अरू पनि सहिदहरू चिहानमै थिए । भित्तामा प्रभु जिससका लीलाहरू, मिराकलहरू, सम्पूर्ण ल्याटिन भाषामा कुँदिएका अक्षर, प्राचीन रोमन शैलीको त्यो गगनचुम्बी, भित्र रहेका अनेक कोठी, वेदी, पूजास्थल, प्रार्थनास्थल र गर्भगृह । घन्टौँ हराएर हामी बाहिर निस्कियौँ । कानमा टीएस एलिअटका शब्द गुन्जिन लागे— अ म्याजिक अब् ग्रेट हाइट एन्ड डार्कनिस । साँच्चै क्यान्टरबरी कथिड्रल महान उचाइ र अगम्य अन्धकारले छोपिएको एक जादू थियो ।
आश्चर्यचकित भएर हामी बाहिर घुम्दै थियौँ- ‘चसर बुक सप’ लेखिएको पुरानो भवन आँखामा आयो । पसेर हेर्यौँ त्यो सम्पूर्ण भवन जेप|mी चसरका पुस्तकले भरिएको थियो । त्यहाँ चसरसम्बन्धी खोज र अनुसन्धान, प्रकाशन विवरण र व्याख्या, उनका नाम लिएर बनिएका झोली, सिक्री, डायरी, कप, प्लेट र हरेक सामानले भरिएको थियो । राम्ररी हेर्यौँ यी तिनै चसर रहेछन् जसले सात सय वर्षअघि ‘क्यान्टरबरी टेल्स’ लेखे । क्यान्टरबरी टेल्स अनेक कथाको पुस्तक हो । अंग्रेजी साहित्यका विद्यार्थीको निमित्त यो भानुभक्तीय रामायण हो । यहीँबाट अंग्रेजी साहित्य आरम्भ हुन्छ । त्यसैले चसरलाई फादर अब् इङ्गलिस लिटरेचर भनिन्छ । यसरी क्यान्टरबरी र चसर इतिहासदेखि अभिन्न थिए ।
अब यो मनलाई अपार आनन्द र हर्षले छोप्यो । म जेप|mी चसरलाई खोज्न थालेँ, विश्वसाहित्यका भानुभक्तलाई खोज्न थालेँ । एउटा अपूर्व यात्री बनेर बेलायतदेखि हिँड्दै धेरै दिनको यात्रा तय गरेर क्यान्टरबरी आइपुग्ने चसरलाई सम्झेँ । आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु । तिम्रो आँगनमा ओर्लिएर हेर्दा यो विशाल कथिड्रलभित्र अनेक रहस्य देखेँ । तिमी पनि कथिड्रलले नै तानिएर यहाँ पुगेका थियौ, त्यो यात्रा साहित्यमय बनेको थियो । म पनि यही कथिड्रलले तानिएर टाढादेखि यहाँ आएको छु । मेरो यात्रा पनि साहित्यमय र चसरमय बनिदिए हुन्थ्यो भन्ने आशा गरिरहेको छु ।
तिमी मात्र यो पवित्र भूमिमा आएका होइन रहेछौ । यहाँ अंग्रेजी साहित्यका मोतीराम क्रिस्टोफर मार्लो पनि छेउमै उभिएका रहेछन् । बाटैमा पर्ने मार्लो थिएटरका अघिल्तिर उच्च बस्टमाथि उभिएकी विश्वसुन्दरी हेलेन अब ट्रोईलाई देखेँ । ती विश्वसुन्दरीको भव्य, नग्न मूर्तिले उभिएर मार्लोलाई हेरिरहेको थियो । बस्टका चारपाटामा मार्लोका अमर नाटकका पात्रहरू— ज्यू अब् माल्टा, टयाम्बर्लेन, डक्टर फस्टस र एडवार्ड टू उभिएका देखेँ । यसरी कृतिकारभन्दा पात्रहरू अमर भएको, समयको उच्च सालिकमा तिनीहरू उभिएको मैले कहीँ देखेको थिइनँ । यही चर्चमा उपदेशक बनेर डयानिअल डिफो पनि यहाँ आएका थिए । उनको रबिन्सन क्रुसो नपढ्ने को होला ? महान् अंग्रेजी साहित्यकारहरूको एउटा लामो सूची देख्छु जसले क्यान्टरबरी टेकेका थिए । कसैले चर्चमा काम गरे, धेरैले यहीँ बसेर सिर्जना गरे । यस क्षेत्रको अवर्णनीय सौन्दर्यले, विचित्रताले मोहित भएर, प्रभावित भएर आफ्ना रचनामा क्यान्टरबरी लेखेका थिए । गुलिभर्स ट्राभल लेख्ने जोनाथन स्विरुट, ग्रामीण जीवनको दुःख र वेदनाका कविता लेख्ने टमस ग्रे, महान् लेखिका जेन अस्टिन, रोमान्टिक कवि जोन किट्स, महान् गद्यकार जोजेफ कन्र्याड, समर्सेट मम, टीएस एलिअट, आइएन रुलेमिङ— क्यान्टरबरीबाट प्रभावित स्रष्टाहरू सम्भिmँदा पनि यो मन श्रद्धाले भरिन्छ । टमस ग्रेको एलजि रिटन इन द कन्ट्री चर्चयार्डमा वणिर्त ग्राम्यचित्र— दिन ढलेपछि टाढा कतै गाउँको चर्चयार्डमा बजेको घण्टको ध्वनिले यही परिवेशलाई सम्झाउँछ ।
अंग्रेजी कवि र नाटककारहरूको घर, शताब्दीयौँदेखि प्रेरणाको केन्द्र क्यान्टरबरी । यो कथिड्रल, यी प्राचीन घरहरू, यसलाई घेरेर बसेको सुन्दर ग्राम्यचित्र, नजिकै बग्ने सङ्लो स्टुआर्ट, अलि परका विशाल फाँट, ओसिलो जंगल, त्यस पर्तिरका गाईचरन र भेडाखर्क, हरिया बुटयान र रहस्यपूर्ण प्रकृति । कवि लेखकको यस तीर्थस्थलमा आज पाइला टेक्न पाएँ, यो मनको आनन्दलाई व्यक्त गर्ने शब्द नै सकिएका छन् । महान् चिन्तक रस्किनले त्यसै बोलेका थिएनन्— क्यान्टरबरीमा कोही बाँचिरहेको, बढिरहेको, परिवर्तित भइरहेको कुनै अवस्थाको पनि कल्पना गर्न सकिँदैन ।
यो एक स्थिर जगत हो प्रकृतिको अनुपम
सौन्दर्यले बनेको ।
हजारौँ स्रष्टालाई तानेर यहाँ पुर्याउने सबैका पिता हे चसर, तिमीलाई देख्ता म अत्यधिक आनन्दले भरिएको छु । मैले दुइटा देउता मानेको धेरै भयो । दुई भाषामा खेल्ने भएपछि, दुई संस्कृतिमा चल्ने भएपछि यस्तो चेतनाले सबैलाई छोप्छ । हाम्रा लागि नेपाली—अंग्रेजी दुवै संसार आफन्तले भरिएका छन् । यता भानुभक्तसँग बारम्बार भेट भइरहन्छ. हे भानुभक्तका पुर्खा ! तिमीलाई भेट्न नपाएर यो मन सधैँ कल्पिरहेको थियो ।
तिमी समाधिस्थ भएको सात सय वर्ष पुग्यो, आज पनि तिमी त्यति टाढा लन्डनको कवि कुनामा सुतिरहेका हौला । तर आज तिमीलाई क्यान्टरबरीको एउटा पुरानो मध्ययुगीन घरमा भेटेँ । स-सानो घोडामा चढेर तिमी तीर्थाटनमा निस्केका थियौँ । हामी त्यो टयावर्न इनको पुरानो दैलो उघारेर भित्र पस्यौँ । त्यहाँ तिम्रा कथाका पात्रहरू थिए, जीवन्त र यथावत् । ती यही भूमिका बासिन्दा थिए । तिमीले तीर्थयात्रामा भेटेका पात्रहरूले तिमीलाई आएर कथा सुनाए । एउटा कथा नाइटले सुनायो, अर्को मिलरले, अर्को बाथकी पत्नीले, अर्को पार्डोनरले, अझ अर्को नन्का पि्रस्टले । ती सबै कथाको दृश्यले भरिएका कोठाहरू एकएक गर्दै पस्न थाल्यौँ । द नाइट्स टेलमा एउटी सुन्दरीप्रति दुई योद्धाको प्रेम, अर्को कोठामा एउटा छट्टु क्लर्कले अर्काकी पत्नीमा आँखा गाड्दा भोगेको परिणामको कथा, द वाइफ अब् बाथ्स् टेलमा एउटी नारीले के चाहन्छे भन्ने विषयको व्यङ्ग्यपूर्ण कथा, द नन् पि्रस्टस् टेलमा भाले र रुयाउराको कथा, द पार्डोनर्स टेलमा लोभको कारणले समाप्त भएका तीनजनाको कथा । तिमीले अरूका मुखबाट सुनेको कथालाई तदनुरूप उतार्यौँ । ती पात्रको जीवन्तता, ती कथाले टिपेको समाज, सामान्य जीवन, तिम्रो सूक्ष्म निरीक्षणको गहिराइ, हास्यपूर्ण चेतना र नाटकीयता, दैनिक जीवनका जनसाधारणको चरित्र, बोली र व्यवहार— यी सबैले जगत्को मन छुने निरीक्षण शक्ति प्रस्तुत गर्यो । तिमी धेरै वर्षअघिका आदिकवि हौ । विश्वसाहित्यका एक आदिकवि । हाम्रा भानुभत्त,का जिजुच्याप्जू । तिमीले पनि लोकवाणीलाई जन्म दियौ । तिमीले रोपेको अंग्रेजी आज विशाल वृक्ष बनेको छ, हामी पनि यसको फल टिप्दै छौँ, चाख्तै छौँ ।
बिदा माग्ने बेला भयो, चसर अझै घोडामाथि नै थिए— झुस्स दारी, होचो कद, ससानो सेतो घोडा, पाइला उचालेको । उनका वरिपरि अरू पात्र थिए । मैले निहुरेर चसरको पाउमा ढोगेँ । विश्वासदीप दाहिनेतिर उभिए, देवेन्द्र खेरेस देब्रेतिर, रामकृष्ण सुनुवारले तस्बिर खिचे, म सम्भिmरहेछु— त्यतिबेला तिमीले हात उठाएर हामीलाई आशीर्वाद दियौ । साँझ परिसकेको थियो, हामीलाई फोकस्टोन पुग्नु थियो ।