अघिल्लो दिनको झरीले खुलेको नीलो आकाश।
उत्तरतर्फ लहरै हाँसेका हिमाल। बिहानी किरणले रंगाउँदै गरेको फेवाको पानीसँगै मन पनि चन्चल अनि तरंगीत भयो।
सराङकोट उक्लने अनि माछापुच्छ्रेसँग आमनेसामने नजर जुधाउने इच्छा मनमा त छँदै थियो। घुमन्ते जीवन अनि विभिन्न एड्भेचनर्स खेलको पारखी म, यसअघि पनि पोखरा नआएको भने होइन तर शुक्रबार भने संसारकै उत्कृष्ट मध्येको एक जिप फ्लायरमा हुइँकिने अभिलाषाले त्यहाँ पुर्यायो।
हाइ ग्राउड एडभेन्चर प्रालि (बन्जी पोखरा र जिप फ्लायर नेपालको सञ्चालक कम्पनी) का चिफ अपरेटिङ अफिसर दिनेश महर्जनको पुरानो निम्तो पनि त थियो।
लागें हाइ ग्राउन्डको लेकसाइड अफिसतिर।
छ जना ताइवानी पाहुनासँगै म पनि भ्यानमा बसें सराङकोट उक्लन।
सराङकोटको शिरबाट उत्तरमा माछापुच्छ्रे अनि दक्षिणमा फेवा र पोखरा नियाल्ने मौका,हामी सबै रोमान्चित थियौं जिपलाइनको एडभेन्चर अनुभव गर्न।
सराङकोट उक्लने नागबेली बाटो आफैंमा अर्को एडभेन्चर। पहिले भ्यु पोइन्ट मात्र रहेको सराङकोट अहिले प्याराग्लाइडिङको देशकै उत्कृष्ट थलो बनेको छ अनि दस वर्षदेखि सन्चालित नेपालकै पहिलो जिप फ्लायर पनि यहीँ छ।
दर्जनौं प्याराग्लाइडिङ कम्पनीले दैनिक हजारौं रकम पोखरेली माटोमा सिञ्चित गरेका छ्न्। तर दुर्भाग्य, यिनै एडभेन्चर गर्न निस्कने बाटो सरकारको प्राथमिकतामा परेन। कठै!
नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा हामी सराङकोटको टुप्पोमा पुग्यौं।
जिप फ्लायरको टप स्टेसन सराङकोटको टुप्पोमै रहेछ।
अघिल्लो वर्ष अन्नपूर्ण बेस क्याम्प जाँदा दायाँ फन्को मारेको माछापुच्छ्रे बादलुको घुम्टो फ्याकेर हामीलाई देखेर मुस्कानसहित स्वागत गरिरहेको जस्तो भान भयो।
यता शान्त फेवाको आकाशमाथि दर्जनौं ग्लाइडरहरू सलबलाउन थालिसकेका थिए। चराजस्तै स्वतन्त्ररूपमा आकाशमा उडिरहेका थिए।
प्रकृतिको अनुपम सिर्जना अनि पर्यटन प्रेमीको ढुक्कको लगानीले नै आज पोखरा देशकै पर्यटकीय राजधानी बनेको छ।
राइड सुपरभाइजर हरि चापागाईं, राइड असिस्टेन्ट मनोज र विष्णुले मुस्कानसहितको आत्मीय सत्कार गरे।
जिप फ्लायरअघि हरिले ब्रिफिङ गरे।
हार्नेसमा बस्ने तरिका र सुरक्षा सावधानीका कुरा बताएपछि मन अलि ढुक्क भयो। आत्तिनेहरूलाई ‘एड्भेन्चर क्रु’को हौसलाले एडभेन्चरमा थप ऊर्जा दिन्छ।
कसैले प्ल्याटफर्मबाट फर्कन खोजे दस वर्षदेखिको शून्य दुर्घटना र उच्च सुरक्षा सतर्कताको कुरादेखि जिप फ्लाइ नगरेमा आफूले ‘अमेजिङ भ्यु’ हेर्ने मौका गुमाउने भन्दै हौस्याउँदा रहेछ्न् क्रु मेम्बरले।
हामी समुन्द्री सतहदेखि एक हजार पाँच सय पचास मिटरको उचाइमा थियौं।
भर्टिकल ड्रप छ सय मिटरमा एक हजार आठ सय ५० मिटर दूरी पार गर्नु थियो। औसत गति १२० किमी प्रतिघण्टा रहेको जिप फ्लाइ पूरा गर्न बढीमा पनि २ मिनेट लाग्ने रहेछ।
३५ देखि १२० किलोसम्मका व्यक्तिले खेल्न सक्ने जिप फ्लायर १३ वर्षदेखि माथिका व्यक्तिले गर्न सक्ने रहेछन्।
ब्रिफिङ सकेर प्ल्याटफर्म उक्लेपछि अचानक मुटुको ढुकढुकी बढ्न थाल्यो।
यसअघि रोमान्चक मानिने खेलहरू रक क्लाइम्बिङ,क्यानोनिङ,बन्जी, जिप लाइनको अनुभव लिइसके पनि मनमा एक किसिमको डर भने हुँदो रहेछ।
एकातिर माछापुच्छ्रेको दृश्यले लोभिँदै थिएँ भने अर्कोतर्फ तल हेम्जा फाँटको ग्राउण्ड स्टेसन हेर्दा मनै सिरिङ हुने।
सुरूमा पालो आयो ताइवानी साथीहरूको। कोही एक्साइटेड हुँदै झरे। कोही नर्भस हुँदै। अरु डराएको देखेर हाँसिन्छ, आफ्नो पालोमा हालत के होला? मनमा यी अनि यस्ता कुरा खेल्दै थिए। त्यस्तैमा मेरो पालो आयो।
हरिले सिटसहितको हार्नेसमा बसाले।
गोडालाई ‘भि सेप’मा राखेर अगाडिको स्टिल बारलाई धकेल्दै गर्दा मेरो भार फलामे तारमा अड्काइएको घिर्नीले थेगिरहेको थियो।
मनमा डर अनि खुसी दुवैले डेरा जमाएको थियो। डर यसकारण कि १२० किमी प्रतिघण्टामा एक हजार आठसय ५० दूरी पार गर्नु थियो अनि खुसी यसकारण कि माछापुच्छ्रेसँग जिस्कँदै जिप फ्लायरको अनुभव संगाल्दै थिएँ।
जब हरिले थ्री टु वान गनेर स्टिल बार खोले अनि म हुत्तिएँ डोरीको सहायताले हावामा। आखिर हामीलाई खाने मनको बाघले न हो। डर हरायो।
म निस्फिक्री हावामा कावा खाँदै थिएँ।
१२० किमी प्रतिघन्टाको गतिमा हुत्तिँदै थिएँ। एकैछिन त संसारै भुलेजसो भो। माछापुच्छ्रेको चिसो झोका मेरा गालामा स्पर्श गर्दा मन पुलकित भइरहेको थियो। त्यो डेढ मिनेटको उडान वास्तवमै स्वर्गीय आनन्दको रह्यो। आफ्नै संसारमा रमाउँदै, आफैंमा हराउँदै अनि माछापुच्छ्रेलाई जिस्काउनु मज्जा शब्दमा वर्णन गर्न सकिँदैन।
नेपाली चाडपर्वका बेला आन्तरिक पर्यटक र अन्य समय विदेशी बढी यहाँ आउँदा रहेछ्न्। नेपालीलाई चार हजार पाँच सय रुपैयाँ र विदेशीलाई आठ हजार पाँच सय रहेको जिप फ्लाइको फोटो भिडिओ एक हजार आठ सय तिरेर लिन सकिन्छ।
जिपलाइनकै ग्राउन्ड स्टेसनमा ६० मिटर अग्लो बन्जी समेत छ। क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको टावरमा कैयौं पर्यटक जिप फ्लाइ सकेर बन्जी गर्दा रहेछ्न्।
हाल बन्जी र जिप फ्लायर सञ्चालन गरिरहेको कम्पनीले हेम्जामा छिट्टै अर्को एडभेन्चर प्रोडक्ट एटिभी बाइक सुरू गर्दैछ।
हेम्जादेखि लेकसाइड छोड्ने व्यवस्था पनि कम्पनीले नै गर्छ।
प्राकृतिक सुन्दरतासँगको साक्षात्कार, थ्रिल सहितको उडान र कर्मचारीको आत्मीयपनले यो यात्रा अविस्मरणीय रहिरहनेछ।