रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोही कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ, मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें। तर मैले यकिन गर्न सकिन कि, त्यो केको आवाज भनेर ? टक्क रोकिएँ एकछिन, नजिक गएर सुन्ने कोसिस गरें । कोही छटपटिंदै जापानी भाषामा “ऐया ऐया” भनिरहेको जस्तो सानो आवाज हो कि जस्तो लाग्यो मलाई । त्यसैले मलाई भित्र छिर्न मन लाग्यो तर मलाई डर लागेर आयो । किनकि, जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराउँदैनन । तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खाली बोतलहरू छरपस्ट थिए । पाईला टेकने कुनै ठाउँ थिएन त्यहा । फोहरहरू पनि जताततै छारिएका थिए कि, मानौं त्यो कोठा कुनै फोहर फाल्ने ठाउँ जस्तो देखिन्थ्यो । यताउति हेरें, कोही देखिन । एकछिन त्यहीं उभिएर बसें, अनि फेरि कराएको आवाज आयो । अनि मैले एउटा कपाल फूलेको झन्डै ८० नाघेको जस्तो देखिने बृद्ध जापानीलाई देखें, एउटा खाटमा कराउँदै ढलिरहेको अबस्थामा । त्यहाँ अरु कोही थिएन । न उनका छोराछोरी थिए, न त कोही नातागोता नै थिए । यस्तो अबस्था देखेर मलाई लाग्यो उनी लामो समयदेखि एक्लो जीवन बिताइरहेको हुनु पर्छ । म उनको नजिक गएँ, शरीर धेरै सिथिल देखिन्थ्यो, अनि धेरै बिरामी पनि । ऊ मसँग केही बोल्न खोज्यो तर बोल्न सकिरहेको थिएन । म आत्तिएर पानी खुवाउन यताउती पानी खोजें कतै भेटिन । अनि मेरो कोठामा पानी लिन गएँ । फर्केर पानी खुवाउँछु भनि उनको टाउको उठाउन खोज्छु, उनको टाउको अनि पुरै शरीर चिसो पाएँ । तर पनि फेरि पानी खुवाउन मुख आँ गराउन खोजें, तर सकिन । नाडी छामेको त रगत चल्न छाडेर मरिसकेको पाएँ । म आतिन्छु, मलाई डर लगेर आउँछ । अब के गर्ने ? अनि कसलाई खबर गर्ने ? भनेर । किनकि उनको साथ न परिवार छ न छोरा छ न छोरी नै । कहाँ कहाँ नेपालबाट आएको म एक्लो छु उनको साथ । त्यसैले म माथी कुनै दोष लाग्ला भन्ने डर लागेर आउँछ मलाई । अनि उनको त्यो अबस्था देखेर म गंभीर हुन्छु, यो कस्तो चलन हो ? कि एक्लो जीवन जिउनुपर्ने ? आफूले जन्माएको छोराछोरी भएर पनि । अनि के महत्व भो र ? आफूले जन्माएको छोराछोरीको ? जन्मायो, हुर्कायो, बढायो अनि मर्दा खेरि कोही न कोही भनेर । अन्तमा, प्रहरीलाई खबर गर्न मैले जापानी कोठामा हुने emergency रातो बटन दबाएँ । केही छिनमानै आइपुगे गाड़ी लिएर केही प्रहरीहरू । अनि मैले सम्पूर्ण घटनाका विवरणहरू बताईदिएँ उनीहरूलाई । अनि के के कागजहरू बनाएर मृत शरीरलाई जलाउनको लागि भनेर काठको एउटा बाक्सामा हालेर लगेर गए । उनका पछिपछि जाने न मलामी थिए, न त कोही क्रियापुत्र नै थिए । थिए मात्र एक्लो थियो मृत शरीर अनि थिए केही चिन्दैनचिनेका प्रहरीहरू ।