“तेरी स्वास्वास्नी आर्काको भुडी बोकेर घर छोडेर हिडी ठुले…!” उसकी आमाको स्वरमा शोक भन्दा बनावट धेरैथयो । उसलाई एकैछिन त लाग्यो उस्की आमा अरु कसैको कुरा गरिरहेकीछन् । तर दिमागमा बज्रिएको “तेरी” शब्दले उसलाई राम्ररी सास फेर्न समेत दिएन । अनायासै निधारमा पसिनाका दानाहरु उम्रिए ।

“भन्या त हो, मतवाली जात, जतिसुकै राम्री भएनी हाम्रामा गभिन सक्दैनन् बे नगर भनेर, सुनिनस् । अब के गर्नु ?” आमा बोलिरहिन तर बलरामले सुन्न छोडीसकेकोथियो ।

ठ्याक्कै ३ बर्ष अघी फेसबुकमा भेटेकोथियो उसले गीता पून मगरलाई । फेसबुकमा उसले आफ्नो नाम ‘गीत’ राखेकीथिई । उसको फोटोको एकै झलकले मोहनी लागेको बलरामलाई ‘गीत’ गीत जस्तै लागी । मनपराउने लायक । गुनगुनाउने लायक । ऊ मरिहत्ते गरेर उसको पछीपर्यो । तर फ़्रेंड्स रिक्वयस्ट एसेप्ट गर्नै दुई महिना झुलाई उसले बलरामलाई ।

बलराम केसीको ठाउँमा उसले पनि आफ्नो नाउँ देव केसी राखेकोथियो आफ्नो प्रोफाईलमा । देशको राष्ट्रिय समस्यामा फसेका अरु अरु युवक झैँ एसएलसी फेल बलरामपनि घर र देशको अवस्थाको मारले धकालिएर ४ बर्ष अघी कोरिया पुगेकोथियो । एकबर्ष जिनतिन काटाएको बलरामलाई कहिले घर फर्कौ भएको बेला आफ्नो गाउँ ठाउँ नजिककी गीता सँग फेसबुकमा भेटेर न्यास्रै मेटिएजस्तो भयो ।

झुट बाट सुरुभएको सम्बन्धको पत्र पत्र उक्कीएर यति पारदर्शी हुनपुग्यो, दुई बर्ष बित्दा नबित्दै दुबै एकआर्का बिना बाँच्न नसक्ने निस्कर्षमा पुगे ।

उसो त सोझी साझी गीतालाई बलरामको त्यति भरोषा लागेको त होईन, तर बलरामको रोईकराईको अघिल्तिर उसले हारमानी । ऊ बाउ आमाकी एक्लि छोरी थिई । र भन्ने हो भने सारा घर उसैले धानेकीथिई ।

बाउचाहिँ जोरीपारीमा धाक लगाउँथ्यो” मेरी छोरीको जोडको मगर मर्द नभेटे बोरु छोरीलाई घरै राख्छ मों । नपुग्दो क्यै छैन ।”

गीताले पनि बाउको धाकको ईज्जत राखेकैथिई । कसैलाई छेउछाउमा पर्न दिन्नथिई । कसैले अलि बढतै टाँसिन खोजे भने खुर्पा उज्याएर भन्ज्याङ सम्मै लखेटेर आउँथी ।

बाहुन गाउँका भुराहरुको देखादेखी स्कुल जान सुरुगरेकी गीता पढनमा खासै राम्रो निस्कीन । बाउले पनि छोरीको रहर आठ कक्षा पुगुन्जेल धानिदियो । त्यसपछी गीतालाई नै स्कुलले तानेन । नाच, गान, र बन पाखामा रमाउने उसले बाउको सानो बिरोधमै स्कुलजान छोडीदिई ।

गाउँ अचेल गाउँ रहेको थिएन । बिजुली आएपछी गाउँमा रहेका सिमित तन्नेरीहरु मध्ये हातमा फोन नबोक्ने कमै देखिन्थे । गीताको किचलो सहिनसक्नु भएपछी दान बहादुरले सहर जाँदा यो मोबाईल किनेर ल्याईदिएको थियो । मोबाइल जस्तो मात्रै देखीने त्यहि खटारा मोबाईल बलराम र गीताको भेटको संजोग बन्यो ।
सोझी साझी गीताले सोच्न पनि नभ्याएको सारा कुरा बलरामले सपना देखेर, कल्पेर पनि भ्यायो । गीताले घर परिवार देखाई । समाज र इष्टमित्र संझाई । आफ्नो र उसको जातको फरक बुझाई तर गीताको रुप र अबोधताको नशामा चुर्लुम्म डुबेको बलरामले केहि सुनेन् केही बुझेन ।

आखिर कोरिया गएको ४ बर्ष पछी बलराम घर फर्कियो र दुबै परिवारको मर्जीको बिरुद्द उसले गीतालाई भगाएर काठमांडू पुर्यायो ।

१५ दिन काठमांडू बसेर, त्यहिँ मन्दिरमा सिंदुर पोते गरेर उसले गीतालाई घर लेरायो ।

चित्त नबुझेपनि कमाउने, घर परिवार हेर्ने छोराले ल्याएको स्वास्नीलाई उनिहरुले घोक्रेठ्याक लगाउन सकेनन् । गीता बलरामको घरमा भित्रई तर दान बहादुरले आफ्नी छोरीलाई, आफ्नो एक्लो संन्तानलाई घर भित्राएन । कैयौं दिन सम्म ऊ छ्याङको नशामा आफ्नी एक्लि छोरी मरेको गुनासो गरेर रोईरह्यो गाउँ घरमा ।

अर्को २ महिनामा सबै सामान्य भयो ।

बलराम अब कोरिया जान चाहन्थेन । घर परिवार उसको यो निर्णयले खुशी थएनन् । गीता पनि बलराम घरै बसोस, चाहन्नथी । आज सम्म बलरामले जे जति कमायो त्यो घरको आर्थिक स्थिती सुधार्नैमा खर्चगरेको थियो । हातमा बाँकी केहि थिएन । यस्तोमा ऊ घर बसेर के गर्थ्यो ?

काममा नयाँ कन्ट्र्याक्ट सकिएको थिएन । कम्पनी राम्रैथियो । त्यसै अनुसार कमाई पनि राम्रो थियो । गीताले बलरामलाई अर्को दुई बर्ष कोरिया बसेर आउन मनाई कसैगरी । जोई पोई मिलेर पैसा जम्मागरेर पसल खोल्ने सपना देखे । बच्चा पाउने सपना देखे र देखे बुढेसकाल सम्म एक आर्काको हात थामेर जीवन बिताएको सपना । यिनै सपनाको जग राख्ने ज़मीन खोज्न बलराम फेरी कोरिया तिर लाग्यो । नवविवाहिता स्वास्नीको आँशुले भिजेको छाती नसुक्दै बलराम त्रिभुवन बिमान स्थलबाट सपनाको फेर समातेर उडिसकेको थियो ।

८ महिना स्काइप र भाईबरमा लामो लामो गफगरेर, रोएर, हाँसेर बिताए गीता र बलरामले । बलराम हरेकदिन घर फर्कने ज़िद्दी गर्थ्यो । गीता उसलाई घरको, साथको र संतानको सपना देखाएर रोक्थी ।

गीताको बाउले उस्लाई अझै घरमा भित्राएको थिएन । वल्लो पल्लो गाउँ भएकोले गीताको कानमा बाउको गुनासो र गाली परिरहन्थ्यो । उसकी आमा भने पोईलाई ढाटेर दुईचार फेर छोरी भेट्न आएकीथिई ।

पहिलो पटक आउँदा सासुले संम्धीनीलाई राम्ररी भित्र पनि नहुलेपछी गीताले आफ्नी आमालाई घाँस पात गर्नजाँदा उतै भेटी । घरमा ल्याईन । तर उसले यो कुरा बलरामलाई भनिन् । उसको बानी नै थिएन । ऊ राम्रा कुरा सबैलाई भन्थी, नराम्रा आफैँसँग राख्थी । मरेर मेहनत गर्थी । गाउँलेहरु छक्क पर्थे उसको साहस र श्रम देखेर । बलराम कोरिया गएदेखी घरका सबैले काम गर्न छोडेकाथिए । उसका दुईभाई मध्ये कान्छो भाई स्कुलमा पढथ्यो तर माईलो पढाई छोडेर बसेकोथियो । ऊ खली गाउँ चाहारेर, जाँड खएर, दाईले पठाएको पैसाको तुजुक देखाएर समय बिताउँथ्यो ।

बाउ र आमालाई पनि कोरियाको कमाई लागेकोथियो । घर मुन्तिरको बारी बाँझो पल्टीएको थियो । बेसीमा बलरामले जोडेको पानी लाग्ने खेत अर्कैलाई अधियाँ दिईएकोथियो । कति उब्ज्यो कति भागमा पर्यो, उनिहरु खोजीनिती गर्दैनथे । एउटै कुराको ख्याल राख्थे अब उनिहरु- बलेले कति कमायो र कति पठायो । तर यो पटक कोरिया गएपछी बलेले खासै पैसा पठाएन । सोच्यो ‘चार पाँच बर्षको कमाई सुको ख़र्च नगरेर घरमा दिएकोछु । यत्रा बर्षको कमाईले घर खेत जोडीदिएकोछु । अहिले सम्म पठाएको पैसा मध्ये केहि बचत पनि गर्नुभाहोला बा आमाले, अब मैले स्बास्नी छोरा छोरी पाल्न पर्यो । उनरुको लागी जोरजाम गर्नपरो ।’ यो बलेको नितान्त आफ्नो सोचथियो यसमा गीताको केहि लिनुदिनु थिएन । तर घरकालाई लाग्यो- यसैको कामहो । यसैले सिखाई पढाईगरि । नत्र पहिले त्यत्रो पैसा पठाउने बलेले अहिले किन पठाउँथेन ?

गीता भने बाँझो बारीमा पसिना खन्याएर अदुवा, खोर्सानी, घिरौंला फर्सी फलाउनमै दंग थिई । उसलाई मेहनत गर्न र बलेलाई मायागर्न बाहेक अरुकेहि आउँथेन । उसको लगन मेहनत र सिधा रसल स्वाभाव सँग सारा गाँउले प्रभावित थिए । गीता खुशी हुन्थी यसरी ४ पैसा बचाएर लोग्नेको काँधमा काँधमा मिलाउन सकेकोमा तर बलेको घरकाहरु बलेले कमाएको पैसा बाहेक अरु केहि देख्दैनथे ।

बिस्तारै बिस्तारै बलेको माहिलो भाई घुमाई फिराई गीतालाई बलेको अरु केटी सँगको सम्बन्धको बारेमा सुनाउन थाल्यो । कोरियामै पनि केटीहरु लिएर हिन्ने गरेको कुरा उसले कैयौं पटक गीताको कानमा पार्यो । सासुपनि बले धेरै समय गीता सँग नटीक्ने कुरा सुनाउन थालीन । सुनेर गीताको मन दुख्थ्यो । फोनमा कुरा हुँदा झगड़ा गर्ने मन बनाउँथी तर फोनमा बलेको हुरुक्कै पार्ने स्वर सुनेर सबै बिर्सन्थी । उसको मनले भन्थ्यो- ‘बले त्यस्तो भए किन कोरिया नजान अड्डी कस्थ्यो ? मैले पठाको भएर पो गयो ।’ उसको मनले उसको लोग्ने त्यस्तो नभएको गवाही दिन्थ्यो अनि ऊ अरुको भन्दा धेरै आफ्नो मनको सुन्थी । सासु ससुराले जतिसुकै नराम्रो गरुन, देवर हरुले जति सुकै अपमान गरुन् उसले बलेलाई कहिल्यै केही सुनाईन । उसको मनले भन्थ्यो ‘ घर छोडेर परदेशमा ज्यान खपाईरहेको लोग्नेछोरालाई यस्ता गुहे कुराको पिरलो थपिदिनहुन्न ।’

नौ महिना बित्नलागेपछी गीता पनि आत्तीन थाली ।

माहिलो देवरले हातै हाल्नथालेदेखि डराउन थालेकीथिई ऊ । तर बलेलाई केही भन्ने हिम्मत जुटाउन सकेकी थिईन ।

त्यो दिन बनमा घाँसपात गर्दा उसको देवर जाँडले मातेर साथमा अरु दुई साथी लिएर आईपुग्यो । एक्लो दुक्लो भएकोभए गीताले कुटेर लघार्थी तर तिनजना सँग उस्को केहिलागेन । साथीहरुले उसको हात खुट्टा समाए, मुख थुने । देवरले मनमर्ज़ी उसलाई भोग्यो र कसैसँग केहि भने अर्को पटक तिनैजनाले पालैपालो भोग्ने धम्की दिएर हिड्यो ।

गीता घन्टौ रोई । आफुलाई धिक्कारी । बलेको नासो, आफ्नो ज्यान जोगाउन नसकेकोमा आफुलाई अपराधी मानी तर अपहत्ते गरेर मर्न सकिन । ‘के गर्ला बलेले मैं नभएछी?’ यहि सोचेर उस्ले मन बुझाई । आँशु पुछी र रित्तो हात घर फर्की ।

एकहप्ता उसले बलेको परिवार र बलेलाई भनौकी नभनौ भन्ने दोधारमा बिताई । घटना उसको चेतनामा सेलाउँदै गएपछी ऊ कसैलाई नभन्ने निर्णयमा पुगी । हल्ला खल्ला भए, कुरो घरबाहिर गए बलेकै बदनामी हुन्थ्यो । कसरी सहन्थ्यो बलेले आफ्नो भाईको त्यो कारतुत ? सोझी साझी गीताले यसपटक पनि मनकैसुनि ।
त्यसपछी ऊ भने सामान्य हुनसकिन । झोक्राई रहन्थी । सोचिरहन्थी । बलेसँग पनि खुलेर कुरा गर्दैनथी । बले सोधी सोधी हैरान भैसकेको थियो, के भयो भनेर तर गीता रुन बाहेक अरु केही गर्न सक्थिन ।

२ महिना यसैगरी बितेपछी बलेले नेपाल फर्कने निर्णय सुनायो । यसपटक गीताले पनि उसलाई रोक्ने कोशिश गरिन । बलेले कम्पनीमा छुट्टी मिलाउने, नमिले कामैछोडेर आउने कुरा सुनाएको दिन ऊ बेसरी रोई । लामो सपना देख्ननहुने रैछ । बैमानी आँशु सँग बगेर जान पनि गारो । आँखामा अडिनपनि गारो ।

तेश्रो महिना लाग्ने बित्तीक्कै उसको वाक्क र ब्याक्कले सासु सतर्क भईन । सासुले केरकारगर्न थालेपछी बल्ल सोझी साझी गीता लाई चेत आयो । सँधै वर र पर सरि रहने महिनावरी यसपटक परसर्नुको करण उसको मगजमा घुस्ता सम्म धेरै अबेर भैसकेकोथियो । उसले सासुलाई सबै बेलिबिस्तार लगाई तर सासुले उल्टै ‘आर्काको पाप मेरो छोरोको टाउकोमा किन थोपर्छेस ए लबस्तरी’ भनेर उसलाई मर्लान्त भकुरीन । माहिलो देवरले सासुलाई सघायो । कान्छो देवरले नछेकेकोभए दुईजना मिलेर ज्यानै लिन्थे सायद गीताको ।

सासुले पहिले बलेलेलाई खवर सुनाईन त्यसपछी आमा छोरा मिलेर गीतालाई घोक्राउँदै मुन्ट्याउँदै डाडा कटाएर आए । कान्छो देवरले उनिहरुलाई रोक्न सकेन । त्यसपछी कुरालाई अर्कै रुप दिएर उनिहरुले सारा संसारलाई सुनाए । सुनेर सारा गाउँलेले जिब्रो टोके । बाबैनी, गीता जस्तिले त यस्तो कुकर्म गरी भने अरुका के कुरा ?

गीताले बलेलाई फोन गरी तर उसले गीताको ‘हलो’ सुन्नभन्दा पहिल्यै मुखमा आएको, मनमा लागेको यतिका कुरा सुनायो, यति मुखछाडेर गालीगर्यो, त्यसको तुलनामा गीतालाई उसको परिवारको पिटाई र बेईजति कम लाग्यो । गीताले उत्ति खेरै बलेले दिएको त्यो मोबाईल जस्लाई ऊ बलेलाई जत्तिकै मायाँ गर्थी, त्यहिँबाट तल खोंचमा यसरि मिल्काईदिई मानौ बलेलाई मिल्काईदिई । अनि चोटले थिलथिलो भएको सरिर कसैगरी घिसारेर माईत पुगी ।

उसकी आमाले उसलाई समेटेर छातिमा टाँसीन । उसको हालत देखेर बाउको पनि चित्त काटीयो । छोरीको चोट देखेर उसले छोरीले दिएको चोट बिर्षीयो । गीता लोग्नेको घरबाट निकालिई र माईतीमा भित्रीई ।

बिस्तारै बिस्तारै उसले सबै कुरा बाउ आमालाई सुनाई । दानबहादुर बलेको परिवारको उछित्तो काट्न जान तम्स्यो तर गीताले उसलाई संझाई बुझाई गरेर रोकी । गर्भ फाल्न तम्तयार गीतालाई उसका बाउ आमाले रोके ।
“किन ? जन्मा यसलाई ! मों पाल्छ । त्यो काँठाको जातलाई मों मेरो घरको हली बनाउँछा ।” दानबहादुर गर्जीयो । आमाले पनि गर्भ फालेर पाप नबोक्न भनिन् ।

चार बर्ष बित्यो ।

गीताले फर्केर हेरिन । बाउको सिमीत जग्गामा खेतिगरी । सानो खित्री मित्री पसल खोली । आमा बाउको लागी छोरी होईन छोरा भएर खडाभई ।

दानबहादुर र उसकी स्वास्नीले गीताको फेरी बिहे गरीदिन आकाश पाताल जोडे तर उसले मानिन् । जबरजस्ति गरे घर छोडेर गैदिने घुर्की लगाई । हार खाएर उनिहरुले गीतासँग बिहेको कुरागर्न छोडे ।

बिस्तारै बिस्तारै उनिहरु नातीमैं रमाउँदैगए । गीताले घरमात्र होईन, खेत पाखो बारी, पसल, गाई भैंसी, बाख्रा पाठा सबै धानी । यसरी आफूलाई ब्यस्त राखेर बलरामको मुतको न्यानो जस्तो मायाँको याद सँग छुटकारा पाउँथि ऊ । उसले एकपटक गीताको कुरा मात्र सुनेको भए उसलाई त्यति दुख लाग्ने थिएन तर बैरीले त उसको अपराधै नसुनी सजायँ तोकेकोथियो । उसले लगाएको बातले भन्दा त्यहि कुराले गीतालाई बढि दुखाउँथ्यो । लगभग चार बर्षको मायाँ प्रेम लाई सत्रुले चार मिनेटमा गाली बनाई दिएकोथियो ।

गीताको त्यो मेहनतमा उसको पसिना भन्दा आँशु धेरै मिसिएको थियो । अरुको अघि हाँसी रहने गीता एक्लैमा यति रुन्थि जति दरौंदीमा पानी बग्थेन ।

उसको आँशु र पसिना ले भिजेको सबै कुरा यस्तरी मौलायो-घरले काँचुली फेर्यो । बाउ आमा मात्र होईन, गाउँ छिमेक दंग परे ।

बिस्तारै बिस्तारै मान्छेहरु लख कट्नथाले-गीता त्यस्ति होईन, पक्कै केही भबितव्य घटेको हुनुपर्छ नत्र यत्रा बर्षमा यस्तो अडीग भएर कसरी बस्न सक्थि ऊ ? फकाउने, पछिलाग्नेको लाईन तल बेसी सम्मै पुग्थ्यो तर गीताले कसैको मतलब राखिन । न कसैलाई उसले आफ्नो मन र जीवनमा चिहाउनदिई ।

गीताको छोरो देव बहादुर स्कुल जानेभयो । दानबहादुर नातीको मोहमा यस्तरी बाँधीएको थियो- नातीको स्कुल नसकिएसम्म स्कुल बाहिरै कुरेर बस्थ्यो । ऊ त अझ नातीलाई स्कुल पठाउनै चाहन्थेन तर गीताको अगाडि उसको केही जोर चल्थेन ।

उता बुक गरेको टिकट क्यन्सिल गरेर कोरियामै बसेको बलराम यस्तरी बिग्रीयो कि फेरी सभालिन सकेन । गीताले धोका दिएको गीत गाएर हिड्यो धेरै समय सम्म । यहाँ सम्मकी च्याउझैँ छ्यापछ्याप्ती उम्रेका अनलाईन रेडियो हरुमा पनि दुखेसो रुन पुग्यो ऊ । आमाले एकपटक एउटा समाचार के सुनाईन, उसले त्यसैलाई आधार मानेर गीताको चरित्रको, उसको मायाँ र बिश्वाशको उसको सिधा सोझोपनको यस्तरी धज्जी उडायो- सुन्ने जति सबैले गीतालाई सरापे । गीता सँग जोडेर स्वास्नीमान्छ्को जातलाई सरापे । बलराम साहनुभुती पाएर आफूलाई झनै दिन हिन बनाएर प्रस्तुत गर्न थाल्यो । गीताले आफूले कमाएको सारा पैसा लुटेर अर्कासँग भागी भन्नसम्म भ्यायो ।

केहि महिना यसरी नै चल्यो तर यतिले पनि उसको चित्त बुझेन । फेरी फेरी केटी लिएर हिन्न थाल्यो । जोरेको, कमाएको सारा पैसा ग़लत कुरामा खर्चगर्न थाल्यो । फेसबुकमा केटीहरुसँगको फोटो फेरी फेरी राख्यो । ऊ चाहन्थ्यो उसका ति सबै फोटोहरु गीताले देखेस । उसका सारा क्रियाकलाप गीताले थाहापाओस ।
यो क्रम तबसम्म चल्यो जब सम्म आफ्नै लापर्वाहिले ऊ एक्सीडेन्टमा परेन ।

एक डेढ़ महिना अस्पतालमा बिताएर निस्कदाँ उसको सरिरको कम्मर भन्दा तलको भाग नचल्ने भएकोथियो । एक्सीडेन्ट कम्पनीमै भएकोथियो त्यसैले अस्पतालको खर्च कम्पनीले बेहोर्यो । कम्पनी राम्रै थियो त्यसैले उसकै गल्ति हुँदाहुँदै पनि आँशु पुछाई स्वरुप केहि रकम दिएर, टिकट काटेर कम्पनिले बलरामलाई घर सम्म पुग्ने ब्यवस्ता मिलाईदियो ।

यत्रा समय घरमा पैसा नपठाएको भएर उसको परिवार ऊ सँग खुशी थिएन । घरको अवस्था लगभग बलेले घर छोड्दाको जस्तै भएकोथियो । बलेले कमाएर जोडेको खेतको माँझबाट मोटर बाटो गाउँ सम्म पुग्थ्यो त्यसैले जग्गाको भाउ आक्कासिएको थियो । त्यहि जग्गा टुक्राई टुक्राई बेचेर परिवार चलिरहेथ्यो । माहिलो भाई पोहरसाल मात्रै बाउआमा सँग झगड़ा गरेर खेत बेचेर आएको पैसा बोकेर सहर गएकोथ्यो मोटरसाईकल
किन्न, घर पुग्नै पाएन । बाटैमा नयाँ बाईकको यस्तो एक्सीडेन्ट भयो- बलेको बाउ र भाईले बाईक र माहिलोको टुक्रा टुक्रा बटुलेर घर पुर्याएर क्रिया कर्म गरेँ । अहिले कान्छो भाई जता पाएपनि बिदेशीन तयार भएर बसेको थियो ।

आमा बाउ बलेलाई देखेर खासै खुशी भएनन् । पैसा त पठाएन/ल्याएन त्यसमाथि आजीवन अपाहिज स्याहार्न पर्ने बाध्यता । बलेलाई पहिलो धक्का उनिहरुको चिसो स्वागत देखेर लाग्यो ।

कान्छो भाई घरमा पैसाको लागी माहाभारत मच्याई रहन्थ्यो । अब बेच्न बाँकी खासै जग्गा थिएन । हल्लीएर खाने बानीपरेका हरुलाई मेहनतगर्ने सोचेरै पसिना छुट्थ्यो ।

छ महिना बित्दा नबित्दै बलेको बिच्चल्ली भयो । उसले पछी मद्दत गर्लाकी भन्ने सोचेर आफूसँग भएको पैसा भाईलाई दुबई पठाउनमा लगायो । बदलामा परिवार सँग रुष्ट कान्छोले हिड्ने बेलामा बलेलाई उसको परिवारले गीतासँग गरेको अत्याचारको बेलिबिस्तार लगायो र अब फर्केर त्यो घरमा नआउने निर्णय सुनायो । बले मानौ आकाश बाट भैंमा बजारीयो ।

एकबर्ष बित्यो ।
बलराम सिकीस्तै भयो । गुहु र मुतमा गाडिएर नर्क भोगीरहेको उसप्रती खासै कसैले साहनुभुती राख्थेनन् । सबै एकस्वरले भन्थे- सोझी सीधी मगरनीको आँशु लाग्यो । ठिक्क पर्यो ।

त्यो बिहान बोक्ने मान्छे साथै लिएर गीता टुप्लुक्क बलेको आँगनमा उक्ली । धपक्क बलेकी गीतालाई देखेर हाड़ र छाला बाँकी भएको बले निलो भयो । उसलाई देखेरै मात्र बलेलाई लाग्यो गीताले उसलाई चौबाटोमा नांगोझार बनाएर उभ्याईदिई । बलेले कहिल्यै सोचेकोथिएन कुनैदिन गीता यसरी गर्दन उचालेर उसको सामु उभिन आउनेछ । ऊ डाँको छोडेर रोयो ।

“म पातकी माफीको लायक छैन गीता । मलाई माफ नगर । मेरो मुखमा थुकेर फर्की ।”

“बात लाउने लोग्ने कुंजो नभएकोभए त्यसैगर्थे तर क्यारुम ? तिम्लाई थुकेर छिट्टा मैंमा पर्छ ।” गीताले बिस्तारै भनि ।

बले झन भक्कानियो ।

“यिनरुले जे भने भने,मैले त झन कतै ठाम राखिन । त्यसैले यस्तोभाछु । तेरो पाप लाग्यो मलाई । आएर मुख देखाईस, यो नै ठुलो भो । जा, अब मलाई कुहिएर मर्नदे ।” बलेले आफैँलाई थप्पड़ लगाउँदै भन्यो ।

” तिमीभा’भए त्यसैगर्नेथ्यौ तर म क्यारुम ? आईमाई परेँ, तिम्रो जस्तो मुटु काँ’ट ल्याम ? तिम्लाई लिन आ’छु । आर्का कुरा सुनेर बात ला’र छोडेकी आईमाई सँग बस्न तिम्रो मर्दान्गी होच्चीन्न भने हिँड म सँग ।” गीताले बिस्तारै भनि ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *