वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस विषयमा चिन्ता पटक्कै थिएन किनभने ऊ जस्ता विद्यार्थी अनगिन्ती थिए । एक प्रकारको मानिसकताले आफू जस्ता साथीहरू धेरै भएको स्थान वा अवस्थालाई स्वर्ग समान ठानिदिन्छ किनभने यसको निम्ति समूहद्वारा स्वीकृति पाउनुनै सही परिचयको चिन्ह बन्न गएको हुन्छ । शायद जीवनमा सफलता प्राप्त गर्ने विद्यार्थीहरू पनि तिनै हुन् जो ढोका बन्द गरेर कितावको कीरो बन्नु भन्दा ढोका खुला राखेर यस दुनियाँको प्रभावलाई जाडोको घामलाई जस्तै स्वागत गर्न रुचाउँछन् ।

परीक्षाहरूमा धेरै राम्रो नम्बर नल्याए पनि वामदेव पास भने भइनै रहेको थियो । परीक्षाको अवधिमा ऊ अलिअलि दायाँवायाँ आँखा घुमाउँथ्यो, कानेखुसी गर्थ्यो, लुकेर चिट हेर्थ्यो र आवश्यक परे दुइतीन पटक ट्वाइलेट पनि जान्थ्यो । कुनै गार्डले समात्न खोज्यो भने धम्क्याइ पनि हाल्दथ्यो “सर, बाहिर निस्किए पछि राम्रो हुने छैन नि !” यसरी उसले आफूलाई विश्वको कुनै पनि जङ्गली राजधानीमा बाँच्न सक्षम तुल्याएको थियो जव कि उसका कैयन सिधा र मिहनेतिला साथीहरू आज आएर आ-आफ्ना पेशामा गुम्सिएर छट्पटाइरहेका छन् किनभने उनीहरूले कहिल्यै पनि यो कुरा बुझेनन् कि यस इन्द्रियगोचर विश्वको रस धूर्तले जति अरुले चुस्न सक्दैनन् ।

भाग्यले पनि उसको जस्तो सदा तयार मनस्थितिलाई साथ दिइनै रहेको हुन्छ । छयालिस सालको आन्दोलनमा उसको गोलीगाँठोमा प्रहरीको गोली लागेको कुरा सबैलाई थाहा थियो । तर त्यहाँनिरको छालामा खत त के खतको छायासम्म पनि नभएको कुरा कसैले पनि उसको पाइन्टको मोहोता उचालेर नहेरे पनि विश्वास गर्ने थिएनन् । उसले त्यस बेलाको आन्दोलनमा गरेको सहायताको कदर स्वरूप उसलाई सत्चालिस सालमा तीन महिने तालिम लिन भनेर विश्वविद्यालयलाई आएको छात्रवृत्तिमा पठाइयो र ऊ विदेशबाट सो तालिम लिएर फर्कनासाथ अस्थायी नियुक्तिमा यौटा क्याम्पसमा जागिरे गराइयो । उसलाई पहिलो दिन कक्षामा लगेर परिचय गराउँदै विभागीय प्रमुखले भनेथे, “उहाँ असाध्यै ब्रिलियन्ट हुनुहुन्छ । भर्खरै विदेशबाट तालिम लिएर फर्किनु भएको छ । यस क्याम्पसमा उहाँ जस्तो शिक्षक पाउनु हामी सवैको निम्ति गौरवको कुरा छ । तपाईंहरू उहाँको क्लासमा हल्ला नगरी राम्ररी ध्यान दिएर पढ्नुहोस् । तपाईँहरूलाई उहाँले धेरै कुरा सिकाउन सक्नु हुन्छ ।” प्रथम प्रभावको आधारमा संपूर्ण व्यक्तित्व जाँच्ने साधारण मानवीय प्रवृत्तिलाई वामदेवको पेशागत सफलताको निम्ति प्रयोगमा ल्याउँदै विभागीय प्रमुखले भनेका कुरा सीधासाधा विद्यार्थीको लागि त्यसबेला ब्रम्हवाक्य बन्न गयो । त्यसैले पनि उसका अशुद्ध उच्चारण, टेढामेढा वाक्य संरचना, अस्पष्ट धारणा, गलत शब्दप्रयोग, जस्ता अनेकौं गल्तीहरूले उठाएको बाक्लो कुइरो उनीहरूको लागि अपारदर्शी बौद्धिकता जस्तो लाग्थ्यो जसलाई फारेर झुल्किएका केही किरणहरू पाउँदा उनीहरू आफ्नो थाप्लोमा सरस्वतीको बाहुस्पर्शको अनुभव गरिरहेका हुन्थे । र वामदेव पनि उनीहरूलाई बराबर “म अमेरीकामा छँदा …”को मन्त्रले विदेशको मोहनी जाल फैलाउँदै आफू पढाउन पूर्ण तयारी नभएको कमजोरी लुकाउँथ्यो । अथवा केटाहरूलाई तिनै पुराना गफहरू सुनाएर हलल्ल हसाउँथ्यो जुन गफ प्रत्येक नौलो समूहमा ताजानै रहिरहन्थ्यो । त्यसैले पनि दुइ अढाई वर्षपछि उसलाई स्थायी उप-प्राध्यापक बनाइयो ।

विस्तार वामदेव कक्षामा भन्दा पार्टी धन्दामा बढी व्यस्त हुन थाल्यो । आज फलानो नेताको घरमा, भोलि आर्को नेताको भोजमा । यसले गर्दा विद्यार्थीहरूले विस्तारै उठाउँदै आएका आवाज क्याम्पस प्रमुखकहाँसम्म पुग्दा उहाँ तिनीहरूलाई सम्झाउनुहुन्थ्यो, “ए, म भन्दिन्छु । ल ! आर्को पटकदेखि उहाँ नबिर्राईकन समयमै कक्षामा आउनुहुने छ ।” क्याम्पस प्रमुखले नसम्झाएको पनि त होइन, “वामदेव सर, विद्यार्थीहरू सार्‍है कराउन थाले । कोर्स त राम्ररी सकिदिनु पर्‍यो ।” मृदुभाषी वामदेव क्याम्पस प्रमुखलाई यति विनम्रताका साथ आश्वासन दिन्थ्यो कि सुन्ने कसैलाई पनि विनम्रता र सत्य पर्यायवाची लाग्न जान्थ्यो । तर विद्यार्थीको निम्ति भने त्यो आर्को पटक आउनु अगाडि नै शैक्षिक सत्र समाप्त भइसक्थ्यो । परीक्षा आउँथ्यो । पास हुने पास हुन्थे, फेल हुने फेल हुन्थे । आर्को विद्यार्थी समूह आउँथ्यो । अरु विरोध हुन्थे । तर वामदेवको आदतमा केही परिवर्तन आएन । ऊ अझ परिपक्व र आफ्नो आदतमा अडिग हुँदै गयो । ऊ आफूले जागिरमा बिताएका वर्षका आधारमा अझ विद्वान र बुज्रुक कहलिन पनि थाल्यो । अझ क्यामरामेन र समाचारदाताहरूले त राजनैतिक घटना र कार्यक्रमहरूमा ऊ जस्तै बुद्धिजीवीहरूको समूहलाई फोकस गरेर जनतालाई प्रभाव पार्ने ठूलो अवसर समेत पाए । उसको अनुहार टिभि र पत्रपत्रिकामा बराबर देखिन थाल्यो । देखिरहेको अनुहार र सुनिरहेको कुरामा विश्वास लाग्नु यति स्वाभाविक हो कि साधारणतया कोही पनि त्यसको वास्तविक यथार्थ कोट्याउने काममा आफ्नो बुद्धि खेर हाल्न चाहदैन ।

जिन्दगीमा सफलता राम्ररी पढेर मात्र पाइन्छ भन्नेहरूको विरुद्ध वामदेवको जीवनी यसरी आफैं लेखिइरहेको थियो । ऊ कुन पाँच तारे होटेलसँग अपरिचित थियो र ! कुन मन्त्रालय वा विभागमा नौलो थियो र ! सडकका प्रत्येक मोडहरूमा उसलाई अभिवादन गर्ने कोही न कोही भेट भइहाल्दथे । ऊ पनि मीठो अभ्यस्त मुस्कान सहित समय दिएर अभिवादन फर्काउँथ्यो । मानिसहरू दङ्ग पर्थे । वामदेवको मुस्कान उसका उपासकहरूका लागि सौजन्यताको चिन्ह थियो, उसका विरोधीहरूका लागि चाप्लुसीको प्रमाण थियो, र ऊ स्वयंको लागि सफलताको मार्ग थियो । ऊ मुस्काउन छाडेको खण्डमा दुनियाँले उसलाई चढेबढेको भनी फैसला गर्ने थिए नै । त्यसैले आजसम्म ऊ मुस्काउन छाडेको छैन ।

क्याम्पसमा पनि वामदेव प्रत्येक विद्यार्थी चुनावमा सहायता गर्न अगि सर्थ्यो । कार्यक्रमहरू ऊ नभई नचल्ने जस्तो भइसकेको थियो । विद्यार्थीहरूले पनि उसलाई कि आफ्नो कि विरोधी समूहको भनी चिनिसकेका थिए र उसको विरुद्ध कुरा गर्नेहरूलाई एक थरीले लोप्वा ख्वाउथे । कुनै विद्यार्थी समूहले आफूलाई कक्षामा पढाउने कुनै शिक्षकलाई आफू विरोधी ठान्दा विश्वविद्यालयका समुच्च पदाधिकारीहरूलाई कुनै चिन्ता थिएन किनभने उनीहरू पनि प्रज्ञाको पीछा गरेर हैन कि पार्टी पट्टीबन्द सोचहरूको दासत्व स्वीकारेर कसैको विरोध र कसैको समर्थन गर्दै त्यहाँसम्म पुगेका थिए । यस प्रकारको वातावरणले गर्दा इमान्दार, जेहेन्दार र प्रतिभाशाली सरस्वतीभक्तहरू कमिजपाइन्ट र नेपाली गोल्डस्टार लगाएर झोलाभरि किताव कापी भिरेर कक्षा नछुटाइकन र गुनासो नगरीकन विश्वविद्यालयको सेवा गर्दै हिंडेका थिए भने वामदेव प्रत्येक दिन सुट र टाई भिरेर भर्खरै सिङ्गापुर एअरलाइन्सको प्लेनबाट उत्रिएर विभागमा हाजिर बजाउन भ्याएको जस्तो देखिन्थ्यो । उसको भेषभूषाको समर्थनमा अचेल त उसको अंग्रेजी झन्झन् फर्फाएर आउन थालेको थियो । जति सिनियर भयो उति अरुबाट गल्तीहरू देखाइने सम्भावना घट्दै गएकोले पनि होला, उसमा अंग्रेजी भाषाको दक्षता जति भए पनि त्यसको प्रयोगउपर आत्मविश्वास भने अझ उत्पातै बढी मात्रामा पलाएर आएको थियो ।

एक दिनको कुरा हो, ऊ देदीप्यमान देखिन्थ्यो । आफूलाई वरपर घेरेर उभिएको भीडलाई चारैतिर संचारित मुस्कानसहितको गर्वीलो विनम्रताको प्रदर्शन गर्दै थियो । त्यस भीडमा राजनैतिक कर्मीहरू, क्याम्पस प्रमुख, कर्मचारी हाकीमहरू, विभागीय प्रमुखहरू र विद्यार्थी नेताहरू समेत हात जोड्दै र मिलाउँदै लटरम्म फुलेको गुराँसको वरपर उठेका पुड्का रुखहरूझैं झुलिरहेका थिए । ऊ आज यस क्याम्पसको साधारण (रिडर हैन ) असोशिएट प्रोफेसरबाट विश्वविद्यालयको प्रशासनिक त्रिमूर्ति मध्येको एक बन्न पुगेको तथ्य मोबाइलबाट भर्खरै ताजा खबर बनेर क्याम्पससम्म आइपुगेको थियो । ऊ क्याम्पस प्रमुखतिर हेर्दै भन्दै थियो, “आज हाजिर हुन उतै जानु पर्ला ।”

क्याम्पस प्रमुखले मुस्काउँदै जवाफ दिए, “भोलि गएर हाजिर गरे आजको लागि गयल गरिदेलान् नि !

यस पछि वामदेवको शैक्षिक उन्नयन भ्रमणबाट अझ तीव्र गतिमा हुन थाल्यो । उ पूर्व र पश्चिमका अनेकौं मुलुकहरू घुम्न थाल्यो । कुरा पनि बुझ्दै गयो । तर उ अझै प्राध्यापक बनिसकेको थिएन । यस विषयमा उसलाई भित्र नमीठो लाग्थ्यो, कतै लघुताभासको चिसो हिमनदी हृदयका कन्दरामा भुमरिएको अनुभव हुन्थ्यो । विद्यावारिधिको इच्छा उसमा यस कारणले थिएन कि त्यो उसको निम्ति प्रायः असम्भव भएको कुरा ऊ आफैंले स्वीकारिसकेको थियो । तर प्राध्यापक त पहुँच भएका जो पनि हुन सक्थे ।यस पालिको सेवा माग फारम उसले पनि भर्‍यो । आफ्नो विषयमा उसको यौटा पनि अनुसन्धानात्मक लेख थिएन । तर उसलाई राम्ररी थाहा थियो कि टुरिष्ट गाइड बुक लेखेको आधारमा वा ‘दि राइजिङ्ग नेपाल’मा छापिएका अंग्रेजी साहित्यसँग असम्बन्धित अशुद्ध लेखहरूका आधारमा समेत प्राध्यापक बन्नेहरूको संख्या कम थिएन । अहिले त कुन योग्यता भएकाका लागि, कतिवटा सिट, कहिले, कुन विदेशी विद्वानलाई अन्तर्वार्तामा विशेषज्ञको रूपमा निम्त्याएर कुन दिन र कति बजे भन्नेसम्म पनि आदि इत्यादि निर्णय पस्किने सवै डाडु-पन्यौ उसकै हातमा थियो । त्यसैले भारतको छिमेकी प्रान्तबाट आएका अंग्रेजी विशेषज्ञको भौतिक सुविधा उपर प्रगाढ चिन्ता गरी गाडीसहित आफ्नो सेक्रेटरीलाई विमानस्थलमा समयमै गएर कुर्न लगाएको थियो । राम्ररी बस्न लायकको स्वीमिङ्ग पुल भएको होटलमा कोठाको बन्दवस्त भइसकेको थियो । भोलिको अन्तर्वार्ताको निम्ति उसको अरु कुनै तयारी थिएन । थियो त भरे बेलुकी र्‍याडिसनमा डिनर । यिनै विशेषज्ञको लागि भनेर । सेवा आयोगका र अन्य केही प्रमुखहरू सहित ।

सेवा आयोगका अध्यक्षसँग त हप्ता दिन अगाडिनै कुरा प्रष्टसँग मिलिसकेको थियो । यसपालिको केन्द्रीय विभागका अध्यक्ष अलि मूर्ख परेकाले पेश गरिएका अनुसन्धानात्मक लेखहरू जँचाउन उसलाई नबोलाउने कुरामा मत मिलिसकेको थियो । यो त १०० मा ३० नम्बरको कुरा पो थियो, ख्यालठट्टा हो र – आफूले भनेको नमान्ने परीक्षक पर्‍यो भने कुरा गड्बडाउने हुनाले कसलाई ती लेखहरू जाँच्न लगाउने भन्ने समेत निधो भइसकेको थियो । यी सव पूर्व तयारीकासाथ वामदेव र्‍याडिसनको चोकमा गाडीबाट साढे छ बजे ओर्लियो ।

यौटा शान्त कुनाको डिनर टेबुल वरपर भोलि मञ्चन हुने नाटकका पात्रहरू भेला भएका थिए । प्रा.डा. त्रिलोचन झाले उसको सुस्वास्थ्य र नेपालमा रहँदाको आनन्ददायी अनुभवको कामनासाथै उठेका रेड लेबलका चमकदार प्यालाहरूको प्रत्युत्तर दिंदै थपे, “तपाईंहरू सवैको सुस्वास्थ र वामदेवजीको भोलिको सफलताको लागि पनि ।” कसैले चुस्की लिए, कसैले घुट्की । प्रा.डा. त्रिलोचन झा आफ्नो ग्लास टेबुलमा राखेर चुरोट निकाल्न खल्तीतिर हात लम्काउदै थिए, तर वामदेवले पाचसय पचपन्नको बट्टा खोलेर आफ्ना देवतासरिका अतिथितर्फहात बढाउन भ्याइहाल्यो, त्यही मुस्कान सहित जसको आग्रह आतिथ्य सत्कारको अनुपम उदाहरणको रूपमा उठेर प्रा.डा. त्रिलोचन झालाई बाध्य तुल्यायो । झाले बट्टाबाट यौटा चुरोट ताने । अनि यसो निहुरिए वामदेवको हातको बलेको लाइटरतिर । धुवा मुश्लियो, उठ्यो, उड्यो, सल्बलायो, र अन्त्यमा कुनै विचित्रको उपयोगी आत्मीयताको आभासझैं उचाई लिदै बिलायो । त्यस प्रदूषित रिक्तताको मुनि अनेकौं अरु आत्मीय गफहरू धुवाझै फुले, फले र आफ्नै खोक्रोपनामा हराए । तर यो डिनर भने विभिन्न परिकारले खँदिलोनै थियो । थपिदै गएका पेगहरूले रसिलो थियो । चम्चा र काटाले प्लेटमा बजाएको धूनसग लय मिलाएका खुल्ला खित्काका परिवेशमा पोषिलो थियो । हसिलो थियो ।

रसको धर्म रसै हो भनेझैं दुइ तीन पेग पश्चात् फुरेका स्वीकारोक्तिका सिलसिलामा कुरा चल्यो, “डा. झा, भोलि मलाई धेरै अप्ठ्यारा प्रश्न नसोध्नुहोस् नि !”

“पीर नलिनुस् ।” प्रा.डा. त्रिलोचन झाले वामदेवलाई आश्वासन दिनु भयो । “नेपाल र भारतमा रोमान्टिक कविहरू लोकप्रिय छदैछन् । रोमान्टिक कविहरूमा तपाईंलाई सबै भन्दा बढी मन पर्ने कवि को हो ?”कति सजिलो प्रश्न थियो ! वामदेवले तुरुन्तै जवाफ दिए, “वर्डस वर्थ !”

तपाईंले ‘द लिरिकल ब्यालेडस्’ पढ्नु भएकै होला ।”

कहिले काही“ मानिसलाई सत्य बोल्न सार्‍है गार्‍हो पर्छ । सोझो जवाफ नदिएर वामदेवले सोध्यो, “वर्डस वर्थ !” कलरिजले लेखेको हैन ?”

“त्यसको भूमिकामा कविको व्यक्तित्व बारे के बताएको छ ?”

“कविता हृदयको स्वतस्फूर्त आवेग हो भनेको छ ।”

यो त कविताको परिभाषा पो थियो !

“हो, ठीक भन्नु भयो । कविता एकान्तमा पुनः स्मरण गरिएका तीव्र भावनाहरूको स्वस्फूर्त उद्वेलन हो ।” प्रा.डा. त्रिलोचन झाले परिभाषा पूरा पारिदिनु भयो र सोध्नु भयो, “तपाईंलाई “वर्डस वर्थ !” जस्ता रोमान्टिक कविहरूले प्रयोग गरेको विम्ब र टि.यस. इलियट जस्ता इमेजिष्टहरूले प्रयोग गरेका विम्बहरूमा केही फरक लाग्दछ ?”

वामदेवले आफ्ना भाषणहरूमा ‘द वेष्ट ल्याण्ड’बाट केही पंक्तिहरू झिकेर प्रयोग पनि नगरेको होइन । तर यस विदेशी विद्वानको सूक्ष्म प्रश्नको जवाफ दिन उसले आफूलाई असमर्थनै पायो । यस्ता कुरा त उसले कहिल्यै पनि सोचेको थिएन । कत्रा कत्रा राजनैतिक समस्याहरूको विश्लेषण गरेर हिंड्ने मानिसलाई यस्तो दुनियामा कसैलाइ मतलव नभएको प्रश्नसँग के सरोकार थियो र ? राजनेताको अघिल्तिर शिक्षक वा साहित्यकार को पो हो र ?

पेग र प्रश्नहरू थपिंदै गए । यस डाइनिङ्ग टेबुलमा यौटा यस्तो कक्षा संचालन भइरहेको थियो जहाँ गुरुचेला अहंभाव त्यागेर ज्ञानको आपसी बाँडचुँडमा लागेका थिए । गुरु पेगको र आतिथ्यको प्रभावमा हराएर आज र भोलिलाई अहिलेमा घोलिरहेका थिए । उनको मुखबाट प्रश्नपत्र आउट भइरहेको थियो । चेला भोलिको अन्तर्वार्ताको फाइनल रिहर्सलमा व्यस्त थियो । उसका अलिखित चिटहरू त्यही रिक्ततामा भरिंदै थिए जुन रिक्तता उसको र ऊ जस्ताका कारणले गर्दा विश्वविद्यालयको पहिचान भइसकेको थियो । वामदेवलाई झुम्म हुँदै आयो । गुरुलाई झुम्म हुँदै आयो । गुरुले के भनिरहेका छन् भन्ने कुरा वामदेवलाई बुझ्न झन्झन् कठिन हुँदै गयो । वामदेवको रसनामा उर्लिएको रसले सरस्वतीलाई बगाएर लग्यो । विद्या यसै त कठिन वस्तु, त्यसमा पनि यी विदेशी विद्वानको बक्बक् । वामदेवलाई गुरुसँग विदा भएको सम्म थाहा छ । उसलाई मोटरमा बस्दा सिट लचक्क अलि तलसम्म गएको अनुभवले आनन्द आयो । अनि, बाहिर सडकमा पुच्छरे ताराहरू कुदे जस्तो लाग्यो । यतिका धेरै पुच्छरे ताराहरू कता दौडिरहेका होलान् ? कताबाट आएका होलान् ? अन्तरिक्षयानमा यस्तै अनुभव हुँदो हो !

भोलिपल्ट वामदेवले आफ्नी श्रीमतीलाई भन्यो, “हिजो अलि धेरै परेछ । तर ठीक छ । त्यो झा पनि निकै पिउँदो रहेछ । तर त्यसले गर्दिन्छ । आज त मेरो पक्का छ नि, बुझिस् !”

आहा ! यो झुम्झुमाउँदो विश्व … र त्यसमा साथ दिने व्यक्तिहरू … अनि सफलता ! प्राध्यापक वामदेवहरूले अरु के खोज्ने ?

Padma Devkota
Address : Kabi Kunja, Maitidevi,ktm

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *