दृश्य एक
समय : मध्यान्ह
स्थान : पार्टी कार्यालय
पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य

नेपथ्यबाट
दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने खालको छ ।

चुनबाङ चर्चित बन्यो । यसले लिएका राजनीतिक र फौजी निर्णयहरू कार्यान्वयनसँगै १२ बुँदे समझदारीका साथ १० बर्से जनयुद्धको जगमा १९ दिनसम्म विश्वलाई नै तरङ्गित पार्नेगरी जनआन्दोलन भयो । किसान, दलित, महिला र जनजातिको अभूतपूर्व पहल र अगुवाईमा सहरिया मध्यमवर्गदेखि राष्ट्रिय पुँजीपतिसम्मका जनसमुदायले सडकमा अद्भूत शौर्य र प्रतिरोधी क्षमता प्रदर्शन गरे । जनताले राजतन्त्रप्रति अपार घृणा, आक्रोश र तिरस्कारलाई मात्र व्यक्त गरेनन्, अपितु न्यूनतम रूपमा नि:सर्त संविधानसभा र गणतन्त्रको नारा घन्काएर आफ्नो राजनीतिक चेतनाको उजागर गरे ।

अन्तत: राजतन्त्र गल्र्यामगुर्लुम ढल्यो । देश संविधानसभा र गणतन्त्रमा प्रवेश गर्‍यो । नयाँ पार्टीप्रति जनताको ठूलो हिस्सामा आकर्षण बढ्यो । ढाडमा टेकेर टाउकोमा हान्ने योजनाअनुसार जनसेनाले त्याग, शौर्य र बलिदानका कीर्तिमान कायम गरे । मूल नेतृत्व काठमाडौंमै गएर काठमाडौंलाई कब्जा गर्न काठमाडौं ओर्लियो । काठमाडौंमै पार्टीका कार्यालयहरू खुल्न थाले । खुला रूपमा राजनीतिक तथा साङ्गाठानिक कामहरू हुन थाले । नेताले ‘मुखमा संविधानसभा र दिमागमा विद्रोह’ भनिराखे । पार्टी विस्तारै खुला राजीतिक क्षेत्रमा अभ्यस्त हुँदै गयो ।

भित्तामा विश्वनेताका ठूल–ठूला तस्बिर राखिएका छन् । वरिपरि सोफा मिलाएर राखिएको छ । बीचमा ठूलो टेबल छ । कार्यालय आकर्षक छ । शर्माजी, करण र अन्य साथीहरू बसिरहेका छन् । केहीबेरपछि गोल्डस्टार जुत्ता लगाएका केही युवाहरू ‘लाल सलाम’ गर्दै प्रवेश गर्छन् ।

युवा १ – (केही दिंदै) कमरेड १५ रुपैयाँ फिर्ता आयो । ल लिनोस् ।
शर्माजी – (लिँदै) धन्यवाद कमरेड । कमरेडहरू खुला मोर्चामा आएपछि पार्टीमा केही गलत आचरण विकास भएका छन् । हामीले ती सबैको कडाइ गर्नुपर्दछ । नत्र पार्टी खत्तम हुन्छ ।
युवा १ – हुन्छ कमरेड । हामी पार्टीमा हुने सबै किसिमका गडबढीका विरुद्ध लड्न तयार छौँ ।
शर्माजी – (करणतिर हेर्दै) कमरेड फिप्टी पर्सेन्ट एउटा विशेष काम गर्न जानुभएको । यतिबेलासम्म आउनुभएन । फोन गर्नुस् त … ।
करण – हुन्छ कमरेड ।

करण फोन गर्न थाल्दछन् । पटक्कै फोन उठ्दैन । निकैबेरको कसरतपछि मात्र फोन उठ्छ ।

करण – हेलो, कहाँ कमरेड तपाईं ?
कमरेड फिप्टी पर्सेन्ट – हजुर कमरेड । म विशेष डिल गरिरहेको छु । काम सकिएपछि म आफैँ फोन गर्नेछु । मौका मिल्यो भने एकपटक पार्टी कार्यालयमा पनि पसूँला नि कमरेड ।
करण – अस्तिजस्तै आउँछु आउँछु भनेर नआउने त होइन नि !
कमरेड फिप्टी पर्सेन्ट – कहाँ त्यस्तो हुन्छ कमरेड । म आइहाल्छु नि ।
करण – फरक नपरोस् नि कमरेड । तपाईंलाई इन्चार्ज कमरेडले पर्खिरहनुभएको छ ।
कमरेड फिप्टी पर्सेन्ट – हुन्छ कमरेड हुन्छ ।
करण – (फोन राख्दै) आउने कुरा त छ तर उहाँबारे पार्टी गम्भीर हुनुपर्छ जस्तो लाग्छ मलाई । आजकल उहाँको ढाँटछल अलि बढ्ता नै हुन थालेको छ ।

शर्माजी गम्भीर हुन्छन् । केहीबेरपछि कमरेड फिप्टी पर्सेन्ट आइपुग्छ । उनको चालढाल रवाफिलो देखिन्छ । हात मिलाउँछन् । एकापट्टि ब्याग राख्छन् । थाकेको जस्तो गर्छन् । लामो सास फेर्छन् । हातमा रहेका आईफोन टेबुलमा राख्छन् ।

शर्माजी – (गम्भीर हुँदै) समय धेरै लाग्यो त कमरेड !
कमरेड फिप्टी पर्सेन्ट – (अलि ठूलो स्वरमा) कहाँ यस्तो कुरा छिटो हुन्छ र ? बैंकबाट आफ्नै खाताको पैसा झिक्न त कति समय लाग्छ, यो त अरूको पैसा आफ्ना हातमा ल्याउने कुरा पो हो त ? कति बेल्ना बेल्नुपर्छ, कमरेडलाई के थाहा ? काठमाडौं कस्तो छ ?
शर्माजी – त्यो त ठीक छ । काम भयो त ?
कमरेड फिप्टी पर्सेन्ट – भयो कमरेड भयो ।

कमरेड फिप्टी पर्सेन्ट गहकिलो ब्यागबाट पैसाको बिटा निकाल्न थाल्छन् । एक दुई तीन गन्दै २५ वटा लाख लाखका बिटा टेबुलमा राखिदिन्छन् ।

शर्माजी – यत्ति मात्र हो ?
कमरेड फिप्टी पर्सेन्ट – यत्ति मात्र हो कमरेड ।
शर्माजी – अरू पैसा खोइ त ? डिल त पूराका पूरा भाको भन्या हैन ।
कमरेड फिप्टी पर्सेन्ट – हो ।
शर्माजी – त्यसो भए खोइ त अरू ?
कमरेड फिप्टी पर्सेन्ट – अरू बाँकी त मेरो भाग भै गो नि !
शर्माजी – फिप्टी पर्सेन्ट पनि कहीँ भाग हुन्छ कमरेड । अलि अलि खर्चपर्चको कुरा पो हुन्छ त । यो त कहीँ पनि नभएको नियम भो त कमरेड ।
कमरेड फिप्टी पर्सेन्ट – नियम नभए अब बनाउनुपर्छ । नियम त बनाएर बन्ने कुरा हो नि । तपाईंलाई त थाहा नै छ, मेरो नामै फिप्टी पर्सेन्ट ।
शर्माजी – (अलि रिसाउँदै) यो कुरा ठीक भएन कमरेड । अस्ति मुखपत्रमा छापिएको विज्ञापनको पैसा पनि फिप्टी पर्सेन्ट दिनुभएन । हरेक कुरामा तपाईं फिप्टी पर्सेन्ट माग्नुहुन्छ । यो पार्टीको गौरव र गरिमाअनुसार भएन । यसले पार्टीलाई ध्वस्त पार्छ कमरेड । यो तरिका ठीक भएन ।
कमरेड फिप्टी पर्सेन्ट – (ठूलै स्वरमा) यो त मेरो कुरा भएन, तपाईंहरू र पार्टीको कुरा भयो । यति धेरै दुृ:ख गरेपछि मलाई पनि त अलि अलि हुनपुर्‍यो नि । सहरमा स्ट्यान्र्ड मेन्टेन गर्ने कुरा छ । सीएमको चालढाल हेर्नोस् त कस्तो भइसक्यो । तपाईंचाहिँ खाली ताई न तुईका कुरा । क्यार क्यार क्यार क्यार … ।
शर्माजी – हेडक्वार्टरको कुरा नगर्नोस् तपाईं, हामी पार्टी बिग्रन दिन्नौँ । म तपाईंको यसखालको गतिविधिको माथि रिपोर्ट गर्छु ।
कमरेड फिप्टी पर्सेन्ट – जहाँ पुर्‍याए पनि पुर्‍याउनुस् । त्यसले मलाई केही फरक पार्दैन । हेडक्वार्टरमा तपाईंको भन्दा मेरो रिलेसन राम्रो छ । हेडक्वार्टरमा अरू त के कुरा, सीएमले प्रयोग गर्ने तन्दा र सिरानीसमेत मैले नै व्यवस्थापन गरिदिएको हो । कुरा बुझ्नु भो कमरेड इन्चार्ज ।

केहीबेरको गलफत्तीपछि कमरेड फिप्टी पर्सेन्ट त्यहाँबाट बाहिरिन्छ । अरू कमरेडहरू मलीन अनुहार लगाउँछन् र केहीबेर एकआपसमा कुराकानी गर्छन् । इन्चार्ज कमरेड शर्माजीले कमरेड फिप्टी पर्सेन्टलाई पार्टीबाट निष्काशन गर्नाका लागि सिफारिस तयार पार्न लगाउँछन् । कार्यालय सचिवले रिपोर्ट तयार गरिदिन्छन् । रिपोर्ट खाममा राख्छन् । डायरीको बीचमा खामलाई राखेर ‘कमरेडहरू तपाईंहरू बस्दै गर्नुहोला, म अहिले अर्जेन्ट काम भएकोले बाहिरिएँ है’ भन्दै त्यहाँबाट बाहिरिन्छन् ।

पर्दा ।

———-***———-

दृश्य दुई
समय : साँझ
स्थान : सहरको एक महङ्गो रेस्टुरेन्ट
पात्र : कमरेड फिप्टी पर्सेन्ट, पार्टनर १, २ र रेस्टुरेन्टका स्टाफहरू

कमरेड फिप्टी पर्सेन्ट, उनका पार्टनरहरूले दिउँसै पिउन सुरु गरेका छन् । उनीहरूलाई रक्सी लागिसकेको छ । बोली पनि प्रस्ट हुन छोडिसकेको छ । आ–आफ्ना जिउ सम्हाल्न पनि उनीहरूलाई धौ धौ भएको छ ।

कमरेड फिप्टी पर्सेन्ट – (पार्टीबाट निष्काशन गरेको पत्र टेबुलमा बजार्दै) पार्टीमा मैले गरेको यत्तिका वर्षको योगदानको यो नतिजा ! अब यो पार्टी खत्तम भयो । मजस्तो कर्तव्यनिष्ठ र आदर्शवादी मान्छेलाई निष्काशन । हा हा हा । अब पार्टी गयो … गयो … ।
पार्टनर १ – हो त नि ! तपाईं जस्तो इमानदार मानिसलाई पार्टीबाट निष्काशन । यो त ठूलो अन्याय भयो । अब यो पार्टीले पनि गरी नखाने भो । पार्टीेले मान्छे चिन्न छाडेपछि यस्तै हो … ।
कमरेड फिप्टी पर्सेन्ट – मैले पार्टीलाई के गरिनँ । करोडौं बुझाएको छु । कैयौं गोप्य काम गरिदिएको छु । अधिकांश नेताको पारिवारिक व्यवस्थापन गरिदिएको छु । हैन, ती नेताले मेरो गुन बिर्से कि क्या हो ?
पार्टनर १ – हो त नि । तर मैले सुनेको, पार्टीका नेताहरूसित सहरका नयाँ–नयाँ व्यापारीहरूले सम्बन्ध बनाएका छन् रे ! फ्रेस पाएपछि पुरानो के काम भएको पो हो कि … ।
कमरेड फिप्टी पर्सेन्ट – नो नो । झन् वल्ड इज गोल्ड हुनुपर्ने होइन र ? वल्ड इज वल्ड हैन र !
पार्टनर २ – पहिला पहिला पो वल्ड इज गोल्ड, अहिले त न्यु इज गोल्ड । अन्डरस्टाड … ।
कमरेड फिप्टी पर्सेन्ट – आई सी । यहाँ अरूले पनि घर बनाएका छन्, मैले मात्र बनाएको हो र ! जाबो १० वटा डोजर । जाबो ५ वटा कलेजमा मात्र लगानी गरेकोमा यत्रो डाहा ! अब यो पार्टी सिद्धियो सिद्धियो सिद्धियो ।
पार्टनर २ – पार्टी सिद्धिए के फरक पर्‍यो र, हाम्रो बिजिनेस नसिद्धिए भैहाल्यो नि !
कमरेड फिप्टी पर्सेन्ट – हुन त त्यो कुरा पनि ठीकै हो तर पार्टीको असाध्यै माया लाग्छ क्या … ।
पार्टनर २ – (केही सम्झिए जस्तो गरेर) साँच्ची कामको कुरा गराँै न । रात छिप्पिँदैछ । प्रहरीहरू आउन सक्छन् । जमाना ठीक छैन भन्छन् … ।
कमरेड फिप्टी पर्सेन्ट – ए हो त नि ! यो पार्टी सार्टीको कुराले हो नि यो सबै गञ्जागोल बनाएको । दिमागै खराब गर्‍यो भन्या ।
पार्टनर १ – (कमरेड फिप्टी पर्सेन्टतिर देखाउँदै) माल आयो हैन ?
कमरेड फिप्टी पर्सेन्ट – एस सर तर पहिला पेमेन्ट हुनुपर्छ ।
पार्टनर २ – त्यो त भइहाल्छ नि ।
कमरेड फिप्टी पर्सेन्ट – त्यो पनि फिप्टी पर्सेन्ट कमिसनसहित ओके ।
पार्टनर १ – यो किनेबेच हो । मालअनुसारको मोल । यसमा कमिसन हुँदैन ।
कमरेड फिप्टी पर्सेन्ट – किन हुँदैन ?
पार्टनर १ – हुँदैन भनेपछि हुँदैन ।
कमरेड फिप्टी पर्सेन्ट – नो कमिसन नो माल ।
पार्टनर २ – नो कमिसन नो कमिसन …
कमरेड फिप्टी पर्सेन्ट – फिप्टी पर्सेन्ट कमिसन … बिकज आई एम कमरेड फिप्टी पर्सेन्ट … ।

कमरेड फिप्टी पर्सेन्टको पार्टनरहरूसित झगडा बढ्दै जान्छ । हल्ला पनि बढ्दै जान्छ । रेस्टुरेन्टमा ग्राहकहरू प्नि बढ्दै जान्छन् । त्यहीबीचमा प्रहरी आइपुग्छ । कमरेड फिप्टी पर्सेन्टसहित उनका पार्टनरहरू पक्राउ पर्छन् । प्रहरीले उनीहरूलाई हिरासतमा लिन्छन् ।

पर्दा ।

———-***———-

दृश्य तीन
स्थान : प्रहरी हिरासत
समय : बिहानीपख
पात्रहरू : कमरेड फिप्टी पर्सेन्ट, ड्युटी अफिसर, डिलर, केही प्रहरी गार्ड र अन्य थुनुवा

प्रहरी हिरासत । ढोकामा २ जना गार्ड पहरा दिइरहेका छन् । हिरासतको नाइके बाहिर भेट्न आउने मानिसको नाम ठूलो ठूलो स्वरमा चिच्याइरहेको छ । हिरासतको छेउमा थुनुवा र भेट्न आउने मानिसहरूका बीचमा नबुझिने स्वरमा कुराकानी पनि भइरहेका छन् । नाइके थुनुवाको भेट्ने समय सकिएको जनाउ दिइरहेको छ । ऊ ‘छिटो छिटो’ भनिरहेको छ । भित्र रहेका थुनुवाहरूको मिश्रित आवाज पनि कहिले ठुलो र कहिले सानो स्वरमा आइरहेकै छ । बेलामा–बेलामा नाइकेले ‘हल्ला बढी भो’ भनेर कराउँछ पनि । गार्डहरूमध्ये एकजनाले ‘आज भेट्ने समय सकियो, भोलि बिहान सात बजे आउने’ भन्दै कसै–कसैलाई फर्काउँदै पनि छ । हिरासत प्रशासनका प्रहरीले महङ्गा महङ्गा मोवाइल बोकेका छन् । उनीहरूको अधिकांश समय फेसबुक चलाउने हुन्छ । यो अवसर कहिलेकाहीँ नाइकेले पनि पाउँछ । एक प्रहरीले फेसबुकमा रहेको एउटा अश्लील तस्बिर अर्को प्रहरी साथीलाई देखाउँछ । जिब्रो काढ्दै अर्को प्रहरीले ‘नयाँ ड्युटी अफिसरले थाहा पायो भने सुम्ला उठाउँछ’ भन्दै सतर्क गराउँछ । सुर्ती र गुट्खाका त प्रहरीहरू पारखी नै छन् । कतिको त दाँत नै कालो भइसकेको छ । त्यसैबेला हिरासततर्फ आउँदै गरेको बुटको ‘गरप गरप’ को आवाज क्रमश: ठूलो हुँदै आउँछ । ड्युटीमा रहेका प्रहरीहरू सतर्क हुन्छन् । आ–आफ्ना मोवाइल गोजीमा हाल्छन् । कालो कालो वर्णको जुँगामुठे अधबैंसे ड्युटी अफिसरको प्रवेश हुन्छ । ड्युटीमा रहेका प्रहरीहरू सलाम ठोक्छन् ।

ड्युटी अफिसर – (सबैतिर हेर्दै) सब ठीक छ हैन त ?
गार्ड १ – (टाउको हल्लाउँदै) ठीक छ साप ।
ड्युटी अफिसर – (कुर्सीमा बस्दै) कोही नयाँ आको छ … ?
गार्ड १ – (तन्किदै) … छ साब ।
ड्युटी अफिसर – को ?
गार्ड १ – (डराउँदै) क क क के जाति पर्सेन्ट भन्ने … ।
ड्युटी अफिसर – हँ, के भनिस रे ?
गार्ड १ – खै के जाति भन्थ्यो ।
ड्युटी अफिसर – बोलेको पारा । नेपाल प्रहरीमा कस्ता कस्ता मानिस भर्ती भएका छन् हँ !
गार्ड १ – रेकर्डमा हेर्नुपर्छ साप ।
ड्युटी अफिसर – कस्तो छ ?
गार्ड १ – ठूलो टूलो टाउको अँ गोरुको टाउको जत्रै …
ड्युटी अफिसर – (हतारिँदै) अलि राम्रोसँग भन् ।
गार्ड १ – अलि डरलाग्दो मानिस छ साप ।
ड्युटी अफिसर – डन नै हो कि क्या हो … ।
गार्ड १ – डन त होइन, कसैको सनचाहिँ पक्कै हो साप ।
ड्युटी अफिसर – के भनिस् ?
गार्ड १ – केही हैन साप ।
ड्युटी अफिसर – ए … ।
गार्ड १ – फाइल ले ।

गार्ड फाइल लिन जान्छ र लिएर आएर ड्युटी अफिसरलाई दिन्छ ।

ड्युटी अफिसर – (हातमा फाइल लिएर निकैबेर घोरिन्छ) हँ हँ हँ … ।
गार्ड १ – (डराउँदै) के भयो साप ?
ड्युटी अफिसर – यो मानिस यहाँ कसरी आइपुग्यो ?
गार्ड १ – (डराउँदै) म … म … ।
ड्युटी अफिसर – तँ होइन, तेरो बाउलाई भनेको ।
गार्ड १ – (फिस्स हाँस्दै) खै फिप्टी पर्सेन्टको चक्कर हो भन्थेको सुन्थेँ … ।
ड्युटी अफिसर – सुन् । हिरासतमा आउने नयाँ मान्छेलाई कस्तो स्वागत गरिन्छ थाहा होला नि ?
गार्ड १ – थाहा छ साप ।
ड्युटी अफिसर – अनि तैँले यो नयाँ मान्छेलाई स्वागत गर्नमा अलिकति पनि कञ्जुस्याइँ गरिस् भने के हुन्छ थाहा छ ?
गार्ड १ – (समर्थनमा टाउको मात्र हल्लाउँछ) थाहा छ साप ।
ड्युटी अफिसर – ल म अहिले गएँ । एउटा विशेष सल्लाह गर्न एसएसपी सापसित भेट्नु छ ।

छुट्टै भवनमा कार्यालय भएका एसएसपीलाई ड्युटी अफिसर भेट्न जान्छ ।

गार्ड १ – (ड्युटी अफिसर गएपछि) … यो अलि कडा छ कि क्या हो ?
गार्ड २ – अलिक विस्तारै बोल् । हिजो मात्र आएको । यो सापले सयौं माओवादी मारेर आएको रे ! रोल्पामा त ठूलै नेताको पिस्तोल नै हातबाट खोसेको रे !
डिलर – (विस्तारै) यो मान्छे डरलाग्दो छ । हामी सँगै लडेको युनिफाइड कमान्डमा । यो मान्छे उहिल्यै माओवादीको आहारा भइसक्ने थियो, खै के भएर आजसम्म जीवित नै छ । अहिले त यस्तो छ ।
गार्ड १ – ए, हो र ।
डिलर – यसलाई त तीन–तीनपटक माओवादीले कब्जा नै गरेर राखेको थियो नि ! रेडक्रसको रोबरमा माओवादीले रिहा गरेर बाँचेको । नत्र उहिल्यै … ।
गार्ड २ – हो हो मैले पनि सुनेको । माओवादीलाई दमन गरेवापत प्रमोसन भएपछि यसले जनआन्दोलनमा पनि चरा मारेझैँ जनता मारेको रे ! यसको फोटो पत्रिकामा पनि छापिएको थियो रे ! यो मान्छे उठन्ती–पठन्तीमा पनि खप्पीस छ रे ! के गर्नू देशमा मुकुट नै रहेन । नत्र यो मान्छे कहाँ पुग्थ्यो पुग्थ्यो … ।
गार्ड १ – अब आ–आफ्ना काममा लागौँ है । ऊ आउने बेला भयो । फेरि के के खप्नुपर्ने हो !

गार्ड १ र २ ले निकै राउन्ड–अप गर्छन् । डिलर आफ्नो ठाउँमा गएर बस्छ । नेपथ्यबाट नाइकेले बन्दीहरूलाई काम अर्‍याउँदै गरेको आवाज सुनिन्छ ।

पर्दा ।

———-***———-

दृश्य चार
समय : रात
स्थान : हिरासत थुनुवा कोठा
पात्रहरू : ड्युटी अफिसर, कमरेड फिप्टी पर्सेन्ट, शर्माजी, गार्ड

हिरासतको मधुरो प्रकाश । गार्डहरू नियमित ड्युटीमा छन् । हिरासतसित जोडिएको अलिकति खाली ठाउँमा एउटा ठूलो कुर्सीमा ट्युटी अफिसर बसेका देखिन्छ । अगाडि सानो टुबुल राखिएको छ । थुनुवाहरूले खाना खाईवरी सफाइको काम पनि सकिसकेका छन् । कोही कुराकानीमा व्यस्त छन् भने कोही सुत्ने तरखरमा छन् । थुनुवालाई आज केही नयाँको अनुभूति भइरहेको छ । चकमन्न हुँदै गरेको सन्नाटालाई चिर्दै ठूलो आवाजमा ‘कमरेड फिप्टी पर्सेन्ट’ हाजिर हुन उर्दी जारी गरिन्छ । कमरेड फिप्टी पर्सेन्ट जुरुक्क उठ्छ, कपडा र कपाल मिलाएको जस्तो गर्छ । विस्तारै विस्तारै बोलाइएको स्थानतर्फ लाग्दछ । ड्युटी अफिसर हातमा लौरो लिएर होचो टेबलमा खुट्टा चढाएर हल्लाइरहेको हुन्छ ।

कमरेड फिप्टी पर्सेन्ट – (हात जोड्दै) सर मलाई बोलाउनुभएको ?
अफिसर – (खुट्टा तल राख्दै) हो ।
अफिसर – (थुनुवाहरूतिर हेर्दै ठूलो स्वरमा) ओइ यहाँ कोही छ यो मानिसलाई चिन्ने ?
शर्माजी – (ठूलो स्वरमा) म चिन्छु सर ।
अफिसर – यता आउनोस् ।
शर्माजी – (अफिसरको नजिक आएर) म चिन्छु सर उहाँलाई ।
कमरेड फिप्टी पर्सेन्ट – (शान्त मुद्रामा) विशेष केही थियो कि ?
अफिसर – लाल सलाम गर्न बोलाको … । अँ, नाम के हो ?
शर्माजी – (हतारिँदै) कमरेड फिप्टी पर्सेन्ट ।
अफिसर – (कमरेड फिप्टी पर्सेन्टतिर हेर्दै) सही नाम यही हो ?
कमरेड फिप्टी पर्सेन्ट – सबै त्यसै भन्छन् ।
अफिसर – तीन पुस्ते … ।
कमरेड फिप्टी पर्सेन्ट – अँ … अँ … ।
शर्माजी – (एकैसासमा) बाजे कमरेड जिरो पर्सेन्ट, बाउ कमरेड ट्वान्टी पर्सेन्ट र उहाँ कमरेड फिप्टी पर्सेन्ट सर ।
अफिसर – (फुर्तिसाथ) हाऊ फ्यानटास्टिक ?
कमरेड फिप्टी पर्सेन्ट – अरू केही छ सर ।
अफिसर – (हाँस्दै) जिरो पर्सेन्ट, ट्वान्टी पर्सेन्ट, फिप्टी पर्सेन्ट … । पर्सेन्ट पर्सेन्ट पर्सेन्ट …
कमरेड फिप्टी पर्सेन्ट – एस सर, पर्सेन्ट … ।
अफिसर – यो पर्सेन्टको मामिला के हो ?
शर्माजी – यो गौरवशाली पार्टीले दिएको नाम हो सर ।
अफिसर – तीनै पुस्ता पर्सेन्ट यो के हो ?
कमरेड फिप्टी पर्सेन्ट – अरू कुरा थाहा भएन ।
अफिसर – (केही सम्झिँदै र शर्माजीतिर हेर्दै) यो मानिसलाई कहाँ र कसरी चिन्नुभा’को ?
शर्माजी – पहिला हामी एउटै पार्टीमा थियौँ सर ।
अफिसर – अनि अहिले ?
शर्माजी – पार्टीमा विभाजन आएपछि हामी उत्तर–दक्षिण भयौँ सर ।
अफिसर – (अलि गहिरिएर हेर्दै र गम्भीर हुँदै) तपाईं चाहिँ यहाँ कसरी नि ?
कमरेड फिप्टी पर्सेन्ट – (उछिन्दै) चुनाव खारेज … ।
अफिसर – ओ, आई सी … ।
शर्माजी – एस सर ।
अफिसर – (अलि आत्तिँदै र हडबडाउँदै) हँ, तपाईंहरूले गर्न खोजेको के ? यहाँ चुनावै नहोला जस्तो भइसक्यो । बाहिर पूरा युद्धको माहोल छ । माथिबाट हामीलाई सुरक्षामा कडाइ गर्न दबाब आ’को आयै छ । अरू पनि छन् यहाँ खारेजवादीहरू ?
शर्माजी – छन् सर । आजभोलि त तपाईंहरूको काम नै हामीलाई यहाँ ल्याउने त भएको छ नि सर ।
अफिसर – तपाईंहरूको पनि छिट्टै सेवा हुन्छ तर अहिले हैन । यो हिरासत तपाईंको सेवाकेन्द्र हो । भैगो, अँ मैले के सोध्न खोजेको थिएँ … के … अँ (कमरेड फिप्टी पर्सेन्टलाई देखाउँदै) उहाँको पर्सेन्टको मामिला के हो ?
शर्माजी – (अलि सतर्क हुँदै र कमरेड फिप्टी पर्सेन्टलाई हेर्दै) उहाँहरूको पूरै परिवार नै नेपाली कम्युनिस्ट राजनीतिमा लागेको हो । उहाँको बाजे नेपालका ठूला आदर्शवान् कम्युनिस्ट नेता हुनुहुन्थ्यो ।
अफिसर – (झोक्किँदै) मैले नेता सेताको कुरा गरेको होइन, पर्सेन्टको पर्सेन्टको … ।
शर्माजी – (शान्त मुद्रामा) त्यही त भन्दैछु सर । उहाँको बाजे सिद्धान्तनिष्ठ र आदर्शवादी कम्युनिस्ट हुनुभएकोले उहाँ जिरो पर्सेन्ट हुनुभयो । उहाँले कहिल्यै भ्रष्टाचार गर्नुभएन, कमिसन खानुभएन ।
अफिसर – अँ, बाउ नि ।
शर्माजी – उहाँको बाउ पनि ठूला कम्युनिस्ट नेता । उहाँले चाहिँ अलि अलि भ्रष्टाचार गर्नुभएछ । अलि अलि मतलव ट्वान्टी पर्सेन्टको दरमा कमिसन पनि खाने गर्नुभएको रहेछ । त्यसैले उहाँको बाउको नाम कमरेड ट्वान्टी पर्सेन्ट भयो ।
अफिसर – हाऊ फन्नी । अनि उहाँ …
शर्माजी – उहाँ त नेपालको कम्युनिस्ट आन्दोलनमा असाध्यै चर्चित । उहाँ त कमिसनको मात्र होइन, ‘क’ जति सबैको सर्वज्ञ नै हुनुहुन्छ । उहाँले हरेक कुरामा फिप्टी पर्सेन्ट कमिसन चाहिने विधि नै बनाउनुभएको छ । सबै कुरामा फिप्टी पर्सेन्टको भाग उहाँमा पर्नैपर्ने भएकोले उहाँको नाम कमरेड फिप्टी पर्सेन्टको रूपमा चर्चित भयो । पार्टीले कारबाही गरे पनि अहिले के के मिलाएपछि उहाँको नाम गौरवशाली पार्टीको तर्फबाट समानुपातिक सूचीमा पनि छ ।
अफिसर – (उठ्दै) हाऊ, द ग्रेट पर्सन एन्ड द ग्रेट नेपाली पोलिटिक्स । कमरेड फिप्टी पर्सेन्ट … ।
कमरेड फिप्टी पर्सेन्ट – हजुर सर ।
अफिसर – ल ल सरकारी भात खाएर मज्जासित बस्नुहोला फिप्टी पर्सेन्ट । बाँकी कुरा कानुनले गर्छ । हामी त तपाईहरूको सेवक हौँ । हा हा हा … ।
कमरेड फिप्टी पर्सेन्ट – हाम्रो सेवक सर !
अफिसर – (खुसीको भावमा) हो, हामी तपाईंहरूको सेवक । हाम्रो सेवा कस्तो हुन्छ, त्योचाहिँ त्यतिबेलै थाहा हुन्छ ।

ड्युटी अफिसरले शर्माजीको एकापट्टिको ज्याकेटको बाहुला लत्रेको देख्छन् । नजिक गएर निहुरिएर हेर्छन् । छुन छुन खोज्छ तर छुँदैनन्, डराउँछन् । शर्माजीको दाहिने हात नै हुँदैन ।

शर्माजी – के हेर्नुभएको सर ?
अफिसर – (गम्भीर मुद्रामा देखाउँदै) यो के हो ?
शर्माजी – जनयुद्धको चिनो सर … ?
अफिसर – यत्तिसम्म हुँदा पनि चेतना आएन हगि ।
शर्माजी – हाम्रो सपना पूरा भएको छैन सर ।
गार्ड – साप एउटा सपना त उतापट्टि महिला सेलमा पनि छ, बोलाऊँ … ।
अफिसर – चुप लाग । यस्तै यस्तै बुद्धि भएर त तिमेरुका कहिल्यै प्रमोसन नभाको । कहाँको यो सपना, कहाँको त्यो सपना … ननसेन्स ।
गार्ड – सरी साप ।
अफिसर – अँ, यो कसरी भाको रे !
शर्माजी – युद्धमा गोलीले छेडेको ।
अफिसर – तपाईंसित बन्दुक पनि थियो ?
शर्माजी – थियो सर ।
अफिसर – कसरी लाग्यो गोली ?
शर्माजी – मेरो बन्दुकको गोली लागेको होइन सर ।
अफिसर – मतलव युद्धमा कसरी …
शर्माजी – दुश्मनसित लड्दा दोहोरो गोली हानाहानमा ।
अफिसर – हेर भाषा । माओवादी, माओवाद, दुश्मन, जनयुद्ध, सहिद, गौरवशाली, सपना । के के हो के के … ।
शर्माजी – यही त हाम्रो पहिचान हो सर ।
अफिसर – अनि उपचार ?
शर्माजी – हाम्रो आफ्नै मेडिकल टिम थियो, त्यसैले उपचार गर्‍यो । हात काम नलाग्ने भएपछि काटियो सर ।
अफिसर – (छक्क पर्छ) दाहिने हात काटिँदा दु:ख लागेन ?
शर्माजी – (गम्भीर र शान्तपूर्वक) गौरव लाग्यो सर ।
गार्ड – साप गौरव नाम गरेको थुनुवा पनि यहाँ छ, बोलाऊँ … ?
अफिसर – चुप, ननसेन्स ।
गार्ड – सरी साप ।
अफिसर – कति वर्ष हुनु भो ।
शर्माजी – ४० ।
अफिसर – कति वर्षको उमेरमा माओवादी भाको ।
शर्माजी – १० वर्ष जनयुद्ध, १० वर्ष शान्तिकाल र बाँकी अरू … ।
अफिसर – मतलव २० वर्ष । (अफिसर लामो सास फेर्छ ।)
शर्माजी – के भो सर ?
अफिसर – न थिङ । अँ, तपाईंहरूले भन्ने गरेको के जाति युद्धमा तपाईंको परिवारबाट कोही … ।
शर्माजी – (गम्भीर हुँदै) मेरो एक मात्र छोरो सहिद भएको छ, भतिजी बेपत्ता छे सर ।
अफिसर – श्रीमती ?
शर्माजी – रोगी थिइन्, उपचार गर्न नसकेर मरिन् ।
अफिसर – (थकित मुद्रामा) तपाईंहरू जानोस् ।
शर्माजी – सर ।
अफिसर – के भो ।
शर्माजी – केही पुस्तक चाहिएको थियो ।
अफिसर – पूजा गर्न । पढ्नलाई त यो स्कुल कलेज होइन ।
शर्माजी – माफ गर्नोस् सर, तर मलाई यहाँ केही पुस्तकको खाँचो छ ।
अफिसर – यो लाइबे्रेरी हो र पढ्नलाई । खै हामीलाई किताब नपेढे पनि भएकै छ । मेरो सल्लाह मान्नुहुन्छ भने किताबको चक्करमा नलाग्नुस् । यो देशमा पढेर, विद्वान् भएर केही हुँदैन । थाहा छ शर्माजी, यो देश त डिग्रीहोल्डरहरू खाडीमा पसिना चुहाउने, एसएलसी फेलरहरू मन्त्री–प्रधानमन्त्री हुने देश हो । मेरो कुरा मान्नोस्, किताब सिताबको चक्कर छोडिदिनोस् … ।
शर्माजी – पुस्तक जीवन हो, विचार हो, सपना हो, आस्था हो, लक्ष्य हो, आत्मबल हो । पुस्तकले मानिसलाई बाँच्न सिकाउँछ, लड्न सिकाउँछ, जित्न सिकाउँछ सर ।

अफिसर अक्क न वक्क हुन्छ । एकछिन् घोरिन्छ । उसलाई रिस पनि उठेको छ । अफिसर हातको इशाराले गार्डहरूलाई केही निर्देशन दिन्छन् । गार्डलाई ती दुई थुनवालाई भित्र लैजाने इशारा गर्छ । गार्डले कमरेड फिप्टी पर्सेन्ट र शर्माजीलाई भित्र लैजान्छ ।

पूरै अँध्यारो …

टेबुलमा खुट्टा चढाएर ड्युटी अफिसर बसिरहेका छन् । प्रकाश अफिसरमा केन्द्रित छ । चकमन्न सन्नाटा । अफिसरको हातमा उस्तै गरी लौरो घुमिरहेको छ । उनमा असाध्यै छटपटी भएको छ । उठ्छन्, बस्छन्, घुम्छन् … । आफ्नै हातमा लौरो बजार्छन् ।

अफिसर – एकातिर फिप्टी पर्सेन्ट, अर्कोतिर शर्माजी अनि म … । म … म । म त केवल जागिरे । तलवको लागि काम गर्ने मानिस । त्यही तलबको लागि पनि कत्तिको चाकरी गर्नुपर्छ यहाँ, धत् । मेरो तर चाकरी गरेरै जीवन जाने भो । भन्नलाई त म आफूलाई राष्ट्रसेवक प्रहरी अफिसर भन्छु तर म कत्ति राष्ट्रवादी छु, त्योचाहिँ मलाई नै थाहा छैन ।
त्यो फिप्टी पर्सेन्ट … । ओ हो ऊ त भाइरस हो भाइरस । डरलाग्दो भाइरस । त्यसको दर्जनौं गम्भीर केसहरू छन् । राजनीतिक संरक्षणका कारण मात्र अहिलेसम्म जीवित छ साले । मिल्ने भए सिधै गोली ठोकिदिन्थेँ … । कुन दिन इन्काउन्टरमा पर्छ साले ।
अँ, त्यो शर्माजी । उसको एक मात्र छोरो युद्धमा मरेको छ । भतिजी बेपत्ता छ । दाहिने हात गुमाएको छ तर पनि मनोबल सगरमाथा जस्तो उच्च … । उफ् … । फिप्टी पर्सेन्टको त कुरै नगरौँ, मजस्तो प्रहरी अफिसर पनि शर्माजीको अगाडि नतमस्तक । म पनि त यिनीहरूसित लडेर आएको मानिस हुँ । तर म सधैँ आफूलाई कमजोर महसुस गरिरा’छु, किन ? मेरो हातमा वैधानिक हतियार छ, कानुन छ तर पनि म … । आखिर के हो जीवन ! के हुन् यी सब ? के विचार यति धेरै शक्तिशाली हुन्छ ! लक्ष्यप्रति अर्जुनदृष्टि … । उद्देश्यमा प्रतिबद्ध … । नि:कलङ्क … निष्ठावान् … राष्ट्रप्रेम … । आखिर यो देशलाई चाहिने राजनीति र राजनीतिज्ञ यस्तै यस्तै त हुन्, तर के गर्नू यहाँ नेपाली राजनीतिको उल्टो चक्र चलिरहेछ … ।

थुनुवाकक्षतिर हेरेर अफिसर टक्क रोकिन्छन् । चर्को स्वरमा बोलाउँछन्, “शर्माजी … ।” थुनुवाकक्षको पल्लोछेउमा रहेका शर्माजीबाट ठूलै स्वरमा प्रत्युत्तर आउँछ, “हजुर सर ।” चकमन्न वातावरणलाई चिर्दै चर्को स्वरमा अफिसर भन्छन्, “लाल सलाम !

अन्तिम पर्दा ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *