ड्युटीमा छु म ।  स्तव्ध छ वातावरण ।  त्यो सुनसान वातावरणलाईं  छिचोल्दै कुनै एउटा व्यस्त मेनपावर कम्पनीको अफिस झैँ छेउमा फोन बजिरहेको छ ।   म बाहिरको ठुलो नर्स स्टेसनमा छु ।   मेरो सिनियर नर्स ईन्चार्ज भित्रको अफिसमा बसिरहेकी छिन्, मानौं  हामीले आफ्नो सोसियल डिस्टेन्स मेन्टेन गरिरहेका छौ ।   बिहान भेट्दा साटासाट गरेको गुड मर्निङ्गको अभिवादन बाहेक एक बचन बढी बोल्न पनि पाप लाग्ला झैँ गरि बसेका छौ, म बाहिर नर्स स्टेसनमा बसेर, बिहान हेरचार गरेका कोभिड–१९ का बिमारिहरूको रिपोर्ट लेखिरहेकी छु ।   हस्पिटलमा पसिसकेपछि हामी सबैलाई जिम्मा लगाईएको कामहरू फत्ते गर्नुमै केन्द्रित भएर होला हामीलाई डराउने फुर्सद सम्म छै, कहाँ कुन बेला कोभिड–१९ भन्ने भूतले पछ्याउदै छ अथवा हाम्रो शरीरको कुन कुन भागमा टाँसीएको छ थाहै छैन, हामीलाई यति सम्म विश्वास छ कि ! हामीले लगाईराखेको पि.पी.ई. नै हाम्रो लडाईंको कवच हो । पिपीई  लगाई सकेपछि जे सुकै छुन पनि डराउँदैनौ हामी, हामीले पटक पटक चेन्ज गरेको पन्जा, माक्स, एप्रोन र टोपी आदिमै कडरौं कोरोना भाईरसहरू फ्याँकिरहेका छौं ! पटक पटक हात धुएर पखाली रहेका छौं । जब काम सुरू गर्छौं तेस्पछि हामी पक्कै यहि नै सोंच्दछौँ सायद ! नत्र कहाँ काम गर्न सक्नु नि ? यो अवस्थामा ?

लगातार फोन बजेपछि भित्र हेर्छु, उनि बजेको फोनको बेवास्ता गर्दै केहि लेखिरहेकी हुन्छिन् ।   हामी बसेको दुवै ठाउँको फोनको लाईन एकै भएकोले दुबैलाई त्यो फोनको रिंगले रिङ्गाई रहेको हुन्छ ।   घरि घरि शीसाबाट नजानिँदो गरि मलाई हेर्छिन् उनी ।   म पनि बेला बेला उसैगरी हेर्छु उसलाई अनि आफ्नो रिपोर्ट लेख्न तिर ध्यान माग्न हुन्छु, हामी दुबैको मनको कुरो हाम्रो आँखा आँखाले बोलिरहेको बेला अन्जानमा हाम्रा आँखाहरू ठोक्की दिंदा हाम्रा साहसी शिरहरू अनायासै झुक्छन् ।  मुखले भन्न नसकेपनि म देख्छु उसको आँखाले फोन उठाऊ भनिरहेको हुन्छ । मुखले भन्न नसकेका कुरोहरू आँखाले बोलिदिंदा अनुहारको रंग पनि बेरंगी बन्दोरहेछ त्यो उनको अनुहारमा प्रष्ट देखिरहेकीछु । म बुझ्छु उसलाई बिहानैदेखि कोभिड–१९ लागेका बिमारीहरूको परिवारले फोन गरेर दिक्क लगाईरहेका छन् ।   तेसैले ऊ चाहान्छ फोन मैले उठावोस, तर म चाहन्छु फोन उसले उठावोस । एकसुरमा बजिरहेको फोनको रिङ्गले हाम्रो मजबुरी बुझँझैं गरि अचानक बन्द भैदिन्छ, वातावरण फेरी सान्त बन्छ एकछिन, आनन्द छाउँछ मनमा, हामी फेरी आआफ्नै काममा एकत्रित हुन थाल्छौं ।  एकछिन पछि फेरि बज्छ फोन । मलाई फोनको रिङ्ग टोनले टाउको दुखे झैं झननन ….हुन्छ, जुरुक्क उठेर लाग्छु प्यासेजतिर ।

म उठेर हिंडेपछि फोन करैले उठाउँछीन् उनि ।  हेल्लो के सहयोग गर्न सक्छु ? उसले भन्छे ।   म सुन्दिन उताबाट को बोलिरहेको छ र के सोधिरहेको छ ? ऊ राम्रै छ खाना खाईरहेको छ ।   हजुर ….ए तेस्तो छैन सब ठीकै छ यहाँ ! प्लिज चिन्त्ता नगर्नुस, उसको यी भनाईहरू मेरो कानमा ठोक्किन्छन् । म सोचमग्न हुन्छु, मलाई दया लाग्छ ती परिवारको जो आफ्ना बिमारी हेर्न आउन सक्दैनन् ।   सारा सिंगो देश त के संसारमै लक् डाउन छ ।  मान्छे कोहि आउन पाउन्दैनन्न, म आफ्नो ठाउँमा उनीहरूलाई राखेर हेर्छु, कति चिन्ता हुँदो हो आफन्तलाई कोभिट–१९ लागेको छ अथवा मर्ने वाला छ मर्नु अघि भेट्न पनि पाईन्दैन ? अनायासै रसाउछन् मेरा सेफ्टी गगल्स भित्रका दुई आँखा ।   गगल्स माथी पनि अनुहार सबै ढाक्ने प्लास्टिकको हेल्मेट छ, कपाल पुरै छोप्ने सेफ्टी टोपी पनि ओढेको छु ।   ती सब भित्रबाट चिहाउँछु आफैले लेखेका अक्षरहरू ठीक छन् कि छैनन् भनि ? आँखा जम्मै ढाक्ने गरि आफुले ओढेको प्लास्टिकको गगल्स भित्रैबाट तुँवालो लागेको छ आफैले फेरिरहेको श्वासको बाफले ।   घरिघरि टाउकोबाट गुडुल्की झरेको पिरो पसिनाले मर्ने गरि आँखा पोल्छ ।   हेर्छु आफ्नै हातभरि कोभिड–१९का किट्टाणुहरू स्याँउ..स्याँउति देख्छु, आखिर कल्पना त हो, कल्पना गरे किट्टाणु मनको आँखाले खुल्लै देखिदो रहेछन् रातदिन टिभीमा देखाए जस्तै रातो काँडासरिका गोलो गोलो भाईरसहरू ।

सोंच्दा सोंच्दै आफैसंग भएको हात पनि शत्रुझैं लाग्न थाल्दछ, लेख्दै गरेको रिपोर्ट छाडेर पछाडीको सिन्कमा उभिन्छु र भित्तामा झुण्डीएको घडी हेर्दै साबुन दलेर २० सेकेन्ड हात धुन्छु ।   धुईसकेको हात पेपर टावेलले पुछ्छु, पेपर टावेलको घर्सनले दिनैभरि धुएको धुयैँ गरेर फुटेको हात चरचर पोल्न थाल्छ, हेर्छु धेरै साबुन चलाएर छालाको रंग नै उजाड मरुभूमि झैं रंगहीन बनेको हुन्छ ।   दुखेको हात छाम्दै बिस्तारै हेल्मेट,गगज अनि माक्स खोल्छु र आँखा पुछ्छु, कता कता अप्ठ्यारो गरि चिलचिलाई रहेका अनुहारका बिभिन्न भागहरू कन्याउँछु, मुखमा तातो पानी हालेर कुल्ला गर्छु, आँखा, नाक र कान सबै, सबै सफा गर्छु ।   अनि फेरी भर्खर खोलेर राखेका सबै सर्दामहरू तन्द्रांग तुन्द्रुङ्ग झुण्डाएर ऐनामा हेर्छु । आफ्नै रूप मलाई उहिल्यै गाउँमा तीन राते तन्सिंग राख्दा आँगनको बीच खम्बामा उभेर बेस्सरी काम्दै नाच्ने झाँक्री जस्तै लाग्यो ।

यसरी मनको पोखरीमा डुबुल्की मार्दै बसिरहेको बेला, एक्कासी मेरो नर्स ईन्चार्ज, बाहिर आउछिन् र पोखाउन थाल्छिन् बिमारीका आफन्तले भर्खरै फोनमा सोधेका धाराबाहिक प्रश्नहरू ।  भन्छिन् फलानाले फोनमा बोल्न सकेन रे स्वश प्रस्वाशमा पनि समस्या जस्तो लाग्यो रे, चाँडो गएर हेरि दिनु रे ? तिमीलाई के लाग्छ ? कोभिड–१९ को लक्षण नै स्वश प्रस्वाशनमा हुने समस्या होइन र ? जानी जानी अन्जान बन्छन् स्टुपीडहरू । उसको रिसाएको अनुहार हेर्दै उसले ओकलेको त्यो स्टुपीड शब्दको अर्थ आफ्नै मनको शब्द कोशमा खोज्न थाल्छु ्र किन कि उसले बोलिरहँदा त्यो शब्दले उनको बोलीको शोभा बढाउनुको बदला रीस पोखाईरहेको थियो ।   मलाई थाहा छ उसले बिमारीका आफन्तहरूको रीस मलाई पोखेको होइन तै पनि गालि मलाई गरे झैँ लाग्छ । उनी व्यस्त भएको बेला मैले पनि केहि कलहरू नउठाएको होइन, तर ऊ अफिसमै हुँदा त फोन उसैले उठावोस यो नितान्त मेरो मनको कुरो थियो ।
भित्रबाट फेरी बोलाउँछिन् र सोध्छिन् आज फलाना बिमारीले बिहानको खाजा खायो ? तिमीले चेक गर्यौ खोकी छ कि छैन ? आदी ……..ईत्यादी ….उसले सोधेको प्रश्नको जम्मै जवाफ दिन्छु र फेरि जान्छु हात धुन । म नर्स स्टेसनबाट भित्र अफिससम्म त पुगेकी थिएँ नि ? त्यहाँ न कोहि बिमारी थिए, न त्यहाँ केहि छुएँ मैले, बित्थामा बेपत्ता फेरि किन हात धुएँ खोई थाहै भएन । धुईसकेको हात हेर्दै आफै अचम्म हुन्छु ।   लाग्छ मेरो हात कपडा भए धुजा धुजा भएर फाटी सक्थ्यो यो बेला सम्म सायद ? थाहा छैन वैज्ञानिहरूले दिएका सम्मानीत नाम कोभिड–१९ अथवा जनजीवनको जिब्रोमा झुण्डीएको सजिलो नाम कोरोना कुन चाँही सही नाम हो कुन्नी ? मलाई भने दुवै नाम अप्ठ्यारो भीरमा झुण्डीएको भीर माहुरी झैँ बिषालु लाग्छन् ।  
हरेक दिन बिमारीहरूको छातीमा आफ्नै हातले सुम्सुमाएको कोरोनालाई नदेखे पनि मज्जाले महशुस गर्दै आईरहेका छौँ ।  म आफैमा यसको लक्षण देखा नपरे पनि, लक्षण देखिएर टेष्ट गर्दा पोजेटीभ भेटिएका साथीहरूको पीडालाई आफ्नै ठानेको छु ।  
सुरू सुरूमा हामीले चाहेर पनि पीपीई प्रयोग गर्न पाएनौ । यो मानेमा चाँही मलाई युरोपका मान्छेहरू अलिक साँगुरो सोचका लाग्छन्, किनकि हामीले माक्स प्रयोग गर्न खोज्दा पनि रोकियो, कारण बेलायत सरकारले माक्स प्रयोग गर्नु भनेको छैन, हामीले अहिले नै माक्स लगाउँदा बिमारीहरू डराउँछन् अथवा बिमरीहरूलाई घ्रिणा गरेको जस्तो हुन्छ रे भनेर रोकियो । पछि कोरोना आईसकेपछि त अतालिन्दै हामीलाई पीपीई बाँडीयो, तर त्यो बेला धेरै ढिलो भैसकेको थियो, हामीलाई पिपीई पहिलेनै दिईएकोभए कोरोनाले यति धेरै बिमारी मर्ने थिएनन् कि जस्तो लाग्छ । हामीले पिपीई पाउँदा बिमारीहरूमा कोरोनाको लक्षण देखिएको हप्त्ता दश दिन भैसकेको थियो । केहि स्टाफहरूमा समेत लक्षण देखा परेकोले उनीहरू घरमै बस्न थालिसकेका थिए ।  हामी बाँकी रहेका केहि स्टाफहरू पनि घर नगैकन हस्पिटमै बसेर बिमारीहरूको सेवा गरिरहेका थियौं ।  
म लगायत केहि साथीहरूले महसुश गर्यौं, कि कोरोनालाई हामीले नै बिमारीहरूमा सार्दै छौं भनेर, किन कि बिमारीहरू कोठैमा आईसोलेसन गरेर बसेका थिए ।  बाहिरबाट भिजिटर भेट्न नआएको पनि महिनौ भैसकेको थियो ।  तर पनि हस्पिटलमा संक्रमणको संख्या बढ्दै गैरहेको थियो ।   तेस्पछी हामीलाई लाग्यो पिपीइ लाएर आफुलाई सुरक्षित राखेपनि बिमारी सम्म पुग्ने हामी मात्र भएकोले हामीले नै सारिरहेका छौं भन्ने पक्का भयो, तेस्पछि हाम्रो परिवारलाई पनि जोगाउनु पर्ने जिम्मेवारी थपियो हामीमा ।  
मैले यसै पाली महशुस गरेँ, दुश्मनको छाती ताकेर प्रतक्ष गोली ठोक्नु जस्तो सजिलो नहुँदो रहेछ, अदृस्य दुश्मन कोरोनसंग लड्न ।   तै पनि युद्ध मैदानमा उत्रिसकेपछि काएर होइन बहादुरीका साथ कर्र्मिनष्ठ बनेर लडाईं लडीरहेका छौ ।  परिवारहरूलाई संक्रमणबाट बचाउन घरनै छाडेर कुरुक्षेत्रमै सिविर बनाएर बसियो ।  यो लडाईंमा महाभारतको भिष्म पितामाले दुर्योधनको सेनापती हुँदा राखेको नियम जस्तो घाम अस्ताएपछि रोकिने लडाईं थिएन बरू महिनौ महिना देखि चलिरहेको यो लडाईं त बिना गोला बारूद रात दिन लडिने कठिन विश्व युद्धझँं लाग्यो ।   अन्त्यमा, यो लडाईंमा लड्दा लड्दै वीर गति प्राप्त डाक्टर, नर्स क्येरर र एनएच स्टाफहरूको निम्त्ति दुई थोपा आँसु श्रदान्जली अर्पण गर्दछु ।  

जानु काम्बाङ्ग लिम्बू
ताप्लेजुङ्ग हाल युके 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer