पश्चिमको कालो छली वायु
यही माटोमा आएर ठोकिन्छ
पूर्व/उत्तरको काँचो षड्यन्त्रको गन्ध
यही माटोमा आएर रोकिन्छ
यही माटो
जहाँ धर्मभिरुहरुले
जबरजस्त बाँच्दै लडे
जबरजस्त लड्दै बाँचे
मान्छेभित्रको अहम्ले
थाहा छैन- कुन दिन धर्म जन्मायो !र्
धर्मकै रङ्गले यो माटोलाई देश बनायो !
सेता राजनैतिक पन्नाहरुमा
जिन्दगीका अक्षरहरु टाँगेर
चुचुरा उठ्थे यो माटोमा
जुल्फिकार अली भुट्टो पाइलाहरु
कतिबेला- कतिबेला
कन्तविजोगको काँडेतारमा
उफ ! दलदलमा
भासिएको थियो मलाई जन्माउँने पहाड
अटल पहाड हेरेरै म पहाड हुन सिकेँ
अडिग पहाड देखेरै म पहाड हुन सिकेँ
पहाडकै छारी भएर म पहाड बनेँ
स-साना भत्काइहरुमा
म नउफ्रने भएँ
म पहाड भएँ
पहाड हुनुमा कसैले मलाई
उजाड देख्यो
कसैले हरियाली देख्यो
कसैले चौतारी देख्यो
कसैले देउराली देख्यो
देख्नेले जे जे देखे पनि
भोग्नेलाई मात्र थाहा हुने रहेछ
साँचो आफ्नो जिन्दगी
कहाँ दुखाउँदो रहेछ र यातनाले ?
मान्छेलाई !
जब ऊ माटोका लागि यातना खेपिरहेछ
कहाँ दुखाउने रहेछ र दुःखले ?
मान्छेलाई !
जब ऊ जनताका लागि दुःख भोगिरहेछ
जेलको चिसो छिँडीले समेत
आगोको ताप दिँदोरहेछ
अध्याँरो कोठाले समेत
सूर्यको राप दिँदोरहेछ
कसलाई के थाहा ?
प्रवासको त्यो खुल्ला आकाशमा
म आफैभित्र कति नजरबन्द थिएँ
सारा अलौकिक सम्पनताका अगाडि
म कति लरिद्र थिएँ !
दुनियाँमा नपाउनु के ?
(आफ्नो प्यारो जीवन)
तर स्वतन्त्रविहीन जीवन
मलाई जिउनु छैन
फेरि संघर्षामा
वलिदानभन्दा जीवनमाथि छ र ?
कालो बुर्काले छोप्न खोज्ने
जिन्दगीका सारा भूलहरु
पुछियोस्-नपुछियोस्
यो माटोले मेरो वलिदानको महत्व
बुझोस्- नबुझोस्
मलाई मतलव छैन
लागु छैन मलाई
म सिर्फदेशको लागि लड्छु
जोसुकैले हानोस बन्दुक मरो मेरो टाउकोमा
तर गोलीसित आँखा हुने भए
मेरो जिकिर
कहाँ मर्ने थिएँ र म ?
जोसुकैले पट्काओस् बम
तर बमसित भावना हुने भए
मेरो टहर
कहाँ सकिने थिएँ र म ?
पश्चिमी अखबारका पृष्ठहरु
रङ्गिएका छन् मेरो सून्दरताले
केही पत्रकारहरु खर्चिरहेछन् मसी
मेरो बहादुरीको कथा लेखेर
कता-कताबाट
षड्यन्द्रको राजनिति
मेरो लासमाथि आउन खोजिरहेछ
बिन्ति ! भगाऊ
भगाऊ मेरो लासलाई
षड्यन्त्र नामको खेलदेखि टाढा भगाऊ
र त्यो माटोमा राख
चोखो माटो
जहाँबाट उम्रनेछ्
जनताका प्रिय सपनाहरु ……..।