-विधान आचार्य
श्रीमतीले करक्क ढोका उघारी । श्रीमानले पाउरोटीमा प्याकेटको कथित् नौनी घस्दै सोध्यो – आज कति घन्टाको कामको हिसाब भयो? उत्तर आयो – ‘छ’ । ‘बिहान आठ बजेदेखि ऐले बेलुकी साढे सातमा घर आउँदा पनि जम्मा छ घण्टा किन?’ आँखाका भौं तन्काउदै भनी – ‘मजस्ता लुकेर बस्ने अरू पनि थिए, सबैलाई पालैसित काम दियो । धन्न यति पनि पाइयो । तिम्रो त्यै त छैन’ – ऊ अल्लि बिच्किई ।
लोग्नेले हिसाब देखायो – ‘अपार्टमेन्ट र यी सबै सामानको किस्ता कसरी चुकाउने? दिनैपिच्छे आजको बहत्तर युरोजस्तै पूरै जोगाउन सकिएन भने फेरि नेपालै फर्किनु पर्नेछ । यहाँ केले खाने, फर्किन परे कुन मुखले जाने ? आफ्नो योग्यता र क्षमताले नेपालमा पाइने कामले त खान पनि धौ धौ हुन्छ । यहाँ पो जे गरेपनि, जसरी कमाए पनि भएकै छ |’
‘मेरो कमाइले नपुगे आफू पनि काम गर्नु नि ! जाबो हफ्ताको २० घण्टा काम गर्न आउनेले मलाई किन बोला’को त ?’ श्रीमतीले फ़तफ़ताउदै जुत्ता फुकाली । थाकेका हातले बोकेको ब्याग फुत्त फाली । ब्यागको बेगसितै एउटा कागतको खोस्टो पनि उछिट्टियो त्यो कुनै भिजिटिङ्ग कार्ड थियो ।
कार्ड हेरेर फोन गरी । लोग्ने निरीह आँखाले हेर्दै थियो । पाउरोटी टोक्दै फेरि जुत्ता लगाई । एक गिलास पानी पिई । घडी हेरी । तल सडकमा एउटा कार आएर रोकियो । ऊ ब्याग हल्लाउदै झरी ।
हतप्रभ लोग्नेले सोध्यो – ‘यतिबेला फेरि कता ?’ रेडिमेड उत्तर आयो – ‘धन्दा नमान, अब तीन घन्टामा अर्को बहत्तर युरो आउने छ’ लोग्ने ढोकामा आएर हेरिन्जेल उसकी श्रीमती कारमा बसेर गैसकेकी थिई ।
श्रोत : लघुकथा कुनो