कुनै पनि कुरा नभोगी राम्रो जानिन्न रहेछ । चालिस वर्षअघि जब म पति भएँ अनि मात्र पतिका बारेमा राम्रोसँग बुझ्न थालें । त्यो बेलादेखि नै पतिहरुको कायाकैरन लेखूँला भनेको बल्ल आज मात्र पतिहरुका चरित्रहरू पतिका अघि बिस्कुल लागेर आए भनेपछि पतिकैरन बुझ्न कति लाग्दोरहेछ आफैं बुझ्न सक्नुहुन्छ । सबै पतिको त कसले सकोस् वर्णनको गथासो पुरान हाल्न केही म जस्ता पतिको भने अब म थालें कायाकैरन उतार्न । पतिहरुका प्रकार अनेक रहेछन् ।

स्वपत्नीभक्त पति परपत्नीभक्त पति अतिपत्नीभक्त पति । बजारपत्नीभक्त पति बाहिरभक्त पति । बजारियाभक्त पति । अनेकपत्नीभक्त पति बलात्कारप्रिय पति । यस्तै भरिया करिया बँधुवा पति हलिया पति पुच्छर पति दुच्छर पति आदि आदि । यी मात्रै नभई पतिहरुका अरु अनेक अनेक प्रकार छन् । पत्नीका पनि होलान् त्यो कायाकैरन नहाल्ने अहिले । म जस्तो भरिया पतिले त्यसो गर्न पनि मिल्दैन । अरु सबैलाई छाडेर अहिले म भरिया पतिको बारेमा केही चर्चा उठाउँछु किनभने यस वर्गको पतिहरुमा म नै परें जो ।

पत्नीप्रिय वा पत्नीभक्त हुनका लागि कतिपय पतिहरू आफैंले खनेका खाडलमा आफैं फस्तारहेछन् भन्ने उदाहरण मैले नै भोगेर चाल पाएको छु । अरु पनि यस्ता धेरै छन् ती को को हुन् भन्ने कुरा ता भन्दिनँ है बाबा ठाकुरे हो । एउटा गोप्यताको हक पनि त छ सम्विधानले दिएको । त्यसलाई पालना गर्नु पनि हामी सबै पतिहरुको कर्तव्य नै हो । अनेक पतिहरुको कैरन पछि हाल्दै गरूँला तर अहिले म भरिया पतिका बारेमा केही भन्न लागिरहेको छु आफू यसै वर्गको परेको हुँदा मलाई यसका हाँगा बिँगाबारे कैरन कथुर्न सजिलो छ ।

सिपालु भरिया पाएकै कारणले धेरै हिमाल आरोही खैरेहरुले सगरमाथामा पाइलो टेक्छन् भनेजैं सिपालु भरिया पति पाएकाले पत्नीहरुले नै सफलताको पगरी गुत्छन् । हिलारीलाई हामीले धन्यवाद नदिई हुन्न उनले बेइमानी गरेको भए तेञ्जिङको नाम निसाना नै हुने थिएन भन्छु । फेरि इतिहास हो फरक पर्न सक्ला । इतिहासकै ज्ञातालाई यो कुरा छाडिदिऊँ ।

अहिले सामाजिक सञ्जालका कतिपय पत्नीहरुको नाम जो उचाइमा पुगेको देखिन्छ त्यसका पछाडि उनका म जस्तै भरिया पतिको नाम कतै न कतै लुकेको हुन्छ । त्यसरी सामाजिक सञ्जालमा छाएका केही रचनाका धनीहरुलाई तपाईँ भूमिगत रुपका कालिदास मान्न सक्नुहुन्छ । कालिदासकी पत्नीले त अस्ति कश्चित् बागर्थ भनेर महाकवि बनाइदिएकी थिइन् । तर यहाँका भरिया पतिहरू भने आफ्नो भएभरको बुता लगाएर पत्नीलाई महाकवि बनाउने दाउमा देखिन्छन् मैले पनि त्यसै गरें । अनि पत्नीको नामका रचनाहरुमा लेखिदिएर समाजमा आफ्ती पत्नीको शिर ठाडो पारेका हुन्छन् मैले पनि त्यसै गरें । धेरै जसो पत्नीजीहरुका गतिला खालका र धेरैले रुचाएका रचनाभित्र भरिया पतिकै पसिना हुन्छन् । भरियाको पनि त नाम हुनु पर्ने हो नि भन्नु होला । भरियाले नामी नामी कविता लेखेर आफ्नी मालिक्नीलाई अर्पन्छन् र आफ्नो नामनिसानै र अस्तित्व नै मटियामेट पार्छन् । रचनाकारः फलानो र यस रचनाको भरियाः फलानो भनेर यसो नाम दिनु त पर्ने हो तर घरमा फेरि यसो गरियो भने बास उठ्ठा हुन सक्ने हुँदा यसो गर्नु सम्भव हुन्न । त्यतिसम्म पनि उदार नहुने रचनाछापुवा पत्नीहरू देखेर दिक्क नमान्नु होला किनभने उनीहरुलाई तपाईँले तारा समेत टिपेर ल्याइदिने वाचा गरिरकेको हुन्छ । अनि यो मुले रचना ता के कुरा भो र ।

अब नामसाम नभन्नु नै राम्रो हो । गद्यमा एक वाक्य लेख्न नसक्ने पत्नीहरुका घागडान घागडान पद्यका कविता देखिएका छन् छन् । मानौं देवकोटा वा घिमिरेका दाजु नै पो हुन् कि भन्ने भान पर्छ । त्यस्ता सामग्री आजभोलि सञ्जालको दुनियाँलाई धर्कमान गरिरहेका छन् । मदन पुरस्कारका हकदारका रुपमा पनि भरियाका पत्नीको नाम आउने हल्ला चलेका हुन्छन् ।

मरीमरी पतिले लेखिदिन्छ नाम भने पत्नीको मात्र । हुनत हो पनि हामी पतिहरू पत्नीका खजाना तयार गर्ने पहरेदार नै हौं ।मै पनि उही हुँ । उनका लागि जीवनका अनेक उकाली ओराली चढ्ने ‌ओर्लने गरिन्छ भने मुला रचना लेखेर पत्नीका नाममा छपाउनु कुन ठुलो कुरा भो र । आकाशका तारा ता झार्नु पर्दा भुरुरु पारिन्छ भने मुले रचना लेखिदिनु कुन खराब भो र । भरियाको नाम दिनु पनि नुहेने रहेछ । किनभने यो रचना मेरा पतिजीले लेखिदिनु भएको हो भनेर आफ्नो बल्ल बल्ल बनेको सञ्जालको साख गिराउनु पनि भएन । त्यसो भनियो भने समाजमा उनको के महत्व भयो र । फेरि यता पतिजीहरुलाई पनि समस्या छ । यो रचना मेरी पत्नीका लागि लेखिदिएको भनून् भने पनि उनको इज्जत जाने भो । कस्तो स्वाँठ जोईटिङ्ग्रे रहेछ भन्ने वचनहरू आउलान् भन्ने डर भो । नलेखिदिउन् त अस्तिदेखि लेखिदिन थालिहाले । सञ्जालमा स्रष्टापत्नीका रचनाहरुको माग बढेर उखर्माउलो भइसक्छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *