“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।

“गाउँमा हावापानी राम्रो छ, आफ्नै रेखोपाखोमा उब्जिएको ताजा खानेकुरा खान पाइन्छ,” यसो भन्थे साथीहरू ।

“के पाइन्छ ताजा, भन त साथी हो ? त्यही च्याँख्ला, ढिँडो, सिस्नो, गुन्द्रुक, फापर, कागुनो, गिठ्ठा, भ्याकुर … होइन त ?” ऊ यस्ता रैथाने खाङ्कीको नाम लिँदै खित्का छाडेर हाँस्थ्यो । साथीहरू दु:खी हुन्थे ।

“न सुख सुविधा न भनेको बेला औषधी उपचार ! अकालमै मरिन्छ साथी हो गाउँमा !” महेश साथीहरूको कुरालाई हावामा उडाइदिन्थ्यो।

नभन्दै महेश शहरमै रमायो । बुढी आमा बिरामी हुँदा समेत घर आएन । बाआमाले खबर पठाउँदा पनि अनेक बहानाबाजी गरेर टार्यो ।

तर यो साल नसोचेको भयो । ऊ गाउँ फर्क्यो, त्यो पनि एक्लै होइन लालाबाला सहित । शहरदेखि तर्सेर ऊ र ऊ जस्ता हजारौं मान्छेहरू एक्कासि आफ्नो थातथलो फर्के । धुवाँधुलो, फोहोर र मानिसहरूको अत्यधिक भीडले बसिनसक्नु भएका शहरहरू विश्वभर फैलिएको नयाँ रोगले आक्रान्त बन्दै थिए । त्यसैले यो पटक धेरै मानिस रहरले होइन डरले गाउँ फर्केका थिए ।

पुराना साथीहरूले महेशलाई जिस्क्याउँदै सोधे, “के हो महेश, यसपाली त … ?”

गम्भीर हुँदै उसले भन्यो, “के गर्नु ! मनको डर शहरले छेक्न सक्दो रहेनछ !”

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *