विवाद नगर –
यी सडक, चहुर र पाखा उही हुन्
गल्ली , च्याखल र डवली
उही हुन् प्रेमशाली घिमिरे ,सामाखुसी
पाटी ,पौवा र मन्दिर उनै हुन्
आकाश , चरा र बगैंचा उही हुन्
रानी पोखरी , रानी वन र मृगस्थली उही हुन्
गौसाला र कलंकी,
बुढानिल कण्ठ र स्वयम्भु उनै हुन्
सबै सबै उही /उनै भएर पनि
हिजो आज
उनै र उही जस्ता छैनन्
किनकि
जुन दिन तिमी लाई
जीवाणुले
आफ्नै घर र कोठामा
दपेट्यो
आआफ्नै टोल र बस्तीमा
लपेट्यो
यो सहर र त्यो सहर
यो क्षेत्र र त्यो क्षेत्रले
निषेधित गर्यो
यो देश र त्यो देशमा
तिमीलाई खुम्च्यायो
मानौ
मानवविश्व
जहीं को तहीं टक्क रोकियो !


जुन बेला तिम्रो मानव विश्व रोकियौ
त्यसै दिन देखि
मुर्झाएका हामी
लुटिएका र खोसिएका हामी
रुग्न र कम्जोर भएका हामी
हेर्दा हेर्दै
हाम्रो जीवन
चल्मलाउन थाले
डढेका र भाँचिएका ,
हाँगा र बिङ्गाहरुमा
पालुवाहरु पलाउन थाले
हामी फूल्न थाल्यौं
हामी झूल्न थाल्यौं
यी यसरि
तिमीले छाडेको फोहोर
सडकहरुमा
हामीले
रंगिन फूलका केशरले
भर्न थाल्यौं
तिमीले फैलाएको
दुर्गन्धित आकाशलाई
हाम्रो फूलका बासनाले
छर्न थाल्यौं .


जुन दिन
तिमी आएनौ
तिम्रा फोहोरी खुट्टा आएनन
तिम्रा दुषित मन आएनन
तिम्रा बलात्कारी हात आएनन
त्यति मात्र कहाँ हो र ?
तिमी संगै ,
तिम्रो गाडी आएन
गाडी संगै
कालो धुँवा र छारो आएन
मुटु बिझाउने
कर्कस तिनका आवाज आएन
घचेटा घचेट भिड आएन
मन्दिर , मस्जिद र गीर्जा घरमा
ढोंगी र पातकी आएन
तिमी आएनौ
अरु नै आए
चराहरु बिहानी बोलाउन आए
त्यहि आकाशको विहानीमा
सूर्यले रश्मि छर्दै आए
साँझ हुन नपाउदै
पश्चिमले गोधुली भर्दै आए
निलो आकाशमा
रातको चन्द्रमाले
चाँदनी भर्दै आए
कालो रातलाई चिर्दै
टिम टिमाउदै ताराहरु आए
फगत तिमी आएनौ
सबै आए
केवल
तिम्रो दुषित मन आएन !


फूर्ति नलगाउ –
पानी नहाले बोट मर्छ भनेर
फूर्ति नलगाउ
हामीलाई
गोड मेल र उकेरा
लाउनु पर्छ भनेर
जीवनको चर्खा
जस्तो तिम्रो उस्तै हाम्रो हो
बाँच्नका लागि
तिमी पनि सास लिन्छौ
हामी पनि लिन्छौं
बाँच्नका लागि
तिमी पनि
अन्न , जल ताप र राप लिन्छौ
हामी पनि त्यसरी नै लिन्छौ
तिम्रा अवयवहरु पनि
खुसि हाँसो र पिडाहरुमा
जाग्ने र खुम्चने गर्छन
हाम्रा अवयवहरु पनि
खुसि र दुखमा
फूल्ने र मुर्झाउने गर्छन
तिमी
आफ्नो हाँसोलाई
अनुहारमा ल्याएर देखाउछौ
हामी हाम्रा खुसिहरु
फूलका पातहरुमा
फ़क्रिएर देखाउछौ .
भिन्नता कहाँ रह्यो र ?
यस अर्थमा कि
जीवनपछि तिम्रो मृत्यु
जसरि शाश्वत छ
ठिक त्यसरी नै
हाम्रो पनि जीवन पछि
मृत्यु अकाट्य छ
यदि विधिको विधान
यहि नै थियो भने
तिमी नै भन मान्छे
यो हाम्रो सुन्दरता माथि
तिम्रो कुरुप चेतनाको
अत्याचार
सधै -सधैं किन ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *