पहाडको तल
जीवन सुन्दर छ ।
मान्छेका मनहरू प्रसन्न छन्
ओठमा निःस्पृह मुस्कुराहट छ
खोलामा कञ्चन पानी बगेको छ कलकल
उर्वर धर्तिमा फसलहरू नाचेका छन् लहलह
जागरिला युवाहरू सुसेल्दै वेसीतिर झरेका छन्
उमेर कटेकाहरूले पनि सकेको गरेका छन्
हलीको गालामा पनि बैसालु रौनक छ
खेतालीहरूका पाखुरामा पनि पौरख छ
जोत्ने गोरू पनि फूर्तिला छन्
हजुरबा पिढीमा नातिलाई पौराणिक कथा सुनाउँछन्
मास्टरबाजे मुग्लान पसेको गोरेकी आमाको चित्त बुझाउँछन्
मास्तिरकी बुहारी चिठ्ठी पढेर सुनाउँछे
तल्तिरकी छोरी गीत गजल गुन्गुनाउँछे
न ज्यादा गर्मी छ
न उति सर्दी छ
युवावस्थाको हर्हराउँदो जीवन जस्तो मौसम
अहा! कति मनोरम
थोरै राजनीतिको हुरी नचलिदिए पुग्छ
पहाडको तल
जीवन सुन्दर छ ।
त्यहाँ
न कुनै तन्त्र चाहिन्छ
न कुनै मन्त्र चाहिन्छ
त्यहाँको स्रोत सम्पदा अविभाज्य छ
त्यहाँ स्वतःस्फूर्त सद्भावको रामराज्य छ ।
दुई छाक स्वाभिमानी गाँस भए पुग्छ
एक ओत छाप्रा मुनि बास भए पुग्छ
लाज ढाक्ने अलिकति कपास भए पुग्छ
शान्ति फुल्ने अलिकति आस भए पुग्छ
त्यहाँ
केवल शकुनिका लोभी सपनाहरू नफैलिए पुग्छ
सपाट ऐना जस्तो लोभलाग्दो जीवन
सिंहदर्वारका गोहीहरूबाट नमैलिए पुग्छ
पहाडका तल
जीवन सलल बगेको छ नदीजस्तै
केवल वैमनस्यको ढल नमिसाइदिए पुग्छ
त्यहाँ अगस्ति र वनकाली नरिसाइदिए पुग्छ ॥
लण्डन