सहिद गेटमाथि उभिएको मान्छे
बुझेर हो कि ! नबुझेर हो ?
ताली बजाई रहेका छन्
एक हुल मान्छेहरू
सिंह दरवार अगाडि !!
सिंह दरवार अगाडि
सुन्दर विशाल चऊर छ
ती हरियो ठुलो चऊर बीच
पानीका अनगिन्ती फोहराहरू
स्वर्गका अप्सराहरू झैं रूप धारण गर्दै नाचिरहेछन्
मेलम्चीको त्यो मीठो पानी पिउन
एक हुल हिमालका छाँयाहरू ओर्लेका छन्
पानी भित्र नाचिरहेका ती छाँयाहरू
टिपिरहेछन् थुप्रै बिदेशी पर्यटकहरू
बल्छीले माछा तानेझैं
क्यामेराको थुतुनो तन्काई तन्काई !
हराभरा छ काठमाण्डौं
धुलो रहित छन् सडकहरू
धुलो रहित ति चिल्ला सडक बीच चुपचाप
उभिरहेछ सहिद गेट
गेट माथि उभिएर ठुल्ठुलो स्वरमा
जय नेपालको नारा लगाईरहेछ्न्
अमर सहिदहरू !!
आहा !
धुलो रहित काठमाडौँ
प्रदूषण रहित शीतल बतास
बतासको ताल पछ्याउँदै
लहराउने बिशाल रानी पोखरी,
पोखरी माथि पखेटा जुधाएर
गीत गाउने राजा रानी हाँसहरू,
पोखरी ओरिपरि पालाम गाउँदै
घुम्ने लिम्बुवानका मेंछ्या थाङ्ग्बेनहरू !
म सम्झिन्छु !
हाम्रो देश जस्तो प्राकृतिक
सुन्दर देश अन्त कहाँ होला ?
अर्को कुन ठाउं होला यति धेरै खोला नालाले
भरिएको देश ?
अर्को कहाँ होला यति धेरै
महिला अधिकार र सुरक्षा भएको देश ?
मनमा एउटा अनौंठो प्रश्न
उब्जिन्छ र फत्फताई रहन्छ
खुल्ला मंच माथि उभिएर
भाषण गर्ने नेताको जस्तै !!
उसले भन्दै थियो
बलात्कार पछिको हत्या प्रकरण रोकिहाल !
बलात्कारीलाई फाँसी दे
भ्रष्टाचारिलाई कारबाही गर
चेलीवेटी वेच विखनको बाटो बन्द गरिहाल
विदेशिने युवाहरूलाई रोजगारी दे
सीमा मिच्ने छिमेकीलाई कारबाही गर
नस्लीय भेदभाव अन्त्य गर
आदि आदि ……….!!
उनका हजार प्रश्नहरूले मलाई पछ्याई रह्यो
तर, सोध्न सकिन एक पनि !
लाग्थ्यो,
ऊ आफ्ना हत्या भैसकेका विचारहरू ब्युँताउन चाहन्थ्यो
बालुवामा पुरिएका चाहानाहरू खोतल्न चाहन्थ्यो
न्यायलयका भित्ताहरूमा झुन्ड्याईएका
देश भक्त्ति भावनाहरू उप्काउन चाहान्थ्यो
च्यात्न चाहान्थ्यो भ्रष्टाचरिका छाती
पिउन चाहान्थ्यो देश द्रोहिका रगत
भत्काउन चाहान्थ्यो गरिबीको पर्खाल
छर्न चाहन्थ्यो धर्ती माताको काखमा
शान्तिको बिऊ ……..आदि ….आदि …
म, उसको भाषण सुनेर सोंच्दैछु
हाम्रो देश उहिल्यै स्वीट्जरल्यान्ड भई सक्यो !
जातीय विभेद कहिले अन्त्य भैसक्यो
कयौं बलत्कारीका हंसले फाँसी चढीसके !
निर्मला हत्याकाण्डको हत्यारालाई
कालो पट्टी बाँधेर मुखमा
राम नाम जप्दै जिउंदै लुकाई सके
कालापानी, लिपुलेक र लिपियाधुरा
मिचिएको सीमा फिर्ता लिएर
देशको नक्शा समेत फेरिसके
विदेशिने युवाहरुयुवाहरू फिरेर
आफ्नै देशको पूर्व-पश्चिम रेलमार्ग
बनाउनमा व्यस्त छन्
अब चाडै रेलमार्ग उद्द्घाटन हुँदैछ
यति धेरै खुसिहरूको माँझ पनि
ऊ किन बेखुसी ……?
के ऊ बेखुसी भएरै
सहिद बनाईएको हो त ?
ताप्लेजङ्ग हाल युके !!