ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र हिड्ने ऊ आज स्वास्नी भान्सा गएकै बेला पारेर निस्कियो ।
उसको हरेक साझ घरबाट निस्कने यो क्रम बिगत सात महिनादेखि चलिरहेको छ । उसलाई मेघावतीसँग भेट्नु छ । बिहारमा जन्मेर पनि नेपालीसँग भागेकी मेघावती उसलाई मन परेको छ । मेघावतीका आँखाले उसलाई बेहोस पारेको छ । राम्री अनि केही ब्यहोर्न नपर्ने । उसको मन मेघावतीको मायाले पग्लिएको छ । उसलाई मेघावतीप्रति गौरब लागेको छ ।
छि: मेरी स्वास्नीले त गाजल लगाएको पनि कति नसुहाएको ? लौन खान जानेकी भए पो हुञ्छ ? अनुहार मिलेको भएपो हुञ्छ ? न मेघावतीले जस्तो कम्मर मर्कौन जानेकी छ नत मस्किन नै। उसलाई फेरि स्वास्नीसँग रिस उठ्यो । उसलाई स्वास्नीका सबै कुराले बिरक्त्यायो ।
“मेघावती बोल्दा त काचै निलु जस्तो हुञ्छ । रातदिन सुपारी र पान खाए पनि दात कति मिलेका ।” उसले मनमनै कुरा गुथ्यो ।
ऊ दायाँ बायाँ केही नहेरी फतफत हिडिरहेको छ ।
“ए, नवीन कतातिर हो ? भट्टीमा तातिने हैन”? आफ्नै अफिसमा काम गर्ने खरिदारले लामा लामा हात पसार्दै झस्कायो ।
“भोलितिर भेटेर तातिने हो, बिरामी हेर्न जादै छु,” ऊ यति भनेर फुत्कियो ।
“हैन त्यो मेघावती र सुपारेको सम्बन्ध कसरी छुटाउने हो ? फेरि सानैमा बिहे गरेकी स्वास्नी छे । तीन ओटा बच्चा पाई । त्यसलाई पारपाचुके पनि दिन नमिल्ने खर्चले पनि नभ्याउने। कस्तो खप्पर मेरो ।”
नवीनले आफ्नो मुखियाको जागिर सम्झ्यो । महिनाभरि काम गर्दा पनि राम्रोसँग मिठो मसिनो खान नपुगेको सत्यताले ऊ रन्थनिएको छ । फेरि अनुहार नपरेकी स्वास्नीले यसो बच्चा रोकथाम गरेर एउटा मात्र पाएकी भए पनि हुन्थ्यो नि । सबै जिम्मा मलाई छोडेकी छ । कस्ती पखिनीलाई बिहे गरेछु । स्वास्नी त मेघावती जस्तो पो हुनु पर्छ । तर मेघावतीलाई जारी हाल्छु । उसका मनमा कुरा रन्थनिए । ओहो मेघावती नभेटेको भए त यो जीवनको वैंश त्यसै जान्थ्यो । धन्न मन पराएकी छ । आफू पनि कहाको राम्रो हुनु र ? उसलाई रुन मन लाग्यो ।
“के हो नविनजी ? कतातिर हान्निएका ? जुत्ता पनि उल्टो लगाएका छौ ? कमिज पनि मिलेको छैन । हैन तिम्रो दिमाग त ठिक छ ? बिचरा सत्र वर्षसम्म जागिर खाँदा पनि न त पैसा कमाएका छौ, न त तिम्रो अर्को पद पाएका छौ । त्यसैले बिरक्तिएर पशुपति हान्निएका हौ कि के हो? अहिलेसम्म राजनीति गरेको भए कम्तीमा वडा सदस्य हुने थियौ ।”
आफ्नै गाउँको साथीले उसलाई असनभन्दा अलिक वर यसो भनेर झस्काइदियो ।
ओहो साथी नभेटेको भए त बित्यास पर्थ्यो । मेघावतीले के भन्थी होला ? एस्तो नाथे लुगा पनि लाउन नजान्नेलाई के माया गर्ने भन्थी होला ? मेघावतीको अंगालोमा कसिएर संसार बिर्सनु छ। यो नाथे जागिर स्वास्नीका चौरिएका गाला र बजारमा रन्किएको महंगी बिर्सनु छ । स्वास्नीले खोजी नीति नगर्ने भए र त्यो थोते सुपारे पनि नहुने हो भने आजको रातत मेघावतीसँगै काट्न हुन्थ्यो । आफ्नो पुर्पुरो नै अफागी । उसले मनमनै मेघवतीसँगको सम्भावित भेटलाई लिएर लेखा जोखा गर्यो ।
“हैन साथी नेपालको गनाएको राजनित पनि के गर्नु ? मलाई बेलुका भएपछि भट्टी र तरुनी हाँक्ने यहाँका बुद्धि नभएका नेता हुनु छैन । जे भए पनि स्वाभिमान छ,” उसले आफ्नो सफाइ दियो ।
“तिमीले पैसा कमाउन नसके पनि जाउलाको भरमा बाँचौला ? सिस्नो खाएर पनि यी लालाबालालाई राम्रो पढाउनु पर्छ ।” सधैं स्वास्नीले महिनाको आखिरीमा पैसा सकिएपछि यस्ता कुरा गरेको सम्झियो ।
“कहिले लाउन खान जानेकी भए पो हुन्छ ? धन्न फिक्का भए पनि चिया बनाएर दिएकी छ । स्वास्नी अलच्छिनी भएपछि प्रगति लोग्नेको हुदैन भन्थे हो रहेछ ।”
उसलाई स्वास्नीसँग फेरि रिस उठयो । साथीसँग बिदा भई फेरि मेघावतीतिर पाइला सार्यो । अहो, आज त मेघावतीलाई अतर किनिदिन्छु । उसको मन बिचित्रिएको छ । सात महिनासम्म मलाई माया गरेकी छ । अत्तर त केही हैन पैसा भए एउटा घर किनी दिन्थे, सानै भए पनि फिरफिरे मोटर किनिदिन्थे । सुपारेबाट हटाएर आफ्नी बनाउँथें । त्यो गन्हाउने छिंडीमा मेघावतीलाई कहाँ बस्न दिन्थे र? उसको मन मेघबती को मायाले रन्थनिएको छ ।
वीस वर्षसम्म कुनै गुनासो नगरेकी स्वास्नी बिर्सियो । दुई सय रुपैयाँ हालेर अत्तर किन्यो । एक महिनाको लागि चिनी किन्ने पैसा अत्तरमा खनायो । मेघावती खुसी हुनु नै ऊ खुसी हुनु हो ।
आज अरु दिनभन्दा आफ्नो घरदेखि मेघावतीको डेरा पुग्न बाटो लामो लागेको छ उसलाई । “हैन मान्छे पनि कति बढेका ? सडकै ढाकेर हिड्ने? फेरि समएमा डेरा नपुगेमा मेघावतीको पोइ सुपारे आइपुग्छ । सुपारेले थाहा पाए पनि पाओस । मेघावतीलाई आफ्नी बनाउँछु र स्वास्नी छोरा छोरी पनि छोडी दिन्छु ।”
यतिखेर नवीन अलिक तातिएको छ । उसलाई मेघावतीको कल्कलाउँदो उमेरले मत्त्याएको छ ।
घरमा मिठो मसिनो पाकेको बेला आफ्नो लागि नराखी लोग्नेलाई खान दिने, रात दिन छोरा छोरी समाल्ने स्वास्नीको चाउरिएको गालालाई ऊ मेघावतीको पोटिलो गाला मुसार्दै बिर्सन चाहन्छ ।
“सारा दुनियाले जे भनून, म मेघावतीलाई बिहे गरेरै छोड्छु ।”
उसले मेघावतीको डेराभित्र नपस्दै यी कुरा गर्यो र लामो स्वास फेर्यो । सरासर मेघावतीको कोठाको छेउमै पुग्ने लाग्दा कपाल मिलायो । कमिज ठिक पर्यो । पैन्ट पनि कस्यो । अत्तरलाई हातमा देखिने गरेर लियो र ढोका हान्यो । ढोका सुपारेले खोली दियो । सूपारेको गन्हाएको अनुहारलाई हानेर अगाडि जान मन लाग्यो ।
“के छ दाइ ? आउनु न,” सुपारे बोल्यो ।
उसले मेघावती देखेन। उसले दुई मिनेट पनि रोक्न सकेन र बोल्यो, “मेघावती बहिनी कता जानु भएछ ?”
मेघावती पान पसलेसँग भागिछ ? धुम पाताल खोजे हिजोदेखि खबर छैन । प्रहरीमा पनि भर्खरै खबर गरेर आएको । यति बोल्दा बोल्दै सुपारे भक्कानियो। नवीनले आफ्नो हातमा बोकेको अत्तर छाम्यो । मुटु दुखेको जस्तो भयो र सूपारेको अगाडि उभियो नविनकुमार ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *