म्यान्मा होस् वा भूटान — नेपालीहरू ठूलो जनसङ्ख्या जहाँ बस्छन् र व्यक्त–अव्यक्त दुःख झेलेर जीवन जिउँछन्, तिनका बारेमा बोल्दा वा लेख्दा हामी नेपालवासी सधैँ एउटा गल्ती गर्छौँ — हामी सहानुभूतिको दृष्टिले हेर्छौँ र भिक्टिम कार्ड उठाएर प्रस्तुत हुन्छौँ । यसो गरिरहँदा, उनीहरूले हजार कहर सहेर बनाएको इतिहास नेपथ्यमा पर्छ, र सधैँ उनीहरूको धूमिल र दारूण छविमात्रै सतहमा आउँछ । भूटान वा म्यान्माको नेपाली जनजीवनबारे धेरै लेखिएको छ नेपाली साहित्यमा, तर ती सबैमा यही दोष हावी छ । औँला भँचेर गन्न सकिने थोरै कृति नेपाली साहित्यमा आएका छन्, जसमा त्यहाँका मानिसहरूको यथार्थलाई भित्रबाटै बुझ्ने कोशिस गरिएको छ, र गौरवको कथा लेखिएको छ ।
केही सामान्य दोष भए तापनि युवराज नयाँघरेको पछिल्लो नियात्रा “तनक्खा” ले म्यान्माको नेपाली जनजीवनलाई तथ्यको निकट पुगेर चिहाउने कोशिस गरेको छ । त्यसैले, यो कृति म्यान्मा र त्यहाँको नेपाली जनजीवन बुझ्न खोज्ने पाठकहरूका लागि एउटा अनिवार्य गाइडबुक, र एउटा वस्तुपरक आँखिझ्याल पनि हो ।
पुस्तक नियात्राको हो । एक्काइसवटा छोटा छोटा पाठहरूसहित एकसय पचहत्तर पानामा फैलिएको यो कृति केही बर्मेली साथीहरूसहित तीन नेपाली श्रष्टा—युवाराज नयाँघरे, ऋषभदेव घिमिरे तथा अश्विनी कोइराले २०७५ सालमा गरेको म्यान्माको भ्रमणको इतिवृत्ति हो । भारतको पूर्वोत्तरी राज्य मणिपुरको बाटो, महुया खोलापारि म्यान्माको मोरेह र टमु हुँदै यङ्गुन, मन्डले, याङ्गुन, यकसक, टाँजी आदि स्थानको भ्रमणमा भएको उनीहरूको दैनन्दिनी र नेपाल फिर्तिलाई यस कृतिले विषय बनाएको छ । नयाँघरेको नियात्र लेखनको पेटेन्स शैलीमा कुँदिएको यस कृतिले ससाना र मिहिन अनुभव र अनुभूतिहरूको सुरुचिपूर्ण विवरणमार्फत् पाठकहरूलाई आफैँ यात्रा गर्दैगरेको अनुभूति दिलाउने ल्याकत राख्दछ । पुस्तकमा गरिएका वर्णनहरूलाई स्थानीय सूचकको रोहबरमा प्रस्तुत गरिएको छ, जसले पुस्तकको विश्वाशनीयता बढाएको छ । यस्तो नयाँ र कम लेखिएको क्षेत्रको विषयमा भावुकता र कल्पना भन्दा पनि तथ्यगत सत्यता र वस्तुपरक मूल्याङ्कन नै विशिष्ट हुने कुराप्रति लेखक नयाँघरे सचेत छन् । त्यसैले, यस पुस्तकले साहित्यिक आनन्दलाई मात्रै आफ्नो अभीष्ट बनाउनुभन्दा पाठकहरूका लागि एउटा मार्गचित्र प्रस्तुत गर्ने पनि जमर्को कसेको देखिन्छ ।
मिहिन र ससाना विवारण र सूचना धेरै छन्, जसको विश्लेषण यो सानो समीक्षामा सम्भव छैन । मूलभूत रूपमा कृतिले म्यान्मा–भारत सिमाना नजिकै रहेको बर्मेली सहर टमूदेखि, म्यान्माको मध्यभाग हुँदै पुनः टमूमै आएर टुङ्गिएको यात्राविवरणलाई समेटेको छ । यात्राको बीचमा आउने मन्डाले, मोगा सहर, जगाई सहर, यकसक, आउँबाल, कवल, पैताला ताल, मोआऊ, लेदो, टाउँजी, नम्पान, ऐरावती, मिचिना, मखान्ती, मेखा–मलिख दोभान, कचिन, रङ्गुन, मोगोक तथा नाङफालौँ जस्ता क्षेत्रको नेपाली बसोवास, जनजीवन, जीविका, सुखदुःख, गौरवगाथा, कलासाहित्य र संस्कृतिलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।
म्यान्मामा नेपालीहरूको प्रवेश शताब्दिऔँ अगाडि भारतको बाटो हुँदै प्रवेश, त्यहाँको कृषिक्रान्तिमा उनीहरूको भूमिका, सन् १९४० को दशकमा पश्चितिर अघि बढ्दैगरेको जापानी सेनासँगको प्रतिकारमा नेपालीहरूले देखाएको शौर्य र पाएको सहादत, त्यहाँ भएका विविध राजनैतिक परिवर्तनहरूमा नेपालीको अवस्था, नीलमको व्यापार र पछिल्लो समय त्यहाँबाट थाइलेन्डतिर बढ्दैगरेको पलायन आदि विषयलाई कृतिले रोचक ढङ्गले उठाएको छ । पुस्तकले नेपालीहरूको एउटा वैश्विक स्वभावमा पनि विशेष बल दिएको छ । सो के भने, नेपालबाहिर नेपालीहरू जहाँ पुगेका भए पनि, जुन मुलुकमा बसे, त्यस मुलुकका विरुद्ध बगावत र अल्गाववादी हर्कत कहिल्यै पनि गरेनन् । बर्मामा पनि बर्माको अखण्डताप्रति सदा वफादार रहे, र त्यसको रक्षाका लागि लडि नै रहे ।
त्यहाँका नेपालीहरूका चार विशेषता कृतिले मूलभूत रूपमा सतहमा ल्याएको छ । पहिलो हो उनीहरूको पहिरन, रहन सहन र जीवनशैली । यसैमा “तनक्खा” अर्थात् अनुहारको सुरक्षाका लागि दलिने एक प्रकारको चन्दनको उल्लेख गरिएको छ, जुन कला नेपालीहरूले बर्मेलीहरूबाट सिके । पुस्तकको शीर्षक यसैबाट राखिएको हो । यसैगरी, म्यान्माका नेपालीले लगाउने गरेका लुगा, खाने गरेका भोजन, र बनाउने गरेका घरको बारेमा पनि मिहिन ढङ्गले लेखिएको छ । यसो गरिरहँदा, नेपाली जनजीवनले अझैँ पनि नेपालकै रहनसहनलाई कायम राखेको, र बर्मेली प्रभाव न्यूनतम रहेको सत्य बुझिन्छ । बर्मामा पाइने नेपाली घरको बारेमा लेखिएको छ, “आँगनको एक कुनामा तुलसीको मठ छ । ढोकामा नाग टाँसिएको छ । गोबरको सुकेको कटकटी दाग नागभरि लतपतिएको छ । घरलाई चँदुवाले घेरिएको छ । मूल ढोकामास्तिर लेखिएको छ ॐ ।”
दोसं्रो, पुस्तकले बर्मेली नेपालीका बौद्धिक एवं सांस्कृतिक उपक्रमहरूको बारेमा राम्रो जानकारी प्रस्तुत गरेको छ । जुन्ता सरकारको दबदबा रहेको बेला धार्मिक सङ्गठनहरू खोलेर त्यसैको आडमा शिक्षा र साहित्यलाई पनि अगाडि बढाउनुपरेको बाध्यात्मक यथार्थ यस पुस्तकको अध्ययनपछि थाहा हुन्छ । यस सँगसँगै यहाँका नेपालीले नेपाली पहिचानको संरक्षण गर्नका लागि बचाएको भजनकीर्तन, खाँडो, देउसी भैलो, भाषा र साहित्यले सबै पाठकलाई अनौठो प्रेरणा दिने निश्चित छ । भनिएकै छ, “नेपालीको साँचो संसार कतै बाँचेको भए बर्मामा मात्रै होला ।” अर्को एक ठाउँमा रबिलाल पौडेललाई माध्यम बनाएर भनिएको छ, “बर्माले थामिरहेको छ चाडबाड ।” बर्माभरि नेपालीहरूले २८० भन्दा बढी मन्दिर बनाएका छन्, र गुम्बा र चैत्य निर्माणका लागि पनि दान दिएका छन् भन्ने तथ्यले यस कुरालाई पुष्टि गरेको छ । आखिर, पुस्तकले सूचित गरेअनुसार आफ्नो कमाइको तीन प्रतिशत त स्वतस्फूर्त दान गर्ने परम्परा बर्मामा छँदै छ । यसैसँग, धर्मसंस्कृति थामेर बसे पनि गलत परम्परा र रुढीवादलाई बर्मेली नेपालीहरूले हटाउँदै लगेको कुरा पनि गरिएको छ । ऐरावतीमा नेपालीहरूले स्थापना गरेको एउटा देवीथानको चर्चा गर्दै भनिएको छ, “देवीथान भए पनि बलिप्रथा छैन ।” उता मन्डेलामा त भानुभक्त आचार्यको सालिक नै बनाएका छन् । बरू नेपालतिरै हराउँदै गएका कतिपय सांस्कृतिक निधिलाई बर्मेली नेपालीले बचाइरहेका छन् भन्ने कुराको बोधले नेपालभित्रका पाठकलाई केही हदसम्म लज्जाको अनुभूति पनि गराउने छ ।
तेस्रो, यस पुस्तकले गौपालन तथा कृषिकर्मबाट नेपालीहरूले म्यान्माको उन्नतिमा कसरी टेवा पु¥याएको छन् तथा म्यान्माको इतिहासमा त्यस मुलुकको गौरव बढाउनका लागि कसरी योगदान पु¥याएका छन्, त्यो कुरा यस पुस्तकले दर्शाउँछ । भनिएको छ, “गोरखालीले नै बर्मिजलाई दूधदहीको स्वाद चखाएका हुन् ।” तर, कृषि र गौपालनका कामको स्वभावले नै नेपालीहरूलाई एक स्थानबाट अर्कोमा सरिरहन बाध्य पार्दछ, जुन बर्मेलीनेपालीको पनि यथार्थ हो । पुस्तकमा भनिएको छ, “नेपालीहरूले यता पनि गरी खान यताबाट उता र उताबाट हिँडिरहनुपरेको छ ।”
नेपाली समुदायका यी स्वभावका अतिरिक्त पुस्तकले बर्माकै कतिपय तीतामीठा यथार्थहरूलाई पनि कारुणिक ढङ्गले उदिनेको छ । बाँसमा पकाइएको गिलो भात र चामलको चाउमिन अर्थात “लपेतोक” खाने बानी तथा छोरीले ज्वाइँ ल्याउनेजस्ता केही विशष्टि बर्मेली परम्पारा पनि रोचक ढङ्गले प्रस्तुत गरिएको छ । चिनियाँहरूको थिचोमिचो, यहाँको जमिनमाथि उनीहरूको कब्जा, जमिनको उन्नत कृषि उपजमाथि उनीहरूको हैकम, बच्चा जन्माउनकै लागि बर्मेली महिलाहरूको चीनमा बेचबिखन आदि विषय पनि पुस्तकले समेटेको छ । बर्माभित्रैचाहिँ प्रजातान्त्रिक भनिएको सरकार सत्तामा भए पनि सबैतिर सेनाकै हैकम चलिरहेको यथार्थ पुस्तक पढेपछि थाहा हुन्छ । बजारदेखि घरसम्म हरेकतिर, हरेक काममा महिला अघि सर्ने बर्मेली स्वभाव पनि रोचक लाग्छ ।
पुस्तकले बर्मेली समाजको पछिल्लो अवस्थामा बढ्दैगरेको पलायन, राजनैतिक अस्थिरताका बीचको विचलित मानसिकता तथा पुराना र नयाँ पुस्ताका बीच बढ्दै गरेको पुस्तान्तरका कारण खतरामा पर्दै गरेको नेपाली संस्कृतिलाई पनि विषयवस्तु बनाएको छ । अन्तरजर्तीय विवाह र सांस्कृतिक अन्तरघुलनका कारण यो समस्या आएको हो । पुस्तकमा अमितलाई उद्धृत गर्दै अन्तर्जातीय विवाहका सम्बन्धमा भनिएको छ, “हिजोआज त्यो सङ्ख्या बढिरहेको छ । यसले गोरखाली संस्कृति, धर्म, परम्परा नासिने सङ्केत म देख्छु । नयाँ पुस्ता त बेस्सरी अन्तर्जातीय बिहेतिर लागिरहेका छन् ।”
पुस्तकमा केही सीमा पनि छन् र केही तथ्यगत त्रुटि पनि । “मोओऊदेखि लेडोसम्म” शीर्षकको निबन्धको सुरुमै “गोरखाली कि नेपाली” भन्ने प्रश्नबाट विषय उठान गरिएको छ, तर यसलाई कुनै तार्किक अथवा सैद्धान्तिक नश्किर्षमा नपु¥याई छोडिदिएका छन् । यात्रामा निस्केका तीनजनामध्ये कसैलाई निकै महत्व, कसैलाई कतैतिर चुस्स नाम लेखिदिएर अन्यत्र नेपथ्यमा राखिएको छ, जसले लेखकले चित्त सानो गरेको आरोप लगाउने ठाउँ दिन्छ । आजको म्यान्माका ज्वलन्त समस्यामा मूलतः ओङसाङ सुकीको विवादास्पद स्थिति र रोहिङ्गिया मुसलमानको समस्याबारे चुस्स छोएर मात्रै लेखक भागेका छन् । बर्मा लागुपदार्थ तस्करीको एउटा ठूलो केन्द्र हो, जुन विश्वका लागि एउटा टाउको दुखाइको विषय बनेको छ । यो सत्यलाई पुस्तकले दरकिनार गरिदिएको छ । अन्तर्राष्ट्रिय चासोको यी विषय धेरै नै महत्त्वपूर्ण छन्, र यी विषयले बर्मेली नेपाली समाज कसरी प्रभावित छ, त्यस बारे नयाँघरेको छोइकाँडे काइदा पर्याप्त लागेन ।

Source: Writer

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *