——————————————————
प..र, त्यो क्षितिज मुनि एउटा सुन्दर गाउँ छ
पहाडको काखमा हुर्केको सानो मेरो घर छ
घर माथी वरपिपल
अनि,
आँगन मुनि अमिलोको फेदमा
लड्दै चढेका ती लहरा अनि, तोरणमा
कहिले बासँगै मिलाउँदै खेतका आलीमा
कहिले आमासँगै घाँसदाउराका भारीमा
सबैसँग प्रित छ, नछुट्टिने मीत छ
उकाली ओराली भञ्ज्याङ् अनि, चौतारीमा
संगीसँगै बग्दैबग्दै नागबेली खोलीमा
भाइको पछिपछि ती चिसा बगरमा
कहाँ छ र स्वर्गको टुक्रा…
रातो माटोले लिपेको सानो संसारमा
माटोले लिपेको सानो संसारमा
बर्खा होइन
धेरै हिउँद गए
कोहि राष्ट्रवादी गन्दै आए
कोहि लम्पसारवादी भन्दै आए
कोहि गुटगुट मिलेर आए
कोहि बिदेशी दानापानी लिएर आए
कहिले सिंहदरबारको नाउँमा
कहिले बिकासको तगारोमा
कहिले झुठो दुरदर्शीको जालमा
कहिले सुखी नेपालीको नारामा
मेरै खोलाको बगर नाप्न थाले
ढुङ्गामाटो केहि नराखी सबै बेच्न थाले
घर माथीको वरपिपल ढलाएर
मेरै आँगन खन्न थाले
खन्न थाले
जबसम्म
उसका अस्थिपन्जर थाक्दैनन्
माटोले पुरिएर दुईचार चौपाया मर्दैनन्
सहरमा ठुलाठुला महल बन्दैनन्
साना ठुला मरे कसैलाई टेर्दैनन्
बर्खे झरीमा मात्र हो हिउँदमा चल्दैनन्
बर्खे झरीमा मात्र हो हिउँदमा चल्दैनन्
तर, दुईदिन मात्र भो, साँइला दाइ
त्यो पातलो आकाशमा बादल बसेको
माथिबाट घरीघरी चिहाउने मेघ गर्जेको
बर्षाका कणकणले मलाई जिस्काको
छानो माथी रुँदैरुँदै न्याउली उडेको
मेरै खोलीनाली उठेर मलाई हेरेको
रोपाइँको भाका भोलिलाई, साँइला दाइ
बीउ बाँधेर बुवा सपनामा हराउनु भो
रोपार, बाउसे, हली आमाले खोज्नु भो
`भोलि खेल्ने है,बाबू´
आहा! भोलि बिहानीको पर्खाइमा
साथिभाइ सँगै रमाइलो रोपाइँमा
बाबू पनि लुटुपुटु आमाको काखैमा
आधा जिन्दगी कटिसक्यो
नाता कुटुम्ब जोडिसक्यो
झरीसँगै फुलिसक्यो
सपनाको बिजनमा
मानो रोपी मुरी फलाउने सानो खेतैमा
मानो रोपी मुरी फलाउने सानो खेतैमा
तर त्यो रातले बिहानी समात्नै पाएन
झरीले हानेको त्यो फूल फुल्नै पाएन
सपनीबाट त्यो संसार बिपनीमा आएन
रोपेर आफ्नो खुशी गोड्दागोड्दै
शीतल सुनौलो बिहानी कुर्दाकुर्दै
भबिस्यको मिठो नक्सा कोर्दाकोर्दै
आफ्नै आँगन भासिन थाल्यो
ढुङ्गामाटो सबै हल्लिन थाल्यो
अनि, त्यो सानो संसारले
ठुला पराकम्पन थेग्नै सकेन
गाईबस्तु, मेरो खुशीले
रातो घरको त्यो भित्ताले
बगेका ती भेल रोक्नै सकेन
कति खेर आफ्नै आँगनमा मिसिसकेछ
बुवाका सपना अनि, आमाको मिठो काख
कति खेर निर्दयी भेलसँगै बगिसकेछ
भाइसँगै मेरा सासले
तीतामिठा हाम्रा आशले
निन्द्रा देवीसँगै बैकुण्ठ तरिसकेछ
निन्द्रा देवीसँगै बैकुण्ठ तरिसकेछ
रुवाएर गयो, साँइला दाइ
बगेका ती किसानहरुले
उसका आँसु, उसका सपनीले
छिमेकीका बलिया बाँधहरुले
चुनाव ताका झुल्किने छाँयाहरुले
हो!
त्यही छाँया आकाश थर्काउदै आए
टाई सुटमा सजिएर
परैबाट हाम्रो दुर्दशा हेरेर
आकाश थर्काउदै फेरि उतै फर्किए
भिजेका ती मकै गेडी सम्झ्दै
कहिले रुँदै, कहिले भक्कानिदै
अझै आश सिँघार्दै छु, साँइला दाइ
शरीरमा एक सर्को लुगा भिरेर
मनभरी यादको भारी बोकेर
मरेको त्यो देशको बाटो हेरेर
मरेको त्यो देशको बाटो हेरेर
मरेको त्यो देशको बाटो हेरेर…।।
मनिष प्रजा
२०७७-०४-०२
-Advanced college of engineering and management