बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म त्यसको मुख हेर्दिन ।”
“यदि तैले त्योसँग भेट्ने कोशिस गरेको थाहा पाए भने मेरो मरेको मुख देख्लिस् अनि गाउलेले लोग्ने टोकुवी भनेर तँलाई बस्न खान नदेलान् ।” सनकेले सासै नफेरी बोल्यो र आँखाबाट तरक्क दुई थोपा आँसु झार्यो । 
“छोरीलाई पनि छोरा सरह दुध भात खुवाएर, वनपाखा, मेलापात केही गर्न नलगाई पालेको अहिले देखाई । भन्न त साथीभाइ, छरछिमेक र मामाखलक जम्मैले भनेका थिए, छोरीलाई अहिले पुलपुल्याएर राख्यौ भने एक दिन मसानघाट पुराउछे भनेर । हुन पनि मर्दै नमरी मसानघाट पुगेकोभन्दा पनि बढी पीडा भएको छ ।” सनकेले आफूभित्र गुम्सिएको कुरालाई असन्तुष्टिका साथ फेरि पोख्यो । 
मैले पनि प्याच्च भने, “केको छोरीलाई दूधभात खुवाएर पालेको भनेर गफ दिन्छौ काका ! तल्लाघरे दमाईले सातओटी छोरीलाई समेत कसैकोभन्दा कम नगरी, बाहिर काममा नपठाई पालेको छ भने तिम्रो एउटी छोरीलाई दूधभात खुवाए भन्न त लाज मानुपर्छ नि । घरको काम कसरी गर्थीन दिदीले । आँखा झिमिक्क गर्दा खाना पाकिसक्थयो । अस्ति मात्रै मेरी दिदी सालको पात टिप्न झरेका दिन भन्दै थिइन्– सनेकेले छोरी त जन्माएको रहेछ । कति मीठो भान्छा बनाएकी ? जति खाए पनि मुख मिठ्याइरहने । आफ्ना छोरीहरू त भान्छा बनाउन र लिपपोत गर्न भनेपछि सात हात पर उफ्रिएर भाग्छन् । न बोलीवचन मीठो छ । गाउ घर वरपर सबैसँग झगडा गरेर बसिटिक्नु छैन भनेर गुनासो गर्थिन् । तिम्रो छोरी घर सफा गर्ने, लुगाफाटा धुनेदेखि अगेनामा बिस्कुन सुकाउन समेत एकै मेसोमा सक्थीन । तिमीले जाडको धुनमा बिर्सेको हो कि क्या हो, अस्तिको महिना मात्रै पल्लाघरेदाइकी कान्छी छोरीको बिहे उतारेकी । पहिला परेली अगाडि नराखी खाएको पच्तैनथ्यो भन्थ्यौ अहिले केको बाह्रसत्ताइस कुरा गर्छौ ? उमेर थियो, आफैले रोजेर गई, के भो त बिहे गर्ने झन्झट नै हट्यो ।”
मैले पनि रिसाएर छेड हाने । 
मेरो कुरा सुनेर सनेकेकी स्वास्नी पनि अलिक रन्किएर भन्न थालिन्, “हो नि कमली, तैंले ठिकै भनिस् । मलाई दुःखचाहि लागेको छैन तर कस्तोसँग लगन गाँसिछ भन्ने चाहिं लागेको छ ।”
उनले पनि सासै नफेरी बोलिन्, “हुन त मेरो लोग्ने सनकमान नै अघि सरेर मेलोमेसो गरिदिने भएकाले पनि गाउका सबै आइमाई केटाकेटीहरुले उसलाई सनकमान सर भनेर बोलाएको मेरै कानले हजारपल्ट सुनेकी छु । हुन त उसले छोरीको उमेर पुग्यो, बिहे गरिदिनुपर्छ भनेर रातोदिन कान दुख्ने गरेर बोलेको कुराले अहिले भने मन चसक्क चस्किएके छ । त्यति बेला मैले पनि त्यति ध्यान दिइन । सत्र वर्षकी कलकलाउदी, हेदा छातीमा राखिरहूजस्ती छोरी हाटबजार लैजादा पनि उमेर पुगेका केटाले नहेरेको दिन हुदैनथ्यो । गाउ भरिका उमेर पुगेका र ठगेर खान पल्केका हरिलठक समेतले छोरीलाई जिस्क्याउदा भने मेरो कन्सिरी तातेर आउथ्यो । भर्खरै मात्र दस पास गरेकी छोरी पोइल जान्छे भन्ने त सपनामा पनि सोचेको थिएन । झट्ट हेर्दा कसैले पनि बाह्रतेह्र वर्षभन्दा माथि उमेरकी भन्दैनथे । हुन त जन्मेको सालदेखि जति नै गरे पनि मेरो दूध खान भने उसले पटक्कै मानिन । गाईको दूध मात्रै खाएर हुर्किई । मकैको भात र ढिडो मुखैमा नहाली खालि जाउलको र खरिको भरमा हुर्किएर बढेकी भएर पनि होला अनुहार धपक्क बलेको थियो”। 
छिमेकी काकीले दुखेसो पोखिन् र भक्कानो छुटाएर आँशु झारिन् । 
मेरो मन पनि बिरक्त भयो र झ्याल खोले । बाहिर सानातिना केटाकटीहरू स्कुल सकेर दौडिरहेका देखिन्थे । साझको ५ बजिसकेको छ । उफ मैले सोच्तै नसोको, कल्पना नै गर्न नसकेको घटनाजस्तै भएर सनेके काकाकी छोरीले बिहे गरेको कुराले दिमागलाई रनथनाइदिएको छ । केटाकेटीहरुको भीडमा म उनकी छोरीलाई पो खोज्न थालेछु । हेर्दाहेर्दै सानासाना केटाकेटीहरुका अनुहारहरू पनि उनकै छोरीकै अनुहारमा बदलिएको जस्तो भान पर्न थाल्यो । हत्तपत्त मैले झ्याल बन्द गरे । मेरो स्वासप्रस्वास थाहा नै नपाई एकदमै छिटो चल्न थाल्यो । फेरि सनकमान काकाले देख्लान भन्ने डरले मजेत्रोले मुख छोपेर खुब रोए । 
“कमला, एक बारको जीवन, मरेर जाने यस्तो जीवन छ । किन पीर गरेकी ? जति सकिन्छ उति नै खुसी पो हुन सक्नुपर्छ त । तिमीले दिदी लै जतिनै सम्झे पनि आउदिनन । आफ्नो बारेमा सोचेर दुख मानेर आङको मासु सक्नुबाहेक र भएभरका रोगलाई निम्त्याउनु बाहेक के पो नयाँ चमत्कार हुन्छ र ? तिमी त देश बिदेश खाएकी मान्छे पिर नगर । भगवान नै त हुन् हर्ताकर्ता, आन्नदाता ।”
सनके काकाकी छोरीले अस्तिको बुधबार मात्रै यी कुराहरू गरेर चकित बनाइदिएकी थिई मलाई । यति सानी केटीले सत्तरी वर्षका पाकाले जस्तै कुरा गर्छे भन्ने त मेरो दिमागले सोच्नै सकेको थिएन । बूढापाकालाई शुद्ध के बोल्दा के हुन्छ भन्ने हेक्का हुदैन भने यति सानी बच्ची घर र पल्लाघर गरेर खाने उमेरमा पनि गम्भीर पो भइछे भनेर म त झनै चकित भएकी थिए । 
“कमला, मलाई साना केटाकेटी असाध्यै मन पर्छन् । त्यसैले स्कुलतिर पढाउनुपर्छ कि भन्ने लागेको छ । हरि सरले भन्दै थिए, त्यो गाउको स्कुलमा नयाँ शिक्षक शिक्षिका चाहिएको छ रे, एक चोटी गएर हेर्नुपर्छ कि ? भनेका छन् म, के गरुँ ? मलाई साच्चै हो, घरको थाङ्ने काम मात्रै गर्न मन छैन ।”
मेरी छिमेकी दिदी मखमलीको यी कुरा मलाई एकदमै मन परेका थिए । ऊ भन्दै गई, “सहरमा केटीहरू त आइ.ए., बि.ए पढेर, ठुलाठुला जागिर खाएर, चस्मा लगाएर हिडछन् रे । हाम्रो जस्तो पाखामा चाहिं सोह्र नकाटी बिहे गरिदिने हतारो चल्छ । त्यसैले त पति नरमाया दिदीको लोग्नेजस्तो पाइयो भने पनि सहेर पासो लाग्नुबाहेक अर्को केही उपाय रहदैन । म त आफ्नै बलबुतामा बढ्न चाहन्छु ।”
मखमली मेरो काखमा लुटपुटिदै बोलेकी थिई । मैले पनि भनें, “तेरा कुरा मलाई मुटु नै छोएझै हुन्छ नि, काम पाइस् भने त अँध्यारो रातमा दियो बालेजतिकै भइहाल्छ नि । दुई चार रुपिया तेरो घर भित्रिनछन् । पछि तेरो बुबा आमाले पेवा बनाई देलान् ।”
मखमलीलाई यति भन्दा म पनि गम्भीर भएकी थिए । असाध्यै उज्यालो, रातो, हरियो र बट्टे गुन्युचोलीमा त कुनै घरानकी छोरीभन्दा कम देखिन्नथी मखमली दिदी । कपाल चट्ट रिबनले बाधेका बेला, गजल र पाउडर लगाएको बेला, अस्ति सन्धिखर्कका भिनाजुले ल्याइदिएका टिलिक्क टल्कने मोजा र जुत्ता लगाउदा त मखमलीको अगाडि मै हुँ भन्ने सुन्दरीले पनि पछि हट्नुपर्छ भनेर हरि सर घर आएका बेला जिस्क्याउथे । म अहिले सम्झदै छु । 
“हैन, बिहेको कुरा दिनमा पन्ध्र चोटि आउन थाले । बढेकी छोरी, घर गरेर खाने भैसकी । म त तँलाई बिहे पो गरेर दिऊ जस्तो लागेको छ ।”
अस्ति दसैँ ताका मखमलीको बाबु सनकमानले कोदालीको बिड ठोक्तै अगेनामा बलिरहेको आगोलाई छोएर भनेको अहिले जस्तो लागेको छ । काठमाण्डौबाट मधुकर भर्खर आएका रहेछन् । यति सानै उमेरमा म्याट्रिक पास गरेर आइ. ए.,बि.ए. पनि एउटै विषय नलागि पास गरिसकेछन् । जुगाका रेखी भर्खर मात्र बस्न सुरु गरेका रहेछन् । मलाई त राम्रो पो लाग्यो । गाउमा हल्लिएर हिड्नेलाई त आफ्नी छोरी कहाँ दिन्छु र ? सनकमानले पाखुरी तल झरिसकेको दौरा माथि सार्दै बोलेको थियो । 
मखमलीले पनि प्याच्च बोलिहाली, “मैले बिहे गरे पनि म त तपाईहरुलाई सँगै राख्छु । भाइ सानै छ, बढेपछि पनि के भर छ र ? अर्काकी छोरी ल्याएपछि ठिक मान्छे पनि बटारिन्छन् । हाम्रो जीवनाथको छोरालाई हेर्नु न । कसरी बिहे गरेर वर्ष दिन पनि नपुग्दै बाबुआमालाई शीतलपाटीमा लगेर राखिदिएको थियो ? जीवनाथ ठूलो बुबाले बाह्र घण्टाको बाटो नून खेपेर छोरालाई पढाएका थिए । आमाले दस जनाको घर गएर भाडा माझेको परिश्रमले ल्याएको चामल पकाई पकाई छोरालाई गर्दन लाग्ने बनाएकी थिइन् । अहिले तिनै जुनताराजस्ता बाबुआमालाई शीतलपाटीको बास गराए जीवनाथको छोराले । त्यसैले भाइले पनि आफ्नो मति बिगारेर त्यस्तै भयो भने के गर्ने ? त्यसैले तपाईहरुलाई बिहे गरेकै घरमा लगेर पाल्छु ।”
मखमलीले बोलेका यी शब्दहरू रामवाणीजस्ता भएर छिमेकी काका काकीको कानमा गुन्जिरहेका थिए । 
“के हो मखमली कि आमा ? छोरीले त नाक काटिछ नि ? खुब मेरी छोरी यस्ती र उस्ती भनेर गर्दन फुलाउँथ्यौ । गाउँ नै हसाएर लोग्ने टिपेर हिडिछ त ?”
मेरी काकी पर्ने तीर्थमाया सुनुवारले यी कुराहरू गरेर सनके काकाको दुखिरहेको घाउलाई चर्काउने काम गरिन् । म भित्र भान्छा गर्दै थिएँ, उनी पिढीमा ओछयाएको सुकुलमाथि सानो राडी बिछ्याएर बस्दाबस्दै यी कुरा ओकलिन् ।
“पोहोर साल तल्ले सार्कीकी जन्तरी छोरी पोइल जादा कसरी पाखुरा सुर्की सुर्की चुक्ली लाएका थियौ जोरीपारीका अगाडि ? अब त खायौ होला नि आफ्नै छोरीले दुनिया हसाएपछि त ?”झगडा गर्ने सुरमा काकी बोलिन् । 
“हैन काकीआमा, तिम्रा पनि छोरी छन् । हेरौंला नि तिनीहरुको चाला पनि । घरमा बढेका चेली हुनेले अर्काकोमा गएर बात लगाउन त हुँदैन नि गाँठे? सनके काकाले पनि त्यो सार्कीको छोरी पाइल जादा वनपाखा गर्दाका भाइहरुलाई बाहेक कसैलाई काखी बजाउदै हिडेको मैले देखेको थिइन । त्यसै नभएको आरोप त लगाउन पाइँदैन नि मुख छ भन्दैमा । त्यस्ता मुख त हाम्रा पनि छन् । कुनैकुनै कुरा त आफूलाई राम्रो नलागे पनि बोल्न हुदैन के”? मैले पनि प्रतिरोध गरिहाले ।”
“के हो, बाहिर निस्केर घरमा पाहुना लाग्दा पनि मुन्टो ननिकाली बोल्ने यो कमली ? दुई चार विषयमा बढी पढे भनेर हामीलाई नगनेकी ? के तेरो घरमा अन्न खान आएकी छु र ? आफ्नो त तन नै सफा, मन नै सफा छ, त्यसैले पो त, हैन भने किन यसरी मन काटिनथ्यो र ?”काकीले आफूलाई लागेको कुरा सुनाउदै भनिन । 
“तन र मन सफा हुनेलाई फेरि मन किन काटिनुपर्थ्यो र ?” मैले बाहिर निस्कदै बोलेकी थिएँ । उनी आँगनको डिलमा रहेको तुलसीको मोठलाई नमस्कार गरेर रामराम भन्दै भनिन्, “आँगनमा नै आइसकेका पाहुनालाई खुवाउन पर्दैन कि क्या हो ? यसो तातो केही छ भने खाऊ न । हैन, घरमा आएका पाहुनाले नै मागेर खानु परेपछि त के ठूलो कुरा भयो र ?”
काकीआमाले लाजमर्दो पारिन् । सनके काका र काकी पनि बाहिर गुन्द्रीमा बसेर मकै र गुन्द्रुक साधेर खादै थिएँ । 
“मैले गाइँगुइँ सुनेको, त्यही हरि सरसँग मखमली भागी रे । राम्रै भयो नि बि.ए., आइ.ए. के पढेको रहेछ । अहिलेसम्म कसैले चरित्रमा औलो ठडयाउन नसकेका, जाड र रक्सी नछुने । त्यसैले त्यस्तो केटो त धुइँपातल खोज्दा पनि पाइदैन । जे गरी राम्रै गरी”। काकी आमाले सनकमान काकातिर फर्कदै कुरा गरिन् र मैले लगिदिएका मकै र चिया खान थालिन् । 
सनकमान काका र काकी मतिर हेरेर मुसुक्क हाँसे । किनभने मलाई थाहा थियो हरि सर नराम्रो मान्छे हैनन् र मखमलीलाई अलपत्र पार्दैनन् भन्ने । म पनि मुसुक्क हाँसे । हामीहरू एकअर्कालाई हेरर हाँस्य्यो । 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *