यो एउटा छोटो कथा यहाँमा समर्पित ।
अवमूल्यनमा बाँचेको जिन्दगी

डाक्टरले दुईवटै किड्नी फेल भएको प्रमाणपत्र दिइसकेको छ मलाई तर मृत्युले मलाई प्रवेश दिइसकेको छैन । ऊ निषेध गरिरहेछ । कष्टपूर्ण जीवनबाट उन्मुक्ति पाउन पाए कति आनन्द हुन्थ्यो होला ? आखिर एक दिन सबैले मर्नै पर्छ । उत्पीडित जीवनको भारले थिचिरहनुभन्दा त मुक्तिको बाटो नै आनन्ददायक हुन्थ्यो होला । जीवन सधैँ अवमूल्यनको धरापमा छ । यसैले मृत्युले पछ्याउन नसकेको होला अथवा यसो भनौँ पछ्याउने इच्छा नगरेको होला । स्पष्ट शब्दमा भन्नुपर्दा मेरो जीवनले अवमूल्यनको चक्की खाँदा–खाँदा शरीर नै अवमूल्यनमय भएर गन्हाइरहेको होला । त्यही गन्धले गर्दा मृत्युछेउ पर्न नसकेको होला ! किन र कसरी ऊ मलाई अवमूल्यन गरिरहेछ ? म भन्न सक्ने अवस्थामा छैनँ ।
सबैका विगतका संस्मरणहरू अतीतको चाङमा थुप्रिएका हुन्छन् मेराजस्तै । आज म त्यही ठेलीबाट एक–एक गरेर अवमूल्यनमा परेका घटनाहरू निकालेर सुनाउन गइरहेकी छु ।
आजभन्दा सात वर्षअघि अफिसमा मैले पुरस्कार पाएको दिन । सायद मैले यसरी पुरस्कार पाउँछु भनेर कसैले सोचेका थिएनन् । त्यसैले जब पुरस्कारको घोषणा भयो, त्यस बेला धेरैका आश्चर्यमिश्रित आँखाहरू ट्वाल्ल परेर हेरेका हे¥यै भए भने कतिका एकबित्ते जिब्रो दुईबित्ते भए, कतिका लेख्दालेख्दैका गरेका हात रोकिए भने कतिका बोल्दाबोल्दै गरेका मुख बाएकोबाएकै भए । यस्ता प्रतिक्रियाका कारण मैले आफूले आफैँलाई अवमूल्यन गर्न पुगेँ र पुरस्कार पाउँदा पनि विभिन्न शङ्का–उपशङ्काका पोखरीमा डुब्दै–उत्रिँदै गरेकी थिएँ त्यस बेला ।
सहकारी संस्थाहरूले लाखौँ रुपियाँ ठूलो रिस्कमा लगानी गर्छन् । यस्तै लगानी गर्ने क्रममा लाखौँ रुपियाँ डुब्न लागेका बेला मैले सही मौकाका सही मान्छे समातेर सहकारीलाई डुब्नबाट बचाएँ । यो कुरा कतिपयलाई थाहा थिएन । मिटिङमा एमडीले भन्दा पनि कसैले खासै प्रतिक्रिया दिएनन् । त्यत्रा सक्षम पुरुषहरूका अगाडि म साधारण सुब्बासरहको महिलाले एमडीको प्रशंसा पाउनु भनेको अरूका आँखामा सिउँडीको झोल हाल्नुसरह थियो । मैले त्यसलाई सामान्य ठानेँ । पुरस्कार नै प्राप्त भएपछिका प्रतिक्रियालाई भने सामान्य मान्न सकिनँ । मभित्र अनेकौँ क्रिया र प्रतिक्रियाका द्वन्द्व चले ।
मैले पुरस्कार पाउँदा किन त्यस्तो भएको होला ? कसै न कसैले पाउने पुरस्कारमा म पर्नु्हुन्नथ्यो र ? मेरो योग्यता पुरस्कार पाउने स्तरको थिएन र ? म अचम्मित बनेकी थिएँ । सरकारी कार्यालय भए कुनै हालतमा मैले पुरस्कार पाउने थिइनँ । किनभने हातखुट्टाका औँलामा गनिनसक्नु पार्टीका नेताका प्रेसर सरकारी कार्यालयले थाम्न सक्ने थिएन । तर प्राइवेट कार्यालय भएकोले त्यो प्रेसरको बोझ बोक्नु परेन । यसैले पाएँ हुँला भन्ने मेरो अनुमानका विपरीत साथीभाइले नै मेरो योग्यताको अवमूल्यन गरिरहे ।
विवाहअघि पनि मेरा पूर्वप्रेमीले यसरी नै मेरो प्रेमको अवमूल्यन गरेका थिए । हाम्रो प्रेम युद्धस्तरको तयारीमा अघि बढिरहेको थियो । त्यसले भेटघाट र घुमघामका तगाराहरू नाघिसकेको थियो । म्याराथुन दौडमाझैँ विजयी बन्न रातो झन्डा बोकेर हामी मैदानमा दौडिरहेका थियौँ । लगनगाँठोमा बाँधिएर सफलताको झन्डा गाड्न मात्र बाँकी थियो । हेर्दाहेर्दै ऊ मेरैअगाडि अर्कीको अँगालोमा बाँधिन पुग्यो । बेला–बेला ऊ ममा बौद्धिकता नभएको टिप्पणी गथ्र्यो । त्यसैले यो निष्कर्ष निकालेको थियो उसले । उसले खाएका वाचाकसम कोसीमा बाढीले बगाएझैँ गरी पखालिए । बाँकी थियो त केवल मरुभूमिजस्तै लाग्ने बालुवाको थुप्रो र रूखो जीवन । प्रेमीबाट पाएको अवमूल्यनको यो उपहारले म धेरै समयसम्म रन्थनिएकी थिएँ । त्यसपछि घरपरिवारले एउटा भनेजस्तो केटोको हातमा मलाई सुम्पे । अहिले मेरो आफ्नै घर छ । श्रीमान् विदेश गएका छन् ।
अफिस त अफिस भइहाल्यो, घरमा पनि मेरो अवमूल्यन भइरह्यो । जेठानी दिदी र देउरानीले जहिले पनि मेरा सरसामान, मेरा विचार र सोचाइको अवमूल्यन गरिरहे । मैले घडी किनेर ल्याएँ भने उनीहरू डुप्लिकेट भनाउन जन्मदेखिको बल लगाउँथे । मैले राम्रो घडी लगाउन जानेकै छैन, किन्न त परै जाओस् भन्ने पार्थे । मेरा माइती उनीहरूको भन्दा सामान्य भएकोले यस्तो भएको हुन सक्थ्यो भन्ने मेरो आफ्नै अडकलको बिउ मनमा उमारेकी थिएँ । मेरा सरसामानलाई कमसल भनाउन उनीहरू दुवैमा प्रतिस्पर्धा चल्थ्यो । एक पटक भाइले मोबाइल उपहार दिँदा उनीहरूले चोरेर ल्याएको भन्नमात्र सकेनन् अरू सबै सूत्र प्रयोग गरे ।
जेठानी दिदीले भनेकी थिइन्— “निर्मला, तिम्रो यो मोबाइलको त अहिले फेसन नै हराइसक्यो । त्यसैले यो सस्तोमा पाइन्छ ।”
देउरानी झन् के कम ! ऊ यस्ता कुरामा खरायो दौड दौडन्थी ।
उसले भनेकी थिई— “मेरो भाइको मोबाइलपसलमा यस्ता मोबाइल हजार, दुई हजारमा बेच्न ल्याउँछन् । यो चाइनिज मोबाइल एकपल्ट बिगे्रपछि कामै लाग्दैन ।”
म केही बोल्न नसक्ने भइसकेकी थिएँ ।
मेरो कमजोरी थियो कि म हत्तपत्त अरूका कुराको प्रतिवाद गर्न चाहँदिनथेँ वा सक्दिनथेँ । अरूको सोचाइको सम्मान गरूँ भन्थेँ । अरूको सोचाइमा आक्रमण गरेर आफ्नो प्रभुत्व कायम गर्ने प्रवृत्ति ममा थिएन । मेरो यही स्वभावलाई उनीहरू मेरो कमजोरीका रूपमा लिन्थे । यही कमजोरीका कारण घर र अफिसमा मेरो प्रतिभा, कार्यकुशलता, सोचाइ र व्यवहारको अवमूल्यन भइरहन्थ्यो । जुन असन्तुष्ट भावहरू म आफूभित्र गुम्साउन बाध्य थिएँ ।
अफिसमा पनि कामप्रतिको लगनशीलता कसैलाई सुनाउँदिनथेँ । अरूहरू आफूले गरेका सानातिना काम पनि तिललाई पहाड, शीतलाई सागर, दियोलाई सूर्य बनाएझैँ गरी सुनाउँथे तर म कसैलाई केही भन्दिनथेँ । दत्तचित्त भई काम गर्नुलाई कर्तव्य ठान्थेँ । यही कारण मैले मेरो व्यवहारलाई वातावरणअनुकूल बनाउन सकिनँ । मेरो अर्को ठूलो कमजोरी यही भएको थियो । यसका कारण मेरो अस्तित्व नै लोप हुने ठूलो खतरा थियो ।
एकपल्ट घरमा खाना खाने टेबलमा ग्लोबल वार्मिङको विषयमा निकै चर्चा भयो । जेठानी, देवर, देउरानीसँगै बसेर खाना खाइरहेका थियौँ । मेरो श्रीमान्ले सन् २०१८ मा विश्व नै सखाप हुने र मानवअस्तित्व हराउने घटनाहरू पढ्न वेबसाइटका ठेगानाहरू दिएका थिए । तिनै वेबसाइट हेरेर धेरै कुरा थाहा पाएकी थिएँ । यसैले वातावरण परिवर्तनसम्बन्धी धेरै कुरा थाहा थियो मलाई । अरूहरू बिनाप्रमाण फूलबुट्टा भरेर आफ्ना कुरा सुनाइरहेका थिए । मलाई असह्य भयो । मैले नेपाललाई विश्वले जैविक विविधतामा पहिलो प्राथमिकतामा राखेको कुरो गरेँ । मैले बोल्नेबित्तिकै सकेटबम प्रहारपछि सन्नाटा छाएझैँ वातावरण स्तब्ध भयो । म छक्क परेँ । कतै मैले नै पो गल्ती बोले कि ? भनी सोचमग्न भएँ अनि आफैँभित्रको आत्मविश्वास गुमाउँदै थिएँ । सबै जना चुपचाप उठेर हिडेँ । मलाई अचम्म लाग्यो । यस्तो किन भयो ? भनेर आफैँसँग प्रश्न गरेँ । अन्त्यमा निचोड निकालेँ, मेरो बौद्धिकताको अवमूल्यन थियो त्यो ।
म मासिक तलबको रकम केही आफूसँग राखेर बाँकी सबै सासूलाई बुझाउँथेँ । देउरानीको राशनको व्यापार भएको हुनाले बेलाबेलामा घरमा चामलदाल आउँथ्यो । जेठानी दिदीको सरकारी स्कुलको जागिर थियो । उसको तलब समयमा आउँदैनथ्यो । यसैले बेला–बेलामा तरकारी र फुलफूल ल्याउँथिन् ।
मैले सासूलाई बुझाएको घरखर्चको चर्चा कहिल्यै हुँदैनथ्यो तर जेठानीले ल्याएको तरकारी र अन्य चीजको चर्चाले भान्साकोठा मगमगाइरहेको हुन्थ्यो । कहिले भक्तपुरको दहीले भान्साकोठा दहीमय हुन्थ्यो भने कहिले मलेखुको माछाले भान्साकोठा माछामय हुन्थ्यो । यस्ता फ्रोस्रा चर्चाका कारण म खाना नखाएरै टन्न अघाउँथेँ तर पनि केही बोल्दिनथेँ । एकातिर श्रीमान् नभएपछि महिलाको आधा सहारा नै हराइसकेको हुन्छ भने अर्कोतिर मेरो स्वभाव नै कमजोर प्रकृतिको थियो । मलाई लाग्थ्यो, यो मेरो अस्तित्वको अवमूल्यन हो ।
मलाई लाग्यो सबै कुराको एउटा सीमा हुन्छ किनकि अब भने मेरो श्रीमान् घर फर्कदै थिए । यो कुराले म निकै हर्षित थिएँ । एक दशकदेखि बाहिर बसेका श्रीमान् घर फर्कंदै छन् भन्ने कुराले म रोमान्चित थिएँ । बारम्बार मैले घर फर्किने आग्रह गर्दा पनि श्रीमान्ले मेरो इच्छा टार्दै आएका थिए । यसपाली आउने भनेपछि संयुक्त परिवारमा बस्न इन्कार गर्दै एक्लै बस्ने घोषणा गरेँ । विभिन्न व्यवहारिक सम्झौतामा सहमति गरेर म एक छोरा र एक छोरीका साथ अलग बस्न थालेँ । श्रीमान्को आगमन भयो । श्रीमान्का लागि भनेर थुप्रै सपनाहरू सँगालेर राखेकी थिएँ । तर ती फुल्नै नपाई ओइलिएर झरे । जब उनले आफू एचआइभी पोजिटिभबाट सङ्क्रमित भएको यथार्थ सुनाए, त्यस बेला जीवनमा ठूलो भुइँचालो आएको महसुस भयो मलाई । दस रेक्टरभन्दा बढी भूकम्पले मेरो सपनाका महलहरू एकाएक भत्कन थाले । मेरो भाविष्य त्यही भाग्नावशेषमा पुरियो । एक्लै बस्नुको विकल्प अरू केही हुन सक्दैनथ्यो ।
केही समयको बसाइपछि उनी विदेश फर्के । उनीबाट मेरो जीवन र अस्तित्वप्रति धावा बोलिएको यो मेरो जीवनमा अवमूल्यन गरिएको घटनाको अर्को पाटो थियो । यहाँभन्दा चर्को अवमूल्यन अब मैले के बेर्होनु पर्ला र ? म अरूणा लामाका गीतको फ्यान थिए । उनको चर्चित गीत –
‘पोहोर साल खुसी फाट्यो जतन गरी मनले टालेँ,
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’

कानमा गुन्जिन थाल्यो । जीवनप्रतिको निराशा र उपेक्षाले मलाई माइग्रेसनको बिमारी बनायो । औषधि खाँदाखाँदै कुन बेला किड्नी ड्यामेज भयो पत्तै पाइनँ । अफिसको खातापत्र मिलाउँदामिलाउँदै आफ्नै जीवनको डेविटक्रेडिट मिलाउन सकेकी रहिनछु । अन्त्यमा मृत्यु कुरेर बस्नुको विकल्प रहेन । तर मृत्यु पनि भनेको बेला नआएर जिस्क्याइरहेको छ मलाई । मृत्युले पनि मलाई लैजानलाई मेरो मृत्युप्रति नै अवमूल्यन गरिरहेको छ । मृत्युपछि पक्कै पनि मेरो अवमूल्यनीय जीवनले मुक्ति पाउनेछ र म धेरै टाढा क्षितिजभित्र हराउनेछु कहिले

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *