२६ माघ २०७७ सोमबार
पाँचथर – साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष स्व.अमर नेम्बाङको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा दुई स्रष्टालाई पुरस्कृत गरेको छ ।
फिदिमस्थित मनश्वी होटलमा आयोजित कार्यक्रममा ‘अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कार–२०७७’ बाट नेपाली साहित्यका विशिष्ट स्रष्टा डा.गोविन्दराज भट्टराई र नेपाली तथा लिम्बूभाषी स्रष्टा बीर नेम्बाङलाई पुरस्कृत गरिएको हो । सम्मान–पत्र सहित नगद एक लाख रुपैंयाँ राशीको उक्त पुरस्कार डा.भट्टराई र नेम्बाङलाई ५०–५० हजार रुपैंयाँ प्रदान गरिएको हो । पुरस्कृत दुबै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि, संविधानसभाका सदस्य भीष्मराज आङदेम्बेले वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि आङदेम्बेले नेपाली साहित्यमा आक्रोश र असन्तुष्टि ब्याप्त रहेको बताएका थिए । राजनीतिक नेतृत्वले मुलुकको समृद्धि र जनताको अपेक्षा अनुसारको काम नगरेर लेखक–साहित्यकारहरुलाई सधैंभरी आफ्नो सिर्जनामा आगो ओकल्न बाध्य बनाएको आङदेम्बेको भनाई थियो । राजनीतिक नेतृत्वले जिम्मेवारपूर्वक काम नगरेरै लेखक–साहित्यकारहरु असन्तुष्टि पोख्न बाध्य भएको टिप्पणी गर्दै आङदेम्बेले कवि–लेखकको सिर्जनामा आएको असन्तुष्टिलाई समर्थन गरेका थिए ।
कार्यक्रममा स्रष्टा तथा फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष स्व.अमर नेम्बाङ लिम्बूको व्यक्तित्वबारे प्रकाश पार्दै कवि तथा समालोचक मुनाराज शेर्माले स्व.अमर नेम्बाङ लिम्बू नेपाली साहित्यमा विशिष्ट किसिमको लेखन क्षमता भएका, पर्यावरणीय लेखनका अभियन्ता भएको बताए । पुरस्कृत स्रष्टा द्वय डा.भट्टराई र नेम्बाङको साहित्यिक व्यक्तित्वबारे भने याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङ र संघीय लेखक मञ्चका केन्द्रीय अध्यक्ष मधुराज केरुङले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रतिष्ठानले कोभिड–१९ को कहरलाई मध्यनजर गर्दै पाँचथरका सबै स्थानीय तहलाई थर्मलगन र मास्क वितरण गरेको थियो । त्यस्तै प्रतिष्ठानको बार्षिक कार्यक्रम अनुसार फाल्गुनन्द–२, इम्बुङस्थित सत्यहाङमा मावि, कक्षा–१, मा अध्ययनरत ग्राबिल नेम्बाङलाई दश हजार रुपैंयाँको छात्रवृति र कुम्मायक–१, यासोकका आगलागि पीडित कृष्णबहादुर थापा र डिग बहादुर थापालाई जनही १२ हजार पाँच सय रुपैंयाँ राहत रकम समेत वितरण गरेको थियो ।
कार्यक्रममा एक दर्जन बढी स्रष्टाले रचना पाठ गरेका थिए । पाँचथरे साहित्यकार प्रेम ओझाले सञ्चालन गरेको कार्यक्रम अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानका सल्लाहकार धर्मेन्द्रबिक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
sabhar:पूर्व पोष्ट