ई-कविता शृङ्खलामा प्रकाशित कविता
कहिले आउने हो समय
समयको प्रतीक्षा गर्दागर्दै
मेरो मङ्गोलियन अनुहारमा पलाएको
क्न्फ्युशियसको जस्तै छुस्स परेको
दुइचार पोयो दाह्री फुलिसके,
चाउरिदै गएको अनुहारमा कोरिएका रेखाहरु
भत्किनेगरि खुशीको अट्टाहास हाँसो हाँसेर
दु:खको सीमाना मिचेर सुख चुम्ने ईच्छा आकाङ्क्षाहरु
मौनताको गोधुली उदासिनता ओकलिरहेछु
सूर्यास्त हुनै लागेको अस्ताचल पर्बतजस्तै
देख्न सक्ने दृष्टिभएमा अथाहा सुन्दरताहरु
आफ्नै वरिपरि पाउनेछौ भन्ने
उदगारले अत्यन्तै प्रभावित भएर
कन्फ्युशियसको जस्तै
चिम्सा मङ्गोलियन आँखाहरुले
आफ्नै सुन्दर जीवन दर्शनमा
कुरुप छायाँ नाँचिरहेको देख्छु
कन्फ्युशियसको जस्तै मेरो चिम्सा आँखाहरुमा
किन कुरुप दृश्यको तुँवालोमात्र देख्छु हँ ?
कन्फ्युशियस युगमा भालेको पखेटामा
फटफटाएर बास्ने गर्थ्यो समय
अड्डा-अदालत न्यायिक प्रतिमुर्ति भएर
आफै उभिन्थ्यो कन्फ्युशियस
चोरी गरेको आरोपमा चोर लिएर
कन्फ्युशियसको न्यायिक फैसला लिन पुगेका धनाढ्य ब्यक्ती
चोर र धनाढ्य दुबैलाई बराबरी सजाय सुनाउँछ कन्फ्युशियस,
सजाय भोग्न आपत्ति जनाएका
धनाढ्यलाई सम्झाएर भन्छ
चोरी गर्नु उसको गल्ती भयो
अनि शोषण गर्नु तिम्रो गल्ती भयो
तिम्रो शोषणले उ गरिव भयो अनि चोर्यो
सजाय बराबरी,
तिमी शोषक हो ! उ चोर हो !!
अनिर्णायक बन्दी भएर उकुसमुकुस
विष्फोट हुनलागेको मेरो यो छाती
कन्फ्युशियसको अटल निर्णायक किला ठोकेर
बार बारेर थुनिदिन खोज्दा खोज्दै
हिमपहिरो गएजस्तै चिसो परिबन्धहरुले
आफैलाई पुरिदिन्छु
र फेरी सम्झिन पुग्छु कन्फ्युशियसको अर्को दर्शन !
कुनै एउटा पुरुषले आफ्नो अण्डकोषमा बसेर
टोकिरहेको मच्छडलाई झापट हिर्काउन सक्छ ?
-जसरि गालामा टोकिरहेको
मच्छडलाई आफ्नै गालामा जोडले झापट हानेर
किचिमिची बनाएर प्रतिशोधको आनन्द लिन्छ !
कुरो मच्छडको हो त्यत्ती गहन थिएन
कन्फ्युशियस महाशय !
तर कति बिराट दर्शन जन्मायौ
यो तिम्रो दर्शनसँगै समय अनुकुल आफुलाई
ढाल्न सकिएन भने
समय नै प्रत्युत्पादक भएर
डस्दो रहेछ भन्ने अन्तिम निष्कर्षमा टेकेर
जाबो मच्छडको प्रभावले
डेङ्गी फैलिएर डगमगाइरहेको मेरो देशलाई
सोंचाइको अनन्त गहिराई भित्रबाट सम्झिरहेको छु ।