शून्य अवस्थाको अनन्त आकाशलाई
दिनमा खुला अनि सफा देख्नेहरूले
आकाश नीलो छ भने
नीलो रङ
सर्वकालिक, शाश्वत
सदाबहार उमङ्गकाे रङ
प्राकृत रङ
शान्तिको रङ
मेघ वर्षाको ठीक अघि
बादलले ढाकेको आकाशलाई
कसैले खरानी रङको देखे
खरानी रङ
साधुको रङ
सत्सङ्गको रङ
शिव भष्मकाे रङ
निष्पट्ट रातले आकाशलाई लटपट्याएको देखेर कसैले आकाशलाई कालो छ भने
कालो रङ
प्रकाश निख्रिएर
उज्यालो हराएको संहारकाे रङ
वेदनाकाे रङ
विरोध अनि असहमतिको रङ
सूर्यास्तको बेला
कसैले आकाशलाई रातो पनि देखे
रातो रङ भर्खरै यौवन अङ्कुराएकाे
कुमारीको जीवन
अनि अनुष्ठानकाे रङ
वीरता अनि स्वाभिमानको रङ
‘रातो र चन्द्र सूर्य हाम्रो जङ्गी निशानी’को रङ
झुल्के घामको किरण पोतिंंदा
आकाशलाई पहेँलो पनि देखे कसैले
पहेंंलाे रङ पवित्रताको रङ
वैराग्यको रङ
सजगताको रङ
आखिर कस्तो रहेछ त आकाश ?
आकाश त
जसजसले जसरी अवलोकन गरे
त्यस्तै देखिने
आँखाकाे मनोहर दृष्टि दोष सिवाय
अरू केही होइन रहेछ
यसको त कुनै रङ नै नहुने रहेछ
एउटा रोमाञ्चक रङ्विहीन
मनोरम रङ्गीन मिथ्या भ्रम मात्र रहेछ आकाश
आरोह-अवरोह
सुख-दु:ख
मेल-बेमेलको विषमता बीच पनि
उत्प्रेरणाकाे रङ छर्दै
धीरताले बाँच्न सिकाउने ल्याकत भएको
यो त हाम्रा निम्ति
विशेष महत्त्व राख्ने
जीवनकै मर्म भेद बुझाउने
प्रतिविम्बकाे प्रेरक रङ पो रहेछ !