खुपेन सुनुवार
हाल : वेलायत
पापी शबाथको सुर्यदय
बोकेर आएको छ फेरी
एउटा भयङ्कर महाविनाशको प्रलय
के युद्धको = विकल्प सँधै युद्ध नै रहिरहन्छ ?
ए ! प्राचीन कनान
शेम हाम र ऐपेतका सन्तान
कहिले सम्म आफ्नो अस्तित्व र स्वार्थको लागी
एकअर्काको विरुदद्ध तिमीहरू युद्ध लडिरहन्छौ ?
विधुवा भएकी तिम्रो श्रापित शहरले
अब उपरान्त नजन्माओस त्यहाँ कुनै अनिस्चितताको भवितव्य
टुहारा भएको तिम्रो बाँझो बगरले
अब उपरान्त नउम्राओस रगतको आहालमा कुनै रातो गुलाफ
र खरानीले आफ्नो अनुहार धोएकी कुनै पनि छोरिहरूको
नबिटुलियोस त्यहाँ कुमारित्वको लाज
आतँक र विध्वंसले भग्नावशेष तिम्रो शहरमा
नजन्मिएका सन्तानहरूले
अब उपरान्त निल्न नपरोस
तातो हावामा तैरिरहेको धुलो, धुँवा र बारूदको गन्ध
र नलागोस उज्यालो घामलाई त्यहाँ कहिल्यै प्रतिबन्ध
खुला सिमानाको निलो आकाशबाट
नखसोस घृणाका कुनै विस्फोटक रकेटहरू
नफर्किओस बदलमा बदलाका मिसाएल्सहरू
माटोलाई छोएर खाएको त्यो विषालु कसमले
नडसोस त्याँहा कुनै नजन्मिएका निर्दोषहरूका पैताला
ए ! प्राचीन कनान
शेम हाम र ऐपेतका श्रापित सन्तान !
तिम्रा धार्मिक वस्त्र फुकालेर नम्रताको भाँग्रा ओढ
आफ्नो पैतालाको धुलो टकटकाउ र हात पखाल
मानवताको सियोले दाजुभाइ मा फाटेको मन सिलाउ
असल सामरीलेझैँ दु:खीहरूको दुखिरहेको घाउमा मलम लगाउ
आउ एकछिनलाई सँगसँगै विलौना गर
खरानी दलेर आशुले बन्जर भूमी भिजाउ
पस्चतापमा जलेर मिलापको हात फैलाउ
क्षमायाचनाको ओठले गालामा पवित्र चुम्बन गर
हेर ! तिम्रा भाइहरूका रगतले दुहाई मागीरहेछन्
हेर ! तिम्रा सन्तानहरूका रूवाईले दुहाई मागीहरहेछन्
हेर ! तिम्रा आमाहरूका आँशुले दुहाई मागीरहेछन्
“विस्मील्ला रहमानरहिम हि वरकातु
अस्वतु अल्लाह ईल्लहालाहाईल्लालाह
मोहम्मद रसूललुल्लाहा ”
“ अल्ला हु ! अकबर !! अल्ला हु ! अकबर !! “
आस्थाले सजिएका प्राथनाका यी मन्त्रहरूमा प्रतिशोध नसाँध
“शालोम अलिएखेम मेलअखे हशालोम
मिमलेख महालखया मल्खी हकादोष बराखुँ“
बोआहम्ले शालोम महालखया हशालोम महालाखाई एलिओन
मिहिलेम महामखया लखिम हकादोष बराखुँ “
प्रेम, विस्वास र आशा भरिएका यी मन्त्रहरूमा अशान्ति र घृणा नसाँध
ए ! अब्राहामका सन्तानहरू
सुन्नुहोस म पनि एक जेन्टाईल कवि हुँ
नयाँ करार, ख्रिष्टको वलिदान र प्रतिज्ञा बमोजीम
त्यस पवित्र भूमी को उत्तराधिकारी म पनि भएको छु
के मन्जुर छ तिम्रो अल्लालाई या तिम्रो याहोवेलाई
जसको लागी तिमी सदिऔदेखी चढाईरहेछौ
निर्दोषहरूको निर्थक बली ?
तर खै: किन बिर्सेको तिमीले
कि तिम्रा पुर्खा आफ्नै रगतका रगत थिए
र थिए उनीहरूका एउटै ईश्वर र थिए उनीहरूका एउटै राष्ट्र
कहिले देखी उनीहरूका रगत, ईश्वर र राष्ट्र विभाजीत भए ?
यसरी एउटा अर्जविन्ती बन्जरभुमीको लागी र नजन्मिएका सन्ताहरूका लागी
तर शान्तिको राजकुमारको ( मसिह ) दोस्रो आगमन भै नसक्दा
के त्यो बन्जरभुमी र भग्नावशेष शहरले पश्चताप गरिसक्नेछ ?
एउटा जेन्टल तर गम्भिर प्रश्न
उभिएको छ यो जेन्टाईल कविको ह्रदयमा