निद्राबाट ब्यूँँझँदा थाहा पाउँछु पानी परिरहेको छ । झरी परेको रात हिजो अस्ति आनन्द लाग्थ्यो । तर आजको मनले केही असुविधा मानेको अनुभव गर्छ । बिहानसम्म त वर्षा थामिएला नि ! यस्तै केके सोच्दै थिएँ फेरि निदाएँछु । निद्रा खुल्दा मेरो मनमा उही पीर रहेछ । निर्झर वर्षा रोकियोस् भन्ने अपेक्षा रहेछ । पानी झन् दर्किएको छ । पन्ध्र असार त होइन तर त्यस्तै छ ।

साहित्यिक उत्सवमा जान मनले आतुरी गरेको छ । पुतलीसडक स्थित ग्रिनलिफ फुड (रामशाहपथ) मा साहित्यकार गायत्री लम्साल दिदीको पुस्तक लोकार्पण हुँदैछ । पानी परिरहेको बेला फुत्त निस्किहाल्ने आँट आउँदैन । एकछिन अलमल गर्छु । तैपनि झरी थामिन्छ कि ? अहँ झरी मत्थर हुने सम्भावना कदापि छैन । योद्धाको जस्तै साहस निकालेर प्रस्थान गर्नु मात्रै अब एउटा छनोट छ ।

बालाजु पुग्दा म केही भिजिसकेकी थिएँ । चक्रपथको गाडीबाट ओर्लिएर सीता पेट्रोलपम्पको छेउमा— अहिले म प्रतीक्षित मूडमा छु । गोविन्द सर र अञ्जना मेम ट्याङ्लाफाँटदेखि आउँदै हुनुहुन्छ । उहाँहरूकै साधनमा गन्तव्य पुग्न म पर्खिरहेकी हुँ । चाँदनी चोकको बाटो हुँदै रातो गाडी ओह्रालोमा ठिक्क गतिले आइरहेको छ । झण्डै दश पन्ध्र मिनेट छाता ओडेर प्रतीक्षामा रहेको बेला—मैले त्यसरी ओह्रालोबाट आइरहेका प्रत्येक साना गाडीलाई नियालिरहेकी थिएँ ।
मुल सडकमा मिसिनु अघि नै पेट्रोलपम्पको छेउमा गाडी रोकिएको छ । म ओसिइसकेकी छु । हतपताउँदै गाडीभित्र पस्छु । सवारी हाँक्नु भएका भोला घिमिरेका छेउमा गणेश खनाल हुनुहुन्छ ।

पहिलो पटक म उहाँहरूलाई चिन्दैछु । गोविन्द सर, अञ्जना मेमसँगै म पछाडिको सीटमा लहरै छौँ । काठमाडौँ यतिखेर जलथल छ । विष्णुमती किनारा नदेखिने गरी वारपार उर्लिएको छ । गाडीको पाङ्ग्राले काटेको पानी जमीन छोडेर माथि पुग्छ फेरि छत्ल्याङ्ङ हुन्छ । वाइपरलाई एकछिन फुर्सद छैन । सीसाको पानी तर्काइरहेको छ । गाडी पार्किङको समस्या होला कि एउटा चिन्ता थियो । गन्तव्यको द्वारमै लक्ष्मण गाम्नागे देख्छौँ एकदम तत्पर मूडमा । उहाँले मञ्जरी बुक्स हाउसमा पार्किङको व्यवस्था मिलाउनु भयो । पछि थाहा पाउँछु त्यो त उहाँकै बुक्स हाउस रहेछ ।

एक दुई—एक दुई गर्दै सहभागिताको सङ्ख्या वृद्धि भइरहेको छ । वर्षाको सङ्गीतमय आवाजसँगै तातो चियाको प्याला उठानुको आनन्द बडो तृप्तिकर छ । यस्तो झरीमा पनि गायत्री दिदीलाई माया गरेर आउनेको सङ्ख्या रोकिएको छैन । हेर्दाहेर्दै उत्साहपूणर् उपस्थितिले हल भरिएको छ । वर्षाले बाधा गर्ला लागेको थियो । तर गरेन अर्थात् वर्षासँग कोही डराएन ।

उपस्थितिको सङ्ख्या अनुसार घटाउन बढाउन मिल्ने हल तन्किएर पछाडि खिचिएको छ । अब कार्यक्रमको शुरुवात हुनै लाग्यो । मिडियाकर्मी रेणुका भट्टराईजीको क्यामेरा ठडिइसकेको छ । हास्यव्यङ्ग्यकार गायत्री लम्सालकृत उहाँको सातौँ कृति ‘रुद्रघण्ट’ को विमोचन—उत्सवले एउटा पृथक परिवेश निर्माण गर्दैछ ।

डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको अध्यक्षतामा सरोज घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको छ । घिमिरेज्यूको उद्घोषण कलाले सभाहलमा अर्को ओजन थपेको छ । गाम्नागेज्यूले गर्नु भएको स्रष्टा परिचयमा सिस्नुपानीको कुनै एपिसियोड हेर्दैछु जस्तो एउटा भ्रान्ति उत्पन्न हुन्छ । अझै उहाँको बोली नथामियोस लागेको छ ।

म एकदम जटिल अनुभूति गर्दैछु । स्टेजमा डा. गोविन्द भट्टराई, मेरा गुरु नरनाथ लुइटेल, डा. अञ्जना भट्टराई, स्रष्टा गायत्री लाम्साल, साहित्यकार अनिता कोइरालाको पङ्क्तिमा आफूलाई पाउँदा केही असहज अनुभूति भइरहेको छ । त्यस्तै अगाडि हेर्छु विद्वत्जनको गरिमायम उपस्थिति स्मरणीय छ । मेरा गुरु डा. कुमार कोइराला— उहाँको पनि उपस्थिति छ । मलाई दकस जस्तो केही आभास हुन्छ । मबाट केही त्रुटि पो हुने हो कि ? नजानिँदो त्रास उब्जिन्छ । यतिखेर मनमा अकिञ्चन भाव जस्तो केही उत्पन्न भएको छ ।

मैले ‘रूद्रघण्टी’बारे केही बोल्नु छ । यो त मेरो लागि ठूलो अवसर हो । आयोजकप्रति कृतज्ञ हुन्छु । यस लोकार्पित कृतिमा गुरु नरनाथ लुइटेल विशेष वक्ता हुनुहुन्छ । अनिता कोइरालाको पनि उतिकै जिम्मेवारी छ वक्ताका रूपमा ।

प्रथमतः मैले स्रष्टा दिदीलाई हार्दिक बधाई तथा शुभकामना दिएँ । नारी स्रष्टाका रूपमा—उहाँले एउटा विशिष्टता कायम गर्नु भएको छ हास्यव्यङ्ग्यमा । यस अघि नै उहाँको ‘झटारो’ हास्यव्यङ्ग्य कविता सङ्ग्रह, ‘बोका पालन’, ‘कलेजमा क्यान्सर’, ‘बोक्सी मन्त्र’, ‘भरपाई’ जस्ता व्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् । त्यस्तै अर्को ‘प्रेमरोशनी’ संयुक्त कवितासङ्ग्रह पनि प्रकाशित छ ।

बत्तीस वटा निबन्धहरूको सङ्ग्रह ‘रूद्रघण्टी’ पढ्दै गर्दा लेखकबारे—मलाई धेरै कुरा जान्ने इच्छा भएको थियो । कार्यक्रम स्थलमा उहाँलाई देख्न हतारिएकी थिएँ । उहाँसँग परिचय गर्न आतुरी लागेको थियो । यस्तो कृति तयार गर्ने स्रष्टा कस्तो हुनुहुन्छ होला ? लाग्यो उहाँ निकै प्रखर हुनुहुन्छ । कदाचित नडग्ने, आत्मविश्वासी । अघि हामीले एउटै टेबुलमा बसेर चिया चुस्की लगाएका थियौँ । सरलताभित्र लुलेको उहाँको शालीनता, प्रखरताले म अत्यन्तै प्रभावित भएँ ।

अघिदेखि स्रष्टाको मन्तव्य सुन्न अधैर्य भई म पर्खिरहेकी थिएँ । कार्यक्रमको अन्त्य अन्त्यमा बल्ल स्रष्टाको बोल्ने पालो आउँछ । अनुमान गर्न नसकिने गरी सभाहल अचानक बदलिएको छ । सोच्दै नसोचेको परिवेश निर्माण हुन्छ । गायत्री दिदीको मन्तव्यमा आँखाहरू छचल्किएका छन् । वातावरण स्तब्ध छ । दृष्टि छलेर अश्रुनयन ओभानो बनाउन लागेको दृश्य पुनः पुनः दोहोरिएको छ । उहाँको जीवन सुनेर हामी सम्पूणर् स्रोता निशब्द छौँ । कण्ठ अवरुद्ध हुन्छ । तर उहाँ अविचलित भई दृढताको साथ मन्तव्य दिइरहनु भएको छ । कसरी सुनाउन सक्नु भएको होला जीवनका अकल्पनीय भोगाइहरू !

उफ् यस्तो पनि हुन सक्छ ? यस्तो त कसैले पनि भोगेको हुँदैन भनूँ लाग्ने छ उहाँको जीवन । ‘द वोल्ड म्यान एन्ड द सी’ को सान्टियागो भन्दा पनि अझ जटिल लाग्यो गायत्री दिदी । उहाँले विगतमा जस्तो जीवन भोग्नु भयो । त्यही भोगाइले उहाँलाई महान् बनाएको छ । उहाँको जीवन सङ्घर्ष, प्राप्ति तथा उपलब्धिहरू बाफे्र ! कसरी आर्जन गर्नु भयो होला ? उहाँको भोगाइ सुनेपछि लाग्यो यति सशक्त, यति प्रखर नारी कोही हुन सक्दैन । पुरुष पनि हुन सक्दैनन् । उहाँको साहित्यिक व्यक्तित्वदेखि पर अर्को व्यक्तित्व उस्तै आकर्षणीय रहेछ । उस्तै उदाहरणीय रहेछ । थोरै चुनौतीले पनि निराश हुने नव पुस्तामा—उहाँको सङ्घर्ष र चुनौतीहरू स्कूल तथा विश्वविद्यालयमा पढाइ गर्नु पर्ने एउटा विषय जस्तै लाग्यो । तब त उहाँप्रति अझ धेरै श्रद्धा जागृत भयो ।

कति धेरै जीवनहरू बतासको सानो झोक्कामै विलीन हुन्छन् । गायत्री दिदी जीवनको आँधी सहेर आफूलाई विस्तारित गर्ने लक्ष्यमा हुनुहुन्छ । धन्य हो मैले उहाँको जीवन थाहा नपाई ‘रूद्रघण्टी’ पढेँ । यदि थाहा हुँदो हो त कृतिप्रति म पुर्वाग्रही हुन सक्थेँ । किनकि एउटा स्रष्टालाई चिनेर पढ्नु र नचिनी पढ्नुमा धेरै अन्तर पर्छ । कृति पढ्नु अघि उहाँको वास्तविकता थाहा हुँदो हो त ज्यादा संवेदनशील भई, उहाँको सिर्जनामा सहानुभूतिको दृष्टि पर्न सक्थ्यो । त्यसो हुन पाएन ।

कठोर हुरी बतास सहेर दह्रिलो भएको टाकुरीको रुख जस्तै स्रष्टा अनि उहाँको ‘रूद्रघण्टी’ले एउटा विशेष परिचय राखेको छ । कृति विद्यमान अवस्थाप्रति प्रहारक छ । व्यङ्ग्य साहित्यमा प्रखर कलम चलाउने स्रष्टा गायत्रीलाई—उहाँकै जीवन दर्शनले यो शक्ति प्रदान गरेको हुनुपर्छ । विकृति, विसङ्गतिमाथि उहाँको सिर्जनाले तीव्र चोट प्रहार गरेको छ । अनेक विम्ब र प्रतीकमा अभिव्यक्त प्रहार वाण जतिकै प्रखर छ ।

रूद्रघण्टी भनेपछि मलाई सानो उमेरको एउटा सम्झना आउँछ । त्यो दृश्य अहिले पनि आँखामा छ । कोही लोग्ने मान्छेले ठाडो घाँटी लगाएर पानी कलकल खाँदा—चुच्चो परेको रूद्रघण्टी तलमाथि गरेको म देख्थेँ । सोध्छु त्यो के हो ? आमा मेरो चाहिँ किन त्यस्तो छैन ? त्यसको धेरैपछि रूद्रघण्टी बारे थाहा पाएँ । अनि थाहा पाएँ रूद्रघण्टी नहुनेहरूको मनमा कुरा अडिँदैन अर्थात् महिलाहरू पुरुष जस्तो गम्भीर, धैर्यशील हुँदैनन् । अझ भनौँ महिलामा गोप्यता भन्ने नै हुँदैन । आफ्नो कुरा सुनाउन बडो हतार गर्छन् । फ्यास्स बताइहाल्छन् मनका भावनाहरू ।

अहिले आएर बुझ्दा कुरा त्यति मात्र होइन रहेछ । गायत्री दिदीको पुस्तक पढेपछि थाहा पाउँछु—रूद्रघण्टी हुनु भनेको त साहसिक हुनु रहेछ । अभद्र, अमानुषिक कर्म गर्न पनि किञ्चित नडग्ने बहादुर हुनु रहेछ । पुरुषार्थी हुनु रहेछ । त्यही पुरुषार्थले समाजमा विकृत अवस्था सिर्जिएको गायत्री दिदी बताउनु हुन्छ । उसो भए त ठिकै भयो आफ्नो रूद्रघण्टी नभएकोमा मैले चित्त बुझाएँ । चित्त बुझाउनु मात्र होइन रूद्रघण्टी नहुनुमा आफूलाई धन्य ठानेँ । कम्तीमा म त्यस्तो पुरुषार्थी हुने छैन । समाजलाई भड्काउने, अव्यवस्थित गर्ने शक्ति ममा हुने छैन । नहोस् पनि । हाम्रो वर्तमान समाज जस्तो छ त्यो रूद्रघण्टीले पारेको प्रभाव रहेछ । स्रष्टाले यही कुरा भन्नु भएको छ ।

‘रूद्रघण्टी’को पठनसँगै मैले प्रर्थना गरेँ । ब्रह्माजी ! हजुरले आफ्नो आविष्कार व्यर्थ नगर्नोस् । बदनाम नगर्नोस् आफ्नो सिर्जनाको । बरु रूद्रघण्टी हटाइदिनोस् । तब त सम्पूणर् व्यवधानको अन्त्य हुनेछ । अनि व्यर्थको पुरुसार्थ मत्थर हुनेछ ।

‘रूद्रघण्टी’को लेखक बडो निडर हुनुहुन्छ । कृतिको प्रस्तावनामै उहाँले भन्नु भएको छ—परिस्थितिसँग झटारो हान्दा पनि यी शब्दहरू डराउँदैनन् । हो उहाँका शब्दहरू कदापि डराएका छैनन् । बरु समरमा उत्रिन तयार छन् । अन्याय विरुद्ध, अव्यवस्था विरुद्ध, विकृति विसङ्गि विरुद्ध । अनि रूद्रघण्टीले उत्पन्न गरेको अमानवता विरुद्ध । चाकडी चाप्लुसी विरुद्ध । सम्पूणर् नकारात्मकता विरुद्ध लडेर सुन्दर समाजको परिकल्पनामा यी भावहरू, यी अर्थहरू, यी विम्ब र प्रतीकहरू एकजुट भएका छन् । न्याय र सुशासनको आह्वानमा गायत्री दिदीका शब्दहरूले जुलुस गरेका छन्—पुस्तक पढ्दा यस्तो अनुभूति हुन्छ ।

हास्यव्यङ्ग्य साहित्य गर्ने भनेपछि मेरो मानसिकतामा—ती व्यङ्ग्यकार, ती हास्यकार पुरुष स्रष्टा मात्रै हुन्छन् भन्ने थियो । आफूले जान्दादेखि भैरव अर्याल पढेँ, केशराज पिंडाली पढेँ । पछिल्लो समयमा गुरु नरनाथ लुइटेललाई पढ्दैछु, लक्ष्मण गाम्नागेलाई पढ्दैछु । त्यस्तै अरू केही स्रष्टा पढ्दैछु । तर नारी स्रष्टा आजसम्म पढेकी थिइनँ । लाग्थ्यो यो महिलाको विधागत विषय होइन । समाजको बेथिति विरुद्ध प्रतिकार गर्न एउटा अदम्य साहस चाहिन्छ । सङ्ग्रामी आवाज चाहिन्छ । जुन पुरुष स्रष्टाबाट सम्भव छ । यस्तो बुझाइको सिलसिलामा मैले गायत्री दिदीलाई पढेँ र मानसिकता बनाउँदैछु—महिला सशक्तीकरण अब शुरु हुँदैछ होइन, शुरु भइसकेको छ ।

‘रूद्रघण्टी’ पढ्दै गर्दा मभित्र एउटा विचार उब्जिन्छ । कुनै तत्कालीन समाजको अन्याय, अत्याचार, बेथिति त्यस्तै क्रूर शासक तथा सत्तासीनहरूको अमानवताले, अव्यवस्थाले नै हास्यव्यङ्ग्य साहित्यिक युगको आरम्भ भएको हुनुपर्छ । त्यसलाई परोक्ष प्रहार गर्न, कलात्मक विद्रोह गर्न, काक्रमण गर्न, थाहै नपाउने गरी वाणले मर्हात गर्न हास्यव्यङ्ग साहित्य विकसित हुँदै आएको हुनुपर्छ ।

हास्य होइन व्यङ्ग्य चेत प्रबल भएको ‘रूद्रघण्टी’ले सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक अनि नैतिक पक्षलाई चोट दिएको छ । त्यस्तै पुरुष ग्रन्थीलाई पुनः पुनः हम्मर हानेको छ । आशा छ ‘रूद्रघण्टी’ पढेपछि पुरुष ग्रन्थीहरू सच्चिने छन् । अनि मानव ग्रन्थीहरू पनि सच्चिने छन् अपेक्षा छ । यदि नसच्चिए छन् भने पनि केही सजग त अवश्य होलान् ।

गायत्री दिदीको पुस्तक अध्ययनमा बेलाबेलै म निराश भएँ । किनकि निबन्धभित्रको हाम्रो देश, हाम्रो समाज, कति कुरूप छ । कति असङ्गत छ । सभ्यताको ठीक विपरित छ । हामीमा सुशासन तथा सांस्कारिक चेत कहिले आउला ? शिष्टता, मर्यादा कहिले कायम गरौँला ? कति तुच्छतामा हाम्रो जीवन व्यतीत भएको छ । कति असभ्य जीवन हामी बाँच्दैछौँ ।

अघिल्लो पुस्ताको साहित्यमा हामीले यिनै कुरा पढ्यौं । त्यसपछिको पुस्ता, अझ पछिको पुस्तामा पनि यिनै कुरा पढ्न हामी विवश छौँ । गायत्री लम्साल जस्ता स्रष्टाले यिनै कुरा लेखिरहनु परेको छ । समाज मनोविज्ञान, मानव मनोविज्ञानका बेथिति लेख्नु पर्ने अवस्था नहुँदो हो गायत्री दिदीको व्यङ्ग्य साहित्यले कस्तो मोड लिन्थ्यो होला ? ‘रूद्रघण्टी’ पढ्दै गर्दा म यसरी प्रश्नात्मक हुन्छु । विज्ञानको, आविष्कारको, प्रविधिको बारेमा लेख्ने युग हाम्रोमा अझै जन्मिएको छैन । हामीले भुइँ छोड्न सकेका छैनौँ । हाम्रा कवि, कलाकार तथा स्रष्टाहरूले यिनै कुराको पुनरावृत्ति गर्नु परेको छ ।

गायत्री दिदीको निर्भीकता अहो कति विस्मित गर्नेछ ! गाईजात्रा, घोडेजात्रा त हामीले सुन्दै आएका थियौँ । तर अरू जात्रा अहँ थाहा थिएन । ‘रूद्रघण्टी’मा अवगत हुन्छ अर्को जात्रा पनि थपिएको रहेछ—कुकुर जात्रा । राजनैनिक दल तथा कार्यकर्ता त्यस्तै सत्ताधारीको यस जात्रामा लेखकको कटाक्ष अत्यन्तै हिक्मतिलो लाग्छ । हाम्रो यस कुकुर जात्राले एउटा संस्कारको रूप लिँदैछ ।

गायत्री दिदीका निबन्धहरू लेखिन बाँकी विषयमा लेखिएका त होइनन् नै । तर लेखन कलाले भर्खर पहिलोचोटि लेखिएको विषय जस्तो महसूस हुन्छ । नवीनताको अनुभूति हुन्छ । कवितात्मक लय आउने ‘रूद्रघण्टी’ले लोभ्याइरहन्छ ।

यतिन्जेल हामीले नेता तथा सरकारी कुर्सीमा बस्नेलाई देशका ठूला शक्तिशाली व्यक्तित्व मान्दै आएका थियौँ । अनि जनता चाहिँ निरीह अनुगृहीत पात्र ठहर्‍याएका थियौँ । परम्परादेखि मानिएको सत्यलाई स्रष्टा गायत्रीले यहाँ विपरीत गर्न सक्नु भएको छ । उहाँले जनतालाई मालिक र नेतालाई जनताको अनुकम्पित पात्र देखाउनु भएको छ । तर एउटा कुरा जनता मालिक हुँदाहुँदै किन आफैँले पालेको कुकुरले उसमाथि राज गर्‍यो ? यस कुरालाई पनि अब उल्ट्याउनु पर्छ । प्रस्तुत कृति पढ्दै गर्दा इच्छा हुन्छ कुकुर जात्रालाई सिंहदरबार अगाडि दृश्याङ्कन गर्न पाए कस्तो हुन्थ्यो होला ?

व्यङ्ग्य साहित्य गर्न बडो कठिन कुरा छ । यस्तो कठिन मार्ग लिनु भएकी गायत्री दिदीको प्रखरता देख्दा—यो मार्ग कठिन छ जस्तो अनुभूति हुँदैन अर्थात् उहाँले कति सरल तरिकाले आफ्नो प्रस्तुति दिन सक्नु भएको छ । ‘रूद्रघण्टी’मा मलाई पुरानो घाउ बल्झिएको अनुभव भयो । बरु केही थाहा नहुँदा यसै ढुक्क हुन्छ । प्रस्तुत कृति अध्ययन गर्दा देशमा बस्न सकिने अवस्था छैन जस्तो एक किसिमको उकुसमुकुस भयो । खुराफाती निबन्धले पनि ठीक यस्तै बनायो । अरू केही निबन्ध पनि त्यस्तै बनाउने छन् । लाग्यो अब संवेदनशील हृदयका कवि, कलाकारले देश कब्जा गर्नुपर्छ अर्थात् देशलाई सुरक्षित गर्नुपर्छ—अक्षरमा, रङ्गमा, रेखामा, सङ्गीतमा योद्धा चेत भर्नुपर्छ । सङ्ग्रामी स्वर भर्नुपर्छ ।

आजका जनताले राज्यव्यवस्था तथा सत्तामा बसेकालाई सराप्नपट्टि लाग्ने अब समय छैन । हामी आफैँ सचेत हुनुपर्छ । कुनै गुटमा, उपगुटमा, दलमा आवद्ध भई हामी टुक्रिँदैछौँ, भाँचिँदैछौँ, क्षीण हुँदैछौँ, विखण्डित हुँदैछौँ । यही कमजोरीमा गुट उद्योग खोलेर लाभ लिनेहरू जागृत छन् । अब त्यसो नहुन लम्लासका निबन्धले व्यङ्ग्य गरेका छन् ।

एउटै शीर्षकमा धेरै अर्थ लाग्ने ‘रूद्रघण्टी’का निबन्धहरू समसामयिक छन् । यी प्रत्येक रचनाको विविधता भित्रको अन्तर्यमा फेरि त्यही कुरा सुसाउँछ—लथालिङ्ग देशको अस्तव्यस्त स्थिति अनि भ्रष्ट राजनीति गर्नेहरूको कालो चरित्र । स्रष्टा गायत्रीको नवीन र पृथक लाग्ने व्यङ्ग्य आलेख बालक बोली जस्तो लाग्छ—जसो भने पनि सुहाउने, मिठास आउने । चालीस कटपछिले त्यस्तै मर्म बोलेको छ । देशले थाम्ने नसकेको बेरोजगारी, युवा पलायन अनि वर्तमान मानवीय सम्बन्धलाई यसले झटारो हानेको छ । ताकेरै हानेको छ ।

मानिस सम्पूणर् रूपले पूणर् कहिल्यै हुन सक्ने छैन । उसका इच्छा, आकाङ्क्षा र संवेदनाले कतै न कतै उसको व्यक्तित्व हावा फुस्किएको टायर जस्तो दुर्बल हुन्छ । लेखकले त्यही दुर्बलताको घाँटी थिच्नु भएको छ । प्रकारान्तरमा यी सबै आलेख तिनै दुर्बलतामाथि गरिएको आक्रमण हो । मान्छेमा ईष्र्या छ, द्वेष छ, अहंकार छ, असहिष्णुता छ, स्वार्थीपना छ । छुद्रता छ । मित्रताको विपरीत अवस्था छ । अरू धेरै थोक छ । हो यिनै कुराले गाउँ, टोल, समाज, राष्ट्र विपथगामी मार्गमा डोरिएको छ । गुट उद्योगदेखि लिएर खुट्टा तानौँ, सहकारी खेती, चाकरी जस्ता निबन्ध रचिनुको अभिप्रायले यही कुरा बोध हुन्छ । मान्छे किन यसरी परहित तथा परपीडनको मनस्थितिले उग्र छ ?

‘रूद्रघण्टी’को प्रमुख निशाना त राजनैतिक दल र तिनीहरूको भत्र्त्र्सनापूर्ण व्यवहारमै केन्द्रित छ । लेखकले यसरी भ्रष्टतालाई आहत हुने गरी बोलिदिँदा स्वाद लाग्छ । अनाथ नागरिकलाई आफ्नो वेदना केही शान्त भएको आभास हुन्छ ।

हामी नेपालीहरू कुरा त बडो शालीन, शिष्ट तथा आदर्शका गर्छौं तर वास्तविकतामा हामी कति नीचतामा बाँचेका छौँ । हामी कहिले इमानदार भएर बाँच्न सकौँला ? क्षीण स्वार्थमा, क्षुद्र लाभमा हामीले इमान बिर्सिंदैछौँ । चाकडी चाप्लुसी गर्ने संस्कार यसरी मौलाएको छ । के हामीलाई यस्तो संस्कार सुहाउँछ ? हामी स्वतन्त्रताको, उन्मुक्तिको कुरा त गर्छौं । तर आफैँ परतन्त्रताको आह्वान गर्दैछौं । बेचिदिन्छौं केही लाभमा आफ्नै स्वतन्त्रता । चाकरी लगायत अरू केही निबन्धले यही अभिव्यक्ति दिएको छ ।

‘रूद्रघण्टी’मा बोल्नु पर्ने कुरा अरू धेरै छन् । विविध आशयमा ती अर्थिएका छन् । मैले केही सङ्केत मात्रै गर्न सकेँ । फेरि अर्को कुरा प्रस्तुत कृतिको व्याख्या विश्वलेषणमा लागेर म यसको महङ्खव ह्रास गर्न चाहन्नँ । अझ भनौँ उक्त कृति पढ्दा जुन गहिराइ बोध हुन्छ—यसलाई व्यक्त गर्दा प्रभाव क्षीण हुन सक्छ । त्यसो हुँदो म यहीँ रोकिन्छु । त्यो मर्म क्षीण नगर्न म रोकिन्छु ।

अन्त्यमा यति सुन्दर कृति प्रकाशित गर्ने मञ्जरी पब्लिकेशन आफैँमा धन्य छ । स्रष्टालाई आगामी सिर्जनाको लागि हार्दिक शुभकामना तथा ‘रूद्रघण्टी’लाई हार्दिक बधाई छ ।

Source-fitkauli.com

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *