साँझको छ बजेपछि त्यो मोबाइल फोनमा भक्कु बात मार्छ । सोध्दा भन्छ त्यसले—“घरमा के कस्तो छ भनी सोधेको।”

त्यसको नाम हो राम । म बसेको होटेलमा काम गर्छ त्यो। मेरो कोठा भएको तलामा नै त्यसको ड्यूटी पर्छ । मलाई साह्रै याद गर्छ त्यसले । म छुट्टीमा जाँदा र आउँदा त्यसले सोधिबस्छ `रे!

सीधा लाग्छ त्यसलाई । कोठामा नै जे भने पनि ल्याइदिन्छ । दस-बीस रुपियाँ त दिनहुँ पाउँछ त्यसले मबाट ।

होटलको एउटा कमरा लिएर बसेको छु। महिनामा छ हजार तिर्छु । घरदेखि टाडो छु। एक वर्ष हुन आँट्यो यस होटलमा बसेको। सबै सुविधा उपलब्ध छ यस होटलमा । जस्तै लोडसेडिङ हुँदा पनि यहाँ बिजुली बत्ती जाँदैन । जेनेरेटर छ। जस्तै पानीको समस्यामा पनि यहाँ पानीको समस्या हुँदैन । कारण यस होटलको पानीको स्रोत र कुवा अनेकौं छन्। फेरि होटल सबै कुराको सुविधा उपलब्ध हुने ठाउँमा अवस्थित छ । हातमा पैसा मात्र हुनुप-यो। यसैले पनि मलाई यहाँ बस्नु मन परेको। कार्यालयदेखि केही टाड़ामा भए पनि यहाँ बस्न नै ठीक लागेको छ। यहाँबाट गाडीको पनि सुविधा । कार्यालय पुग्न पन्ध्र मिनट लाग्छ यहाँबाट । पाँच पाँच मिनटपछि बस गाड़ी आइबस्छ । आठ रुपियाँमा कार्यालय पुगिन्छ बसद्वारा । अटो र टोटोमा अस्सी रुपियाँ लाग्छ । यहीँ होटलमा काम गर्ने केटोको नाम हो राम । त्यो सीधा छ ।

एक हप्ताको छुट्टी लिएर घरमा बसेपछि म फर्केर आएँ होटलमा । पहाड़ी चिसो हावा खाएर आएको मैले यहाँ एक्कासि तातो हावा खानुप-यो । तापमान छत्तीस रहेछ तर आर्द्रताको कारणले तापमान एकचालीस-बियालीस भएको अनुभूत भइरहेको थियो। पसिना खलखल आइरहेको थियो । कार्यालयको एसी खराब भएर गर्मी अनुभूत गर्दै पसिनै पसिना भएर बस गाड़ीमा चढ़ी भीड़मा चेप्टिएर आइपुगेँ होटलअघि । बसबाट उत्रिएँ । ब्याग बोकेर सोझै होटलभित्र प्रवेशिएँ । म बसेको कोठाको सङ्ख्या हो बाउन्न । म्यानेजरबाट चाबी लिएर कोठाको ढोका खोली भित्र पसेँ । पङ्खा चलाएँ । कोठामा राम्ररी बसेको पनि थिइनँ । कसैले ढोका ढक्ढकायो। ढोका खोलेँ । बाहिर राम थियो ।

त्यसले भन्यो –“साहेब आज आउनुभएको ? धेरै गर्मी छ । के ल्याइदिऊँ ? आज माछाको पनि ठूल्ठूलो पीस छ । के खानुहुन्छ ?”

“माछा राम्रो छ ?” मैले सोधेँ ।

“राम्रो छ । ठूल्ठूलो पीस छ साहेब,” त्यसले भन्यो।

“बियर छ ?” मैले सोधेँ। गर्मीले पसिना च्याप च्याप भइरहेको थियो। गन्जी टाँसिरहेको थियो शरीरसित ।

“बियर त छैन तर बाहिरबाट ल्याइदिन्छु,” त्यसले भन्यो ।

त्यसलाई राम्ररी थाहा भइसकेको छ म थाकेको बेलामा बियर किंवा एक दुई पेग ह्विस्की पिउँछु भनेर । त्यसले रूमरूममा ह्विस्की वितरण गर्छ । त्यसको फाल्टो धन्दा पनि हो त्यो ।

“एक बोतल काल्सबर्ग ल्याइदेऊ । लौ पैसा,” भनेर दुई सय रुपियाँ दिएँ उसलाई।

त्यसले सोध्यो, “माछा साहेब?”

“माछा पनि ल्याऊ, ” जवाब मेरो ।

केही बेरपछि त्यो आयो दुई पीस माछा र हेवार्ड्स 5000 बियर लिएर।

“साहेब ,तपाईंले भन्नुभएको बियर छैन रहेछ र यहीं ल्याइदिएँ । एक सय साठी रुपियाँ लाग्यो । यी: माछा पनि ल्याइदिएँ । भरे खाना के खानुहुन्छ?” राम बोल्यो ।

“तीन वटा रोटी, बटर पनीर मसला र मिनरल वाटर ल्याइदेऊ ठीक दस बजे, ” मैले भनेँ ।

“हुन्छ साहेब,अरू पैसा भरे एकैचोटि मिलाउँछु,” भनेर गयो त्यो।

गर्मी छ । पङ्खा चलिरहेको छ । नुहाउन पसेँ बाथरूमभित्र र केही शीतल अनुभव गरेर चौकीमा बसी बियर र माछा खान थालेँ । माछामा नून केही ज्यादा थियो ।

ठीक दस बजे त्यसले खाना ल्यायो। बिल कति भयो भनेर सोध्दा त्यसले जवाब दियो, “एक सय बत्तीस।”

दुई सय रुपियाँ दिएँ ।

“हुन्छ साहेब, खाना खानुहोस्। सेलाउँछ,” त्यसले भन्यो ।

अघि बियर किन्नु दिएको पैसाबाट चालीस रुपियाँ मैले पाउनु पर्थ्यो। त्यसले त्यो फर्काएन। अहिले फेरि एक सय बत्तीसमा दुई सय दिँदा पनि केही नभनी त्यो गयो । मैले केही भनिनँ । बियर खाइसकेपछि रातको खाना पनि खाएँ । त्यसपछि केही क्षण टिभी हेरेपछि सुतेँ ।

भोलिपल्ट । गर्मी धेरै बढ्यो । पानी नपरेको दुई हप्ता भइसकेको थियो। कार्यालयको एसी अझै ठीक भएको थिएन । कामको चाप पनि गर्मीभन्दा बेसी थियो । दिनमा चार पाँच वटा रिपोर्ट बनाएर दुई घण्टाभित्रै प्रेषित गर्नुपर्ने बाध्यतामूलक स्थितिमा काम गर्नुपर्दा रिस पनि उठ्छ । तर मुख्यालयको आदेश मान्नु बड़ा हाकिम पनि विवश हुन्छन् र मलाई नै तत्काल रिपोर्ट तयार पारेर प्रेषित गर्ने आदेश दिन्छन् । आदेश मान्नै पर्यो । दस पन्ध्र वर्ष अगाडिको कुरा तत्काल खोजेर त्यसबारे रिपोर्ट बनाउनु साह्रो काम । आफ्नो जन्मथलोको चिसो हिमाली हावामा काम गर्नु र भुङ्ग्रोमा पसेर काम गर्नुमा आकाश पातालको विभेद भए तापनि काम गर्नु नै पर्ने हुन्छ।

कार्यालयबाट फर्किएपछि गर्मीले हपहप भएर चिसो बियर पिउन मन लाग्यो र होटल अगाडि भएको अफ शपमा पुगेँ र एउटा काल्स्बर्ग बियर मागेँ । एक सय साठी रुपियाँ लाग्यो। हेवार्ड्स 5000 को दाम सोधेँ । एक सय बीस रुपियाँ रहेछ तर हिजो रामले हेवार्ड्स 5000को एक सय साठी रुपियाँ लियो अनि एक सय साठी रुपियाँमा पाउने काल्स्बर्ग बियर छैन भन्यो ।

मैले दोकानेलाई सोधेँ, “हिजो काल्स्बर्ग बियर थिएन ?”

दोकानेले भन्यो, “थियो त सर। स्टाकमा पूरै छ यो बियर। ”

अहो! हिजो मलाई रामले ढाँटेछ अर्थात् रामले मलाई ठगेछ । रामले ठग्यो र ढाँट्यो भनेको सुन्दा राम शब्दको मर्यादा मरेको भान भयो ।

हिसाब लगाउँदा रामले मलाई लुटेको एक वर्ष भएछ । बचरो दु:खी छ । गरिब छ। त्यसलाई पैसा चाहिन्छ भनी सधैँ म बीस-तीस रुपियाँ अनि कहिले त पचास-सय रुपियाँ पनि दिन्थेँ तर त्यसले मेरो सोझोपनको फाइदा उठाउन थालेछ । होटलअघि कहिले त्यसलाई चिया पिलाउँथे त कहिले झालमुरी, केरा, आइफल पनि किनिदिन्थेँ । तर त्यसले मलाई बिस्तारै लुट्न थालेछ । पचास रुपियाँको चीज किन्न दुई सय रुपियाँको नोट दिँदा एक सय मात्र फर्काउँछ । पचास खाइहाल्छ । भनेर खाँदा ठीकै छ तर त्यसले नभनी खान्छ ।

अचेल रामलाई ढँटुवारे र ठग लाग्न थालेको छ । आजकल त्यसको माध्यमबाट केही पनि मगाउँदिनँ । त्यो छक्क पर्दो हो । त्यसलाई चीज किन्न पठाउँदा मलाई नोक्सान हुन्थ्यो तर अहिले बचत हुँदैछ ।

एउटा ज्ञान भने पाएँ । अरूमाथि विश्वास गरेर निर्भरित हुँदा लुटिँदो रहेछ । अचेल म सबै कुरो आफैँ गर्ने गर्छु । त्यसको माध्यमबाट केही काम गराउँदिनँ। नाम राम नै भए पनि राम म जतिको सीधा छैन रहेछ।

“साहेबले छोड्नुभयो कि क्या हो? अचेल बियर, ह्विस्की मगाउनु हुँदैन त ?” त्यसले सोध्ने गर्छ ।

“खान्नँ अचेल, ” म भन्छु ।

“साहेब, आज माछा राम्रो र ठूल्ठूलो छ। ल्याइदिऊँ ?” त्यसले सोध्छ ।

“होइन, पर्दैन । खान्नँ,” भनिदिन्छु।

झुटो कुरा गर्ने, ढाँट्ने मान्छे पटक्कै मन पर्दैन । माया गरेर रामलाई केही रुपियाँ दिने काम ठप्प भयो । ढँटुवारे र ठग रहेछ राम । कतिलाई ठग्दो हो सेवाको नाममा त्यसले मलाईजस्तै । सीधा नाम बोक्ने राम बाङ्गो रहेछ।

गम्छु, सोचिहेर्छु… सीधा नामधारीहरू कर्मले किन विपरीत हुन्छन् हँ ?

Savar- Sahoityapost

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *