आफ्नो सङ्लो र दुरुस्त अनुहारलाई
विवशताको बर्कोले छोप्दै
लाचारीको मजेत्रोले ढाक्दै
अनुहार कम मुखुण्डो ज्यादा भिरेर हिँड्दा
कुनै किसानले
खेतबारीका बालीनाली जोगाउन
रखबारीका लागि ठड्याएको बुख्याचा झैँ
ठिङ्ग उभिनु परेको छ कहिले
कहिले टोलका डबलीहरूमा
कुनै लाखेले तमासा नाच नाचे झैँ
ढल्किदै उफ्रिदै
सतर्कताका साथ पाइला चाल्ने अभिनय
गर्नु परेको छ
भएको आफ्नो सक्कली चेहरा
सिँगारपटार र सौन्दर्यका अनेकौं प्रसाधनहरूले छोप्दै गर्दा
नक्कली परिचयको भेद
कतै खुलीहाल्ने पो हो कि भने झैँ गरि तर्किदै
कसैले थाहा पो पाइहाल्ने हो कि भने झैँ गरि तर्सदै
सावधानीका साथ सुस्तरी सुस्तरी हिँड्दा पनि
मान्छेहरूमा झस्को पसेको देखेको छु मैले
उनिहरूको व्याकुलतालाई
नजिकबाट नियालेको छु मैले
त्यसैले त
मान्छेहरूको यो भीडमा मैले पनि
आफूले आफूलाई आफैभित्र लुकाइराख्न
पटक पटक
फर्जी कामधन्दाका अनेकौं नाटक प्रदर्शन गर्न
अभ्यस्त हुनु परेको छ
यस्ता प्रयत्नमा निपुणताको निस्सा प्राप्त गर्न पोख्त हुनु परेको छ
थाहा छैन
कतिदिनसम्म यस्तो विषमता र दुर्बाेध्य परिस्थितमा बाँच्न
यसैगरी दक्षता देखाइरहनु पर्ने हो मैले !
कहिलेसम्म यस्तो विरोधाभासी व्यस्ततामा रमाउन
कुशलताको नमूना प्रदर्शन गरिरहनु पर्ने हो मैले !
साउन ११, २०८१ KTM