(काव्य-सन्ध्यामा वाचित तीन कविता)

1.सुटकेश र सपनाहरू

हिजै जस्तो लाग्छ
यो विदेशी भूमी टेकेको
एउटा सुटकेशमा अटाई नअटाई
सपनाहरुको
मात्र, सपनाहरुको
एक गुजुल्टा बोकी हिंडेको ।

आजपनि उस्तै सुर्य उदाउँछ यहाँ
जसरी हिजो उदाउँथ्यो
त्यसैगरी अस्ताउँछ, फेरि
जसरी अस्ति अस्ताउँथ्यो ।

परिवर्तन छ त यहाँ
त्यो केवल उसको मुहारमा
अझ स्पष्ट भन्नुपर्दा
उसको निधारमाु
जहाँ केही धर्साहरू बढेका छन्
अनि,
उसको जुत्ताको एक जोडिमा
जुन एकसरो जागीर खोज्न
धाउँदा धाउँदै खिएका छन् ।

भन्छन् –
केही पाउन केही गुमाउनुपर्छ
तर,
ऊ जस्ता केही पाउन आएका यहाँ
केही नपाई केवल गुमाएर बसेका छन् ।

सपना त सपना नै हुन्
चाहे घरको चार भित्ताभित्र थुनिएका
अथवा,
सुटकेशमा बसेर
अनि, हवाइजहाजमा उडेर आएका ।

सपनाहरू कहिले यसरी नै आउँछन्
अनि, कहिले अनायाशै मर्छन्
सपना संगसंगै
सपना देख्नेहरूको विपना पनि
यसैगरी मर्छन् ।

सपनाहरुको आउने अनि जाने
यस्तै यस्तै माथापिच्चिमा
हिजोआज उसको खालि सुटकेश
अट्टहास लगाएर
केवल हाँसेको छ ।
पीडामा मल्हम दल्नुको साटो
नुन छर्कदै
स्वदेश फर्कने
आदेश जो दिन थालेको छ ।

…..

2. अक्षरहरू

तिमी म भित्रभित्रै
कति छट्पटायौ
रोयौ, करायौ अनि चिच्चायौ
म कसाई झैं
तिम्रो इच्छा रेटिरहें ।
तिमी भावना बनेर
म संगसंगै पोख्न चाहन्थ्यौ
अक्षरहरू बनी
कापीका पाना भरी
उर्लन चाहन्थ्यौ
तर मैले म भित्रको कारागारमा
सालौं साल तिमीलाई
कैदी बनाइरहें ।
आज शायद
तिम्रो धैर्यताको बाँध फुटेछ
तिमी आफै आर्तनाद गर्दै
मेरा नशाहरूमा पोखिरहृयौ ।
आज तिमी हैन

म छटपटाइरहें
त्यसैले त
कलमलार्इ सिंढी बनार्इ
कापीका पानाहरूमा
केवल तिमीलार्इ उतारिरहें ।

3. मौन विश्व र उडिरहेको मन

हिंड्न लालायित पैतालाहरू
अनि,
गुड्न तड्पिएको शरीरसंग
जोरी खोज्दै
उड्यो एउटा मन
एक अन्जान
उडन तस्तरीमा ।
एउटा मात्र होइन
उड्दै थिए
थुप्रै यस्तै यस्तै
छटपटाएका
अरु पनि मनहरू ।
निलो स्वच्छ आकाशमा
त्यो पर इन्द्रेणीको छेवैमा ।
उड्दै गरेका
ति कैयौं मनहरूका
आँखाहरू निला
खैरा अनि काला
कसैका केशका रंग सुनौला
कसैका राता अनि काला ।
स्वच्छन्द ति मनहरू
उड्दै थिए
एउटै समानताको धरातलमा ।
अन्जान उडन तस्तरीहरूमा
बिना संकोच उड्दै गरेका
ति मनहरू
न कोही गरिब
न त कोही धनी
शायद यसैले कि
ति मनहरुका
शरीर, पैताला अनि दिमागहरू
छुटेका थिए
घरघरमै लकडाउनमा ।
जीवनको मूल्य खोज्दै
मौन विश्वमाथि
उडिरहेका ति मनहरू
लिप्त छन् एउटै अभिलाषामा ।
भयबाट
मुक्त जीवन
एक स्वस्थ जीवन
पुनः पूर्ण रुपमा जिउने आशामा

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *