‘ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ?’
‘भोलि।’
‘कति बजे?’
‘ठीक तीन बजे।’
‘हुन्छ, म पर्खिनेछु तिमीलाई। तिम्रो नाम नि?’
‘केबी।’
‘हुन्छ केबी, भोलि भेटौँला। तर तिमीलाई विज्ञापनका कुराहरु थाहा हुनुपर्छ है।’
मैले त्यसमा कुनै समस्या नभएको बताएँ।
साँच्चै टेलिफोनमा मलाई फ्रेडले निक्कै चित्तबुझ्दो कुरा गरे,’जो चाँडो आउँछ कोठा उसैको हुनेछ। किनकि तिमी जस्ताहरुको फोनको वार्तालापबाट म दिक्क भइसकेको छु।’
पूर्वनिर्धारित समयमा म फ्रेडको घर पुगेँ। उनको घर २ मिन्ली रोड फ्रानब्रोनजिकै कोभमा पर्छ। उनी चिया पिउँदै कुनै किताब पढिरहेका थिए, जुन कुरा मैले कार पार्क गर्दागर्दै देखिहालेँ। झट्ट हेर्दा अलिक मुडी जस्ता देखिन्थे। सेतै फुलेका उनका दाह्रीजँुगा छिमलेका थिएनन्। कपडा पनि लथालिङ्ग पाराले लगाएका थिए। मलाई देखेर उनी अलिक झस्के।
बगैँचामा विभिन्न बास्नादार फूलहरु थिए। आधुनिक अङ्कुसेमा झुण्डाइएका गमलाहरु फनफनी घुमिरहेका थिए। वातावरण रमाइलो थियो। मुख्य सडकबाट फ्रेडको कारपार्कमा जाने बाटो साँगुरो भए तापनि घरको प्राइभेट कारपार्कमा झण्डै चारपाँचओटा कारहरु सजिलै पार्क गर्न सकिन्थ्यो।
मैले आफ्नो परिचय दिएपछि उनले कुन नामले बोलाऊँ भने। मैले केबी भनेर बोलाउँदा फरक नपर्ने बताएँ।
‘हुन्छ केबी, ल भन तिमीलाई कहिलेसम्मका लागि कोठा चाहिएकोहो?’
‘छ महिनादेखि एक वर्षसम्मका लागि।’ मैले छोटो उत्तर दिएँ।
‘ठीक छ। तर मलाई तिमीले दुईसय पाउन्ड एडभान्स दिनुपर्छ। पछि तिमीले कोठा छाड्दा म उक्त रकम फर्काउँछु।’ उनले सर्त राखे। सहमति नहुने कुरै थिएन। किनकि म बसिरहेको कोठा तुरून्तै छाड्नुपर्ने थियो।
‘ल हिँड कोठा हेर्न।’ फ्रेड आफू बसेको कुर्सीबाट जुरूक्क उठे। म फ्रेडको पछि–पछि लागेँ। किचेन, बाथरूम र कोठाहरु क्रमशः देखाउँदै लगे। सबै कुरा राम्रै लाग्यो। दुईसय पाउन्ड बैना दिएँ। बाटोभरि डेरा सम्भि्कँदै लुलवर्थ क्लोज फर्कें।
राज दाइ, चक्र र म तीन परिवार एउटै घरमा खुब मिलेर बसेका थियौँ। एउटै घरमा बसेपछि एक–अर्कामा गर्नुपर्ने सहयोग त भइहाल्छ नै।
घर नेपालीकै थियो। घरधनीसँग हामी सबैको एक किसिमको नाता गाँसिएको थियो। तर एउटा सानो घटनाले सबैले एक हप्तामा कोठा छाड्नुपर्ने उर्दी जारी भयो।
हामी भमराले रसका लागि फूल खोजेर उडे जस्तै भौँतारिन थाल्यौँ।
डेरा सर्न कोठाको खोजीमा दौडधुप गर्न थाल्यौँ। राम दाइ केही दिनमा नै आफ्ना मित्रकोमा सरे। चक्रजी पनि आफ्नै गाउँलेकामा डेरा सर्ने भए।
मेरो त न गाउँले, न मित्र थियो। परेन फसाद! त्यसैले जे परिपरि भन्दै गोराको घरमा नै बस्ने निर्णय गरेँ।
घामको किरण भरखरै बगैँचामा चियाउन खोजिरहेको थियो। बगैँचाको छेउमा आगोको भुङ्रोमा सुङ्गुरको करङ र कुखुराका पखेटाहरु चटटट गर्दै रापिँदै थिए। एकाबिहानै पोलेको मासुले चियाको चुस्कीलाई साथ दिँदै थियो।
सितल बैनी (चक्रजीकी श्रीमती) भान्सामा व्यस्त भएकीले पोलेर टुक्र्याइएका मासुका चोक्टाहरु चक्रजी आफैँले भित्र लगिदिए। निरूता बहिनी (राज दाइकी श्रीमती) भने काममा गएकी हुनाले राज दाइ निर्धक्क पिउँदै थिए।
मलाई कुनै रोकटोक थिएन। बिल्कुल एक्लो मान्छे। त्यसैले होला सबैले माया गर्थे। दिन छिप्पिँदै थियो। बिहानै चियाको रङको पारा चढ्दै थियो। सरसामानहरु चउरभरि यत्रतत्र छरिएका थिए।
गफैगफमा म बसेको कोठाको ढोकामा रातको समयमा कसैले कोठा ढक्ढकाउने गरेको घटना सुनाएँ। उनीहरु झस्किएको आभाष भयो। ढोका खोल्दा कोही नहुने तर एउटा अदृश्य छायाँ भने देख्ने गरेको बताएँ। राति खुकुरी सिरानीमा राखेर सुत्ने सल्लाह दिए। तर उनीहरुको कोठामा त्यस्तो कुनै सङ्केत नभएको बताए।
चियाको रङका कणहरुले टाउको रन्किसकेको थियो। यस्ता बेला केही पनि चाहिन्न। दिमागका नसाहरु जता तन्किन्छन् उतै लम्कँदारहेछन् यी अङ्गहरु। नेपथ्यमा अगि नै मासु पोल्ने भाँडा एकातिर उत्तानटाङ परेछ भने मासुका चोक्टाहरु बगैँचाभरि छरपस्ट। तीनजना होलीवालाहरु भने बगैँचा र चउरभरि लडिबुडी खेल्न थालेछौँ आ–आफ्नै तालमा। हल्ला नहुने कुरै भ्ाएन। सखाप पारिएछ बगैँचाका फूलहरु, रायोका साग अनि अरु थुप्रै चीजहरु पनि। पछि पो थाहा भयो, हामीले होली खेल्दा माडिए रे ती सब चीजहरु। एक प्रकारले गल्ती महसुस भयो हामी सबैलाई। साँझपख सरसफाइ गरेर केही हदसम्म सपार्ने कोसिस त भयो। तर पूर्ण हुन सकेन। हो, त्यही कारण हामी ‘नोटिस टु मुभमा परेका थियौँ’ घरमालिकबाट।
काम सलाउमा र बसाइ फ्रानब्रोमा थियो। निकै समस्या भयो मेरो दैनिक जीवनमा। खानापिना आफैँले बनाउनुपर्ने। ‘चोक्टा खान आएकी बूढी झोलमा डुबेर मरी’ को पात्र भएँ।
घरभेटी फ्रेडको कुरा सुन्दा वाक्क भइसकेको थिएँ। कहिले व्यापारका कुरा, कहिले उसका पुराना कम्प्युटर अपगे्रडका कुरा। तर पनि ऊ एउटा लेखक भएका कारण उसले बोल्ने शब्द गहन थिए। उसका विचारहरुबाट एक प्रकारले फाइदा भइराखेको थियो।
फौजी जीवनबाट अवकाश लिएपछि उनले एउटा किताब लेखेका रहेछन्। किताबको नाम हो ‘ह्याबिट अफ दि डग’ अर्थात् ‘कुकुरको आनिबानि’। उनको कुकुरप्रतिको माया र खोजले होला चिया पिउने कपदेखि लिएर पर्दा, सिरानीको खोल, फ्रेम आदि सबैमा विभिन्न जातका कुकुरका फोटाहरु सजिएका थिए। छोटै समय भए पनि निकै घनिष्ट सम्बन्ध जोडियो हामीबीच।
काम सकेर बेलुकी कोठामा आएँ। भान्साकोठामा पसेर खाना तयार गर्न थालेँ। घर शून्य लाग्यो। फ्रेडलाई बोलाएँ। तर कतैबाट पनि आवाज आएन। घरअगाडि फ्रेडको कार पार्क भइराखेको थियो। बगैँचामा चराहरु चिरबिराइरहेका थिए। पछाडिको कारपार्कमा गएँ। फ्रेडलाई कतै पनि देखिनँ। केही मधुरो आवाज आयो कतैबाट। पुनः बोलाएँ। आवाज घरभित्रै कतैबाट आए जस्तो लाग्यो। नुहाउने कोठातर्फ लागेँ।
‘हेल्प–हेल्प’ भन्ने मधुरो आवाज बाथरूमबाट आएझैँ लाग्यो। कोठा खोल्ने प्रयत्न गरेँ। तर खोल्न असमर्थ भएँ। कारण उनी ढोकाको छेउमै लडिराखेका थिए। नुहाएर बाहिर आउन खोज्दा चिप्लेर लडेछन्। दाहिने हात र टाउकोमा एकदम पीडा भएको बताए फ्रेडले। मैले तुरून्तै एम्बुलेन्स मगाएँ। साथसाथै उनका छोरा डेविड र केयरटेकर म्यारीलाई पनिखबर गरेँ। उनलाई केही क्षणमा नै फ्राम्लीपार्क हस्पिटलमा एम्बुलेन्समा राखेर लगियो। त्यो रात निद्रा लागेन। गर्मीको मौसम थियो। त्यसैले नौ बजेसम्म घामको प्रकाश पश्चिमतर्फको झ्यालको पर्दाको कापबाट मेरो कोठामा केही खोजिरहे जस्तो थियो।
डेरा सरेकै दिनदेखि छायाँ देख्न थालेँ, जुन पुरानो कोठामा छँदा देख्ने गर्थें। त्यो छायाँमा चाहनाका निस्तेज आँखाहरु सलबलाए जस्ता हुन्थे। लाग्थ्यो, त्यो प्रतिमूर्ति छायाँमा अतृप्त तृष्णाका लहरहरु पग्लिन खोज्दै छन्। जब त्यो छायाँ मेरो कोठामा सलबलिन थाल्थ्यो कोठाका पर्दाहरु एक्कासि आफैँ बन्द हुन्थे। डरका पोकाहरु धिन्थे ममा। तर ती एकाएक फुटेर छताछुल्ल हुन्थे मेरा वरिपरि। कता–कता एउटा अनौठो बासना आउँथ्यो। म त्यस्तो अप्रत्यासित वातावरणबाट डराइरहेको हुन्थेँ। कसैले अनुसन्धान गर्न आवश्यक थियो। तर त्यो निरर्थक बन्ने सम्भावना बढी थियो। गर्ने पनि कसरी? म त्यो हैरानीबाट मुक्त हुन सकिरहेको थिइनँ। कसैलाई भन्न पनिसकिरहेको थिइनँ।
तीन दिनपश्चात् फ्रेडलाई भेट्न हस्पिटल गएँ। उनी बेडमा बसेर टी.भी. हेरिरहेका थिए। निको भएर घर फर्किएपछि मीठामीठा गफ गर्ने कुरा गरे उनले। त्यसका साथै भविष्यमा अरु आधुनिक प्रजातिका मिश्रण गरिएका बेलायती कुकुरहरुका बारेमा खोजी गर्ने वाचा पनि गरे। उनका योजना सुनी त्यहाँबाटबिदा भएँ।
समय बित्दै थियो। फ्रेड अस्पताल भर्ना भएको पनि तीन हप्ता भइसकेछ। बेलाबेलामा उनी फोन गरिरहन्थे। तर उनको स्वर पहिलेको जस्तो चहकिलो र प्रस्ट थिएन। उनका घरमा बसेका अरु दुईजना क्रिस र इस्टिभसँग पनि भाडा उठाएर ल्याइदिन भने। तर मैले माग्दा तिनीहरुले दिएनन्।
शनिबारका दिन एक्लै घरपछाडिको बगैँचामा कार सफा गर्दै बसिरहेको थिएँ। एक्कासि टेलिफोनको घण्टी बज्यो।
‘म डेबिड बोलेको, फ्रेडको जेठो छोरो।’ अतालिँदै बोल्दै थियो ऊ।
‘तपाईं अब यो घरबाट सर्नुपर्ने भयो एक महिनाभित्र। किनकि हिजो राति मेरो बाबाको देहान्त भयो। यो घर अब मेरो बाबाको नभई मोर्गेज कम्पनीको हुनेछ। धन्यबाद, समयको लागि।’ भन्दै उसले फोन राख्यो।
अब फेरि कता कोठा खोज्ने? कहिले सर्ने? जस्ता कुराले झन् रिङ्गटा लाग्यो। मैले दिएको फूलको एक गुच्छा नै फ्रेडसँगको अन्तिम भेट होला भन्ने मैले सोचेको पनि थिइनँ।
म फ्रेडको देहान्तभन्दा पनि फेरि डेरा सर्नुपर्ने भएकोले दुःखित भएँ। सामानहरु कार्बाेडको बाकसमा प्याक गर्न कोठातर्फ लागेँ। फेरि कोठामा उही छायाँ हिँड्न थाल्यो। हत्तनपत्त एक गिलास वाइन सिनित्त पारेँ। तर अर्का एउटा खाली गिलास पनि मेरै टेबलमा थियो। म जिल्ल परेँ। त्यो गिलासको गोलाइमा रातो लिपिस्टिकको हल्का दाग थियो। म किंकर्तव्यविमुढ भएँ। झन् विलखबन्दमा परेँ।
पल्लो कोठा क्रिसको थियो। उसकी गर्लफ्रेन्ड शनिबारैपिच्छे आउँथी। कोठामा आएकी केही बेरपश्चात् क्रिसको कोठा एउटा आवाजमा परिणत हुन्थ्यो। मानौ त्यो आवाज बर्सा यामको कालो बादलबीच बिजुली चम्किँदाको गड्याङ–गुडुङको गड्गडाहट हो। एकछिनसम्म त्यो क्रम चलिरहन्थ्यो। बर्सापश्चात्को धर्ती भिजे जस्तै आवाज मत्थिन्थ्यो र सफा जूनेली आकाशझैँ उघि्रन्थ्यो नितान्त शान्त र चकमन्न भएर।
आवाजहरु सुनेर मेरा कोठामा ढुनमुनिने छायाँले पनि वाइनका बोतलहरु थाहै नपाई रित्याइदिन्थी। मानौँ त्यो अदृश्य निर्मल छायाँले पनि साँझमा टेम्केको क्षितिजमा घाम डुबेझैँ मसँग डुब्न खोजिरहेछ। म त्यो छायाँबाट आफैँ अदृश्य हुन खोज्छु। तर मेरा प्रयाशहरु निरर्थक भइदिन्छन्। म निसासिएर कोठामा नै ढुलमुलिन्छु।
मेरो बिच्छ्यौनामा कोही सुतिरहेको भान भइरहेछ। मानौँ एउटा जीउँदो आत्माले पार्थिव शरीरलाई कोपर्न खोजिरहेछ बिनासङ्कोच बिनाकसुर। साँच्चौ यी छायाँहरु कस्ता मापाका हुँदा रहेछन् अदृश्य भएर हिँड्न सक्ने।
कुन बेला कुन बेला निदाएँ। थाहै भएन। जब म बिंउँझे मेरा अधरहरु दुखिरहेका थिए। रिङ्गटा लागे जस्तो भान भइरहेको थियो। खालि रक्सीका बोतलहरु लडिरहेका थिए। कार स्टार्ट गरेको आवाज आयो। झ्याल खोलेर हेरेँ। कार सडकको चौरस्तामा पुगिसकेको थियो।
फेरि लथालिङ्ग भएका सामानहरु मिलाउन थालेँ। किनकि कोठा सर्नुको पीडा त आलै थियो। त्यो अदृश्य छायाँले छाडेको पीडाभन्दा पनि बढी।