(अस्वीकृत कविता)
भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ ।
मेरो मानसभित्र तिम्रो जन्म भएको छ ।
कविता तिम्रो नाम भयो ।
मानसपुत्री !
नाङ्गै तिमी जन्मेकी छौ ।
कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन ।
नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ ।
घामपानीबाट बच्न
लुगा, फगत लुगाका धरोहरुले तिमीलाई बेर्दैछु ।
खवरदार !
नग्नता ढाक्ने नाममा कुण्ठाहरु नउब्जियुन् ।
नबिस्रनु कि लुगाभित्र तिमी नाङ्गै छौ ।
नग्नता तिम्रो शास्वत स्वभाव हो ।
नाङ्गो भूईंमा नाङ्गै पदार्पण गर ।
तिमीले बाँच्नपर्ने देश र काल
लुगासंस्कृतिका आदि छन् ।
लुगा तिमी जति लगाउँछौ
त्यति यीनले तिमीलाई नङ्गयाउँनेछन् ।
नाङ्गोलाई यीनले के नङ्ग्याउला ?
नग्नतालाई नङ्ग्याउने यीनका दुराग्रह स्वयं
यीनकै कुण्ठित नग्नतालाई नङ्ग्याउने कारक बन्नेछन् …
जहाँ यीनको अस्तित्वको पूरापूरा अवसान हुनेछ ।
नाङ्गो भूईंमा नाङ्गै पदार्पण मात्र गरी हेर ।
तिम्रो जन्म नै
विस्थापनाबाट भएको छ ।
कुनै पुरातन भाँडा वा भँड्खारोमा बन्द छैन ।
कुनै बन्दी आयामको नियतिवद्ध छैन ।
स्वाभाविक आयामहरुमा तरल बग्न
तिमीलाई स्वतन्त्रता छ ।
बच्ने बचाउने नाममा
नाक, कान, आँखा वा स्पर्शहरु फेर्नपर्ने विवशता छैन ।
परम्परागत रक्षाकवचको नाममा
कुनैपनि पुरातन सूक्तहरुसँग
सम्झौता गर्नपर्ने कर छैन ।
खुइलिई सकेकाका मूल्यहरुका के कुरा ?
कुनै पनि भुगोल वा काल तिम्रो व्यवधान हुने छैन ।
हावा, पानी, बाटो, घाटो, नाक, मुख, आँखा, कान, भोजन, आश्रय, सबैसबै
स्वाभाविक ढङ्गमा
स्वाभाविक आयामहरुमा
अनुकूलित स्वभावसम्मत हुँदै जानेछन् ।
सम्पूर्ण मूल्यहरु स्वभावसम्मत बलात्
तिमी अनुकूल बन्नेछन् ।
तिम्रै अङ्गहरुको अनुकूलतामा समय बग्नेछ ।
तिम्रै अङ्गहरुको अनुकूलतामा देश बग्नेछ ।
तरल तिम्रो स्वाभाविकता- स्वभाववाद
स्वभावतः सबैको आदर्श बन्नेछ ।
सबै देश सबै कालका शास्वत तिमी
हरदेश हरकालमा अजर हुनेछौ
अमर नै हुनेछौ ।
नाङ्गो भूईंमा नाङ्गै पदार्पण मात्र गरी हेर ।