तिमी जीवनको गोरेटो खन्दै हिँड्यौ म बाटो सम्याउँदै हिँडेँ
तिमी काँढा पन्छाउँदै हिँड्यौ म डोब पछ्याउँदै हिँडेँ
तिमी फूल टिप्तै हिँड्यौ, म सुवास छर्दै हिँडेँ
तिमी खुसी छर्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ ।

तिमी उकाली–ओराली हिँडिरह्यौ, मैले छाया बनी साथ दिएँ
तिमी चौतारीमा थकाइ मार्न बस्यौ, म पवन बनी सुस्ताइरहेँ
तिमी ढुङ्गा चढाउँदै हिँड्यौ, म द्यौराली बनी लिइरहेँ
तिमी खुसी पोख्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ ।

तिमी साउने झरी बनी बर्सिरह्यौ, म असारे बालाझैँ रुझिरहेँ
तिमी बाउसे खेलिरह्यौ, म आली काटिरहेँ
तिमी हिलो छ्याप्तै हिँड्यौ, म हिलो सम्याउँदै हिँडेँ
तिमी खुसी पोख्तै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ ।

तिमी सपनाको लहर पौडन थाल्यौ, मैले छाल बनी बुझाइदिएँ
तिमीले लक्ष्यको गहिराइमा डुबुल्की लायौ, मैले समुद्र बनी साथ दिएँ
तिमी मोती टिप्तै हिँड्यौ, म मोती बटुल्दै हिँडेँ
तिमी खुसी टिप्तै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ ।

तिमी पुर्नेको जून बनी झुल्किरह्यौ, म जुनेली बनी मुस्कुराइरहेँ
तिमी आकाशको अनन्त यात्रामा हिँड्यौ, म सहयात्री बनिरहेँ
तिमी तारा टिप्तै हिँड्यौ, म तारा बटुल्दै हिँडेँ
तिमी खुसी खोज्दै हिँड्यौ, म खुसी बटुल्दै हिँडेँ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *