मृत्युपछिको भय – डा. टीकाराम पोखरेल
दिउँसोको बाह्र जति बजेको हुँदो हो । एकोहोरो शङ्ख बजेको आवाज आयो ।
गाउँमा एकैछिनमा खबर फैलियो । मेलचौरघरकी आमैको मृत्यु भएछ ।
म बाह्र वर्षको हुँदो हुँ । बाबुआमा जीवित भएकाहरु पनि मलामी जान सुरु गरेका थिए । नत्र त्यसभन्दा अगाडि गाउँमा मान्छे मर्दा बाबुआमा जीवित भएकाहरुले मलामी जान हुँदैन भन्ने थियो । महिलाहरु त धेरै पछिसम्म पनि मलामी जाँदैनथे ।
मेलचौरघरकी आमै मरेको दिन बा घरमा थिएनन् । आमाले भनिन्– ‘बा घरमा छैनन्, तैँ जा मलामा, अब यत्रो लक्का जवान भइसकिस्, नगएर हुन्छ ?’
सानो हुँदा मलाई मरेको मान्छे भनेपछि असाध्य डर लाग्थ्यो । मरेका मान्छे भूतप्रेत बन्छन् भन्ने कथा सुनाइएको भएर होला सायद । मेरो बालमष्तिष्कमा भूतप्रेतका कथाहरु खुब घुसेका थिए ।
आमाले ‘मलामी जा’ भनेपछि म मेलचौरघर पुगेँ । आमैको मृत शरीर आँगनमा लडाइराखिएको थियो ।
झट्ट आमैतिर हेरेँ । आमैले अलिकति मुख बाएकी थिइन् । मलाई त आमैले ‘म भूत भैसकेँ, अब तिमीहरुलाई पनि खान्छु’ भनेको हो कि जस्तो पो लाग्यो । डरले मनभित्र डेरा जमायो ।
डरले गर्दा म आमैको मृत शरीरभन्दा अलि टाढै बसेँ । म सानो भएकाले पनि होला कसैले केही काम पनि लगाएनन् मलाई । अरुहरु भने बाँस काट्ने, खट बाँध्ने, शङ्ख फुक्ने, धान भुट्ने, चिताका दाउरा जम्मा गर्नेलगायत दाहसंस्कारको सामानहरु जुटाइरहेका थिए । एउटा कुनातिर स्याँक्कसुँक्क रुनेहरुको समूह पनि छुट्टै थियो ।
करिब एक घण्टाको तयारीपछि मलामीहरु खटमा बेरिएकी आमैलाई काँधमा हालेर ओरालो झरे । म पनि आमैको पछिपछि लागेँ । तर डरले शवको नजिक भने गइँन । आमैको शवभन्दा पाँच सात जना पछाडि हिँडे ।
आधा घण्टा ओरालो लागेपछि गाउँ सकियो । जङ्गलको बाटो सुरु भयो । मेरो मन ढुक्क फुल्यो । मनमा अनेकन कुरा खेल्न थाले– ‘यो जङ्गलमा यी आमै भूतप्रेत बनेर उठिन् र मलाई तर्साइन् भने ?’ डरको ‘डिग्री’ बढिरहेको थियो ।
‘होइन होइन, यहाँ त म मात्र त छैन नि, अरु पनि छन् । भूतप्रेत भन्ने कुरा त एकान्तमा पो आउँछ त ।’ आफैँले आफूलाई बुझाउने प्रयास गरेँ । आफ्नो अगाडि पछाडि हेरेँ । मलामीको लामै लस्कर थियो ।
मलामीहरु कोही पनि बोलिरहेका थिएनन् । सबका काँधमा चिताको लागि बोकिएको एकएकवटा दाउरा मूढा थियो । ओरालोमा एकोहोरो शङ्ख मात्र बजिरहेको थियो । त्यो आवज नै मेरो लागि उराठिलो थियो ।
‘कतै लस्करमा हिँड्ने यी सबै मलामीहरु भूत त भइसकेनन् ?’ डरमाथि डर फेरि थपियो ।
तैपनि आफूलाई डर नलागेको देखाउन म हिँडिरहेँ, हिँडिरहेँ । लुखुरलुखुर, लुखुरलुखुर ।
मलामी घाटमा पुगे । मलामीसँगै आमै पनि घाटमा पुर्याइइन् । त्यसो त मलामी र आमैसँगसँगै म पनि घाटमा पुगेँ ।
घाटमा पुगेपछि मलामीहरु कोही चिता बनाउन लागे, कोही आगो फुक्न लागे । एक आपसमा अलिअलि कुरा पनि गर्न लागे ।
मलामी बिच एक आपसमा बोली सुनेपछि भने म ढुक्क भएँ । मनमनै भनेँ– ‘कोही पनि त भूत भएका रहेनछन् ।’
मलामीसँग डर त हरायो, तर मुख बाएकी आमैसँगको डर भने बाँकी नै थियो ।
घाटमा आमैलाई चितामा चढाउँदै गर्दा वरिपरिको वातावरण नियालेँ । एकोहोरो शङ्खको ध्वनि पहाडमा ठोकिएर प्रतिध्वनि भएर आयो । ‘ओहो– कस्तो भयावह शङ्ख । ठूला ठूला अग्ला पहाड बिच स्वाँस्वाँ बग्दै गरेको तामाकोशी नदी ।’ मन ढुक्क फुल्यो । तर मेरो डरको सहारा मबाहेक कोही थिएन ।। सायद म ‘डराएँ’ भनेको भए कसैकसैले ‘नडरा फुच्चे’ भनेर सहारा पो दिन्थे कि ? तर आफूलाई अरुले कमजोर भन्नान् भन्ने भयले मैले डरलाई दबाएरै राखेँ ।
एकैछिनमा चितामा आगो दन्किन थाल्यो । मान्छे चितामा जलेपछि पनि उसको आत्मा त्यतै घुमिरहन्छ भन्ने मैले सुनेको थिएँ ।
मेलचौरघरकी आमै चितामा जल्दै गर्दा मैले सोचेँ– ‘अहिले त हामी सबै यहाँ आमैसँगै छौँ, तर अब यी आमै जलिसकेपछि हामी यहाँबाट हिँड्छौँ, अनि यी आमै यस्तो अनकण्टारमा एक्लै कसरी रहलिन् ?’
‘ओहो ! यी आमै मात्र हो र ? म पनि मरेपछि ल्याइने ठाउँ त यही हो । त्यसबेला मलाई पनि जलाइसकेपछि मलाई घाट पुर्याउन आएका मलामीहरु पनि त फर्किन्छन् । त्यसपछि मेरो आत्मा यहाँ एक्लै हुन्छ । अनि यस्तो अनकण्टारमा म एक्लै कसरी बसुँला, म कति डराउँछु होला ?’ सम्झेर म थरर काँपे । मृत्यु मलाई भयावह लाग्यो । तर डर दबाएरै राखेँ ।
म आमै जलेको चितालाई आफैँ जलेको चिता सम्झँदै एकोरिइरहेँ । ‘उफ् ! मृत्यु कस्तो क्रूर हुन्छ । बरु जन्मिँदै नजन्मेको भए यस्तो क्रूर मृत्यु झेल्नुपर्ने थिएन होला ?’ रणभुल्लमा थिएँ म ।
…………….
चितामा आमै जलिसक्दा रात परिसकेको थियो । घाटबाट मलामीहरु घर फर्कने तरखरमा लागे । प पनि लामवद्ध भएर उकालो लागेँ ।
घाटबाट अलिकति मात्र उकालो के चढेको थिएँ । यसो पछाडि फर्केर हेरेको त मेरो पछाडि अरु कोही पनि रहेनछन् । मलामीको लाममा सबैभन्दा पछाडि त म पो रहेँछु ।
मनमा अर्को डर थपियो– ‘ती मेलचौरघरकी आमै त अब चितामा जलेर भूतमा परिणत पो भै सकिन् । मेरो पछाडिबाट आएर आइज बाबु ! मलाई साथी बस् भन्दै मेरो खुट्टा समातेर उँधै तानिन् भने ? उनी एक्ली छन् । उनलाई पनि त साथी चाहिएको छ ।’
आमैले मलाई खुट्टा समातेर उँधै घाटतिर तान्ने कुरा सम्झेर म आत्तिएँ, तर फेरि पनि आवाज भने निकालिनँ । बरु मलामीको लाममा सबैभन्दा पछाडि भएको मान्छे हतार हतार दौडेर अरु केही मलामीलाई उछिन्दै लामको बिचतिर छिरेँ । डर छल्न ।
घर पुग्दा झण्डै रातको दश नै बजिसकेको हुँदो हो । मलामी गएर फर्केपछि एक छाक छोड्नुपर्छ भन्ने मान्यता थियो । भोको पेट ओछ्यानमा पल्टिएँ । तर रातभरि निदाउन सकिनँ । भोको पेटले भन्दा पनि भूतप्रेतका डरले निन्द्रा भागेको थियो ।
रातभरि एकातिर आमै मलाई तर्साउन आउलिन् भन्ने डर लागिरह्यो, अर्कोतर्फ फेरि ती आमै मध्यरातमा त्यो सुनसान घाटमा एक्लै कसरी बसिहोलिन् भन्ने भयले पनि सताइररह्यो ।
आमैको मायाले भन्दा पनि कुनै दिन मरेपछि त्यही ठाउँमा आफू पनि अनकण्टारमा एक्लै बस्नुपर्ने भयावह कल्पनिक चिन्तामा डुबेर नै रात छर्लङ्ग भयो ।
‘हट् ! घाट पनि कस्तो एकान्त ठाउँमा ? कुनै बस्तीको नजिक बनाएको भए मरेका मान्छे एक्लै बस्नु त पर्दैनथ्यो नि ।’ मरो बालमष्तिष्कले पटकपटक त्यस्तो ठाउँमा घाट बनाएकोमा पूर्वजहरुप्रति असन्तुष्टि पोख्यो ।
…………..
मेलचौरघरकी आमै मरेको केही महिनाको अन्तरालमा बेथाने गाउँका माइला बुढाथोकी बूढाले संसार छोडे । बूढाथोकी बूढा मर्दा भने मेरा बा घरमै थिए ।
यो पटक बा घरमै भए पनि बाले मलाई नै अगाडि सार्दै भने– ‘अब तँ मलामी जान सक्ने भैहालिस क्यारे । म बूढोलाई के दुख दिन्छस् त ? तैँ जा बुढाथोकीको मलामा पनि ।’
मलामी जान इच्छा नभए पनि मैले बालाई नाइँ भन्न सकिनँ । बाको आज्ञा शिरोपर गर्दै म बेथानेका बुढाथोकी बूढाको मलामी जाने लस्करमा पनि मिसिएँ ।
मनभित्र जति नै डर भए पनि बाहिर नदेखाएर दुई महिना अगाडि नै मेलचौरघरकी आमैको मलामी गएर मैले आफूलाई बहादुर साबित गरिसकेको थिएँ । आमैको मलामीमा मात्र होइन, बूढाथोकीको मलामीको हुलमा पनि सबैभन्दा सानो उमेरको म नै थिएँ ।
मेलचौरतिरको गाउँको घाट र बेथानेतिरको गाउँको घाट फरकफरक ठाउँमा थियो । बेथाने तिरकाको घाट जाने बाटो पनि अलि सजिलो रहेछ । बूढाथोकी बालाई घाटमा पुर्याएर बिसाउनासाथ मैले घाट वरिपरि आँखा लगाएँ । घाटछेउ बस्ती नै नभए पनि खेत थियो । अलि पर एउटा पानीघट्टा पनि थियो । आमैको घाट र बुढाथोकीको घाटको तुलना गर्दा आमैको भन्दा बुढाथोकीको घाट अलि कम डर लाग्ने ठाउँमा रहेछ । खेतमा काम गर्ने मान्छे पनि आइरहने, अनि घट्टामा मान्छे पनि आइरहने । बूढाथोकी बूढाको आत्माले त्यति धेरै एकान्तमा बस्नुनपर्ने रहेछ ।
बूढाथोकी बूढाको मलामीबाट फर्केपछि पनि मरेपछि घाटमा एक्लै बिताउनुपर्ने, भूत भएर भड्किनुपर्ने जस्ता कुराले मलाई सताइरह्यो । त्यसो त मान्छे मरेका ठाउँमा सुनाइने गरुड पुराणमा वर्णित मृतआत्माले पाउनुपर्ने दुःखका कथाले पनि मेरो मन विचलित भैरहन्थ्यो ।
मेलचौरघरकी आमै र बेथानेका बूढाथोकी बूढाको मलामीपछि पनि गाउँमा अरु धेरै पटक म मलामी भए । गएँ, तर मृत्युपछिको डर मेरो मनबाट हटेन ।
विद्यालयमा पढ्दा विद्यालयको छेवैबाट शव घाट लैजाने बाटो थियो । महिना वा दुई महिनामा मरेका मान्छेको दर्शन नगरी सुखै थिएन । शब देखेपछि दुई चार दिन मेरो ‘मुडअफ’ भै हाल्थ्यो । कुनै दिन त्यस्तै शव बनेर अरुको काँधमा चढेर घाटतिर कुद्नुपर्ने कल्पनाले त जिन्दगी सबैभन्दा भयावह लाग्थ्यो ।
घाटमा मृत शरीरलाई जलाउने र एक्लै छोडेर मलामी फर्केपछिको त्यो मृत व्यक्तिले एकान्त ठाउँमा एक्लो बस्नु परेको कल्पनाले मेरो मनमा झन झन् जरा गाड्यो ।
मरेपछि बाँकी हुने आत्मा हो । आत्मा डराउँदैन भन्ने पनि मैले एकपटक नपढेको होइन । तर मेरो डरका अगाडि मेरो ज्ञान हार्यो । मृत्युपछिको मेरो डर हटेन ।
………..
गाउँमा एसएलसीसम्मको अध्ययन सकेपछि म काठमाडौँ प्रवेश गरेँ । एकदिन घुम्दै पशुपति पुगेँ । आर्यघाटमा मान्छे जलाएको देखेँ । घाट गुल्जार थियो । मानिसहरुको चहलपल । कुनै बेला मान्छे नटुट्ने घाट रहेछ । त्यसपछि भने मलाई लाग्यो– ‘मरेको मान्छेलाई त यस्तो ठाउँमा पो जलाउनुपर्छ । सधैँ मान्छेको आवतजावत हुने ठाउँमा । अनि पो मरेपछि पनि मान्छे एक्लो बस्नु पर्दैन । चौबीसै घण्टा कोही न कोही घाटमा हुन्छन् ।’
मरेपछि आफ्ना मान्छेलाई एकान्तमा लगेर छाड्नुहुन्न भन्ने मेरो बुझाईलाई आर्यघाटले अलिकति राहत दियो ।
दुई दशक, तीन दशक, चार दशक बिते । मेरा कपाल फुले । तर जति कपाल फुले पनि मेरो मनमा जरा गाडेको मृत्युपछिको भय मभित्रबाट बाहिर निस्केन ।
मलाई मृत्युको भयले भन्दा मृत्युपछि एक्लै हुनुपर्ने भयले सताइरहन्छ ।