एउटा कथामा टाईम मेशिनको प्रसंग आँउदा उस्ले सोधेको थियो-“सर, यो टाईम मेशिन कहाँ किन्न पाइन्छ?” उस्को प्रश्नले मलाई त्यतिबेला हाँसो उठेको थियो। तर, जब मैले उस्को आँखामा एक किसिमको उत्सुकता र आशाको चमक देखें , मलाई सोध्न मन लाग्यो- किन र? तैंले किन्न पाए के गर्छस् र? के गर्छस् ल भन् त? मेरा प्रश्नहरुले ऊ रोकियो। पछि थाहा पाँए कि उस्को गला नै अबरुद्ध भएको थियो भनेर। उस्ले तिन शब्दमा उत्तर दियो- मेरो आमालाई बचाउथें।उसको उत्तरले मलाई छाँगाबाट खसेजस्तो भयो। बेक्कार प्रश्न सोधेछु भन्ने पनि लाग्यो। तर, ऊ रोकिएन। उस्ले थप्यो- बुवाले भन्नुभको, त्यतिबेला हामीसँग पैसा थिएन रे, त्यसैले आमाको उपचार गर्न खर्च नपुगेकाले आमा बित्नु भएको रे। त्यसैले, अगि हजुरले भने जस्तो टाइम मेशिन किन्न पाउने भए, बुवालाई किन्न लगाउथें, अनि अहिले त हामीसँग पैसा पनि छ। त्यही पैसा लिएर म टाइम मेशिनमा चढेर आमा बिरामी भएको बेलामा जान्थें। पैसा तिरेर म मेरो आमाको उपचार गराउथें। र, सँगै लिएर फर्कन्थें। यति भन्दा उस्को र मेरो मात्र होइन्, कक्षाका सबैको आँखा रसाइसकेका थिए। म त झन पुरै जमेझै स्थिर भएको थिएँ। घण्टी बजेपछि भने म झस्किएँ। ऊ अधै उभ्भिरहेको थियो। उस्लाई बस्न ईशारा गरें। अघि पढाएको पाठ सबैलाई सारेर आउन भनि गृहकार्य पनि दिएँ। कक्षाकोठाबाट बाहिर निस्कनु अगि मैले ऊ भएको ठाँउतिर फर्केर हेरेको थिएँ। ऊ अझै उहि उत्सुक र आशाबादी आँखाहरुले मलाई हेर्दै थियो। उस्को हेराइ हेर्दा यस्तो लाग्थ्यो कि मसँग कुनै टाइम मेशिन छ, जुन दिएर म उस्को ईच्छापूर्ति गर्न सक्छु। तर, मसँग त्यस्तो केही थिएन। म निरिह भएर त्यहाँबाट निस्किएँ। तर, उस्को कुराहरु भने मेरो मनमष्तिस्कबाट निस्कनै मानेनन्।