हामी सानै हुँदा गाउँमा रुढीबादी चलन खुबै थियो। छुवाछूत पानी बाराबार यस्तै यस्तै। ठुला भनिएकाहरु साना भनिएकाहरुलाई भित्र पस्न दिदैन थे । पकाएको छुन पनि दिनुहुँदैन र उनीहरुले पकाएको पनि खानुहुँदैन भन्थे । हाम्रै आरने दाइको छोरा नरेन्द्र र मेरी बहिनी मिना एउटै कक्षामा पढ्थे । सँगै स्कुल जान्थे आउँथे।दुबैको उमेर नौ दस बर्ष हुँदो हो। एकदिन स्कुल जाने समयमा नरेन्द्रले हाम्रो आँगनबाट भन्यो, ” ए मिना छिटोछिटो आइज समय भयो ।” यति सुन्दै हजुरबा कराउन थाल्नु भयो, “तँ सानो जातिको भएर नाउँले बोलाउँछस् ? अझै तँ भनेर पख, तलाई …!” “हजुरबा तिनीहरू साथी हुन् , बच्चा छन्, हुन दिनुहोस्न किन कराउनु हुन्छ ? नामले नबोलाएर के भनोस् त ? बोलाउन भनेर त मान्छेको नाम राख्ने हो । जमाना फेरियो अहिले त नेपालको कानुनी व्यवस्थामै जातीय कुरा गर्नु पाइदैन” , मैले भने । “तँ पनि त्यसो भन्छस्, धर्म छाडा ! …भनेको ….हुन् हामी भनेको हामी हुम् । त्यसको केही साल पछि नरेन्द्र सदरमुकाममा मामाको घर भएकोले उतै पढ्न गयो । खोइ के बिषयमा हो कुन्नि डिग्री गरेको छ रे । सदरमुकाममा राम्रैसँग चल्ने होटल व्यवसाय गरेको छ रे । समाज सेवामा पनि सकृय छ रे । एकदिन म, हजुरबा, काका र दाजु जग्गाको नामसारी गर्नलाई सदरमुकाम हिड्यौँ । जाँदा जाँदै रात अबेर भयो । हतार हतारमा धौलागिरी गेष्ट हाउसमा बस्यौँ, खायौँ र सुत्यौँ। बिहानै उठेर जानुपर्ने भएकोले हिसाब किताब तिर्नलाई काउन्टरमा गएर, ” नमस्ते साहुजी”, भन्दै हजुरबा हात जोड्दै हुनुहुन्थ्यो । हजुरबाले बाटामा साहुजीकाे पढाइ र पाैरखकाे प्रशंसा गर्नु भयाे । यस बीचमा मुलुकमा धेरै उथलपुथल भैसकेकाे थियाे ।कालीमा धेरै पानी बगिसकेकाे थियाे । उहाँमा अाएकाे चेतनाले हामी सबै खुसी भयाैँ । गेष्ट हाउसको मालिक मिनाको सहपाठी उही नरेन्द्र थियो।