“घरमा कोरोहाल्न सजिलो छैन क्यारे माइला ! ठूलाबाले छोडेर आसाम गएपछी पाँच वर्ष देखि उपल्लोघर खाली नै छ । भित्र सफाइ गर्न सजिलो छैन । बाहिर पालीमुनी चित्राले घेरिदिए पछि हुन्छ । त्यैं कोरोबार्न ठिक होला ।” निसन्तान जेठीआमाको सतगत गरेर फर्केपछि जेठाले सल्लाह गरे ।

“कुरो त हो दाइ ! तर रात सांझ त्यो घरको बाटो हिडनेले भूत/छलले तर्सायो , छल्यो भन्ने गरेका छन ! थोरै एकलास हुदैन र दाइ ?”

“आईमाई,केटाकेटीका कुरा हुन ! क्यै हुन्न ।” झुपो हालेर आएका जेठाले ठूलाबाको घरको पालीमुनी कोरो भित्र पसे ।

सायंकालमा केहिबेर गाउलेहरु जम्मा त भए तर बेलुका कुर्ने कोहि होला जस्तो भएन । “पर्दैन” भनेर जेठाले पनि सबैलाइ सजिलो पारिदिए ।

कोरो भित्र पराल ओछ्याएर बिझाउने काम्लोमाथि पाखी ओढेर सुतेका जेठालाइ निद्रा नलागे पनि निदाउने कोसिस गर्दै थिए । मध्यरात तिर कसैले पाखी थुत्त तानेर खुट्टा सम्म पुर्‍याइ दियो !

“हैन …को हो ?” बुढाले ओच्यानबाटै पाखी ततेर्दै सोधे । कोहि पनि देखा परेन ।

” हैन कोहो कृयापुत्रीलाइ छुन आउने ?”…… छैन ।

” जो होला ! आज त यसै उसै क्षेत्रोपवास भयो , भोलि कसैलाइ बाहिर कुर भन्नू पर्ला ।” बुढा पल्टे ।

करीब आधा घण्टा पछि फेरि तेस्तै भयो । कोहि… छैन । उठेरै बसे । एक घण्टा बित्दा सम्म केही नभए पछि फेरि पल्टे ।

फेरि तेस्तै !! अब भने छ्लले तर्साएकोमा बुढालाइ हो भन्ने भयो । बाकी रात उनले नसुतेरै काटे ।

भोलीपल्ट खलोमा पुगे पछि सगै गएका गाउंले संग बुढाले बेलुकीको घटना बेलिबिस्तार लाए । पहिला भएका दुइचारोटा घटना संझेर सबैले छलले तर्साएको निधो गरे ।

” फर्के पछि सबै लाग्नु पर्ला । धेरैबेर लागोन सफा गर्न । अब भित्रै बस्ने । “त्यहा भएका बिच यस्तै सल्लाह भयो ।

सांझ बुढाले घर भित्र कोरो सारे । मान्छे डराउने मुटुका थिएनन जेठा पनि । “आईमाई केटाकेटी डराउलान , घर एक्लै छोड्दा ! परेछ भने भनुंला । तिमेरु कोहि पनि कुर्नलाइ बस्न पर्दैन।”त्यो रात पनि बुढाले एक्लै सुत्ने आंट गरे ।

दक्षिण फर्केको घरमा ढोकाको पश्चिम तिर सानो आंखीझ्याल थियो । भित्र त्यही झ्याल तल सुत्ने ठाउं बनाइएको थियो । मध्येरात तिर झ्याल बाहिर एकछिन सम्म कोहि ओहोर दोहोर , ओहोर दोहोर गरे जस्तो सुनियो । बुढा निदाएका थिएनन । कान ठाडो पारेर चालबुझ्दै थिए । कोहि झ्याल बाहिर उभियो र लोग्नेमान्छे को बोलीमा भन्यो “देखेँ …।”

गाउँ त के छरछिमेक समेतका साना ठुला सबैको बोली चिन्थे बुढाले ! त्यो बोली कसै संग पनि मिल्दैनथ्यो ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *